टीभीएसले बजारमा ल्यायो ‘अर्बिटर’ इलेक्ट्रिक स्कुटर, मूल्य २ लाख ८१ हजार
काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक स्कुटर टीभीएसअर्बिटर नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । एक समारोहका बीच यो नयाँ र आधुनिक स्कुटरको अनावरण गरिएको हो । सहरी यात्रालाई लक्षित गरी ल्याइएको यो स्कुटरले एकपटक पूर्ण चार्जमा १५८ किलोमिटरसम्म (आईडीसी) यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार टीभीएस अर्बिटरमा ३.१ किलोवाट-घण्टा क्षमताको ब्याट्री, क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, ३४ लिटरको अन्डर-सिट बुट स्पेस तथा कनेक्टेड मोबाइल एपजस्ता सुविधा उपलब्ध छन् । उद्योगमै पहिलो पटक १४ इन्चको अगाडिको ह्विल प्रयोग गरिएको यस स्कुटरले आरामदायी, स्थिर र सहज यात्रा अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । स्कुटरमा कलर एलसीडी डिस्प्ले, इनकमिङ कल सूचना, टर्न-बाइ-टर्न नेभिगेसन, पार्किङ असिस्ट, रिजेनेरेटिभ ब्रेकिङ, इको र पावर मोड, ओभर-द-एयर (ओटीए) अपडेट, जियोफेन्सिङ, लाइभ लोकेसन ट्र्याकिङ तथा चोरीसम्बन्धी अलर्टजस्ता स्मार्ट फिचर पनि समावेश गरिएको कम्पनीले जनाएको छ । टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेयमन कार्गरले नेपालमा टीभीएस अर्बिटरको आगमनसँगै दिगो र स्वच्छ यातायात प्रवर्द्धन गर्ने कम्पनीको प्रतिबद्धता थप बलियो भएको बताए । आधुनिक प्रविधि, आकर्षक डिजाइन र दैनिक उपयोगिताको संयोजनमार्फत नयाँ पुस्ताका ग्राहकको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यो स्कुटर विकास गरिएको उनले बताए । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टीभीएस आइक्युबको सफलतापछि टीभीएस अरबिटरले पनि नेपाली विद्युतीय दुईपाङ्ग्रे बजारमा कम्पनीको उपस्थितिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । देशभर रहेको बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई सहज सेवा उपलब्ध गराइने उनले बताए । यस्तै, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताका अनुसार टीभीएस अर्बिटरलाई नेपालका विभिन्न सडक र भौगोलिक अवस्थाहरूमा हजारौं किलोमिटर परीक्षण गरिएको छ । सहरका व्यस्त सडकदेखि पहाडी उकालो र कच्ची बाटोहरूमा पनि यसको कार्यक्षमता उत्कृष्ट पाइएको उनको दाबी छ । पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा यसको सञ्चालन खर्च करिब १० गुणा कम हुने बताइएको छ । कम्पनीका अनुसार टीभीएसका इलेक्ट्रिक स्कुटरहरूको प्रयोगले नेपालमा हालसम्म करिब १६५० टन कार्बन उत्सर्जन कम गर्न मद्दत पुर्याएको छ । जुन ७५ हजार रुख रोपे बराबरको योगदान हो । जगदम्बाको मजबुत नेटवर्कले नेपाली ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता गुप्ताले जनाए । नेपालभर रहेका टीभीएसका १२५ भन्दा बढी टच प्वाइन्टहरूबाट यो स्कुटरको बिक्री र सेवा उपलब्ध हुनेछ । टीभीएस अरबिटर नियोन सनबर्स्ट, कोस्मिक टाइटानियम र मार्सियन कपर गरी तीन रंगमा उपलब्ध हुनेछ । यसको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
नेपालमा म्याक्सस ई- टेरोन ९ ईभी पिकअप सार्वजनिक, सुरुवाती मूल्य ८८ लाख
काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालयन मोटर्सले चिनियाँ अटोमोबाइल जायन्ट एसएआईसीको प्रिमियम ब्रान्ड म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ई-टेरोन ९ कम्फर्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमका बीच हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले संयुक्तरूपमा उक्त गाडीको अनावरण गरेका हुन् । विगत एक वर्षदेखि नेपालमा म्याक्ससका प्रिमियम इलेक्ट्रिक गाडीहरू बिक्री गर्दै आएको हिमालयन मोटर्सले ग्राहकको माग र आवश्यकतालाई मध्यनजर गर्दै तुलनात्मक रूपमा सुलभ मूल्यको कम्फर्ट मोडेल ल्याएको हो । यसअघि म्याक्ससका प्रिमियम पिकअपको मूल्य ९९ लाखदेखि १ करोड २८ लाख रुपैयाँसम्म रहेको थियो । नयाँ ई-टेरोन ९ कम्फर्टमा १०२.२ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । उक्त ब्याट्रीले एकपटकको फुल चार्जमा ५६० किलोमिटरसम्म रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ ।कम्पनीका अनुसार फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध पीकअपमा अगाडि १२५ किलोवाट र रियरमा २०० किलोवाट गरी कुल ३२५ किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले ७०० न्युटन मिटर टर्क प्रदान गर्छ । यसमा रहेको ब्याट्री प्याकलाई ११५ किलोवाटको डीसी चार्जरले ४२ मिनेटमा २० देखि ८० प्रतिशत चार्ज गर्न सकिनेछ । यसले ११५ किलोवाटसम्मका डीसी चार्जर सपोर्ट गर्छ । यो पिकअपमा एक्टेरियर र इन्टेरियरमा ‘भेहिलक टु लोड’ सुविधा उपलब्ध छ । म्याक्ससको ई-टेरन ९ को लम्बाइ ५५०० एमएम, चौडाइ १९९७ एमएम, उचाइ १८७४ एमएम छ । ३३०० एमएम लामो ह्वीलबेस रहेको पीकअपमा २५० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स रहेको छ । ई-टेरेन ९ पिकअपमा अटोमेटिक एयर कण्डिसन, हिटेड स्टेरिङ ह्वील, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट, लेदरेट सिट कभर, हिटेड, भेन्टिलेटेड फ्रन्ट एण्ड रियर सिट, अटोमेटिक हेडलाइट र वाइपर जस्ता क्याबिन फिचर छन् । ई-टेरन ९ मा सुरक्षाका लागि ३६० डिग्री क्यामरा, फ्रन्ट तथा रियर पार्किङ सेन्सर, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फर्वाड कोलुजन वार्निङ दिइएको छ । साथै लेन किप असिस्ट, लेन डिपार्चर वार्निङ, ब्लाइण्ड स्पट असिस्ट, रियर क्रस ट्राफिक अलर्ट, ईएसपी, ईबीए, अल टेरन मोड, ७ वटा एयरब्याग, अटोहोल्डजस्ता फिचर छन् । म्याक्सस ई-टेरन ९ ले युरो एनक्याप क्रयास टेक्टमा ५ स्टार रेटिङ पाएको छ । नेपाली भूगोलका लागि उपयुक्त नेपालको चुनौतीपूर्ण र अफ-रोड सडकलाई ध्यानमा राखेर यो गाडी डिजाइन गरिएको छ । यसमा २५५ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र ४५५ एमएमको वाटर वेडिङ (पानीमा चल्न सक्ने) क्षमता रहेको छ । कम्पनीले यस गाडीको सुरुवाती मूल्य ८८ लाख रुपैयाँ तोकेको छ । गाडी खरिद गर्ने ग्राहकले एक वर्षको बीमा, एक वर्षको सडक दस्तुर र दुई वर्षको निःशुल्क सर्भिसिङको सुविधा पाउनेछन् । कार्यक्रममा बोल्दै हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले भने, ‘नेपालमा ईभी भन्नाले सहरमा मात्र चलाउने गाडी भन्ने बुझिन्छ, तर म्याक्सस ई-टेरोन ९ ले त्यो धारणा बदल्नेछ । यो शक्ति, विलासिता र अफ–रोड क्षमताको सन्तुलन हो । ’ कम्पनीले निकट भविष्यमै म्याक्सस ब्रान्डका इलेक्ट्रिक माइक्रोबसहरू पनि नेपाली बजारमा ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ ।
भदौ १८ मा पल्सर स्पोर्ट्स अवार्ड, गोल्छा ग्रुप लगातार १९औँ पटक मुख्य प्रायोजक
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २३औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८३ आगामी भदौ १८ गते आयोजना गर्ने भएको छ । अवार्ड समारोह नेपाल पुलिस क्लबको ‘द ब्लु प्याभिलियन’मा हुने मञ्चले बुधबार जनाएको छ । यस वर्षको अवार्डका लागि मुख्य प्रायोजकका रूपमा गोल्छा ग्रुप रहने भएको छ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गोल्छा ग्रुप लगातार १९औँ पटक यस अवार्डसँग जोडिएको हो । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपाली खेलकुदको विकासमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक तथा खेलकुदसँग सम्बन्धित व्यक्तित्वलाई प्रोत्साहन गर्न निरन्तर सहकार्य गर्दै आएको बताए । मञ्चसँगको सहकार्यले अवार्डलाई अझ प्रभावकारी र प्रतिष्ठित बनाउने विश्वास उनले व्यक्त गरे । मञ्चका महासचिव अञ्जन खड्काका अनुसार यस वर्ष उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, युवा खेलाडी, प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी नौ विधामा पुरस्कार प्रदान गरिनेछ । पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिनेछ । पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । अवार्डलाई सफल बनाउन मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति तथा विभिन्न उपसमिति पनि गठन गरिएको छ । गत वर्ष पुरुषतर्फ क्रिकेटर दीपेन्द्र सिंह ऐरी, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटर पूजा महतो र प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षका उत्कृष्ट घोषित भएका थिए । पिपल्स च्वाइस अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए ।