चिनियाँ राष्ट्रपतिले चढ्ने गाडी नाइमा एक्स्पोमा
साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अटोमोबाइल इम्पोट्र्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को दोस्रो संस्करण ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को आयोजना हुँदैछ । एक्स्पो नजिकिएसँगै अटो व्यवसायीहरू स्टल निर्माणमा जुटेका छन् । यसपटकको एक्स्पोमा ४० वटा नयाँ ब्राण्डहरू लन्च हुँदैछन् । जसमध्ये ८ वटा ब्राण्ड मात्रै विशाल ग्रुपअन्तर्गतको एमजी गाडीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले तयारी गरिरहेको छ । वास्तवमा यो एक्स्पोमा पारामाउन्ट मोटर्सले कुन ब्राण्ड सार्वजनिक गर्दैछ ? ग्राहक र अवलोकनकर्ताले एमजीको स्टलमा के नयाँ अनुभव गर्न पाउनेछन् ? यिनै विषयमा केन्द्रित रहेर विकासन्युजका नरेन्द्र विष्टले पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल क्षेत्रीसँग कुराकानी गरेका छन् । यसपटकको एक्स्पोमा पारामाउन्ट मोटर्सले कुन-कुन गाडीहरू प्रदर्शनीमा राख्दैछ ? यसपटक हामीले चारवटा मुख्य ब्रान्डहरू प्रदर्शनीमा राख्नेछौंं । जसमा एमजी, होङ्ची गुओली, वुलिङ र लिन्क एण्ड कोको सहभागिता रहन्छ । यी चारवटा ब्रान्डका लागि हामीले चारवटा छुट्टाछुट्टै प्रिमियम स्टलहरूको व्यवस्था गरेका छौं । होङ्ची गुओली र लिन्क एण्ड को ब्राण्ड नेपालका लागि बिल्कुलै नयाँ हुन् । एमजी ब्रान्डमा यसपटक के-के नयाँ देख्न पाइनेछ ? एमजीमा हाम्रा नियमित मोडलहरू एमजी जेडएस ईभी, एमजी फोर र एमजी फाइभ त हुने नै छन् । त्यसबाहेक हामीले दुईवटा नयाँ मोडल लन्च गर्दैछौं । एउटा हाइब्रिड मोडल र अर्को यू नाइन नामको इलेक्ट्रिक पिकअप । एक्स्पोमा यी दुवै मोडल हाम्रो विशेष आकर्षणका रूपमा रहनेछन् । वुलिङ ब्रान्डका कुन–कुन नयाँ गाडीहरू थपिँदैछन् ? वुलिङमा हामीले पहिलेदेखि नै एयर ईभी बिक्री गर्दै आएका थियौं । यसपटक हामी थप तीनवटा नयाँ मोडल ल्याउँदैछौं । जसमा बिङ्गो (सानो ४ ढोके गाडी), क्लाउड ईभी (५ सिटर लक्जरी एमपीभी) र बाओजुन (इलेक्ट्रिक एसयूभी) रहेका छन् । नेपालका लागि नयाँ ब्रान्ड होङ्ची गुओलीको बारेमा केही बताइदिनूस् न, यसको चर्चा किन बढी छ ? होङ्ची गुओली चीनको निकै पुरानो र प्रतिष्ठित प्रिमियम ब्रान्ड हो । यो कतिसम्म विलासी छ भने चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो आधिकारिक गाडीका रूपमा यसै ब्रान्डलाई प्रयोग गर्नुहुन्छ । उहाँमात्र नभई चीनका विगतका राष्ट्रप्रमुखहरूले पनि यसैलाई रोज्नुहुन्थ्यो । नेपालमा हामीले यसका दुईवटा मोडल ई–एचएस ९ (लक्जरी एसयूभी) र ई-क्यूएम ५ सार्वजनिक गर्दैछौं । चिनियाँ भाषामा होङ्ची गुओलीको शाब्दिक अर्थ रातो झण्डा भन्ने हुन्छ । होङ्ची गुओलीले आईसीई इन्जिन, हाइब्रिड र बिईभीगरी तीनवटै पावर ट्रेनका कार उत्पादन गर्दै आइरहेको छ । यसको मूल्य नाइमा एक्स्पोमा राख्नेछौंं । लिन्क एण्ड को ब्रान्डका गाडीहरू के-कस्ता छन् ? यो हाम्रो लाइट कमर्सियल भेहिकल ब्रान्ड हो । यसमा हामीले जी १०० मोडलको इलेक्ट्रिक पिकअप ट्रक ल्याउँदैछौं । यसको भारवहन क्षमता १.५ टन छ भने यसमा ४२ किलोवाटको ब्याट्री र १० फिट लामो डाला उपलब्ध छ । यस पटक कतिवटा गाडीहरू लन्च हुँदैछन् र स्टलको तयारी कस्तो छ ? हामी सबै ब्रान्डका गरी कुल ८ वटा नयाँ मोडल सार्वजनिक गर्दैछौं । एमजीका २, वुलिङका ३, होङ्ची गुओलीका २ र लिन्क एण्ड कोको १ । स्टल निर्माणको काम सुरु भइसकेको छ । यसपटक हामी निकै प्रिमियम अनुभव दिने गरी स्टलहरू बनाउँदैछौं । काम धमाधम भइरहेको छ । ग्राहकहरूका लागि विशेष आकर्षण र सुविधाहरू के-के छन् ? ग्राहकहरूले नयाँ प्रविधि, विशेषगरी एमजीको हाइब्रिड टेक्नोलोजी र विश्वस्तरीय विलासी गाडीहरू नजिकबाट हेर्न पाउनुहुनेछ । अटो शोको समयमा विशेष मूल्य र आकर्षक अफरहरू पनि हुनेछन्, जसको घोषणा हामी नाइमामै गर्नेछौं । गाडी खरिद गर्न चाहने ग्राहकका लागि बैंक फाइनान्सिङको के व्यवस्था छ ? हाललाई हाम्रो कुनै विशेष बैंकसँग मात्र टाइअप त छैन, तर ग्राहकहरूले आफ्नो अनुकूलताअनुसार जुनसुकै बैंकबाट पनि फाइनान्सिङ गराउन सक्नुहुन्छ । आवश्यकता अनुसार हामी आगामी दिनमा बैंकहरूसँग सहकार्य पनि बढाउँदै लैजानेछौं ।
एउटा फोटोले दिलाउन सक्छ नयाँ एथर स्कुटर, नाइमा एक्स्पोमा दिइँदै मेगा अफर
काठमाडौं । एथर इनर्जी नेपालले यही साउन २६ गतेदेखि आयोजना हुने ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’लाई लक्षित गर्दै ‘मेगा गिभअवे’ अभियान संचालन गरेको छ । गत वर्ष आयोजना गरिएको यस अभियानमा सहभागीहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र अपार मायापछि कम्पनीले यस वर्ष पनि यो लोकप्रिय सामाजिक सञ्जाल अभियानलाई निरन्तरता दिएको हो । कम्पनीका अनुसार यस अभियान अन्तर्गत एक भाग्यशाली सहभागीले एथरको नयाँ इलेक्ट्रीक स्कुटर जित्ने अवसर पाउनेछन् । अर्थात् अब सामाजिक संजालमा एउटा फोटो, एउटा पोस्ट सेयर गर्दा लक्की ड्रबाट एथरको नयँँ स्कुटर पाउने छन् । यद्यपि, कम्पनीले विजेताले कुन स्कुटर पाउँछन् भन्ने चाहिँ खुलाएको छैन । कम्पनीका अनुसार यस अभियानमा सहभागी हुन ४ प्रक्रिया पूरा गर्नुपर्नेछ । पहिला एथर इनर्जी नेपालको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरू फलो गर्नुपर्नेछ । नाइमा मोबिलिटी एक्स्पोमा एथरेको स्टल (हल सी स्टल नम्बर सी२) भिजिट गरी स्टलमा राखिएको एथर स्कुटरसँग एउटा आकर्षक फोटो खिच्नुपर्नेछ । उक्त फोटो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दा @AtherEnergyNepal लाई ट्याग गर्नुका साथै आफ्ना दुई जना साथीहरूलाई पनि ट्याग गर्नुपर्नेछ । यी चरण पूरा गर्ने सहभागीहरू स्वतः लक्की ड्रमा समावेश हुने कम्पनीले जनाएको छ । भृकुटीमण्डपमा आयोजना हुने यस एक्स्पोमा एथरको स्टललाई प्रविधिमैत्री र अन्तरक्रियात्मक बनाइएको छ । जहाँ आगन्तुकहरूले एथरका नवीनतम प्रविधि, स्मार्ट फिचरहरू, तथा इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी समाधानहरू प्रत्यक्ष रूपमा अवलोकन तथा अनुभव गर्न पाउनेछन् । विद्युतीय सवारीका पारखी तथा नयाँ ईभी खरिद गर्ने योजनामा रहेका ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले विभिन्न डेमो र गतिविधिहरू प्रस्तुत गर्ने जनाएको छ ।
‘माई पल्सर स्टोरी’ अभियान, नेपाली राइडरलाई एनएस ४०० जेड जित्ने अवसर
काठमाडौं । बजाजले पल्सर मोटरसाइकलको २५ वर्ष पूरा भएको अवसरमा विश्वव्यापी ‘माई पल्सर स्टोरी’ (#MyPulsarStory) अभियान सुरु गरेको छ । अभियानमार्फत नेपालसहित विश्वभरका पल्सर राइडर, सामग्री सर्जक, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर चलाउँदै आएका ग्राहकलाई आफ्ना वास्तविक र प्रेरणादायी अनुभव साझा गर्न आह्वान गरिएको छ । कम्पनीका अनुसार सहभागीले भिडियो, फोटो, सङ्गीत, कृत्रिम बौद्धिकता (एआई)मा आधारित सामग्री वा अन्य सिर्जनात्मक माध्यमबाट जुनसुकै भाषामा पल्सरसँग जोडिएका आफ्ना अनुभव प्रस्तुत गर्न सक्नेछन् । उत्कृष्ट सामग्रीलाई ‘२५ इयर्स अफ डेयरिङ द वर्ल्ड’ अभियानअन्तर्गत पल्सरका अन्तर्राष्ट्रिय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ । अभियानअन्तर्गत प्रत्येक साता छनोट हुने विजेताले ५०० अमेरिकी डलर बराबरको पुरस्कार प्राप्त गर्नेछन्। साथै, सहभागी प्रत्येक देशबाट एक जना भाग्यशाली राइडरले पल्सर एनएस ४००जेड मोटरसाइकल जित्ने अवसर पाउनेछन् । सहभागी हुन इच्छुकले पल्सरसँग जोडिएको आफ्नो अनुभव ‘माई पल्सर स्टोरी’ ह्यासट्यागसहित सामाजिक सञ्जालमा साझा गर्नुपर्नेछ । साथै @mypulsarofficial र @pulsarnepal लाई ट्याग गरी २०२६ सेप्टेम्बर ४ भित्र सामग्री पेस गर्नुपर्ने कम्पनीले जनाएको छ ।