सिद्धार्थ बैंकका ग्राहकलाई गोदावरी रिसोर्टमा १० प्रतिशतसम्म छुट
काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यसका लागि सिद्धार्थ बैंक र ललितपुरको गोदावरीस्थित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्टमा सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकका अनुसार यस सम्झौताले ग्राहकलाई छुटको सुविधा प्रदान गर्नुका साथै नगद कारोबारलाई निरुत्साहित गर्दै डिजिटल भुक्तानीतर्फ आकर्षित गर्न सहयोग पुग्नेछ । सम्झौतासम्बन्धी थप जानकारीका लागि ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।
महालक्ष्मी विकास बैंकको गुणस्तर व्यवस्थापन प्रणाली तेस्रोपटक प्रमाणित
काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र तेस्रोपटक प्राप्त गरेको छ । गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रदान गर्न सफल भएको आधारमा बैंकले उक्त प्रमाणपत्र प्राप्त गरेको हो । बैंकले यसअघि पनि आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गर्दै आएको थियो । बैंकका अनुसार २०८१ साल साउन ३२ गते (सन् २०२४ अगस्ट १६) देखि लागू हुने गरी बैंकले उक्त प्रमाणपत्र प्राप्त गरेको थियो । २०८२ साल भदौमा भएको पहिलो सर्भिलेन्स अडिटबाट पुनः प्रमाणित हुन सफल भएको बैंक २०८३ साल साउनमा भएको तेस्रो सर्भिलेन्स अडिटपछि २०८३ साल साउन ३२ गते (सन् २०२६ अगस्ट १६) देखि लागू हुने गरी पुनः प्रमाणित भएको हो । महालक्ष्मी विकास बैंकले ‘प्रोभिजन अफ डेभलपमेन्ट बैंकिङ एक्टिभिटिज’अन्तर्गत यो प्रमाणपत्र प्राप्त गरेको हो । बैंकका अनुसार विकास बैंकमध्ये यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा महालक्ष्मी विकास बैंक अग्रणी बनेको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने, ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने तथा कार्यप्रणालीमा निरन्तर सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुने बैंकले जनाएको छ । आईएसओ प्रमाणपत्र प्राप्तिका लागि बैंकका नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँचसँगै विस्तृत अडिटसमेत गरिएको थियो । गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समय काठमाडौंको ज्ञानेश्वरमा क्याफे लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ ।
प्रभु बैंकका ग्राहकलाई सुजुकीका गाडी किन्दा १ लाख ७५ हजार छुट
काठमाडौं । मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रालि र प्रभु बैंक लिमिटेडबीच विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूका परिवारजन तथा बैंकका डेबिट र क्रेडिट कार्डबाहकले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडी खरिद गर्दा मोडलअनुसार १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउनेछन् । सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंकका प्रमुख लेखबहादुर पुनले हस्ताक्षर गरेका छन् । सम्झौता २०२६ सेप्टेम्बर ७ देखि २०२७ सेप्टेम्बर ६ सम्म लागू हुनेछ । प्रभु बैंकले नेपालभर रहेका ३०० शाखा, २६२ एटीएम तथा ६६ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा दिँदै आएको जनाएको छ । ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नाराका साथ बैंकले गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।