विद्युतीय गाडीको मूल्य बढ्यो

काठमाडौं । सरकारले विद्युतीय गाडीमा लाग्दै आएको कर परिवर्तन गरेसँगै कम्पनीहरूले गाडीको मूल्य बढाएका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले ईभीमा लागू गरेको नयाँ कर व्यवस्थाको प्रभाव बजारमा देखिन थालेको हो ।  बजेट सार्वजनिक भएको केही सातामै विभिन्न ब्रान्डका विद्युतीय गाडीको मूल्य वृद्धि भएको छ भने केही प्रिमियम मोडलको मूल्य एक करोड रुपैयाँभन्दा बढीले बढेको छ । बजारमा स्थापित बीवाईडी, हुण्डाई, टाटा, ओमोडा जेको जे दिपल, एमजी, जिलीलगायत ब्राण्डका विभिन्न सेग्मेन्टमा मूल्य बढेको छ ।  अटो व्यवसायीहरूले नयाँ कर संरचनाले विशेषगरी उच्च मूल्यका विद्युतीय गाडीलाई बढी प्रभावित गरेको जानकारी दिए । मूल्यका आधारमा कर निर्धारण गरिएकाले प्रिमियम सेग्मेन्टका ईभीको मूल्य बढेको हो ।  नेपालका लागि बीएमडब्लूको आधिकारिक वितरक लक्ष्मी प्रिमियम मोटर्सले बीएमडब्लूका विद्युतीय एसयूभीको मूल्य बढेको जनाएको छ । कम्पनीका अनुसार बजेको सबैभन्दा धेरै असर बीएमडब्लू आईएक्स वानमा परेको छ । यसअघि १ करोड ९९ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएको उक्त मोडलको मूल्य एकैपटक १ करोड ३० लाख रुपैयाँले बढेर ३ करोड २९ लाख ९६ हजार रुपैयाँ पुगेको छ । यसअघि मोटरको क्षमता (किलोवाट) का आधारमा कर लाग्दै आएकोमा अब मूल्यका आधारमा कर निर्धारण हुन थालेपछि बीएमडब्लूजस्ता प्रिमियम ब्रान्डका मोडलमा ठूलो मूल्यवृद्धि भएको हो ।  बजेटपछि विशेष गरी महँगा र उच्च क्षमताका गाडीहरूको मूल्य बढेको छ भने बजारमा ग्राहकहरूको उपस्थितिमा केही सुस्तता व्यवसायीहरूको भनाइ छ । दिपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिकी सेल्स प्रतिनिधि रितु भट्टराईले दिपलका लोकप्रिय मोडलहरूमा मूल्य वृद्धि भएको बताइन् ।  उनका अनुसार दिपल एस ०५ प्लसमा ४ लाख रुपैयाँ र एस ०५ म्याक्समा ३ लाख रुपैयाँले मूल्य बढेर क्रमशः ६३ लाख र ५८ लाख रुपैयाँ पुगेको छ । नयाँ आउने एस ०५ र एस ०७ मोडलहरूको मूल्य ९० लाख रुपैयाँ माथि पुग्न सक्ने आँकलन उनले गरेकी छन् ।  यस्तै, बिवाईडी गाडीका विभिन्न मोडलहरूको पनि मूल्य बढेको छ । बिवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिकी सेल्ड हेड सन्ध्या श्रेष्ठले एटो ३ को मूल्य २ लाख र एटो २ को मूल्य ३ लाख रुपैयाँले बढेको जानकारी दिइन् ।  उनका अनुसार हाल एटो ३ को मूल्य ६१ लाख ९९ हजार र एटो २ को ४८लाख ९९ हजार रुपैयाँ पुगेको छ । मूल्यवृद्धिका कारण शोरुमहरूमा ग्राहकको उपस्थिति केही पातलिएको उनको अनुभव छ । उनले भनिन्, ‘विशेषगरी विद्युतीय गाडीमा करको भार बढेकाले अहिले धमाधम मूल्य समायोजन गर्नु परेको हो । अहिले ग्राहकहरुको भीड पहिलाजस्तो छैन ।’ यस्तै, ओमोडा जेको गाडीको अधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सका मार्केटिङ हेड रूपेश श्रेष्ठले जेको जे ६ को मूल्य १ लाखले बढेर ६९ लाख ९९ हजार पुगेको बताए ।  त्यस्तै, आईकार भि २३ मा ३ लाख रुपैयाँले मूल्य वृद्धि भई ५४ लाख ९९ लाख पुगेको छ । ओमोडा ई ५ को हकमा भने कम्पनीले ५१ लाख ९९ लाखको एमआरपीमा छुट दिएर ४९ लाख ९९ हजार रुपैयाँको इन्ट्रोडक्टरी मूल्यमा उपलब्ध गराइरहेको छ ।  ५० देखि ६० लाखको सेग्मेन्टमा गाडीको माग अझै राम्रो रहेको उनले बताए । यसैगरी, टाटा मोटर्स नेपालको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी आधिकारिक बिक्रेता (सिईओ) राजनबाबुका अनुसार बजेटले इन्ट्री लेबल (सानो) गाडीहरूमा खासै असर पारेको छैन । तर महँगा गाडीहरूमा भन्सार ड्युटी बढ्दा मूल्यमा चाप परेको छ ।  उनले भने, ‘२० देखि ३० लाख सम्मका गाडीहरूको मूल्य स्थिर रहे पनि नयाँ मोडलहरूको मूल्य भने कम्पनीले अझै सार्वजनिक गरिसकेको छैन । टाटाले आगामी दिनमा नयाँ मोडलहरू भित्र्याउने तयारी गरिरहेको छ ।’ हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी कन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले पनि ईभी सेग्मेन्टमा ३ देखि ४ लाख रुपैयाँसम्म मूल्य बढेको तर इन्धन गाडीको मूल्य यथावत रहेको बताए ।  बजेटमा कर घट्ने आशामा बसेका ग्राहकहरू कर बढेपछि केही निराश भएको र त्यसैमा मलमासजस्ता सांस्कृतिक कारणले गर्दा एक महिना बजार सुस्त रहेको उनको विश्लेषण छ । वार्षिक रूपमा १२ देखि १५ हजार गाडीको आयात हुने ट्रेन्ड भने अझै स्थिर रहेको उनले जानकारी दिए । यस्तै, जिलीको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले पनि आफ्ना ईभी मोडलको मूल्य समायोजन गरेको छ ।  कम्पनीले जिली ईएक्स फाइभ म्याक्सको मूल्य ३ लाख रुपैयाँ र प्रो भेरियन्टको मूल्य २ लाख रुपैयाँले बढाएको छ । नयाँ मूल्यसूचीअनुसार ईएक्स फाइभ म्याक्सको मूल्य ७३ लाख रुपैयाँ तथा प्रो भेरियन्टको मूल्य ६२ लाख रुपैयाँ पुगेको छ । यसअघि ती मोडल क्रमशः ७० लाख र ५८ लाख रुपैयाँमा बिक्री हुँदै आएका थिए । एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले पनि आफ्ना विभिन्न मोडलमा मूल्यवृद्धि गरेको छ । कम्पनीले एमजी एस फाइभ लक्जरी भेरियन्टको मूल्य १ लाख रुपैयाँ तथा एमजी एस सिक्सको मूल्य २ लाख रुपैयाँले बढाएको छ । बजेटअघि ६९ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको एमजी एस सिक्स अब ७१ लाख ९९ हजार रुपैयाँ पुगेको छ । अटो व्यवसायीहरू मूल्य वृद्धिका बाबजुद मलमास सकिएसँगै बजारमा सोधपुछ र चहलपहल बढ्नेमा आशावादी देखिएका छन् । ससाना गाडीहरूको मूल्य स्थिर हुनु र चाडपर्वहरू नजिकिनुले अटो बजार पुनः लयमा फर्किने संकेत देखिएको व्यवसायीहरूको बुझाइ छ । 

नेपाली बजारमा जीडब्लूएमको ओरा-०५ ईभी सार्वजनिक, मूल्य ४६ लाख ९९ हजारबाट सुरु

काठमाडौं । ग्रेट वाल मोटरको विद्युतीय गाडी ओरा-०५ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक भएको छ । सोमबार नेपालका लागि जीडब्लूएम गाडीको आधिकारिक विक्रेता भिजी इम्पेक्स प्रा.लिले एक कार्यक्रमका बीच ओरा-०५ गाडीलाई बजारमा ल्याएको हो ।  कम्पनीका अनुसार नेपाली सडक अनुकूल डिजाइन गरिएको यस ओरा-०५ मा सुरक्षा र क्षमतालाई उच्च प्राथमिकता दिइएको छ ।  गाडीमा आगो र पानीबाट पूर्ण सुरक्षित प्रमाणित भएको अत्याधुनिक ड्र्यागन आर्मर ब्याट्री प्रयोग गरिएको छ ।  जसले एक पटकको फुल चार्जमा ५२० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । नेपाली बाटोका लागि उपयुक्त २०० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यस एसयूभीमा सुरक्षाका लागि ७ वटा एयरब्याग र २० भन्दा बढी इन्टेलिजेन्ट ड्राइभर असिस्ट फिचरहरू समावेश रहेको कम्पनीले दाबी गरेको छ ।  यसको इन्टेरियरलाई विलासी बनाउन ३६० डिग्री क्यामेरा सिस्टम, सनरुफ र आकर्षक एम्बिएन्ट लाइट जस्ता लक्जरी सुविधाहरू राखिएका छन् ।  कम्पनीले नेपाली बजारमा यो गाडी दुईवटा भेरियन्टमा उपलब्ध रहेको जनाएको छ । जसमा मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार र हाई भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।  कार्यक्रममा भिडियो सन्देशमार्फत शुभकामना दिँदै जीडब्लूएम इन्टरनेशनलका अध्यक्ष एन्डीले ओरा-०५ आधुनिक र प्रिमियम जीवनशैली चाहने नेपाली ग्राहकहरूका लागि उत्कृष्ट विकल्प हुने विश्वास व्यक्त गरे ।  त्यस्तै, जीडब्लूएमका प्रबन्धक टोबीले नेपालको अटोमोबाइल बजारलाई ग्रिन ट्रान्सफर्मेसन (हरित रूपान्तरण) तर्फ लैजान कम्पनी प्रतिबद्ध रहेको बताए । उनले हावल, ट्याङ्क र ओरा जस्ता ब्रान्डले नेपाली ग्राहकको मन जितिरहेको दाबी गरे ।  भिजी इम्पेक्सका प्रबन्धक प्रतीक जालानले ओरा-०३ को सफलतापछि नयाँ मोडलले बजारमा नयाँ उचाइ लिने दाबी गरे । उनले कम्पनीले बिक्रीपछिको सेवामा विशेष जोड दिने प्रतिबद्धता जनाए ।  यो इलेक्ट्रिक एसयूभी अब देशभरका जीडब्लूएम सोरुमहरूमा बुकिङ र अवलोकनका लागि उपलब्ध भइसकेको कम्पनीले जनाएको छ।

एलसी खोलेका सवारी साधनको दर्ता खुल्यो

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको दर्तामा लगाएको रोकलाई आंशिक रूपमा खुकुलो बनाएको छ ।  विभागले गत जेठ ७ गतेदेखि अनिश्चितकालका लागि सबै किसिमका सार्वजनिक सवारीको दर्ता रोकेकोमा सोमबार (असार ८ गते) देशका सातै प्रदेश र स्थानीय तहहरूलाई परिपत्र गर्दै दुईवटा शर्त पूरा गरेका सवारीको दर्ता खुला गरिएको जानकारी गराएको हो ।  नयाँ व्यवस्थाअनुसार २०८३ जेठ ८ गतेभन्दा अघि नै प्रतितपत्र (एलसी) खोलिसकी प्रक्रिया अघि बढिसकेका र नेपाल भित्रिसकेका सार्वजनिक सवारी साधनहरूको आवश्यक कागजात हेरी दर्ता गर्न कुनै बाधा पर्ने छैन ।  तर, जेठ ८ गतेपछि एलसी खोलेका नयाँ सार्वजनिक सवारी साधनहरूको हकमा भने दर्ता रोक्का नै रहने र अर्को सूचना जारी नभएसम्म यो निर्णय यथावत रहने विभागले स्पष्ट पारेको छ । केन्द्र सरकारको यो निर्देशन आउनु अगावै बागमती प्रदेश सरकारले संवैधानिक अधिकार प्रयोग गर्दै जेठ तेस्रो सातादेखि नै सार्वजनिक सवारीको दर्ता खुला गरिसकेको थियो भने अन्य प्रदेशहरूले हालसम्म यसबारे निर्णय गरिसकेका थिएनन् ।  संवैधानिक व्यवस्था अनुसार सवारी दर्ता र कर निर्धारण जस्ता सार्वजनिक यातायात सम्बन्धी सम्पूर्ण कार्यहरू प्रदेशको एकल अधिकार क्षेत्र भित्र पर्दछन् ।  विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) बमोजिम वायु प्रदूषण, सवारीको चाप र ट्राफिक जाम बढेर आवागमनमा कठिनाइ उत्पन्न भएको भन्दै सार्वजनिक हितका लागि दर्ता रोक्ने निर्णय लिएको थियो । यस्तै, विभागका निर्देशक मणिराम भुसालले सबै सार्वजनिक सवारी साधनको दर्ता पूर्ण रूपमा नखुलेको प्रष्ट पारेका छन् ।   उनका अनुसार जेठ ७/८ गतेको सूचनाभन्दा अगाडि नै एलसी खोलेर नेपाल आउने प्रक्रियामा रहेका पुराना गाडीहरूलाई मात्र देशभरका प्रदेश यातायात कार्यालयहरू मार्फत दर्ता गर्न दिने निर्णय भएको हो ।  उनले विकासन्युजसँग भने, ‘नयाँ गाडीहरूको हकमा भने अहिले नै कुनै निर्णय भइसकेको छैन ।’ निर्देशक भुसालले नयाँ दर्ता कहिलेबाट खुला गर्ने भन्ने विषयमा पूर्वाधार विकास मन्त्रालयमा आवश्यक छलफल र गृहकार्य चलिरहेको जानकारी दिए । उनले उपयुक्त समय आएपछि मन्त्रालयको निर्णय अनुरूप मात्र अर्को सूचना जारी गरिने बताए । त्यतिन्जेलसम्मका लागि यही आंशिक खुलाकै नियम लागू रहने उनको भनाइ छ ।