राष्ट्र बैंकले गरेन कुनै नीतिगत परिवर्तन, ‘विदेशी मुद्रा संचिति घट्ने दर कम भएको छ’

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा कुनै पनि नीतिगत परिवर्तन गरेको छैन । प्रत्येक तीन तीन महिनामा त्रैमासिक समीक्षा गर्ने गरेको राष्ट्र बैंकले प्रमुख नीतिगत व्यवस्थाहरुलाई निरन्तरता दिएको छ । राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यसअघिकै नीतिगत व्यवस्थालाई निरन्तरता दिएको जानकारी दिएको हो । ‘मूल्य र बाह्य [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा कुनै पनि नीतिगत परिवर्तन गरेको छैन । प्रत्येक तीन तीन महिनामा त्रैमासिक समीक्षा गर्ने गरेको राष्ट्र बैंकले प्रमुख नीतिगत व्यवस्थाहरुलाई निरन्तरता दिएको छ ।

राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यसअघिकै नीतिगत व्यवस्थालाई निरन्तरता दिएको जानकारी दिएको हो ।

‘मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ तर, मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिनेछ,’ राष्ट्र बैंकले भनेको छ ।

कोभिड संक्रमणका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि यस बैंकले प्रदान गर्दै आएको पुनरकर्जा सुविधालाई पुनरुत्थान हुन बाँकी रहेका अति प्रभावित क्षेत्रमा सीमित गर्दै लैजाने विद्यमान नीतिलाई निरन्तरता दिइएको छ । आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरु प्रयोग गरिने राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको उपर्युक्त कार्यदिशा अनुरुप अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनरकर्जा दरहरुलाई यथावत राखेको छ । मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवद्र्धन लगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिइने भनिएको छ ।

कोभिडको समयमा अवलम्वन गरिएको लचिलो नीतिगत कार्यदिशा र कोभिड संक्रमणमा आएको कमीले आर्थिक पुनरुत्थानको गति बढ्नुको साथसाथै आन्तरिक मागसमेत विस्तार भएको छ । आन्तरिक उत्पादन र मागबीच बढ्दै गएको अन्तरको प्रभाव व्यापार घाटा, चालु खाता तथा शोधनान्तर घाटा र विदेशी विनिमय सञ्चिति जस्ता बाह्य क्षेत्रका परिसूचकहरुमा परेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

बाह्य क्षेत्रमा परेको दबाब कम गर्न अवलम्बन गरिएका नीतिगत व्यवस्थाका फलस्वरुप विदेशी विनिमय सञ्चितिको घट्ने दर केही कम भएको छ । आन्तरिक माग तथा आपूर्तिको अवस्था, विप्रेषण आप्रवाहको वर्तमान प्रवृत्ति र अन्तर्राष्ट्रिय बजारमा वस्तु तथा सेवा र पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको वृद्धिका कारण आयात मूल्यमा भएको वृद्धिसमेतलाई दृष्टिगत गर्दा बाह्य क्षेत्र स्थायित्वमा विद्यमान जोखिम केही समय कायमै रहने राष्ट्र बैंकको विश्लेषण छ ।

विश्वव्यापी रुपमा भइरहेको वस्तु तथा इन्धनको मूल्यवृद्धि र सार्वजनिक यातायातको भाडादरमा गरिएको समायोजनलगायतका कारणहरुले नेपालमा समेत मूल्यमा चाप पर्न गएको छ । साथै, कोभिड संक्रमणले विश्व आपूर्ति व्यवस्थामा ल्याएको अवरोध, कोभिड संक्रमण कम भएसँगै विश्व आर्थिक गतिविधिमा भइरहेको विस्तार र रसिया–युक्रेनबीचको युद्ध लगायतका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र वस्तु तथा सेवाको मूल्यमा वृद्धि भइरहेको छ । आन्तरिक मूल्यमा विद्यमान चापको स्थिति केही समयसम्म कायमै रहने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

Share News