काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आयोजना गर्न लागेको ‘कामना सेवा फुटसल कप सिजन ६’ को टाइसिट ड्र, जर्सी तथा ट्रफी अनावरण र ब्रान्ड एन्थम सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ।
कात्तिक ११ गते आयोजित कार्यक्रममा प्रतियोगितामा सहभागी टोलीका प्रतिनिधि, टिम म्यानेजर, एन्फाका रेफ्री तथा बैंकका कर्मचारीको उपस्थिति थियो।
कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत रघुनाथ त्रिपाठीले फुटसल कप बैंकका लागि प्रतियोगितामा मात्र सीमित नभई खेलकुदमार्फत समाज र युवासँग जोडिने माध्यम भएको बताए। खेलकुदले स्वस्थ जीवनशैली, अनुशासन र सामूहिक कार्यको सन्देश दिने भएकाले बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनको भनाइ थियो।
कार्यक्रममा त्रिपाठीले प्रतियोगिताको ब्रान्ड एन्थम सार्वजनिक गर्नुका साथै सहभागी टोलीका टिम म्यानेजरलाई जर्सी हस्तान्तरण गरे। सोही अवसरमा प्रतियोगिताको टाइसिट ड्र पनि सार्वजनिक गरिएको थियो।
कार्यक्रममा गत सिजन अर्थात् सिजन ५ का पुरुषतर्फका विजेता सिद्धार्थ बैंक र महिलातर्फका विजेता लुम्बिनी विकास बैंकका प्रतिनिधिहरूले मन्तव्य राखेका थिए। उनीहरूले बैंकले आयोजना गरेको प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच आपसी सद्भाव र भाइचारा विकास गर्न सहयोग पुग्ने भन्दै कामना सेवा विकास बैंकलाई धन्यवाद दिए। साथै, सहभागी सबै टोलीलाई शुभकामना व्यक्त गरे।
त्यसैगरी, एन्फाका सहायक रेफ्री हरिश कार्कीले प्रतियोगिताका खेल नियमबारे विस्तृत जानकारी गराए। उनले खेलको अनुशासन, फाउल तथा निर्णयसम्बन्धी नियम बुझेर स्वच्छ र रोमाञ्चक प्रतिस्पर्धा गर्न सबै टोलीलाई आग्रह गरे। कार्यक्रममा एन्फा फुटसल रेफ्री सङ्गीता सुनुवारको पनि उपस्थिति थियो।
यस वर्षको प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी ३० टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता कात्तिक १४ र १५ गते शनिबार र आइतबार धन्वन्तरी फुटसल कोर्टमा सञ्चालन हुने बैंकले जनाएको छ।
खेलकुद प्रवर्द्धन, युवा प्रतिभालाई मञ्च प्रदान तथा महिला सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बैंकले जनाएको छ। बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।