नबिल बैंक ग्लोबल पत्रिकाको शीर्ष २० बैंकहरुको सूचीमा
काठमाडौं । नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणीअन्तर्गत आइजे ग्लोबल पत्रिकाको शीर्ष २० बैंकहरूको सूचीमा सूचिकृत भएको छ । आइजे ग्लोबल युरोमनि संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो । जसलाई विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ। आइजे ग्लोबल तथ्यांकले ३२ हजारभन्दा बढी कारोबार, २६ हजार परियोजना र दुई हजार एक सय कोष समावेश गर्छ । जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८० प्रतिशत शीर्ष कानुन फर्मको ९० प्रतिशत र शीर्ष वित्तीय सल्लाहाकारको ८५ प्रतिशत बजारका आधारमा अद्यावधिक गरिन्छ । यो मान्यताले नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा बैंकले लगानी परियोजनाहरु प्रदर्शन गर्दछ । नबिल बैंक १४ औं स्थानमा परेको बैंकले बताएको छ । नबिल बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुको साथै अन्तर्राष्ट्रिय बजारमा बैंकको साख स्थापित गर्ने अपेक्षा गरिएको छ । बैंकले शाखा बैंकिङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिट्यान्स र लगानी बैंकिङमार्फत १५० शाखा, १८७ एटिएम र १७० भन्दा बढी बैंकिङ साझेदारहरुसँगको सहकार्यमा सेवा प्रदान गर्दै आएको छ ।
कामना सेवा विकास बैंकद्वारा १२ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन
काठमाडौं । कामना सेवा विकास बैंकले थप एक शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा जेठ १२ गते बिहीबारबाट चितवन जिल्लाको राप्ती न.पा वडा नंं ०८ जोरकुलामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैंकले जोरकुलास्थित सुप्रिया थोक तथा खुद्रा किराना पसल (सोम प्रसाद अधिकारी) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।
राष्ट्र बैंकका सञ्चालक शिवाकोटी र डा. आचार्यले लिए सपथ
काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नवनियुक्त सदस्यद्वय चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रमका बीच कायमकुकायम प्रधानन्यायाधीश कार्कीले उनीहरूलाई शथप ग्रहण गराए । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ ६ गतेको निर्णयअनुसार सिवाकोटी र आचार्य बैंक सञ्चालक समितिको सदस्यमा नियुक्त भएका थिए । सिवाकोटी राष्ट्र बैंककाे पूर्व डेपुटी गभर्नर र आचार्य पूर्व कार्यकारी निर्देशक हुन् । सिवाकोटीले त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकास्थित साउथर्न न्यू ह्याम्सायर विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र आचार्यले युनिभर्सिटी अफ नर्थ बङ्गाल, भारतबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । ऐनको दफा १७ मा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई मन्त्रिपरिषद्ले बैंकको सञ्चालकमा नियुक्त गर्ने प्रावधान छ । सञ्चालकको कार्यकाल पाँच वर्ष हुने व्यवस्था छ । शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका रजिष्ट्रार निर्मला पौडेल, सह– रजिष्ट्रारद्वय विमल पौडेल र नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटा र निर्देशक थानेश्वर आचार्यलगायतका अधिकारीहरूको उपस्थिति थियो ।