बैंक अफ काठमाण्डूका ग्राहकलाई हसट्याग फुड तथा बारमा १० प्रतिशतसम्म छुट
काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले हसट्याग फुड तथा बारमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी हसट्याग फुड तथा बारमा भुक्तानी गर्दा सो छुट पाउने भएका हुन् । सो सम्बन्धमा बैंक र हसट्याग फुड तथा बारबीच सम्झौता भएको छ । यो सम्झौता पश्चात् ग्राहकले हसट्याग फुड तथा बार, एयरपोट रोड, विराटनगरमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिशतसम्मको छुट पाउने छन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । हसट्याग फुड तथा बारले एयरपोट रोड, विराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । बैंकले हालसम्म ९८ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको शाखा नक्सालमा
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले नारायण चौर, नक्सालमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो । शुक्रबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरिन् । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले नयाँ शाखाबाट पुराना र नयाँ ग्राहकहरूलाई सेवा दिन पाउँदा हर्षित भएको बताए । नयाँ स्थानबाट ग्राहकहरूलाई डिजिटल र स्मार्ट सेवा प्रदान गरिने उनले बताए ।
प्रभु बैंकको सेयर १४५ रुपैयाँमा किनबेच
काठमाडौं । प्रभु बैंकको संस्थापक सेयर प्रतिकित्ता १४५ रुपैयाँमा किनबेच भएको छ । शुक्रबारको बजारमा बैंकको कूल ८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सो रुपैयाँमा खरिद बिक्री भएको हो । २२३ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी प्रभु बैंकको संस्थापक सेयर किनबेच भएको छ । रकमको आधारमा मात्र नभई कित्ताको आधारमा पनि बैंकको सबैभन्दा बढी खरिदबिक्री भएका छन् । बैंकको एकैदिन कूल १९ करोड १८ लाख ९७ हजार ९५६ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये १ करोड ५८ लाख २२ हजार ९५६ रुपैयाँ बराबरको साधारण सेयर र बाँकी रहेको १७ करोड ६० लाख ७५ हजार रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । त्यस्तै, बैंकको कूल ९ लाख ४२ हजार ७७ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसमध्ये ८ लाख ८० हजार ३७५ कित्ता संस्थापक सेयर रहेको छ भने ६१ हजार ७०२ कित्ता साधारण सेयर रहेको छ । नेप्सेको फ्लोरसिटअनुसार ब्रोकर नं. ५८ (नासा सेक्युरिटिज) र ब्रोकर नं. ४ (ओपल सेक्युरिटज) मार्फत बैंकको संस्थापक सेयर खरिद बिक्री भएको देखिन्छ । संस्थापक सेयरको मूल्य १४५ रुपैयाँ रहेको बैंकको साधारण सेयरको मूल्य प्रतिकित्ता २१९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । जुन बिहीबारको तुलनामा प्रतिकित्ता २ रुपैयाँले घटी हो । यसकारण कारोबार हुन्छ संस्थापक सेयर ? सामान्यतः सेयर बजारमा निरन्तर गिरावट आएको बेलामा संस्थापक सेयर बढी कारोबार हुने गरेको पाइन्छ । त्यस्तै, कुनै कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार पनि सो कम्पनीको संस्थापक सेयर किनबेच हुने ब्रोकर एशोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाट बताउँछन् । ‘प्रमोटर सेयर सँधै कारोबार हुँदैन,आकलझुकल हुन्छ, र संस्थापक सेयर किनबेच गर्ने प्रकृया लामो हुन्छ,’ पूर्वअध्यक्ष रानाभाटले विकासन्युजसँग भने । त्यस्तै, प्रभुको केशमा पनि सञ्चालक समितिको निर्णय अनुसार नै एउटाले ग्रुपले बेचेर अर्को ग्रुपले संस्थापक सेयर किनेको हुन सक्ने उनी बताउँछन् । समग्रमा शुक्रबारको सेयर बजार दोहोरो अंकले घटेको छ । पछिल्लो तीन दिन लगातार बढेको नेप्से परिसूचक १५.८२ अंकले घटेर २२२३.७८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७१ प्रतिशतले घटेको छ । बजारमा कूल १ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन २२३ कम्पनीको ४१ लाख ४० हजार कित्ता सेयर किनबेच भएका छन् । त्यस्तै, कारोबारमा आएकामध्ये होटल्स एण्ड टुरिजम बाहेक सबै समूह राताम्मे देखिएका छन् ।