यसरी हुँदैछन् ५५ ब्राण्डका स्टल निर्माण, तस्बिरमा हेर्नुहोस्

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुन लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को तयारी धमाधम चलिरहेको छ । एक्स्पो सुरु हुन एक दिन मात्र बाँकी रहँदा विभिन्न अटोमोबाइल ब्रान्डहरू आफ्ना स्टल सजाउन व्यस्त छन् । प्रदर्शनी स्थलमा रातिसम्मै स्टल निर्माण तथा सजावटको काम भइरहेको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा (भोली) साउन २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा एक्स्पो सञ्चालन हुँदैछ ।  

नाइमा एक्स्पोको तयारी पूरा, मंगलबारदेखि ५५ ब्रान्डहरूको कुम्भमेला

काठमाडौं । राजधानीको भृकुटीमण्डप यतिबेला नयाँ र आधुनिक गाडीहरूको चमकधमकले भरिने पर्खाइमा छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले साउन २६ गतेदेखि ३१ गतेसम्म आयोजना गर्न लागेको नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करणका लागि तयारी अन्तिम चरणमा पुगेको छ । ५५ ब्रान्ड र ५१ स्टलहरूको रौनक मंगलबारदेखि सुरु हुने यस एक्स्पोमा ५५ वटा अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहने जनाइएको छ । भृकुटीमण्डपको प्रदर्शनी हलभित्र ५१ वटा भन्दा बढी स्टलहरू निर्माण भइरहेका छन् । निर्माण कार्यमा संलग्न कामदारहरू दिनरात नभनी स्टलहरूलाई अन्तिम रूप दिन व्यस्त देखिन्छन् ।  कोही पेन्टिङमा व्यस्त छन् भने कोही लाइटिङ र डेकोरेसनमा । कतिपय स्टलहरूले आफ्नो ब्रान्डको पहिचान झल्काउने गरी विशेष र विलासी डिजाइनहरू तयार पारेका छन् । यस पटकको एक्स्पोको मुख्य आकर्षण भनेको ४० वटा नयाँ ब्रान्ड तथा मोडलहरूको सार्वजनिक हुनु हो । अटो प्रेमीहरूका लागि यो निकै उत्साहजनक खबर हो ।  प्रदर्शनीमा बिवाइडी, निसान, टाटा, टोयोटा, हुण्डाई, किया, महिन्द्राजस्ता स्थापित ब्रान्डका साथै फोर्थिङ, डोङफेङ, लिपमोटर र म्याक्ससजस्ता नयाँ ब्रान्डहरू पनि देखिनेछन् । यसैगरी पारामाउन्ट मोटर्सको स्टलमा विशेष आकर्षण रहनेछ होङ्ची गुओली ब्रान्डको गाडी । यो त्यही ब्रान्ड हो जुन चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रयोग गर्ने गर्छन् ।  पारामाउन्ट मोटर्सले मात्रै ८ वटा नयाँ मोडल लन्च गर्दैछ । त्यस्तै, टोयोटाले आफ्नो स्टलमा दुईवटा नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । टोयोटाले एक्स्पो अवधिभर गाडी खरिदमा ३ लाखदेखि २१ लाख रुपैयाँसम्मको भारी छुट दिने घोषणा समेत गरेको छ । जसले ग्राहकहरूलाई निकै आकर्षित गर्ने देखिन्छ । दुई पाङ्ग्रे सवारी र विद्युतीय प्रविधि एक्स्पोमा चार पाङ्ग्रे मात्र नभई दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनहरूको पनि उत्तिकै बलियो उपस्थिति रहनेछ। टिभीएस लगायतका ब्रान्डहरूले आफ्ना नयाँ स्कुटर र बाइकहरू प्रदर्शन गर्नेछन् ।   पछिल्लो समय लोकप्रियता कमाइरहेका विद्युतीय सवारी (ईभी) हरू यस मेलाको मुख्य हिस्सा रहनेछन । प्रदर्शनी हेर्न आउने दर्शकहरूको सुविधाका लागि नाइमाले हलभित्र स्पष्ट दिशा निर्देश र पर्याप्त वासरुमको व्यवस्था गरेको छ ।  वर्षायामको मौसम भएकाले बिजुली जाने समस्यालाई मध्यनजर गर्दै ठूला क्षमताका जेनेरेटरहरूको ब्याकअप राखिएको छ, जसले गर्दा प्रदर्शनीमा कुनै पनि समय अन्धकार नहुने र उज्यालोको चमक कायमै रहने सुनिश्चित गरिएको छ । एक्स्पोमा ग्राहकले विभिन्न छुट अफरमा आफ्नो रोजाइका सवारी बुकिङ गर्न सक्नेछन् ।  नाइमाका अनुसार एक्स्पोमा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनसँगै कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, अत्याधुनिक प्रविधि, सेवा र मोबिलिटीसम्बन्धी विभिन्न उत्पादनलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिनेछ । यात्रुवाहक विद्युतीय सवारीसाधनसमेत एक्स्पोको प्रमुख आकर्षणका रूपमा रहनेछन् । गत वर्ष पहिलोपटक आयोजना गरिएको नाइमा एक्स्पोले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाएपछि यसपटक अझ व्यापक बनाइएको नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले बताइन् । उनले गत वर्षको सफलताले एक्स्पोलाई थप विस्तार गर्ने आधार तयार भएको बताइन् । ‘एक्स्पोमार्फत हामीले आफूलाई नयाँ संस्थाका रूपमा स्थापित गर्न सफल भयौं,’ उनले भनिन्, ‘गत वर्ष ४२ वटा ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका थिए । यसपटक त्यो संख्या बढेर ५५ पुगेको छ । ब्रान्डको सहभागिता बढ्नु पनि हाम्रो लागि महत्वपूर्ण सफलता हो ।’ उनका अनुसार नाइमा एक्स्पो केवल सवारीसाधन प्रदर्शन गर्ने थलोमा सीमित नभई अटोमोबाइलप्रेमी, व्यवसायी र आम उपभोक्तालाई एउटै छानामुनि जोड्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।  ‘अटोप्रेमीको एउटा हिस्सा बन्ने गरी नाइमा एक्स्पो आयोजना गर्दैछौं,’ वैद्यले भनिन्, ‘यसलाई अटोमोबाइल क्षेत्रको प्रविधि, नयाँपन र सम्भावनासँग नजिकबाट जोडिने अवसरका रूपमा विकास गर्न चाहन्छौं ।’ गत वर्षको तुलनामा ब्रान्डहरूको संख्या बढेर ४२ बाट ५५ पुग्नुले नेपालको अटोमोबाइल क्षेत्रमा बढ्दो उत्साहलाई झल्काउँछ । साउन २६ गतेदेखि सुरु हुने यो ६ दिने मेलाले नेपालको यातायात क्षेत्रको भविष्य र नयाँ प्रविधिको दिशा तय गर्ने अपेक्षा गरिएको छ ।  गत वर्ष एक्स्पोमा एक लाखभन्दा बढी आगन्तुकले अवलोकन गरेको नाइमाले जनाएको छ । यसपटक भने गत वर्षभन्दा बढी आगन्तुक भित्र्याउने लक्ष्य नाइमाको छ । 

नाइमा एक्स्पोमा टोयोटाका गाडीमा २१ लाखसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुने

काठमाडौं । टोयोटा नेपालले आगामी नाइमा एक्स्पो २०२६ को अवसरमा ग्राहकहरूका लागि आकर्षक छुट तथा विशेष योजना घोषणा गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा साउन २६ देखि ३१ गते (अगस्ट ११ देखि १६) सम्म आयोजना हुने अटो शोमा टोयोटाका गाडी बुकिङ गर्ने ग्राहकले ३ लाख रुपैयाँदेखि २१ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्नेछन् ।  एक्स्पोको अवसरमा टोयोटाले दुई नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी समेत गरेको छ । एक्स्पो अवधिभर टोयोटाका गाडी बुकिङ गर्दा ३ लाखदेखि २१ लाख रुपैयाँसम्मको छुट प्राप्त हुनेछ । यो छुट केवल एक्स्पो अवधिमा गरिने बुकिङमा मात्र लागू हुनेछ । टोयोटाले नेपाली अटोमोबाइल बजारमा आफ्नो पहुँच विस्तार गर्दै दुई नयाँ मोडल सार्वजनिक गर्दैछ । गाडी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत छानिने एक जना भाग्यशाली विजेताले जोडीसहित इलिट एक्स्प्लोरर्स कन्याकुमारी ड्राइभमा सहभागी हुने अवसर पाउनेछन् ।  नाइमा एक्स्पोमा टोयोटाको गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले कम्युनिटी ड्राइभमा भाग लिन पाउनेछन् । टोयोटा नेपालका अनुसार यो विशेष योजना केवल गाडी खरिदमा सीमित नभई ग्राहकलाई ठूलो बचत, नयाँ प्रविधि, यात्रा र सामुदायिक अनुभवसँग जोड्ने उद्देश्यले ल्याइएको हो ।  कम्पनीले साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने अटो शोमा सहभागी भई नयाँ मोडलहरूको अवलोकन र विशेष अफरको लाभ लिन सम्पूर्ण ग्राहकहरूलाई आह्वान गरेको छ ।