नाडामा कस्तो रह्यो करण चौधरीको कार्यकाल ?

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) मा करणकुमार चौधरीको कार्यकाल औपचारिक रूपमा सम्पन्न भएको छ । यो दुई वर्षको कार्यकाल नेपालको अटोमोबाइल इतिहासमा स्मरणीय रहने अटो व्यवसायीहरू बताउँछन् ।  करणको कार्यकालमा भएको संस्थाको ऐतिहासिक फुट अर्थात् विभाजनले करणले राम्रा गरेका काम पनि छायाँमा परेका छन् । उनकै कार्यकालमा विद्युतीय सवारी (ईभी)को प्रयोगमा क्रान्ति नै भएको छ ।  करण चौधरीको कार्यकालमा नाडाले आफूलाई केवल एउटा व्यापारिक संस्थामा मात्र सीमित नराखी नीतिगत बहसको केन्द्रमा उभ्याउन सफल भए पनि त्यो विषय उनै करणको कारण छायामा पर्‍यो ।  उनकै नेतृत्वमा नाडाले नेपाललाई क्षेत्रीयस्तरमै उदीयमान ईभी बजारका रूपमा स्थापित गर्न भूमिका खेल्यो । नीतिगत तहमा भएका पहलले विद्युतीय सवारीको पूर्वाधार र प्रविधिमैत्री वातावरण निर्माणमा टेवा पुर्‍यायो । नाडाको प्रशासनिक संरचनालाई आधुनिक र प्रभावकारी बनाउँदै सदस्यहरूसँगको समन्वयलाई डिजिटल प्रविधिसँग जोड्ने प्रयास भयो । राजस्व नीति र वातावरणीय मापदण्डका जटिलताहरूका बीच नाडाले सरकारसँग निरन्तर पैरवी गर्दै अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको मेरुदण्डको रूपमा स्थापित गर्ने प्रयास पनि गर्‍यो ।   अटो क्षेत्र तीव्र परिवर्तनको चरणमा रहेको बेला नाडाको नेतृत्व सम्हालेका चौधरीले आफ्नो कार्यकाललाई संस्थागत सुदृढीकरण, नीतिगत संवाद र नवप्रवर्तन प्रवर्द्धनमा मा केन्द्रित गर्दै सफलतापूर्वक सम्पन्न गरेको दाबी गरे ।   करणका अनुसार नाडाले संगठनात्मक क्षमतामा उल्लेखनीय सुधार गर्दै सदस्यहरूसँगको समन्वय र सार्वजनिक–निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाएको छ । यसले नाडालाई अटोमोबाइल उद्योगको विश्वसनीय र प्रतिनिधिमूलक संस्थाका रूपमा थप स्थापित गरेको छ । आफ्नो कार्यकालभर करणले उद्योग र सरकारबीच सशक्त संवादलाई प्राथमिकता दिएको दाबी गरे । राजस्व नीति, वातावरणीय मापदण्ड तथा अन्तर्राष्ट्रिय व्यापारका जटिलताबीच उद्योगका मुद्दाहरूलाई स्पष्ट र रचनात्मक रूपमा प्रस्तुत गर्दै सन्तुलित नीतिगत वातावरण निर्माणमा योगदान पुर्‍याइएको उनको भनाइ छ ।  छोटो अवधिमै ईभी प्रयोगमा आएको वृद्धि नेपाललाई क्षेत्रीय स्तरमा उदीयमान बजारका रूपमा स्थापित गर्न सफल भएको उनी बताउँछन् । अटोमोबाइल उद्योगभित्रका विभिन्न सरोकारवालाहरू उत्पादक, वितरक, वित्तीय संस्था तथा सेवा प्रदायकहरूबीच सहकार्य सुदृढ बनाउने प्रयास पनि भएको उनले बताए । जसले उद्योगको सामूहिक आवाजलाई अझ बलियो बनाएको उनको बुझाइ छ ।  करणले भने, ‘नेतृत्व पद अस्थायी भए पनि यसको महत्त्व संस्थालाई बलियो बनाउने र उद्योगको दीर्घकालीन विकासमा योगदान दिने क्षमतामा निर्भर हुन्छ ।’ दुःखद नजीरको बीजारोपण  नाडाको नेतृत्वमा बसेर करण चौधरीले जे जति काम गरेका छन्, तिनको प्रशंसाको साटो उनले आलोचना बढी महसुस गरे । नाडाभित्रको आन्तरिक कलह र फुटले चौधरीको कार्यकालमाथि ठूलो प्रश्नमात्रै उठेको छैन, समग्र अटो व्यवसायीको छाता संस्थाको रूपमा रहेको नाडाकै इतिहासमा एउटा दुःखदायी नजीरको बिजारोपणसमेत भएको छ ।  लामो समयदेखि एक भएर हातेमालो गर्दै आएका अटो व्यवसायीहरू करणकै कार्यकालमा विभाजित हुन पुगे । जसलाई नाडाकै पूर्वअध्यक्षहरू र समग्र अटो व्यवसायीहरू सम्झिन पनि चाहँदैनन् । नाडाका पूर्वअध्यक्ष ध्रुव थापाले करण चौधरीमाथि विश्वासघात र अधिनायकवादको गम्भीर आरोप लगाए । थापाका अनुसार नाडालाई निर्विरोध लैजाने उद्देश्यले करण चौधरी र आकाश गोल्छाबीच आलोपालो नेतृत्व गर्ने जुन लिखित सहमति भएको थियो, नेतृत्वमा पुगेपछि चौधरीले त्यसलाई लत्याइदिए । ‘आकाश गोल्छाजी मेरो प्यानलको हुनुहुन्थ्यो । तर, संस्थाको हितका लागि मैले नै पहल गरेर यो पटक करणजीलाई अध्यक्ष स्वीकार्ने र अर्को पटक आकाशलाई दिने सहमति गराएको थिएँ,’ थापाले भने, ‘तर नेतृत्वमा पुगेपछि चौधरीजीले लिखित सम्झौताको धज्जी उडाउनुभयो र ठूलो विश्वासघात गर्नुभयो ।’ अध्यक्ष करण चौधरीले पदाधिकारी चयन, सदस्य मनोनयन र समिति गठनमा एकलौटी गरेको र पूर्वसहमति पालना नगरेकै कारण नाडाभित्र विद्रोह सुरु भएको थापाको बुझाइ छ । त्यही विवादका कारण नेपाल अटोमोबाइल इम्पोटर्स एशोसिएशन (नाइमा) गठन भएको र नाडा विभाजित भएको उनले बताए ।  थापाका अनुसार अध्यक्ष करणले पदाधिकारी चयन र समिति गठनमा एकलौटी गरेको भन्दै प्रमुख आयातकर्ताहरूले नाडाबाट अलग्गिएर नेपाल अटोमोबाइल इम्पोटर्स एशोसिएशन (नाइमा) गठन गरे । जसका कारण नाडा अहिले दुई विभाजित भएको छ । ‘नाडा अहिले पूर्णतः विभाजित छ, यो अवस्थामा पुग्नुको मुख्य कारक नै उहाँ हो,’ उनले भने ।  पूर्वअध्यक्ष थापाले करण चौधरीको कार्यकाललाई नाडाको इतिहासकै सबैभन्दा खराब कार्यकालको संज्ञा दिए । उनले भने, ‘जसको कार्यकालमा संस्था विभाजित हुन्छ, त्यो नेतृत्व पूर्ण रूपमा असफल हो । नाडाको जुन उचाइ र सम्मान थियो, त्यो सबै गुमेको छ ।’ उनले नाडाको पछिल्लो साधारणसभा र अधिवेशन पनि विधानसम्मत नभएको टिप्पणी गरे । ‘अधिवेशनमा एकजना पनि पूर्वअध्यक्ष सहभागी नहुनुले नै संस्था कति संकटमा छ भन्ने पुष्टि गर्छ । पूर्वअध्यक्ष नपाएर पुराना महासचिवलाई अतिथि बनाउनुपर्ने अवस्था आउनु लज्जास्पद हो,’ थापाले थपे ।  प्रमुख आयातकर्ताहरूले नाडा बहिष्कार गरेर नयाँ संस्था नाइमा बनाएपछि अब नाडाको हैसियत डिलर र पार्टस् एशोसिएसन जस्तो मात्रै भएको थापाको विश्लेषण छ ।  उनले भने, ‘ठुला आयातकर्ताहरू कोही पनि नाडामा छैनन्, अब यो संस्था पहिलाको जस्तो प्रभावशाली रहेन ।’ अदालतमा मुद्दा विचाराधीन रहेको र आकाश गोल्छाको टिमले नाडाका गतिविधि बहिष्कार गरिरहेको अवस्थामा नाडाको भविष्य नै संकटमा परेको थापाले बताए ।  यसैगरी, पूर्वअध्यक्ष कृष्ण दुलालले पनि चौधरीको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन् । उनले भने, ‘हामीलाई कुनै पनि कार्यक्रममा सहभागी गराइएन, जसका कारण हामी टाढिन बाध्य भयौं । अबको नयाँ नेतृत्वले यो फुटेको मन र संस्थालाई जोड्नुपर्ने ठूलो चुनौती छ ।’ असन्तुष्ट पक्षले भने उच्च अदालत पाटनले खारेज गरेको रिट पुनरावेदन गरेर सर्वोच्च अदालत जाने बताएको छ । करण चौधरीको बहिर्गमनसँगै सुरेन्द्र उप्रेतीले नाडाको कमाण्ड सम्हालेका छन् । उनले विभाजित संस्था र अदालतमा विचाराधीन मुद्दाहरूलाई अब कसरी अगाडि बढाउँछन् त्यो भने हेर्न बाँकी नै छ ।  एकातिर नयाँ सरकारसँग समन्वय गरेर थला परेको अटोमोबाइल बजारलाई चलायमान बनाउनुपर्नेछ भने अर्कोतिर नाडा छोडेर नाइमातिर लागेका प्रभावशाली आयातकर्ताहरूलाई पुनः विश्वासमा लिएर संस्थालाई एकताबद्ध बनाएर चलायमान बनाउनेपर्ने जिम्मेवारीमा उप्रेती छन् । 

‘मेड इन नेपाल’ हुण्डाई कारः स्वदेशी औद्योगिकीकरणको नयाँ अध्यायको दिशामा

काठमाडौं । नेपालमा ‘मेड इन नेपाल’ अवधारणालाई व्यवहारमा उतार्दै नवलपरासीमा स्थापना गरिएको हुण्डाई एसेम्बली प्लान्टले देशको औद्योगिकीकरण यात्रामा महत्त्वपूर्ण मोड ल्याएको छ । करिब दुई वर्षअघि सञ्चालनमा आएको उक्त प्लान्टले छोटो अवधिमै आर्थिक, प्राविधिक र पेशागत क्षेत्रमा सकारात्मक प्रभाव देखाउन थालेको छ ।  लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक दीपक थपलियाले हालसम्म करिब दुई हजारभन्दा बढी हुण्डाई गाडी नेपाली इञ्जिनियर र प्राविधिकहरूको सक्रिय सहभागितामा उत्पादन भइसकेको जानकारी दिए । उनका अनुसार यो उपलब्धि केवल उत्पादनको हिसाबले मात्र महत्त्वपूर्ण नभई नेपाली जनशक्तिको क्षमता, दक्षता र आत्मविश्वासको प्रमाण पनि हो ।  सन् २०२४ बाट औपचारिक उत्पादन सुरु गरेको यस उद्योगले अहिले ‘भेन्यू’ र ‘क्रेटा’ जस्ता लोकप्रिय मोडेलका गाडीहरू नेपालमै एसेम्बल गर्दै आएकाे छ । थपलियाका अनुसार हाल दैनिक ८ घण्टाको एउटै सिफ्टमा ८ वटा गाडी उत्पादन भइरहेका छन् ।  उद्योगको वार्षिक उत्पादन क्षमता ५ हजार युनिटसम्म रहेको कम्पनीका महाप्रबन्धक थपलियाले जानकारी दिए । उनले उत्पादन योजना, गुणस्तर सुनिश्चितता, उपकरण सञ्चालनदेखि अर्ध-रोबोटिक एसेम्बली प्रक्रियासम्मका काममा नेपाली प्राविधिकहरूले प्रत्यक्ष अनुभव हासिल गरिरहेको बताए । यसले नेपाली प्राविधिकहरूलाई आधुनिक औद्योगिक प्रणालीसँग परिचित गराउँदै भविष्यका ठूला औद्योगिक परियोजनाका लागि तयार बनाइरहेको उनको भनाइ छ ।  थपलियाका अनुसार यस पहलले कार उत्पादन मात्र होइन, औद्योगिक अनुशासन, प्रक्रियागत मानकीकरण र सूक्ष्म इञ्जिनियरिङ जस्ता पक्षहरूलाई पनि स्थानीय स्तरमै स्थापित गर्न मद्दत गरिरहेको छ । यस्तो अनुभवले दीर्घकालीन रूपमा नेपालको आफ्नै औद्योगिक क्षमता निर्माणका लागि महत्त्वपूर्ण आधार तयार गर्ने उनले बताए । थपलियाले स्थानीय प्रतिभामा आधारित यस्ता उद्योगहरूले अर्थतन्त्रका विभिन्न तहमा मूल्य अभिवृद्धि गर्दै आपूर्ति शृङ्खलालाई बलियो बनाउने र नेपाललाई क्रमशः आत्मनिर्भर औद्योगिक प्रणालीतर्फ लैजान सहयोग गर्ने उल्लेख गरे ।  उनका अनुसार अन्तर्राष्ट्रिय कम्पनीहरूको उपस्थितिले लगानीसँगै प्रविधि, व्यवस्थापन प्रणाली र औद्योगिक कार्यसंस्कृति पनि भित्र्याउँछ । जब नेपाली इञ्जिनियर र प्राविधिकहरूले यस्तो संरचित वातावरणमा काम गर्ने अवसर पाउँछन्, उनीहरूले उत्पादन प्रक्रिया, गुणस्तर नियन्त्रण र औद्योगिक सञ्चालनका आधुनिक तरिका प्रत्यक्ष रूपमा सिक्ने मौका पाउँछन् ।  यसका साथै यस्ता उद्योगहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्ने, प्राविधिक सीप विकास गर्ने तथा ढुवानी र सहायक सेवाजस्ता क्षेत्रलाई पनि सक्रिय बनाउने उनले बताए । यसबाट देशको समग्र आर्थिक गतिविधि विस्तार हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान बढ्ने विश्वास व्यक्त गरिएको छ ।  थपलियाले आगामी दिनमा सीप विकासलाई अझ गहिरो बनाउने, उत्पादन क्षमता विस्तार गर्ने र औद्योगिक उत्पादनको सटीकता सुधार गर्ने दिशामा ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनका अनुसार यस्तो मोडललाई निरन्तरता दिन सकिएमा नेपाल व्यापारमा आधारित अर्थतन्त्रबाट उत्पादनमुखी, सीप–आधारित र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम अर्थतन्त्रतर्फ अघि बढ्न सक्नेछ ।  उनले ‘मेड इन नेपाल’ हुण्डाई कार उत्पादनको पहलले नेपालमा औद्योगिकीकरण सम्भव छ भन्ने स्पष्ट सन्देश दिएको र स्थानीय जनशक्ति, प्रविधि हस्तान्तरण तथा सीप विकासमार्फत देशको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने समेत बताए ।  सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न कर छुटलगायत अन्य सुविधा दिएपछि लक्ष्मी ग्रुपले हुण्डाईका कार नेपालमै एसेम्बलका लागि सीकेडी (कम्प्लिटली नक्ड डाउ) पार्ट्स आयात सुरु गरेको थियो । नेपालको अटोमोबाइल क्षेत्रमा ठूलो लगानी मानिएको यो प्लान्टमा ५ हजार गाडी वार्षिक उत्पादन क्षमता रहेको छ । एचएमसीको सबै मापदण्डहरूको पालना गर्दै नेपालभर मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने लक्ष्य कम्पनीको छ । लक्ष्मी ग्रुपले आधुनिक पूर्वाधारसहित स्थापना गरेको यो उद्योग १० बिघा क्षेत्रफल (६८ हजार वर्ग मिटर) मा फैलिएको छ भने एसेम्बली प्लान्टमा १४ हजार वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको छ । कुल २ अर्ब ६५ करोड लगानीमा स्थापना गरिएको यस परियोजनाले औद्योगिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको लक्ष्मी ग्रुपले दाबी गरेको छ ।

नागपोखरीमा याडियाको सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं । नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालले काठमाडौंको नागपोखरीमा नयाँ याडिया केयर सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । काठमाडौंको केन्द्रीय क्षेत्रमा रहेको यो नयाँ सेवा केन्द्रले याडिया स्कुटर प्रयोगकर्ताहरूलाई छिटो, प्रभावकारी र भरपर्दो मर्मत तथा सेवा सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।  यस केन्द्र सञ्चालनमा आएपछि ग्राहकहरूले अब अझ सहज स्थानमा प्राविधिक सेवा तथा मर्मत सुविधा प्राप्त गर्न सक्नेछन् । यो सर्भिस सेन्टर आइतबारबाछ औपचारिक रूपमा सञ्चालनमा आएको छ र विशेष गरी काठमाडौंको केन्द्रिय क्षेत्रमा बसोबास गर्ने वा काम गर्ने याडिया प्रयोगकर्ताहरूका लागि सेवा पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ । याडिया लगातार ९ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रिक दुई–पांग्रे सवारी साधन ब्रान्ड को रूपमा आफ्नो स्थान कायम राख्दै आएको छ । नेपाली बजारमा पनि याडियाका विभिन्न मोडेलहरू ग्राहकहरूबीच लोकप्रिय बन्दै गइरहेका छन्। विशेष गरी भेलक्स, ओ‌विन तथा सबैभन्दा धेरै बिक्री हुने ई८ एस प्रो  मोडेलले नेपाली उपभोक्ताबाट राम्रो प्रतिक्रिया प्राप्त गरिरहेका छन् । कम्पनीले आगामी दिनहरूमा नेपालका अन्य प्रमुख शहरहरूमा पनि सर्भिस सेन्टरहरू विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिएको छ ।