काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले वीरगञ्जमा आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ ।
सोही अवसरमा कम्पनीले प्रोटोनको नयाँ विद्युतीय गाडी ‘अल–न्यू प्रोटोन इमास ५’ समेत सार्वजनिक गरेको छ ।
नयाँ शोरुम सञ्चालनमा आएसँगै नेपालभर प्रोटोनका आधिकारिक बिक्री केन्द्रको संख्या ११ पुगेको कम्पनीले जनाएको छ ।
प्रोटोनले बजार विस्तारलाई निरन्तरता दिँदै आगामी दशैंअघि पूर्वी नेपालको बिर्तामोडमा अर्को शोरुम सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
नेपालमा प्रोटोनको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको इमास ५ सहरी जीवनशैली र दैनिक यात्रालाई सहज, स्मार्ट तथा आधुनिक बनाउने उद्देश्यका साथ ल्याइएको कम्पनीको भनाइ छ ।
हालै मलेसियामा आयोजित प्रतिष्ठित ‘एलियान्ज डिएसएफ सवारीसाधन अफ द इयर अवार्ड्स २०२६’मा इमास ५ ले ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ को उपाधि समेत जितेको थियो ।
कम्पनीका अनुसार इमास ५ अत्याधुनिक प्रविधि, स्मार्ट सुविधा र बुद्धिमत्तापूर्ण डिजाइनको संयोजन भएको विद्युतीय सवारी हो ।
इमास ५ मा १४.६ इन्चको टचस्क्रिन मनोरञ्जन तथा सूचना प्रणाली, ताररहित एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता सुविधा उपलब्ध छन् ।
त्यस्तै, ७० लिटर क्षमताको अगाडिको भण्डारण स्थान, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको सामान राख्ने स्थान तथा ३२ वटा भण्डारण खण्डले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म आवश्यक सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ ।
सोरुम उद्घाटन तथा इमास ५ सार्वजनिक कार्यक्रममा वीरुगञ्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम, व्यावसायिक साझेदार, सञ्चारकर्मी, अटोमोबाइल पत्रकार लगायतको उपस्थिति थियो ।
प्रोटोन इमास ५ नेपालमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ ।
कम्पनीले प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तथा प्रिमियम भेरियन्टको ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ ।
साथै ग्राहकहरूले इमास ५ र इमास ७ को प्रत्यक्ष अवलोकन तथा परीक्षण यात्रा गर्न सक्नेछन् ।
नेपालभर प्रोटोनको उपस्थितिलाई विस्तार गर्दै क्षेत्रीय बजारमा विद्युतीय सवारीको पहुँच बढाउने अभियानअन्तर्गत बीरगञ्जमा नयाँ सोरुम सञ्चालनलाई कम्पनीले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। आगामी दिनमा बिर्तामोडमा समेत सोरुम सञ्चालनमा ल्याएर देशभर आधिकारिक बिक्री केन्द्रको संख्या १२ पुर्याउने लक्ष्य कम्पनीले लिएको छ।