आईएमई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त

काठमाडौं । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ । समूहले मंसिर २ गते मंगलबारदेखि लागू हुने गरी खड्कालाई उक्त जिम्मेवारी दिएको हो ।

नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्काले आईएमई समूहअन्तर्गतका विभिन्न व्यवसायबीच रणनीतिक सहकार्यको नेतृत्व गर्नेछन् । समूहका कम्पनीहरूको विशेषज्ञता, प्रविधि, बजार पहुँच र वितरण सञ्जाललाई एकीकृत गर्दै प्रत्येक व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने उनको प्रमुख जिम्मेवारी हुनेछ ।

त्यस्तै, समूहको दीर्घकालीन ब्रान्ड मूल्य बढाउने, नयाँ सेवा तथा साझेदारी विकास गर्ने, ग्राहक अनुभव सुधार गर्ने र नेपालको डिजिटल अर्थतन्त्रमा समूहको योगदान विस्तार गर्ने कामलाई पनि प्राथमिकता दिइनेछ ।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्कासँग १५ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ । उनी यसअघि ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा कार्यरत थिए । विभिन्न डिजिटल वित्तीय सेवा व्यवसायको नेतृत्व तथा व्यवस्थापनमा समेत उनले अनुभव हासिल गरेका छन् ।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले नवनियुक्त खड्कालाई स्वागत गर्दै उनको नेतृत्वमा समूहका कम्पनीहरू थप बलियो हुने विश्वास व्यक्त गरेका छन् । डिजिटल रूपान्तरणलाई विस्तार र सुदृढ गर्दै नयाँ अवसर सिर्जना गर्न खड्काको भूमिका महत्त्वपूर्ण हुने उनले बताएका छन् ।

नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्काले आईएमई ग्रुपका प्राथमिकता र सरोकारवालासँगको सहकार्यमा नतिजामुखी काम गर्ने बताएका छन् ।

आईएमई ग्रुपले रेमिट्यान्स, बैंकिङ तथा बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन तथा आतिथ्यता, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, खेलकुद, उत्पादन तथा व्यापारलगायतका क्षेत्रमा लगानी तथा व्यवसाय विस्तार गर्दै आएको छ ।

Share News