रिडारा आरडी ६ अब ९ लाख ९९ हजार डाउन पेमेन्टमै पाइने
काठमाडौं । सीजी मोटर्सले नेपालमा ल्याएको इलेक्ट्रिक पिकअप रिडारा आरडी ६ अब केवल ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै खरिद गर्न सकिने भएको छ । विद्युतीय मोबिलिटीलाई अझ पहुँचयोग्य, भरपर्दो र सुविधा सम्पन्न बनाउने उद्देश्यसहित कम्पनीले यो विशेष योजना ल्याएको हो । अफर अन्तर्गत ग्राहकले आकर्षक क्यास ब्याक, निःशुल्क एसेसोरीहरू र ३ लाख रुपैयाँसम्मको एक्सचेन्ज टप–अप बोनस समेत प्राप्त गर्न सक्नेछन् । रिडारा आरडी ६ मा ६३ किलोवाट आवरको ब्याट्री प्याक र २०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले ३८५ एनएम टर्क दिने क्षमता राख्छ। फुल चार्जमा यो गाडीले ३७७ किलोमिटरसम्मको दूरी तय गर्न सक्छ । गाडी गिलीको एमएपी प्लेटफर्ममा आधारित छ, जसमा इन्डिपेन्डेन्ट सस्पेन्सन प्रयोग गरिएको छ। यसले नेपाली सडकमा आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्छ । कम्पनीका अनुसार यस पिकअपमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक र भेहिकल टु लोड सुविधा छ, जसले गाडीबाट अन्य उपकरण चार्ज गर्न सकिने बनाउँछ । साथै, गाडीमा कम्फर्ट, इकोनोमी र अफ रोड गरी तीनवटा ड्राइभ मोड, ३६० डिग्री क्यामेरा, म्याट्रिक्स एलईडी हेडलाइट र ६६ प्रतिशत हाई स्ट्रेन्थ स्टीलको मजबुत बडी प्रयोग गरिएको छ । चार्जिङ र सर्भिसको पहुँचलाई ध्यानमा राख्दै सीजी मोटर्सले देशभर २६० भन्दा बढी चार्जिङ स्टेसन र २० भन्दा बढी सर्भिस सेन्टरहरू सञ्चालनमा ल्याइसकेको छ । यो अफरले ग्राहकलाई विद्युतीय सवारी अपनाउन थप प्रेरित गर्नेछ र देशको ईभी क्रान्तिमा नयाँ उचाइ थप्ने कम्पनीको विश्वास छ ।
नाईमा एक्सपोमा फरथिङ एसयूभीको प्रदर्शन हुने
काठमाडौं । लक्ष्मी ई-मोबिलिटीले चिनियाँ उदीयमान इलेक्ट्रिक गाडी ब्रान्ड फरथिङ नेपाली बजारमा ल्याउने घोषणा गरेको छ । कम्पनीले साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने 'नाईमा नेपाल मोबिलिटी एक्सपो २०२५' मार्फत फरथिङ ब्रान्डको पहिलो प्रिमियम इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ । सन् १९७३ देखि व्यापारिक गतिविधिमा सक्रिय लक्ष्मी ग्रुपले हुन्डाई, बिएमडब्लु, केई, एसएमएल लगायतका अन्तर्राष्ट्रिय ब्रान्डमार्फत नेपाली अटोमोबाइल बजारमा सशक्त उपस्थिति बनाउँदै आएको छ । समूहले हालै नेपालकै पहिलो फोर–ह्वीलर गाडी एसेम्ब्ली प्लान्ट 'लक्ष्मी मोटर कर्पोरेशन' पनि सञ्चालनमा ल्याइसकेको छ, जसले अटोमोबाइल क्षेत्रको औद्योगिकीकरणमा मील का पत्थर राखेको छ । नेपालभर ६३ भन्दा बढी री–ल्याक्स रिचार्ज नेटवर्क र रिपेयर स्टेसन स्थापना गरी लक्ष्मी समूहले ईभी प्रयोगकर्ताहरूलाई थप सहज बनाएको छ । फरथिङको प्रिमियम एसयूभीमा ६४.४ किलोवाट–आवरको ब्याट्री, ९९ किलोवाटको पावर मोटर, र ४०० किलोमिटरभन्दा बढी माइलेज क्षमतासहित उच्च प्रदर्शन, आधुनिक डिजाइन र स्मार्ट इन्टेरियर सुविधाहरू समावेश गरिएको छ । यो सहर भित्रको दैनिकीदेखि लामो दूरीका यात्रासम्म उपयुक्त विकल्प हुने कम्पनीको विश्वास छ । 'फरथिङ केवल गाडी होइन, यो भविष्यको मोबिलिटीप्रतिको दृष्टिकोण हो,' लक्ष्मी ई–मोबिलिटीका प्रवक्ताले बताए । उनले थपे, 'नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि सुलभ बनाउने लक्ष्यसहित हामी फरथिङ ब्रान्ड ल्याउँदैछौं ।' नेपालको इलेक्ट्रिक गाडी बजारमा गति र गुणस्तरको नयाँ अध्याय सुरु गर्न तयारी अवस्थामा रहेको फरथिङ ब्रान्डले आगामी दिनमा ईभी प्रविधिमा नयाँ मापदण्ड कायम गर्ने अपेक्षा गरिएको छ ।
नाइमा मोबिलिटी एक्स्पोमा पेट्रोल र विद्युतीय बाइकले प्रतिस्पर्धा गर्दै, यी हुन् प्रदर्शन हुने मोडेल
काठमाडौं । नेपाली अटोमोबाइल बजारमा नयाँ उत्साह र रौनक थप्दै नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले ‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ को आयोजना गर्दैछ । आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने यो महामेलामा दुई पाङ्ग्रे सवारीसाधनका १७ भन्दा बढी ब्राण्डहरूले सहभागिता जनाउनेछन् । विशेषगरी दुई पाङ्ग्रे सवारीको व्यापार तुलनात्मक रूपमा बढिरहेको समयमा हुन लागेको यो एक्स्पो कम्पनीहरूका लागि आफ्नो व्यापार विस्तार गर्ने र ग्राहकहरूका लागि नयाँ प्रविधि र मोडलहरू एकै छानामुनि हेर्ने अवसर बनेको छ । यस पटकको एक्स्पोको मुख्य आकर्षण पेट्रोल इन्जिन र विद्युतीय सवारी (ईभी) बीचको प्रतिस्पर्धा र सहयात्रा हुने देखिन्छ । केही कम्पनीहरूले पेट्रोल सेगमेन्टमा नयाँ मोडल ल्याउँदैछन् भने अधिकांशको ध्यान विद्युतीय सवारीमा केन्द्रित छ । पहिलो पटक हुन लागेको एक्स्पोमा १० वटा ब्राण्डका करिब २४ वटा मोडेलका विद्युतीय स्कुटर र मोटरसाइकलले प्रदर्शनीमा राखिनेछ । केही बहुप्रतिक्षित नयाँ मोडलहरू यही एक्स्पोमार्फत पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछन् । मेलामा सहभागी प्रमुख कम्पनीहरूले नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने योजना बनाएका छन् । वैद्य इनर्जी प्रालिले भारतमा सर्वाधिक बिक्री भएको र अत्यधिक चर्चामा रहेको ‘एथर रिज्ता’ ईभी स्कुटरलाई यही एक्स्पोमा सार्वजनिक गर्ने भएको छ । १५९ किलोमिटरसम्मको रेन्ज, ४.३ किलोवाटको शक्तिशाली मोटर र ३४ लिटरको ठूलो स्टोरेज क्षमता भएको यो स्कुटरले बजारमा नयाँ तरंग ल्याउने अपेक्षा कम्पनीको छ । वैद्य इनर्जी प्रालिका मार्केटिङ प्रमुख सलमान खानका अनुसार यो स्कुटर भारतमा निकै सफल भएको र पारिवारिक प्रयोजनका लागि उत्कृष्ट विकल्प हो । नेपालमा सार्वजनिक हुनुअघि नै यसको ३० देखि ४० प्रतिशत युनिट बुक भइसकेको उनले जानकारी दिए । यसका साथै कम्पनीले आफ्ना पुराना र सफल मोडेलहरू ४५० एक्स र ४५० एस पनि प्रदर्शनीमा राख्नेछ । वैद्य इनर्जीले हालसम्म नेपालमा १ हजार ५ सय भन्दा बढी एथर स्कुटर बिक्री गरिसकेको पनि खानले बताए । यसैगरी नवीनतम् प्रविधिका लागि चिनिएको गोगोरो नेपालले एक्स्पोमा आफ्ना उत्पादनभन्दा पनि प्रविधिलाई मुख्य आकर्षण बनाउने जनाएको छ । कम्पनीका मार्केटिङ प्रमुख चिरञ्जिवी साहका अनुसार अवलोकनकर्ताले गोगोरोको ‘ब्याट्री स्वापिङ टेक्नोलोजी’ को प्रत्यक्ष अनुभव गर्न पाउनेछन् । उनीहरूले आफैले ब्याट्री स्वाप गरेर यसको सहजता र उपयोगिता बुझ्न सक्ने गोगोरोले जनाएको छ । यसका साथै, गोगोरोले जेगो, क्रसोभर र पल्स गरी तीन भेरियन्टमा ल्याउने जनाएको छ । यी मोडेलका अपग्रेटेड भर्सन र देशभर रहेका ४५ वटा ब्याट्री स्टेसनबारे विस्तृत जानकारी पनि प्रदान गर्नेछ भने बजाजले यस पटक आफ्नो एकमात्र नयाँ इलेक्ट्रिक स्कुटर ‘चेतक ३५०१’ लाई मुख्य आकर्षण बनाउने छ । बजाजले पनि आफ्नो एकमात्र नयाँ मोडलको रूपमा ’चेतक’ स्कुटर प्रदर्शन गर्नेछ । कम्पनीका मार्केटिङ प्रमुख अमित चालिसेका अनुसार यो ३५०१ मोडलको नयाँ चेतक हुनेछ र यो पूर्ण रूपमा नयाँ हुनेछ । कम्पनीले यसपटक एउटा मात्र नयाँ मोडेलमा ध्यान केन्द्रित गरेको छ । यो मोडेल भारतमा निकै लोकप्रिय छ । यस्तै, सुजुकीले भने यस पटक कुनै नयाँ मोडल सार्वजनिक नगर्ने भएको छ । सुजुकीका मार्केटिङ प्रमुख समित सिंहका अनुसार एक्स्पोमा कम्पनीले आफ्ना स्थापित र लोकप्रिय मोडलहरू ‘भी–स्ट्रम एसएक्स २५०’, ‘जिक्सर १५०’ र ‘एभिनिस’ स्कुटर प्रदर्शनीमा राख्नेछ । नयाँ ‘एक्सेस’ स्कुटर आउने चर्चा चले पनि त्यो हाललाई निश्चित नभएको उनले स्पष्ट पारे । टीभीएसल ‘कस्टम मोडल’, ‘रेसिङ मोडल’ र हाल चलिरहेका स्कुटरहरूको ‘नयाँ कलर भेरियन्ट’ ल्याउने सम्भावना रहेको बताएको छ । तर, चर्चित इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ भने प्रदर्शनीमा नहुने निश्चित भएको छ । कम्पनीले एक-दुई दिनमा आफ्नो अन्तिम योजनाबारे जानकारी दिने बताएको छ । यस्तै, कुजु नेपालले नाइमा एक्स्पोमा आफ्नो पहिलो ईभी मोटरसाइकल ‘याडिया कीनीस’ सार्वजनिक गर्दैछ । १०० किमी/घण्टाको उच्च गति र १५० किलोमिटरको रेन्ज भएको यो बाइकसँगै कम्पनीले ई८एस प्रो, एम६ र भेलक्स स्कुटर पनि प्रदर्शनमा राख्नेछ । हुलास अटोक्राफ्टले बजाजको लोकप्रिय ‘चेतक’ स्कुटरलाई विद्युतीय अवतारमा प्रस्तुत गर्नेछ । १५३ किलोमिटरको रेन्ज र ३५ लिटरको स्टोरेज भएको ‘चेतक ३५०१’ ले क्लासिक डिजाइनका पारखीहरूलाई आकर्षित गर्नेछ । यसैगरी आइहब प्रालिले दुइटा नयाँ ईभी स्कुटर (ई १२५ एमके २ र ई १५० एमके २) र दुईवटा अफरोड ईभी बाइक (जाइबर र छफरी) प्रदर्शन गर्ने तयारी गरिरहेको कम्पनीले जनाएको छ । यी मोडेलहरूले एड्भेन्चर र सिटी राइड दुवैका लागि नयाँ विकल्प दिनेछन् । केडिया इन्टरनेशनलले उच्च प्रदर्शन भएको ‘अल्ट्राभोइलेट एफ७७ म्याच २’ मोटरसाइकल प्रदर्शन गर्नेछ । ३२३ किलोमिटरको विशाल रेन्ज र ३० किलोवाटको शक्तिशाली मोटर भएको यो प्रिमियम बाइकले सबैको ध्यान खिच्ने पक्का छ । यसका साथै, रिभोल्टले आरभी ४०० सिरिज, जीहोले एई ६ प्लस र एई ८ प्लस, तथा एनआईयूले गोभा, एनक्यूआई लगायतका चार मोडेलहरू प्रदर्शनीमा राख्नेछन् । यी सबै ब्राण्डहरूले विद्युतीय सवारीको बढ्दो बजारमा आफ्नो बलियो उपस्थिति देखाउनेछन् । एड्भेन्चर र स्पोर्टी बाइकमा विशेष आकर्षण विद्युतीय सवारीको चर्चा चुलिँदै गर्दा पेट्रोल इन्जिनका पारखीहरूलाई पनि नाइमा एक्स्पोले निराश बनाउने छैन । स्थापित ब्राण्डहरूले आफ्ना लोकप्रिय मोडलका नयाँ र अपग्रेटेड भर्सनहरू ल्याउँदैछन् । हंशराज हुलाशचन्द एण्ड कम्पनीले बाइक प्रेमीहरूको लागि ‘केटीएम एड्भेन्चर’ र ‘केटीएम ड्युक’ को नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरिरहेको छ । भारतमा केही महिनाअघि मात्रै सार्वजनिक भएको यी मोडेलहरूले नेपाली बजारमा पनि उत्साह थप्ने विश्वास कम्पनीको छ । एक्स्पोमा केटीएम ब्राण्डले आफ्ना ५ वटा नयाँ मोडल ल्याएर ठूलो ’सप्र्राइज’ दिने तयारी गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एक्स्पोमा सार्वजनिक गरिने मोडलहरूमा ’नयाँ जेनेरेसन ड्युक’ र ’एड्भेन्चर’ सिरिजका बाइकहरू रहनेछन् । यद्यपि, ग्राहकहरूमाझ उत्साह कायम राख्न कुन–कुन मोडल आउँदैछन् भन्नेबारे कम्पनीले गोप्य राखेको छ । कम्पनीका अनुसार यी सबै मोडेलहरू पेट्रोल इन्जिनमा आधारित हुनेछन् । हालसम्म नेपालमा करिब २५ हजार वटा केटिएम बाइक बिक्री भइसकेको कम्पनीले जनाएको छ । भीजी अटोमोबाइल्सले नेपालको सबैभन्दा लोकप्रिय स्कुटरमध्ये एक ‘सुजुकी एक्सेस’ को अपग्रेटेड भर्सन ल्याउनेछ । जसमा कम्पनीले ‘एक्सेस’ कै विद्युतीय (ईभी) भर्सन पनि ल्याउने तयारी गरिरहेको जनाएको छ, जसले पेट्रोल र ईभी दुवै बजारलाई जोड्ने प्रयास गर्नेछ । यसैगरी जगदम्बा मोटर्सले युवाहरूमाझ निकै लोकप्रिय ‘टीभीएस एन्टर्क’ स्कुटरको नयाँ मोडेल प्रस्तुत गर्ने तयारी गरिरहेकोे छ । यसबाहेक कम्पनीले रिसिङ मोडेल र न्यूकलर भेरियन्ट नाइमा एक्स्पोमा राखिने जनाएको छ । केटीएम इन्टरनेशनलले बनेलीको भगिनी ब्राण्ड ‘मोर्बिडेली’ का २५० सीसी र ३५२ सीसीका स्पोर्ट बाइकहरू प्रदर्शनीमा राख्नेछ । जसले रेसिङ बाइकका पारखीहरूलाई आकर्षित गर्नेछ । यी बाहेक होण्डा, रोयल इन्फिल्ड, महिन्द्रा जस्ता ब्राण्डहरूको उपस्थिति पनि एक्स्पोमा रहनेछ । जसले ग्राहकहरूलाई छनोटका लागि थप विकल्पहरू प्रदान गर्नेछन् । भृकुटी मण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो-२०२५’ भविष्यको मोबिलिटीको स्पष्ट चित्र देखाउने एउटा मञ्च बन्दैछ । जहाँ एकातिर वातावरणमैत्री विद्युतीय सवारीको पार्किङ हुनेछ भने अर्कोतिर पेट्रोल इन्जिनका आकर्षक नयाँ मोडलहरूले प्रतिस्पर्धा गर्नेछन् । यो एक्स्पो सवारी खरिद गर्न चाहनेहरूका लागि मात्र नभई नेपाली अटोमोबाइल उद्योगको भविष्यको दिशा बुझ्न चाहने सबैका लागि एक महत्त्वपूर्ण गन्तव्य हुन विश्वास अटो व्यवसायीको छ ।