काठमाडौं । रोयल इन्फिल्डले नेपालको गोरखा परम्परा र वीरताको सम्मान गर्दै क्लासिक ३५० गोरखा एडिसन नेपाली बजारमा सार्वजनिक गरेको छ । गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यो मोटरसाइकललाई नेपालको गौरवपूर्ण इतिहास र पहिचानसँग जोडेर तयार गरिएको कम्पनीले जनाएको छ ।
विशेष गोरखा ग्रीन रङमा उपलब्ध मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ । क्लासिक ३५० को परिचित डिजाइनलाई निरन्तरता दिँदै गोरखा विरासत झल्काउने केही विशेष डिजाइन र फिचर थपिएका छन् ।
रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलेरियाले क्लासिक ३५० नेपाली राइडरमाझ लामो समयदेखि लोकप्रिय रहेको बताए । गोरखा एडिसनमार्फत नेपालको पहिचानसँग गहिरो रूपमा जोडिएको गोरखा विरासतलाई सम्मान गर्न पाएको उनले बताए ।
उनका अनुसार गोरखा समुदाय विश्वभर साहस, वफादारी र सम्मानका लागि परिचित छ । यही विरासतलाई क्लासिकको मौलिक पहिचानसँग जोड्ने प्रयास गरिएको उनले बताए ।
नेपालका लागि रोयल इन्फिल्डका आधिकारिक वितरक अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्षवर्धन संघाईले क्लासिक ३५० ले नेपाली मोटरसाइकल पारखीमाझ विशेष स्थान बनाइसकेको बताए । गोरखा एडिसनले नेपालको पहिचानसँग जोडिएको इतिहास र मूल्यलाई नयाँ ढंगले प्रस्तुत गर्ने उनको भनाइ छ ।
क्लासिक ३५० गोरखा एडिसनमा क्लासिक सिरिजकै परिचित अपराइट राइडिङ पोस्चर, डिजाइन र जे–सिरिज इन्जिन दिइएको छ । सहज गियर सिफ्टका लागि यसमा असिस्ट एन्ड स्लिपर क्लचसमेत उपलब्ध छ ।
मोटरसाइकलसँगै कम्पनीले गोरखा कलेक्सन पनि सार्वजनिक गरेको छ । उक्त कलेक्सनमा गोरखा विरासतबाट प्रेरित राइडिङ गियर, छालाका बुट, हेल्मेट, हेडगियर, लाइफस्टाइल अपारेललगायत सामग्री समावेश छन् ।
कलेक्सनको डिजाइनमा क्रस खुकुरी, परम्परागत नेपाली ढाका बुनाइ र नेपाली हस्तकलाबाट प्रेरित तत्व प्रयोग गरिएको छ । गोरखा ग्रीन, रेजिमेन्टल क्रिमसन, ट्याक्टिकल ओलिभ ग्रीन, म्याट ब्ल्याक र वार्म ब्रन्जजस्ता रङलाई कलेक्सनमा प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार क्लासिक ३५० गोरखा एडिसन नेपालभर रहेका आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ । यसको मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।