पूर्वी नेपालका घटनाप्रति नाडाको चिन्ता, शान्ति र सामाजिक सद्भाव कायम राख्न अपिल
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले सुनसरीको कप्तानगञ्जसहित पूर्वी नेपालका केही जिल्लामा देखिएका अशान्तिपूर्ण गतिविधि र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नाडाले सामाजिक सद्भाव कायम राख्दै संवाद र लोकतान्त्रिक प्रक्रियाबाट समस्या समाधान गर्न सबै पक्षसँग अपिल गरेको हो । अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीद्वारा जारी विज्ञप्तिमा नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएकाले विविधताभित्रको एकता, सहिष्णुता र भाइचाराको भावना जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गरिएको छ । नाडाले संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार र माग शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट राख्ने अधिकार सुनिश्चित गरेको भए पनि हिंसा, तोडफोड, अशान्ति तथा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि कुनै पनि रूपमा स्वीकार्य नहुने जनाएको छ । विज्ञप्तिमा यस्ता घटनाले शान्ति–सुरक्षामा मात्र नभई उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल असर पार्ने उल्लेख गरिएको छ । विशेषगरी व्यवसायिक वातावरण प्रभावित हुँदा निजी क्षेत्र थप चिन्तित बनेको नाडाको भनाइ छ । नाडाले सबै सम्बन्धित पक्षलाई संयमता अपनाउन, कानुनी तथा लोकतान्त्रिक प्रक्रियाअनुसार संवाद र आपसी समझदारीमार्फत समस्याको शीघ्र समाधान खोज्न आग्रह गरेको छ । साथै, नेपाल सरकार र सम्बन्धित निकायलाई शान्ति–सुरक्षा कायम गर्दै जनधनको संरक्षण, सामान्य जनजीवन र व्यवसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्न अनुरोध गरेको छ । नाडाले सम्पूर्ण नेपाली नागरिकलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहिष्णुतालाई थप सुदृढ बनाउन आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ ।
अब एनएमबी बैंकले सेकेन्ड ह्यान्ड ईभी किन्न कर्जा दिने
काठमाडौं । एनएमबी बैंकले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि पुराना (सेकेन्ड ह्यान्ड) विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्न कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । हरित बैंकिङप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै बैंकले नेपालभर प्रयोगमा रहेका चारपांग्रे विद्युतीय सवारीसाधन खरिदका लागि नयाँ वित्तीय योजना सार्वजनिक गरेको हो । बैंकका अनुसार ‘प्रि–ओन्ड ईभी फाइनान्सिङ’ योजनामार्फत व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका ग्राहकले सहज रूपमा कर्जा लिन सक्नेछन् । छिटो प्रक्रिया र ग्राहकमैत्री सेवालाई प्राथमिकता दिइएको यो योजनाअन्तर्गत देशभर रहेका एनएमबी बैंकका शाखा वा बैंकका डिजिटल माध्यममार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ । एनएमबी बैंकले हरित वित्तीय सेवामा आफ्नो अग्रणी भूमिका थप मजबुत बनाउने उद्देश्यसहित यो योजना ल्याएको जनाएको छ । बैंकले वातावरणमैत्री यातायातलाई प्रोत्साहन दिँदै बढीभन्दा बढी ग्राहकलाई विद्युतीय सवारीसाधन प्रयोगतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरेको छ । हाल एनएमबी बैंकले देशभर १९८ शाखा, १७६ एटीएम र ९ वटा विस्तारित काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
ठूलो ब्याट्री र प्रिमियम फिचर्ससहित नेपाली बजारमा नयाँ टाटा पन्च ईभी
काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा ठूलो ब्याट्री क्षमता, आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिसहितको नयाँ टाटा पन्च ईभी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ संस्करणले लामो रेन्ज, शक्तिशाली प्रदर्शन र थप स्मार्ट फिचर्समार्फत विद्युतीय सवारी प्रयोगकर्तालाई नयाँ अनुभव दिने लक्ष्य राखेको छ । नयाँ टाटा पन्च ईभीमा प्रिमियम इन्टेरियर, आधुनिक कनेक्टिभिटी फिचर्स तथा आरामदायी ड्राइभिङ अनुभवलाई प्राथमिकता दिइएको छ । उच्च ग्राउन्ड क्लियरेन्सका कारण यो सवारी नेपाली सडकको विविध भूगोल र यात्राका लागि उपयुक्त हुने कम्पनीको दाबी छ । सुरक्षालाई समेत प्राथमिकतामा राखिएको यस विद्युतीय एसयूभीले ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ । कम्पनीका अनुसार यसले चालक र यात्रुको सुरक्षासँगै विश्वसनीय प्रदर्शन सुनिश्चित गर्नेछ । लामो रेन्ज, ठूलो ब्याट्री क्षमता र एसयूभीको आकर्षक डिजाइनका कारण नयाँ टाटा पन्च ईभी नेपाली बजारमा विद्युतीय सवारीको विकल्पका रूपमा थप प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ । आरामदायी इन्टेरियरका साथै अझै धेरै स्मार्ट तथा प्रिमियम फिचर्सहरू समावेश गरिएकाले यसले चालकलाई उत्कृष्ट एवं सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्नेछ।