नाइमा मोबिलिटी एक्स्पो २०२५ मा ‘जेको जे-५’ इभी सार्वजनिक हुने
काठमाडौं । ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नाइमा मोबिलिटी एक्स्पोमा नयाँ विद्युतीय सवारीसाधन एसयुभी ‘जेको जे-५’ सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले नेपाली विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्यका साथ यो प्रिमियम एसयुभी ल्याउन लागेको हो । कम्पनीका अनुसार जे-५ लाई एडभेन्चरस यात्राका लागि उपयुक्त हुने गरी रगेड डिजाइनमा तयार पारिएको छ । यसमा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास), प्यानोरोमिक सनरुफ, ५४०-डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सन जस्ता सुविधा उपलब्ध हुनेछन् । यो एसयुभीमा १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । कम्पनीले एक पटकको फुल चार्जमा यसले ४०२ किलोमिटरको डब्लुएलटीपी प्रमाणित रेन्ज दिने दाबी गरेको छ। जे-५ को लम्बाई ४३८० मिमी, चौडाई १८६० मिमी, उचाई १६५० मिमी छ र यसमा १८ इन्चको एलोय ह्विल प्रयोग गरिएको छ । एसयुभीको भित्री भागमा भेन्टिलेटेड सिट, डिजिटल इन्सट्रुमन्ट क्लस्टर, र २५६-कलर एम्बिएन्ट लाइटिङ जस्ता प्रविधि समावेश छन् । यसमा १३२० मिमी चौडा दोस्रो पङ्क्तिको सिट रहेको कम्पनीले जनाएको छ । सामान राख्नका लागि ४८० लिटरको बुट स्पेस र ३६ वटा स्टोरेज कम्पार्टमेन्टहरू उपलब्ध छन् । सुरक्षाका लागि जेको जे-५ मा लेभल २ एडास अन्तर्गतका विभिन्न फिचरहरू छन् । यसमा फरवार्ड कोलिजन वार्निङ (एफसिडब्लु), ब्लाइन्ड स्पट मनिटरिङ (बिएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल र स्वचालित आपतकालीन ब्रेकिङ सहित १९ भन्दा बढी सुरक्षा प्रविधि रहेको बताइएको छ । जेको जे-५ को सार्वजनिकसँगै एसपिजि अटोमोबाइल्सले नेपालमा आफ्नो इभी लाइनअपलाई थप बलियो बनाउनेछ । कम्पनीले यसअघि नै ओमोडा इ-५ र जेइको जे-६ इभी पनि बजारमा ल्याउने घोषणा गरिसकेको छ। पर्फर्मेन्स, प्रविधि र लक्जरी सुविधासहितको जे-५ ले नेपाली बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ । यो ईभी नेपाल आइपुगेको छ । नेपाल आएको जेको जे-फाइभको मूल्य ६० लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । आगामी साउन २१ गतेदेखि २५ गतेसम्म नाइमा मोबिलिटी एक्स्पो आयोजना हुनेछ ।
रसुवागढी नाका बन्दले तातोपानीमा चाप, अटो शो प्रभावित हुने चिन्ता
काठमाडौं । बाढीका कारण रसुवागढी नाका अवरुद्ध भएपछि तातोपानी नाकामा चाप बढेको छ । चीनतर्फको व्यापारका लागि तातोपानी नाकामा अत्यधिक चाप बढेको हो । मुख्य नाका रसुवागढी बन्द भएपछि तातोपानी नाकामा चाप बढेको हो । यही समयमा सवारीसाधन र तीर्थयात्रीको आवतजावत बढेपछि तातोपानी नाकामा भन्सार जाँचपास तथा समग्र व्यवस्थापनमा चुनौती थपिएको बताइएको छ । रसुवागढी नाका बन्द भएपछि अहिले सम्पूर्ण सवारीसाधन तातोपानीतर्फ ’डाइभर्ट’ भएका छन् । साउन महिनामा मानसरोवर जाने तीर्थयात्रीहरूले पनि यही नाका प्रयोग गर्न थालेपछि जाँचपासमा ठूलो दबाब सिर्जना भएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार हाल दैनिक औसत ३ सय तीर्थयात्री १ सय बढी संख्यामा मालवाहक गाडीहरू आवतजावत हुने गरेका छन् । ‘रसुवागढीबाट आउने गाडीहरू पनि यहीँ आएका छन्, मानसरोवरका लागि आउने तीर्थयात्रीको चाप पनि थपिएको छ,’ सूचना अधिकारी काफ्लेले भने, ‘भन्सार परिसरको क्षमता करिब १ सयवटा गाडी भण्डारण गर्ने हो । गाडीको संख्या बढ्दै जाँदा व्यवस्थापनमा चुनौती थपिएको छ ।’ अटो शो प्रभावित हुन सक्ने नाकामा बढेको चापको प्रत्यक्ष असर आगामी सवारी मेला नाइमाको मोबिलिटी एक्स्पो तथा नाडा अटो शोमा पर्ने भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । दशैं-तिहारलाई लक्षित गरी आयोजना हुने ‘नाइमा मोबिलिटी एक्सपो’ र ‘नाडा अटो शो’ का लागि नयाँ मोडेलका गाडीहरू धमाधम आयात भइरहेका छन् । तर, नाकामा सवारी जाँचपासमा ढिलाइ हुँदा समयमै गाडीहरू काठमाडौं ल्याउन नसकिने र त्यसले वर्षभरिको व्यापारमा असर पार्ने नाडाका पूर्वअध्यक्ष ध्रुव थापाको धारणा छ । ‘यो समयमा हुने व्यापारले वर्षभरि अर्थ राख्छ,’ उनले भने, ‘तर नाकाको अवस्था र भन्सार प्रक्रियामा हुने सम्भावित ढिलाइले अटो शो नै प्रभावित हुने जोखिम छ । तातोपानी नाकाको यार्ड पनि रसुवागढीको तुलनामा साँघुरो भएकाले समस्या थपिएको हो ।’ यो समय सरकारको राजस्व संकलनका लागि पनि महत्त्वपूर्ण भएकाले भन्सार प्रक्रियालाई सहज बनाउन तत्काल तदारुकता देखाउनुपर्ने उनको माग छ । पूर्वअध्यक्ष थापाले भन्सारमा अतिरिक्त कर्मचारी खटाएर भए पनि कामलाई छिटो-छरितो बनाउन आग्रह गरे । ‘यो समस्याले व्यवसायीलाई मात्र होइन, सरकारको राजस्वमा पनि असर पार्छ, त्यसैले सरकारले यसलाई प्राथमिकतामा राखेर तत्काल समाधान खोज्नुपर्छ,’ उनले भने । यस्तै, सिट्रोन गाडीको आधिकारीक वितरक साँग्रिला मोटर्सका मार्केटिङ म्यानेजर कुमुद नकर्मीले तातोपानी भन्सारमा चाप बढेकाले नयाँ मोडेल चाँडो ल्याउन सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘दुई/चार वटा नयाँ मोडेलका गाडी आयात गर्न त्यति समस्या त छैन । तर, मोबिलिटी एक्स्पोमा बढी ल्याउनुपर्ने हुन्छ, तातोपानी भन्सारमा चाप बढी भएकाले चाँडो आउन सक्ने अवस्था छैन ।’ उनका अनुसार चीनबाट आयात गरिनुपर्ने नयाँ मोडेलको गाडी रसुवागढी नाका बन्द भएका कारण तातोपानी नाकाबाट ल्याउने प्रयास भइरहेको छ । तर, तातोपानी नाकामा पनि अत्यधिक चाप भएकाले भन्सार प्रक्रियामा ढिलाइ भइरहेको नकर्मीको भनाइ छ । ‘नयाँ मोडेलको गाडी चीनबाट छुटिसकेको छ । तर, भन्सारमा समय लाग्ने देखिन्छ । एक्स्पोका लागि समयमै आइपुग्छ कि पुग्दैन भन्ने निश्चित छैन,’ उनले भने । आयातका लागि आवश्यक कागजात प्रक्रियामा कुनै समस्या नभएको व्यवसायीहरू बताउँछन् । कागजातहरू गाडीसँगै आउने र बैंकमार्फत गरिने भुक्तानी प्रक्रिया पनि एकै दिनमा सकिने भएकाले मुख्य समस्या भन्सार नाकाको भौतिक व्यवस्थापनमै रहेको व्यवसायीहरूको भनाइ छ । जनशक्ति अभाव नाकामा बढेको चापलाई व्यवस्थापन गर्न जनशक्ति अभाव मुख्य चुनौतीको रूपमा देखिएको छ । भन्सार कार्यालयले जनशक्ति थप गर्नका लागि भन्सार विभागमा अनुरोध गरिसकेको छ । विभागले कर्मचारी सरुवाको तयारी गरिरहेको र चाँडै थप जनशक्ति उपलब्ध हुने कार्यालयले जनाएको छ । हालको अवस्थालाई मध्यनजर गर्दै कर्मचारीहरूले बिहान ८ बजेदेखि नै काम सुरु गरेका छन् । सशस्त्र प्रहरी बलले पनि अतिरिक्त गोदाम सञ्चालनमा ल्याएर सामान भण्डारणमा सहयोग गरिरहेको भन्सार कार्यालयका सूचना अधिकारी काफ्लेले जानकारी दिए । भन्सार कार्यालयका अनुसार फलफूल र मसलाजन्य सामानलाई गोदाममा राखेर अन्य व्यावसायिक सामानको जाँचपासलाई निरन्तरता दिइएको छ । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले छिटोभन्दा छिटो गाडी पठाइदिन आग्रह गरिरहेको सुनाए । भन्सारमा समस्या बढ्न नदिन र जाँचपास प्रक्रियालाई सहज बनाउन तत्काल जनशक्ति थप्नुपर्ने माग सरकारसँग गरिरहेका उनको भनाइ छ । ‘कर्मचारीहरूले बिहान ८ बजेदेखि नै काम गरिरहनुभएको छ,’ उनले भने, ‘उज्यालो रहुञ्जेल सवारीसाधनलाई क्रमशः निकाल्ने काम भइरहेको छ । अहिले पाँच जनाले १० वटा गाडी चेक गर्छन् भने १० जना भए २० वटा गाडी जाँच गर्न सकिन्छ । त्यसैले जाँचपासलाई सहज बनाउन जनशक्ति थप्नुपर्छ ।’ उनले यस विषयमा सरकारी निकायलाई जानकारी गराइसकिएको पनि बताए । रसुवागढी नाका बन्द हुँदा तातोपानी नाकामा चौतर्फी दबाब सिर्जना भएको छ । भन्सार कार्यालय, सुरक्षा निकाय र व्यवसायीहरूबीच समन्वय गरेर चुनौतीलाई सामना गर्ने प्रयास भइरहेको छ । तर, पूर्वाधार र जनशक्तिको सीमितताका कारण आगामी दिनहरू थप चुनौतीपूर्ण बन्ने देखिन्छ ।
इन्टर मिलान र बीवाईडी समूहबीच तीन वर्षे साझेदारी, क्लबलाई ७० ईभी प्रदान गरिने
काठमाडौं । विश्वको चर्चित इटालियन फुटबल क्लब इन्टर मिलान र चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) कम्पनी बीवाईडी समूहबीच तीन वर्षे वैश्विक साझेदारी सम्झौता भएको छ । यस रणनीतिक सहकार्यले बीवाईडी समूहलाई इन्टर मिलानको ग्लोबल अटोमोटिभ पार्टनर बनाएको हो । साझेदारीअनुसार बीवाईडीले इन्टर मिलानको उच्च व्यवस्थापन, प्राविधिक टोली र पहिलो टिम खेलाडीहरूका लागि ७० वटा विद्युतीय तथा सुपर प्लग-इन हाइब्रिड गाडीहरू (डीए-आई) प्रदान गर्नेछ । बीवाईडी र इन्टरबीचको यो सम्झौता अटोमोबाइल र खेलकुद क्षेत्रबीचको सबैभन्दा उल्लेखनीय सहकार्यहरूमध्ये एक मानिएको छ । दुवै ब्रान्ड नवीन सोच, दिगो विकास, नेतृत्वको खोजी र उत्कृष्टता प्राप्त गर्ने लक्ष्यमा समर्पित छन् । बीवाईडी समूहकी कार्यकारी उपाध्यक्ष स्टेला लीले यस साझेदारीले युवापुस्ता र फुटबलप्रेमीहरूको सपना पूरा गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिन् । इलेक्ट्रिक गाडी उत्पादनमा अग्रणी बीवाईडीले २०२४ मा मात्र ४२ लाखभन्दा बढी सवारी बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४१ प्रतिशतले बढी हो । यस वर्षको पहिलो ६ महिनामै २० लाखभन्दा बढी गाडी बिक्री भइसकेको समूहले जनाएको छ । साझेदारीको पहिलो चरणमा इन्टरलाई बीवाईडी सीलियन सेभेनको विशेष संस्करण प्रदान गरिनेछ, जुन इन्टर मिलानको रङ र शैली अनुसार डिजाइन गरिएको हुनेछ । यो गाडीको सीमित संस्करणपछि इन्टर फ्यानहरूका लागि पनि उपलब्ध हुने बताइएको छ । साथै विश्वभर रहेका इन्टर समर्थकहरूलाई लक्षित गर्दै बीवाईडी गाडी खरिद तथा भाडामा लिन सकिने विशेष योजना पनि ल्याउने तयारी भइरहेको छ । बीवाईडी यसअघि यूईएफए यूरो २०२४ र यू-२१ युरोपेली च्याम्पियनसिप २०२५ को पनि प्रायोजक बनिसकेको छ।