गरिमा विकास बैंकका ग्राहकलाई ब्लुक्रस हस्पिटलको सेवामा छुट

काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको त्रिपुरेश्वरमास्थित ब्लुक्रस हस्पिटलसँग सम्झौता गरेको छ । बैंकले ग्राहकलाई हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा आर्कषक छुटको लागि सम्झौता गरेको हो । यस सम्झौता अनुसार ब्लुक्रस हस्पिटलले बैंकका मोबाईल बैंकिङ तथा डेबिट कार्ड प्रयोगकर्तालाई स्ट्यान्डर्ड हेल्थ प्याकेज र वार्षिक हेल्थ स्क्रिीनिङ्ग प्याकेजमा ४५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । साथै, अन्य स्वास्थ्य सेवाहरुमा पनि अस्पतालले छुट प्रदान गर्नेछ । हाल, यस विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय एवं ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।

शिवाकोटी र आचार्य बने राष्ट्र बैंकको सञ्चालक, दुवै राष्ट्र बैंकका क्याडर

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणी शिवाकोटी र शंकरप्रसाद आचार्य नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले दुवै जनालाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो । दुवै जनालाई मन्त्रिपरिषद् बैठकले सञ्चालकमा नियुक्त गरेको एक मन्त्रीले बताए । शिवाकोटी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् भने आचार्य राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक हुन् । राष्ट्र बैंक सञ्चालक सदस्य डा. श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि सकिएपछि गएको वैशाखदेखि दुई सञ्चालक पद रिक्त थियो । राष्ट्र बैंककाे सञ्चालक बन्ने लाइनमा दिलीप ढुंगाना पनि थिए । केही साता अगाडि सरकारले डा. शंकरप्रसाद आचार्य र दिलीप ढुंगानाको नाम स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाएको हो । तर,  निर्वाचन सकिएसँगै सरकारले नै यी दुई जनालाई सञ्चालकमा नियुक्त गरेकाे हाे ।

महालक्ष्मी विकास बैंकको रक्तदान कार्यक्रममा वित्तीय क्षेत्रकै उच्च रगत संकलन

काठमाडौं । महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले देशका विभिन्न स्थानमा रहेका आफ्ना ३१ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम गरेको हो । जसबाट बैंकले कुल १०२८ (एक हजार अठ्ठाइस) पिन्ट रगत संकलन गरेको छ । यो संख्या बैंक तथा वित्तीय संस्थाहरु मार्फत रगत संकलन गरिएका रेकर्डहरुमा हालसम्मकै सबैभन्दा उच्च रहेको बैंकको दावी छ । बैंकले ३१ वटा शाखाहरु मार्फत बिचबजार ८२, खुर्रखुरे ५५, नारायणगढ ४९, कमाने ४७, टिकापुर ४६, हेटौंडा ४४, नेपालगञ्ज ४२, थापाथली ४०, महाराजगंज ३८, पुतलिसडक ३८, धनगढी ३६, डडेल्धुरा ३५, भक्तपुर ३२, डल्लु ३१, कावासोती ३१, भाटभटेनी ३०, दरबारमार्ग ३०, जनकपुर २९, भैरहवा २८, तिनचुली २८, झम्सीखेल २७, शंखमुल २७, न्यूरोड काठमाडौं २७, कालिमाटी २६, टाँडी २३, मैतिदेवी २१, कुमारीपाटी १९, इटहरी १९, परासी १८, महेन्द्रनगर १५ र रुपनी १५ गरी कुल १०२८ (एक हजार अठ्ठाइस) पिन्ट रगत संकलन गरेको हो । स्वास्थ्य क्षेत्रमा अभावका रुपमा देखापर्ने रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले २८ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । बैंकले देशभर फैलिएर रहेका १०३ शाखाहरुबाट थप विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु आउदा दिनहरुमा पनि प्रभाकारी रुपले निरन्तर सञ्चालन गर्दै जाने प्रतिवद्घता व्यक्त गरेको छ । २८औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।