२५ प्रतिशत आयात शुल्कले जर्मन गाडी उद्योगमा असर, अमेरिकातर्फ गाडी निर्यातमा भारी गिरावट

बर्लिन। संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घबाट ल्याइने गाडीहरूमा नयाँ आयात शुल्क (कर) लगाएको केही समयमै जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यात अप्रिल र मे महिनामा तीव्र रूपमा घटेको देखिएको छ । यद्यपि जनुअरीदेखि मे महिनासम्मको अवधिमा समग्र निर्यातमा जम्मा १.९ प्रतिशतको मात्र गिरावट आएको जर्मन सङ्ख्यात्मक कार्यालयले जनाएको छ । वर्षको पहिलो तीन महिनामा अमेरिकी ग्राहकले शुल्क लागू हुनु अघि गाडी अर्डर गरेकाले निर्यातमा १४.७ प्रतिशतको वृद्धि देखिएको थियो । तर एप्रिल ३ मा २५ प्रतिशतको नयाँ आयात शुल्क लागु भएपछि जर्मन गाडी निर्यात २३.५ प्रतिशतले घटेको हो । जर्मनीको सवारी साधन उद्योग सङ्घ (भीडीए) ले यसअघि नै यस्तो शुल्कले युरोपेली संघबाट अमेरिकातर्फ गाडी पठाउने कार्यमा गम्भीर असर पर्ने चेतावनी दिएको थियो । सङ्घले भनेको छ,'थप शुल्कले स्वतन्त्र र नियममा आधारित व्यापारमा नराम्रो असर पार्दछ ।' सन् २०२४ मा जर्मनीले अमेरिका तर्फ ३६ अर्ब ८० करोड युरो बराबरका गाडी निर्यात गरेको थियो भने सात अर्ब ९० करोड युरो बराबरका गाडी आयात गरेको थियो । युरोपेली सङ्ख्यात्मक संस्था यूरोस्ट्याटका अनुसार, अमेरिका अझै पनि युरोपेली गाडीहरूको सबैभन्दा ठूलो निर्यात गन्तव्य हो । कुल घरेलु मूल्यवृद्धिको २० प्रतिशत हिस्सा अमेरिकी बजारबाटै आउने गर्छ । जर्मनी युरोपको सबैभन्दा ठूलो गाडी निर्यात गर्ने देश हो । फक्सवागन, मर्सिडिज–बेन्ज र बीएमडब्लु जस्ता जर्मन कम्पनीहरूले २०२४ मा युरोपेली संघबाट अमेरिका पठाइएका गाडीहरूको झण्डै ७३ प्रतिशत हिस्सा ओगटेका थिए । ती सबै कम्पनी अहिले शुल्क वृद्धिका कारण ठूलो दबाबमा छन् । पोर्शे, जुन फक्सवागन समूह अन्तर्गत पर्छ, हाल खर्च कटौतीको योजना बनाउँदैछ । पोर्शेका प्रमुख ओलिभर ब्लुमले कर्मचारीलाई पठाएको पत्रमा कम्पनीको हालको अवस्था कमजोर रहेको र संरचनात्मक परिवर्तन आवश्यक हुने बताए । पोर्शेले अप्रिल र मे महिनामा मात्र नयाँ अमेरिकी शुल्कका कारण करिब ३० करोड युरो बराबरको अतिरिक्त खर्च व्यहोर्नु परेको जनाएको छ । उता, जर्मनीमा अमेरिका बाट ल्याइने गाडीहरूको मागमा पनि भारी गिरावट आएको छ । जनुअरीदेखि मे महिनासम्म अमेरिकाबाट आयात हुने गाडी ३० प्रतिशतभन्दा बढीले घटेका छन् । अहिले अमेरिका चीनपछि पाँचौँ स्थानमा झरेको छ । रासस

टाटा पञ्च ईभीको क्रेज बढ्दै, १२ सयभन्दा बढी बिक्री

काठमाडौं । पछिल्लो समय नेपाली अटोमोबाइल बजारमा विद्युतीय गाडी (ईभी) प्रतिको आकर्षण ह्वात्तै बढेको छ । बदलिँदो विश्वव्यापी परिवेश र इन्धनको बढ्दो मूल्यका बीच ईभीहरू सहरी उपभोक्ताका लागि एक स्मार्ट विकल्प बनिरहेका छन् । अझ भन्नुपर्दा नेपालमा दशकौंदेखि टाटा मोटर्सका गाडी सबैतिर गुडिरहेका देखिन्छन् । यही दौडमा, पञ्च ईभीले नेपाली बजारमा आफ्नो बलियो उपस्थिति जमाएको छ । यो ईभी हाल नेपालमा सबैभन्दा बढी बिक्री हुने ईभी मध्ये एक बनेको छ ।  हुन त कुनै पनि उत्पादनको सफलताको पछाडि कम्पनीको विरासत र ग्राहकको विश्वासले महत्त्वपूर्ण भूमिका खेल्छ । टाटा पञ्च ईभीको हकमा पनि यही लागू हुन्छ । सिप्रदी ट्रेडिङ प्रालिका उप-प्रबन्धक सुजन कार्की भन्छन्, ‘सफलताको एउटा प्रमुख कारण टाटा ब्रान्ड प्रतिको विश्वास हो । हामीले लगभग २० वर्षभन्दा बढी समयदेखि पेट्रोल-डिजेल गाडी र विगत ५ वर्षदेखि ईभी गाडी नेपालमा ल्याइरहेका छौँ ।’  ४० वर्षभन्दा पुरानो सिप्रदीको आफ्नै विश्वसनीयता र टाटाको बलियो ब्रान्ड छविका कारण ग्राहकहरूले सजिलै भरोसा गर्ने वातावरण बनेको हो । अटो मोबाइल बजारमा एक किसिमले नेतृत्व नै गरिरहेको टाटाले पन्च ईभी नेपाली बाटो र माटोमा सुहाउँदो रहेको कम्पनीको भनाइ छ । तर, यसमा विश्वास मात्रै पर्याप्त छैन । कम्पनीले ईभीका लागि आवश्यक पूर्वाधारमा गरेको लगानी अर्को महत्त्वपूर्ण पक्ष हो । कम्पनीले छुट र अफरमा मात्र केन्द्रित नभई चार्जिङ स्टेसन र सर्भिस सेन्टरको सञ्जाल विस्तारमा समेत जोड दिएको छ । आधिकारिक वितरक रहेको सिप्रदीको यो ईभी तीन भेरिएन्टमा उपलब्ध छ । टाटा पन्च ईभी प्लस एस एमआर, एलआई र प्लस एलआर गरी तीन भेरिएन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।   प्लस एस एमआरको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ, पन्च ईभी इम्पावर्ड एलआईको मूल्य ३७ लाख ९९ हजार र पञ्च ईभी इम्पावर्ड प्लस एलआरको मूल्य ३९ लाख ९९ हजार पर्ने गरेको छ । कम्पनीले अफर अन्तर्गत ग्राहकहरूलाई एक पन्च ईभीमा १ लाख रुपैयाँसम्मको नगद छुट दिने गरेको जनाएको छ ।  नेपाली सडक सुहाउँदो डिजाइन र फिचर कम्पनीका उप-प्रबन्धक कार्कीका अनुसार टाटा पञ्च ईभीलाई एक ‘कम्प्याक्ट एसयुभी’ को रूपमा डिजाइन गरिएको छ । जुन सरहरको भीडभाडदेखि हल्का अफ–रोडसम्मका लागि उपयुक्त छ । यसको १९० एमएमको ग्राउन्ड क्लियरेन्सले नेपालका खाल्डाखुल्डीयुक्त सडकमा गाडी ठोक्किने चिन्ता कम गर्छ । ‘यो गाडी सिटी एरिया र अफ-रोड दुवैलाई सुट हुन्छ,’ उनले थपे, ‘साइजमा धेरै ठूलो नभए पनि यसमा एसयुभीका गुणहरू छन् । यसबाहेक, गाडीको ढोका ९० डिग्रीसम्म खुल्ने हुँदा उमेर ढल्केका र बिरामी मानिसहरूलाई पनि गाडीभित्र पस्न र निस्कन निकै सहज हुन्छ ।’ टाटाले आफ्ना गाडीहरूमा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै आएको छ । पञ्च ईभीले भारत एनक्याप ( नयाँ कार मूल्याङ्कन कार्यक्रम) बाट ५-स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ, जसले यसलाई आफ्नो सेगमेन्टमा सबैभन्दा सुरक्षित गाडीहरूमध्ये एक बनाउँछ ।  यसको बेस मोडेलदेखि नै ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम (इएसपी ), हिल होल्ड कन्ट्रोल जस्ता सुरक्षा फिचरहरू उपलब्ध छन् ।  यसका साथै, ३६०–डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मनिटरिङ र इलेक्ट्रोनिक पार्किङ ब्रेक जस्ता प्रिमियम फिचरहरूले ड्राइभिङलाई थप सुरक्षित र सहज बनाउँछ । चार्जिङ र सर्भिसको चिन्ता मुक्ती ईभी खरिदकर्ताको सबैभन्दा ठूलो चिन्ता ‘रेन्ज एन्जाइटी’ र चार्जिङ पूर्वाधारको अभाव हो । यसलाई समाधान गर्न सिप्रदीले देशव्यापी रूपमा एक बलियो चार्जिङ सञ्जाल स्थापना गरेको छ । ‘अहिले हामीसँग १८५ भन्दा बढी चार्जिङ स्टेसन छन्, जसमा ३० भन्दा बढी फास्ट चार्जरहरू छन्,’ उपप्रबन्धक कार्कीले भने, ‘ग्राहकले पूर्वको बिर्तामोडदेखि पश्चिमको धनगढीसम्म ढुक्क भएर यात्रा गर्न सक्नुहुन्छ ।’ कम्पनीले ‘सजिलो चाजर्’ नामक मोबाइल एप पनि उपलब्ध गराएको छ, जसबाट ग्राहकले नजिकको चार्जिङ स्टेसनको अवस्था (खाली छ वा व्यस्त) र लोकेसनबाटै सजिलै हेर्न सक्छन् ।  त्यसैगरी, कम्पनीका अनुसार देशभर २० भन्दा बढी ईभी-डेडिकेटेड सर्भिस सेन्टरहरू छन्, जहाँ तालिम प्राप्त प्राविधिकहरू उपलब्ध छन् । यसले गाडीको मर्मतसम्भारका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता हटाएको छ । ब्याट्रीको चिन्ता र समाधान ईभीको सबैभन्दा महँगो पार्टस् ब्याट्री हो, र यसको मर्मत वा प्रतिस्थापन महँगो हुने चिन्ता ग्राहकमा हुन्छ । यसलाई सम्बोधन गर्न सिप्रदीले नेपालमै ब्याट्री डाइग्नोस्टिक एन्ड रेस्टोरेसन फ्यासिलिटी स्थापना गरेको छ । ‘हामी ब्याट्रीसँग सम्बन्धित समस्या नेपालमै समाधान गर्न सक्छौँ, जसले गर्दा ग्राहकलाई भोलि लामो समयसम्म आउने खर्च कम हुन्छ,’ उनले भने । कम्पनीले ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी प्रदान गरेको छ । जसले ग्राहकलाई थप विश्वस्त पारेको छ । कम्पनीले अहिलेसम्म १२ सयभन्दा बढी पञ्च ईभी बिक्री गरिसकेको छ । ग्राहकहरूले विशेषगरी यसको न्यून मर्मत खर्च, पेट्रोल-डिजेल भर्नु नपर्ने झन्झटबाट मुक्ति र चलाउन सहज भएकोमा सन्तुष्ट छन् । अटोमेटिक गियर सिस्टमले गर्दा सहरको ट्राफिकमा ड्राइभिङ निकै आरामदायी हुने कम्पनीको भनाइ छ ।  एक ग्राहकले अर्कोलाई सिफारिस गर्ने क्रम (रिफरेन्स सेल्स) बलियो हुनुले पनि बजारमा यसको सकारात्मक प्रभाव परेको देखिन्छ । टाटा पञ्च ईभीको सफलता कुनै एक कारणले मात्र सम्भव भएको होइन । यो टाटा र सिप्रदीको बलियो विश्वास, नेपाली सडक सुहाउँदो उत्पादन, सुरक्षामा दिइएको प्राथमिकता, र सबैभन्दा महत्त्वपूर्ण, चार्जिङ र सर्भिसको देशव्यापी सञ्जालको संयुक्त परिणाम रुपमा लिन सकिन्छ । ग्राहकको चिन्तालाई बुझेर त्यसको समाधानसहित बजारमा प्रस्तुत भएका कारण नै पञ्च ईभीले नेपाली बजारमा दमदार ‘पञ्च’ स्थापित गर्न सफल भएको छ ।  

जुम्लामा पहिलो पटक विद्युतीय सवारीसाधन पुर्‍याउँदै दिगो

काठमाडौं । दिगो ग्रुप अफ कम्पनीले पहिलो पटक जुम्लामा ९ वटा डीएफएसके डाफे विद्युतीय भ्यान हस्तान्तरण गरेको छ । यो उपलब्धिले ग्रामीण भेगमा विद्युतीय सवारी पुर्‍याउँदै स्वच्छ ऊर्जा, दिगो यातायात र प्रदूषण न्यूनीकरणतर्फको प्रतिबद्धतालाई झल्काएको कम्पनीले जनाएको छ । यी विद्युतीय भ्यानहरू जुम्लाका छोटो दूरीका सार्वजनिक रुटहरूमा सञ्चालन गरिनेछन्, जसले यात्रुहरूलाई शान्त, स्वच्छ र किफायती यात्रा सुविधा दिनेछ । साथै, इन्धनमा निर्भरता घटाउनुका साथै वायु प्रदूषण न्यूनीकरणमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । चार्जिङ पूर्वाधार विकासलाई ध्यान दिँदै, दिगोले ८० किलोवाट क्षमताको फास्ट चार्जर जुम्लामै जडान गर्दैछ । साथै, आगामी दिनमा चार्जिङ स्टेशनहरू जुम्ला बसपार्क, नाग्मा बजार, र नाग्मा-गमगढी सडक खण्डको गोठिज्युला क्षेत्रमा निर्माण गर्ने योजना रहेको छ । दिगो ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौरभ श्रेष्ठ भन्छन्, 'जुम्ला जस्तो दुर्गम क्षेत्रमा विद्युतीय भ्यान पुर्‍याउनु हाम्रो लागि गर्वको कुरा हो । यस उपलब्धिले विद्युतीय सवारीसाधनको सम्भावनालाई पुष्टि गरेको छ। आगामी दिनमा हामीले देशभरि यसको पहुँच विस्तार गर्दै लैजानेछौं ।' दिगोले ‘मिसन जेरो एमिसन’ भन्ने अभियानअन्तर्गत विद्युतीय सवारीसाधनको सम्पूर्ण इकोसिस्टम निर्माण गरिरहेको छ । जहाँ बिक्री, वितरण, सर्भिस, स्पेयर पार्ट्स, लिजिङ, चार्जिङ पूर्वाधारदेखि राजमार्गका लागि आधुनिक रेस्ट स्टपको व्यवस्थासम्म समेटिएको छ । स्वच्छ ऊर्जा र आधुनिक प्रविधिको प्रयोगमा समर्पित दिगोले नेपाललाई स्वच्छ, दिगो र आत्मनिर्भर भविष्यतर्फ डोर्याउने लक्ष्य राखेको छ ।