काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५० औँ वर्षको अवसरमा १८ औँ नाडा अटो शो २०२६ आयोजना गर्ने भएको छ । प्रदर्शनी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।
नाडाले प्रदर्शनीको अग्रिम टिकट खरिद गर्ने दर्शकका लागि ५० प्रतिशतसम्म ‘अर्ली बर्ड’ छुटको घोषणा गरेको छ । यो सुविधा सीमित अवधिसम्म मात्र उपलब्ध हुने जनाइएको छ ।
यस वर्षको अटो शोको मुख्य प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ । स्वर्ण वर्षलाई विशेष बनाउने उद्देश्यले नाडाले खल्तीसँग सहकार्य गरी डिजिटल टिकटमा छुट योजना ल्याएको हो ।
योजनाअनुसार खल्ती एप वा आधिकारिक क्यूआर कोड स्क्यान गरेर अग्रिम टिकट खरिद गर्नेले साधारण र विद्यार्थी दुवै प्रकारका टिकटमा ५० प्रतिशत छुट पाउनेछन् । नाडाले छुट अवधि सकिनुअघि टिकट सुरक्षित गर्न आग्रह गरेको छ ।
यस वर्षको प्रदर्शनीमा नयाँ विद्युतीय (ईभी) तथा इन्धनबाट चल्ने दुईपांग्रे र चारपांग्रे सवारीसाधन, अत्याधुनिक अटो प्रविधि, पार्टपुर्जा, लुब्रिकेन्ट, वित्तीय सेवा र बिमा सेवासम्बन्धी जानकारी एकै स्थानमा उपलब्ध हुने जनाइएको छ ।

नाडाले ५० वर्षको यात्रा उत्सवका रूपमा मनाउन तथा नयाँ अटो प्रविधिसँग परिचित हुन अटोप्रेमी, युवा र विद्यार्थीलाई प्रदर्शनीमा सहभागी हुन आह्वान गरेको छ ।