सुरु भयो नाडा अटो शो २०२६, उपराष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । १८औं नाडा अटो शो  मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । शोको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरे । नाडा अटो शो २०२६ को उद्घाटन गर्दै उनले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताए । उपराष्ट्रपति यादवले भने,‘नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुनेछ ।’ उनले जलविद्युत्को धनी देश नेपालले पेट्रोलियम पदार्थको आयत घटाई विद्युतीय सवारीसाधनको प्रयोगलाई जोड दिनुपर्ने उल्लेख गरे । उपराष्ट्रपति यादवले नेपाल जलस्रोतमा धनी भएको र जलविद्युत् उत्पादनमा वृद्धि भइरहेको अवस्थामा इन्धन आयातमा अर्बौं रुपैयाँ बाहिरिने स्थितिकमुलुकमा उद्यमशीलता सिर्जना गर्न नाडा अटो शो मोबाइलले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै उनले नेपालमै अटोमोबाइल क्षेत्रको उत्पादन आवश्यक रहेको धारणा राखे । नेपाली अटोमोबाइल क्षटो शोले नेपाली अटोमोबाइल बजारलाई चलायमान बनाएर आन्तरिक उत्पादन र रोजगारी सिर्जनामा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । उद्घाटन समारोहमा बोल्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र उप्रेतीले सवारी साधनलाई विलासिताको वस्तुका रूपमा मात्र हेर्न नहुने बताए । उनले सवारी साधन नागरिकको आवागमन, व्यवसाय र रोजगारीसँग प्रत्यक्ष जोडिएको आधारभूत आवश्यकतासमेत भएको उल्लेख गरे । उनले अटोमोबाइल क्षेत्रप्रतिको सरकारी तथा सामाजिक दृष्टिकोणमा पुनरावलोकन आवश्यक रहेको बताए ।अटोमोबाइल क्षेत्र १० लाखभन्दा बढी मानिसको रोजगारीसँग जोडिएको र यसबाट वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन हुने उल्लेख गर्दै उप्रेतीले यो क्षेत्रले समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए । उनले काठमाडौंमा पर्याप्त भौतिक पूर्वाधारको अभावका कारण अटोमोबाइल क्षेत्रले आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्न नसकेकोप्रति पनि चिन्ता व्यक्त गरे । भृकुटीमण्डपको वर्तमान संरचना ट्रक, बस तथा हेभी इक्विपमेन्ट प्रदर्शनका लागि पर्याप्त नभएको भन्दै उनले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेटिएको भृकुटीमण्डप स्तरोन्नतिको योजनालाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा पनि उनले जोड दिए । व्यवसायमा दीर्घकालीन लगानी आकर्षित गर्न नीतिगत स्थिरता अपरिहार्य रहेको उनको भनाइ थियो । करका दर तथा नीतिमा बारम्बार हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन भइरहेको उल्लेख गर्दै उप्रेतीले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले कर नीतिमा स्थिरता कायम गर्ने प्रतिबद्धतालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताए । यसैगरी, नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै जानु नयाँ अवसरका रूपमा देखा परेको उनले बताए । अब विद्युतीय सवारी साधनको एसेम्बल उद्योगमा मात्र सीमित नभई पार्टपुर्जा तथा कम्पोनेन्ट उत्पादनतर्फ समेत अघि बढ्नुपर्नेमा उनले जोड दिए । नेपालमै उत्पादित सवारी साधनको स्थायित्व र प्रवद्र्धनका लागि सरकारले थप सहुलियत तथा प्रोत्साहन उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । आजदेखि सुरु भएको नाडा अटो शो २०२६ छ दिनसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा विभिन्न ब्रान्डका सवारी साधन, विद्युतीय गाडी, दुईपांग्रे सवारी, व्यावसायिक सवारी तथा अटोमोबाइलसँग सम्बन्धित उत्पादन र प्रविधिहरू प्रदर्शनीमा राखिएका छन् ।

अटोमोबाइल क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण परिवर्तन हुनुपर्छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं  । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा अन्जन श्रेष्ठले नेपालको अर्थतन्त्रलाई रि–इन्जिनियरिङ गर्नुपर्ने बेला आएको बताएका छन् ।  नाडा अटो शो २०२६ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अटोमोबाइल क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोणमा आमूल परिवर्तनको खाँचो रहेको औंल्याएका हुन् । राजस्वमा ठूलो योगदान, तर राज्यको उपेक्षा कार्यक्रममा बोल्दै नाडाका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले अटोमोबाइल क्षेत्रले देशको कुल राजस्वमा करिब ८ देखि ९ प्रतिशत योगदान पु‍र्याइरहेको उल्लेख गरे ।  गत वर्ष १०६ खर्बको आयात हुँदा अटो क्षेत्रबाट मात्रै ८१ देखि ८२ अर्ब रुपैयाँ राजस्व संकलन भएको बताउँदै उनीहरूले यति ठूलो योगदान दिने क्षेत्रलाई केवल विलासिताबवा कर उठाउने माध्यमका रूपमा मात्र हेर्नु दुःखद रहेको गुनासो गरे । उनले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन सरकारसँग ठोस योजना माग गरे ।  ‘झन्डै २०–२२ अर्बको त स्पेयर पार्ट्स मात्र आयात हुन्छ,’ उनले भने, ‘यसलाई नेपालमै उत्पादन गर्ने वातावरण बनाउन सरकारले एसेम्बलिङ र कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङमा विशेष प्रोत्साहन दिनुपर्छ ।’ विगतमा सरकारले उद्योग खोल्न आग्रह गरे पनि उद्योग स्थापना भएपछि आइपर्ने समस्या समाधानमा ध्यान नदिएको उनको आरोप थियो । युवा पलायनप्रति चिन्ता व्यक्त गर्दै श्रेष्ठले आगामी १० वर्ष नेपालका लागि जनसांख्यिक लाभ लिने अन्तिम अवसर भएको बताए ।  ‘अबको १० वर्षपछि हामीले यो युवा शक्ति पाउने छैनौं,’ उनले भने, ‘त्यसैले स्वदेशमै उत्पादन बढाएर वास्तविक ज्याला वृद्धि गरी युवाहरूलाई देशमै रोक्नुपर्ने चुनौती छ ।’ उनले अटोमोबाइल क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न सरकारले नयाँ रणनीति र स्पष्ट पोलिसी ल्याउनुपर्नेमा विशेष जोड दिएका थिए ।  नाडा अटो शो २०२६ ले अटो क्षेत्रमा नयाँ उत्साह थप्ने विश्वास समेत उनले गरेका छन् । सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्यमा निजी क्षेत्र हातेमालो गर्न तयार रहेको प्रतिबद्धता उनले व्यक्त गरे । तर, यसका लागि राज्यले लगानीमैत्री नीति र व्यवसायीहरूलाई दिगो सुरक्षाको प्रत्याभूति दिनुपर्ने उनको माग छ।

आजदेखि नाडा अटो शोः ईभी, रोबोटदेखि मेड इन नेपालसम्मको प्रदर्शन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आज मंगलबारदेखि १८औँ नाडा अटो शो २०२६ सुरु हुँदैछ । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को ५०औँ स्थापना वर्षको अवसरमा आयोजना हुन लागेको यस वर्षको अटो शो ‘स्वर्ण जयन्ती विशेष संस्करण’का रूपमा आयोजना हुँदैछ । भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने अटो शोमा नेपाली उत्पादनसँगै अत्याधुनिक सवारी प्रविधि, विद्युतीय तथा हाइब्रिड सवारीसाधन र रोबोट मुख्य आकर्षणका रूपमा रहनेछन् ।  नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नाडाको ५० वर्षे यात्रामा अटोमोबाइल क्षेत्र नेपालको आर्थिक तथा औद्योगिक विकासको महत्त्वपूर्ण हिस्सा बन्दै आएको बताए । उनका अनुसार यस वर्षको अटो शो सवारीसाधनको प्रदर्शनीमा मात्र सीमित नभई नेपालको अटोमोबाइल क्षेत्रले हासिल गरेको परिवर्तन र आगामी सम्भावनाको प्रतिबिम्ब बन्नेछ । नाडा अटो शो समितिका सभापति अनूपकुमार बरालका अनुसार स्वर्ण उत्सव संस्करणका रूपमा आयोजना हुन लागेको प्रदर्शनी करिब ३ लाख वर्गफिट क्षेत्रफलमा फैलिनेछ । मेलामा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल, ३० ब्रान्डका दुईपाङ्ग्रे सवारी तथा १० वित्तीय एवं बीमा कम्पनी सहभागी हुनेछन् । त्यस्तै, पार्टपुर्जा, टायर र ब्याट्रीका लागि मात्रै ७० वटा स्टल छुट्याइएको छ । यस वर्षको अटो शोमा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ । ‘मेड इन नेपाल एन्ड मेक फर नेपाल’ प्याभिलियनमार्फत स्वदेशमै उत्पादन तथा एसेम्बल भएका सामग्रीलाई छुट्टै स्थानमा प्रदर्शन गरिनेछ । करिब ८ नेपाली उत्पादक सहभागी हुने उक्त प्याभिलियनमा विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट र हेल्मेटलगायतका उत्पादन प्रदर्शन गरिने जनाइएको छ । नेपालमा हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिसकेका छन् भने निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा देशभर करिब २ हजार चार्जिङ स्टेसन सञ्चालनमा आइसकेका छन् । नाडाका अनुसार नेपालमा विद्युतीय सवारीको विस्तार चार्जिङ पूर्वाधारको विकासभन्दा तीव्र गतिमा भइरहेको छ । यही विषयलाई केन्द्रमा राख्दै अटो शोमा सवारीसाधन, चार्जिङ प्रविधि र वित्तीय सेवासम्बन्धी कम्पनीलाई एउटै स्थानमा ल्याएर छलफल गरिनेछ । अटो शोमा विभिन्न मूल्य र वर्गका विद्युतीय तथा हाइब्रिड सवारीसाधन प्रदर्शन गरिनेछन् । बीवाईडी, लीपमोटर, जिली, एमजी र वुलिङलगायत ब्रान्डका विद्युतीय सवारी प्रदर्शनीमा रहनेछन् । दुईपाङ्ग्रेतर्फ रिभोल्टका साथै नेपालमै डिजाइन तथा एसेम्बल हुने यात्रीका विद्युतीय मोटरसाइकल पनि सहभागी हुनेछन् । चार्जिङ पूर्वाधारतर्फ जीआई चार्जर आधिकारिक चार्जिङ पार्टनरका रूपमा रहनेछ । एक्सिकम, जेभपोइन्ट र एयरचार्जले एसी तथा डीसी चार्जिङ प्रणाली प्रदर्शन गर्नेछन् । अटो शोको अर्को प्रमुख आकर्षण अत्याधुनिक रोबोट रहनेछन् । प्रदर्शनीमा जीआई ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट प्रदर्शन गरिने नाडाले जनाएको छ । यी रोबोटमार्फत अटोमोबाइल तथा भविष्यको यातायात प्रविधिमा भइरहेको विकासबारे दर्शकलाई जानकारी दिइनेछ । नाडाका अनुसार नेपाली उत्पादन र नयाँ प्रविधिलाई एउटै छानामुनि प्रस्तुत गरिने भएकाले यस वर्षको अटो शो अटोमोबाइलप्रेमीका साथै प्रविधिमा रुचि राख्ने दर्शकका लागि समेत विशेष हुनेछ । यस वर्षको नाडा अटो शोको शीर्ष प्रायोजन एचपी लुब्रिकेन्ट्सले गरेको छ । दर्शकले टिकटिङ पार्टनर खल्ती एपमार्फत अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । निश्चित अवधिका लागि टिकट खरिदमा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ । दर्शकको सहजताका लागि नेपाल पुलिस क्लब र नेसनल ट्रेडिङको परिसरमा पार्किङको व्यवस्था गरिनेछ । पार्किङस्थलबाट प्रदर्शनीस्थलसम्म आउजाउ गर्न सटल बस सेवासमेत सञ्चालन गरिनेछ ।