केडियाले किनेपछि मोबाइल कर्जामा आक्रामक बतास, एनपीए १६.९ प्रतिशतमा झार्यो
काठमाडौं । केडिया ग्रुपअन्तर्गत सञ्चालित बतास हायर पर्चेजले आर्थिक वर्ष २०८१/८२ मा १९ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा २७.८३ प्रतिशत अर्थात् ७ करोड ६० लाख रुपैयाँ कम हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २७ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । यसअघि कम्पनीले यसअघि आव २०७९/८० मा ३० करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा २१ करोड ९० लाख रुपैयाँ, आव २०७७/७८ मा २३ करोड ९० लाख रुपैयाँ र आव २०७६/७७ मा २१ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा १६ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ । यस्तै, चालु आवको नौ महिनामा कम्पनीको नेटवर्थ २८ करोड ३० लाख रुपैयाँ पुगेको छ । जबकि गत आर्थिक वर्ष २०८१/८२ मा नेटवर्थ २४ करोड ३० लाख रुपैयाँ रहेको थियो । त्यसअघि आव २०८०/८१ मा २७ करोड १० लाख रुपैयाँ, आव २०७९/८० मा ३० करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा ३५ करोड ३० लाख रुपैयाँ, आव २०७७/७८ मा ३३ करोड ६० लाख रुपैयाँ र आव २०७६/७७ मा १७ करोड ९० लाख रुपैयाँ थियो । सार्वजनिक विवरणअनुसार चालु आवको पहिलो नौ महिनामा कम्पनीको कुल कर्जा पोर्टफोलियो १ अर्ब ५५ करोड ७० लाख रुपैयाँ पुगेको छ । यसअघि आव २०८१/८२ मा १ अर्ब २३ करोड १० लाख रुपैयाँ, आव २०८०/८१ मा १ अर्ब ५८ करोड रुपैयाँ, आव २०७९/८० मा १ अर्ब ८४ करोड ६० लाख रुपैयाँ, आव २०७८/७९ मा १ अर्ब ६४ करोड ५० लाख रुपैयाँ, आव २०७७/७८ मा १ अर्ब ४५ करोड रुपैयाँ र आव २०७६/७७ मा १ अर्ब ४५ करोड ४० लाख रुपैयाँ कुल पोर्टफोलियो थियो । सन् २००३ मा बतास समूहद्वारा स्थापना गरिएको बतास हायर पर्चेज प्रालि मार्च २०२५ मा केडिया ग्रुपले खरिद गरेको हो । खरिदपछि कम्पनीको सम्पूर्ण सेयर स्वामित्व तथा सञ्चालक समिति परिवर्तन भएको छ । हाल कम्पनीका अध्यक्ष सानु काजी तमोट र प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र प्रसाद तिम्सिना रहेका छन् । कम्पनीले परम्परागत हायर पर्चेजसँगै मोबाइल फोन तथा डिजिटल उपकरण खरिदका लागि पनि कर्जा प्रवाह गर्दै आएको छ । सन् २०२५ अगस्टदेखि सुरु गरिएको यो व्यवसायले छोटो अवधिमै उल्लेखनीय विस्तार गर्दै चालु आवको ९ महिजासम्म कम्पनीको कुल पोर्टफोलियोको करिब ३० प्रतिशत हिस्सा ओगटेको छ । यस्तै, यात्रुवाहक सवारी (प्यासेन्जर भेहिकल) कर्जामा पनि तीव्र वृद्धि भएको कम्पनीले जनाएको छ । चालु आवको नौ महिनामा यस क्षेत्रको वार्षिकीकृत वृद्धि करिब २५१ प्रतिशत पुगेको छ । यससँगै कुल पोर्टफोलियोमा यसको हिस्सा गत वर्ष १४ प्रतिशत रहेकोमा ९ महिनामा ३० प्रतिशत पुगेको कम्पनीको दाबी छ । यस विस्तारसँगै व्यावसायिक सवारी तथा निर्माण उपकरण लगानीमा कम्पनीको निर्भरता घटेको छ । यी क्षेत्रको हिस्सा गत वर्ष ८४ प्रतिशत रहेकोमा समीक्षा अवधिमा घटेर ३८ प्रतिशतमा सीमित भएको छ । चालु आवको ९ महिनामा कम्पनीको खुद ब्याज आम्दानी १२७ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ४.२ प्रतिशत र अघिल्लो वर्ष ४.४ प्रतिशत रहेको ब्याज आम्दानी चालु आवमा बढेर ९.५ प्रतिशत पुगेको छ । ऋण लिने लागत घट्नुका साथै मोबाइल तथा डिजिटल उपकरण कर्जाबाट प्राप्त आम्दानी सुधारको प्रमुख कारण रहेको कम्पनीले जनाएको छ । समीक्षा अवधिमा कुल ब्याज आम्दानीमध्ये करिब ४१ प्रतिशत हिस्सा सबभेन्सन आम्दानीको रहेको छ, जबकि अघिल्ला वर्षहरूमा यस्तो आम्दानी थिएन । कम्पनीको कुल खराब कर्जा (एनपीए) १६.९ प्रतिशत रहेको छ । यसअघि गत वर्ष २१.४ प्रतिशत कुल खराब कर्जा थियो । कर्जा पोर्टफोलियो विस्तारका कारण अनुपात घटेको कम्पनीले जनाएको छ । हायर पर्चेज कर्जा लिने ग्राहकहरूको कर्जा गुणस्तर परम्परागत बैंक तथा वित्तीय संस्थाका ग्राहकको तुलनामा सामान्यतः कमजोर हुन्छ । धितो व्यवस्थापन प्रणाली पनि अपेक्षाकृत कमजोर रहेकाले यस्तो क्षेत्रमा लगानी गर्ने कम्पनीहरूको जोखिम उच्च रहने जनाएको छ । यद्यपि उच्च ब्याजदरले केही हदसम्म जोखिम न्यूनीकरण गरे पनि आर्थिक मन्दी लम्बिँदा खराब कर्जा बढ्ने प्रवृत्ति हायर पर्चेज उद्योगमा सामान्य मानिन्छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ८० करोड रुपैयाँ ऋण लिएको छ । जसमा २ अर्ब ७६ करोड १० लाख रुपैयाँ दीर्घकालीन र ३ करोड ९० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।
५० वर्ष पूरा गरेको नाडाको स्वर्ण उत्सव सुरु, पूर्वअध्यक्षहरू सम्मानित
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण उत्सव समारोह सुरु गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको प्रमुख आतिथ्यमा शुक्रबार काठमाडौंमा स्वर्ण उत्सवको उद्घाटन गरिएको हो । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा अटोमोबाइल क्षेत्रको पाँच दशक लामो यात्राको समीक्षा गर्दै आगामी योजनाबारे पनि चर्चा गरिएको थियो । २०३२ सालमा स्वर्गीय तोलाराम दुगडले स्थापना गरेको नाडाले स्वर्ण जयन्तीको अवसरमा राजधानीसहित सातै प्रदेशमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने जनाएको छ । उत्सवको पहिलो दिन दशरथ रंगशालादेखि होटल याक एन्ड यतिसम्म वाकाथन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नाडाका पदाधिकारी, पूर्वअध्यक्ष, सदस्य कम्पनीका प्रतिनिधि, विभिन्न विशिष्ट व्यक्तित्व तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । यस अवसरमा नाडाले संस्थाका पूर्वअध्यक्षहरूलाई सम्मान पनि गरेको छ । स्वर्ण उत्सवअन्तर्गत असार १३ देखि १९ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । नाडाले हालसम्म २३ वटा अधिवेशन सम्पन्न गरिसकेको छ भने २१ जना अध्यक्षले संस्थाको नेतृत्व गरिसकेका छन् । संस्थाले नाडा अटोमोबाइल ट्रेड डाइरेक्ट्री, नाडा अटो न्यूज तथा नाडा अटो ड्राइभ क्यालेन्डर नियमित रूपमा प्रकाशन गर्दै आएको छ । साथै, आगामी भदौमा १८औँ संस्करणको नाडा अटो शो आयोजना गर्ने तयारीसमेत भइरहेको जनाएको छ । नाडाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्नुका साथै राष्ट्रिय विपद्का समयमा सहयोगी भूमिका निर्वाह गर्दै आएको जनाएको छ । कार्यक्रमको संयोजन तथा धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले गरेका थिए भने सञ्चालन महासचिव मिलनबाबु मल्लले गरेका थिए ।
एमजीका २ मोडलमै ८७ प्रतिशत आम्दानी, कारोबार ३ अर्ब ८६ करोड रुपैयाँ
काठमाडौं । नेपालमा एमजी ब्रान्डका सवारीसाधनको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा २ अर्ब ४० करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ८६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । उक्त आम्दानी अघिल्लो वर्षको तुलनामा ६.३० प्रतिशत अर्थात् २६ करोड रुपैयाँ कम हो । अघिल्लो आव २०८०/८१ मा कम्पनीले ४ अर्ब १२ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कुल आम्दानीमध्ये करिब ८७ प्रतिशत हिस्सा एमजी-४ र एमजी एस-५ दुई मोडलबाट मात्रै आएको थियो । यसअघि आव २०७९/८० मा २ अर्ब ७ करोड ६० लाख रुपैयाँ, आव २०७८/७९ मा ३ अर्ब ४७ करोड रुपैयाँ, आव २०७७/७८ मा ७१ करोड ३० लाख रुपैयाँ, आव २०७६/७७ मा ७९ करोड ४० लाख रुपैयाँ र आव २०७५/७६ मा २७ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०१६ अगस्टमा स्थापना भएको प्यारामाउन्ट मोटर्सले चीनको एसएआईसी मोटर कर्पोरेसनसँग सम्झौता गरी नेपालमा एमजी ब्रान्डका सवारीसाधनको आधिकारिक बिक्री-वितरण सुरु गरेको थियो । पछि कम्पनीले मार्च २०२० मा जापानको माज्दा मोटर कर्पोरेसनसँग सम्झौता गरी माज्दा ब्रान्डको आधिकारिक वितरकको जिम्मेवारी पनि पायो । त्यस्तै, मार्च २०२४ देखि चीनको वुलिङ ब्रान्डका विद्युतीय यात्रुवाहक सवारीसाधन पनि बिक्री-वितरण गर्दै आएको छ । काठमाडौंको नक्सालमा प्रधान कार्यालय रहेको कम्पनीले हाल देशभर आफ्नै तीनवटा बिक्री केन्द्र तथा १५ वटा आधिकारिक बिक्रेतामार्फत सवारीसाधन बिक्री-वितरण गरिरहेको छ । नयाँ मोडल र व्यवसाय विस्तारमा जोड कम्पनीले सन् २०२५ मार्चमा सार्वजनिक गरेको एमजी एस-५ मोडलले मात्रै गत आर्थिक वर्षको कुल आम्दानीमा करिब ४२ प्रतिशत योगदान दिएको छ । हालै बजारमा आएको एमजी एस-६ ले पनि आगामी दिनमा बिक्री बढाउने अपेक्षा गरिएको छ । यस्तै, कम्पनीले चिनियाँ विद्युतीय सवारीसाधन ब्रान्ड वुलिङसँग थप नयाँ मोडल नेपाली बजारमा ल्याउने तयारी गरेको छ । तीमध्ये चार ढोका भएको सानो विद्युतीय सवारीसाधन पनि समावेश रहेको छ, जसमा उन्नत विशेषता रहने र बजारमा प्रतिस्पर्धा सीमित हुने अपेक्षा गरिएको छ । त्यसैगरी, कम्पनीले व्यवसाय विस्तारअन्तर्गत नेपालमा मर्सिडिज बेन्ज ब्रान्डका सवारीसाधनका लागि नयाँ आधिकारिक सेवा केन्द्र सञ्चालन गर्ने योजना पनि अघि बढाएको छ । यसले आगामी वर्ष कम्पनीको आम्दानी बढाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ । बढ्दो प्रतिस्पर्धाले नाफामा निरन्तर दबाब नेपालमा विद्युतीय सवारीसाधन बजारमा नयाँ-नयाँ ब्रान्डको प्रवेश र विस्तारसँगै मूल्य प्रतिस्पर्धा तीव्र बन्दै जाँदा नाफामा निरन्तर दबाब परेको कम्पनीले जनाएको छ । यसकारण कम्पनीको सञ्चालन नाफा मार्जिन अघिल्लो वर्ष ६.८ प्रतिशत रहेको गत वर्ष घटेर ५.२ प्रतिशतमा झरेको छ । यद्यपि, मौज्दातमा रहेका सवारीसाधन बिक्री बढाउने अभियान सञ्चालन गरेपछि चालु आर्थिक वर्षको पहिलो ९ महिनामा सञ्चालन नाफा मार्जिन केही सुधार हुँदै करिब ६ प्रतिशत पुगेको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेकाले कर्जाको ब्याजदर अपेक्षाकृत कम भए पनि सञ्चालन नाफामा निरन्तर परेको दबाब र ऋणभार बढ्दै जाँदा कम्पनीको ब्याज भुक्तानी क्षमता कमजोर बनेको कम्पनीको भनाइ छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ८० करोड रुपैयाँ ऋण लिएको छ । कम्पनीको तरलता अवस्था अझै दबाबमा रहेको छ । सवारीसाधन बिक्री-वितरण व्यवसाय स्वभवतः कार्यशील पुँजी बढी आवश्यक पर्ने क्षेत्र भए पनि कम्पनीले मौज्दात उल्लेख्य रूपमा बढाएपछि कार्यशील पुँजीमा थप दबाब परेको हो । गत वर्षको अन्त्यतिर कम्पनीले ठूलो परिमाणमा सवारीसाधन मौज्दात राखेका कारण कार्यशील पुँजीमा गरिएको लगानी उल्लेख्य रूपमा बढेको छ । त्यसको प्रभावस्वरूप सञ्चालन आम्दानीको तुलनामा खुद कार्यशील पुँजीको अनुपात गत वर्ष ५६ प्रतिशत रहेकोमा चालु आवको ९ महिनामा बढेर ६६ प्रतिशत पुगेको छ । प्यारामाउन्ट मोटर्सको कारोबार अझै पनि सीमित सवारी मोडलमा अत्यधिक निर्भर रहेको छ । गत वर्ष कम्पनीको कुल आम्दानीमध्ये करिब ८७ प्रतिशत हिस्सा एमजी-४ र एमजी एस-५ दुई मोडलबाट मात्रै आएको जनाएको छ । यसरी थोरै मोडलमा अत्यधिक निर्भर रहँदा ती सवारीको मागमा आउने कमी वा बजारको परिवर्तनले कम्पनीको कारोबारमा प्रत्यक्ष असर पार्न सक्ने जनाएको छ । त्यसैगरी, नेपालमा विद्युतीय सवारीसाधन बजारमा नयाँ-नयाँ ब्रान्डको प्रवेश, स्थापित कम्पनीहरूको विस्तार तथा प्रतिस्पर्धी मोडल सार्वजनिक भइरहेका कारण बजार प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । यस्तो अवस्थामा प्रतिस्पर्धी कम्पनीहरूले आकर्षक मूल्य र नयाँ सुविधा भएका सवारी बजारमा ल्याउँदा प्यारामाउन्ट मोटर्सको आम्दानी तथा बजार हिस्सा प्रभावित हुन सक्नेछ ।