धनगढीमा खुल्यो भेस्पा र अप्रिलियाको नयाँ शोरुम

काठमाडौं । भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

युवापुस्तामाझ भेस्पा र अप्रिलियाका स्कुटरप्रति बढ्दो रुचि र ग्राहकको सहजतालाई ध्यानमा राख्दै धनगढीमा नयाँ शोरुम विस्तार गरिएको कम्पनीले जनाएको छ । शोरुमको असोज ९ गते विशेष कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले देशभर भेस्पा र अप्रिलियाका स्कुटर सहज रूपमा उपलब्ध गराउने योजनाअनुसार धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याइएको बताए ।

उनका अनुसार नयाँ शोरुमबाट ग्राहकले अन्य शोरुममा उपलब्ध हुँदै आएका सेवा तथा सुविधा प्राप्त गर्नेछन् । ग्राहकको आवश्यकता र अपेक्षाअनुसार सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

धनगढी उपमहानगरपालिका–४ स्थित वेस्टर्न म्याक नेपाल प्रालिबाट भेस्पा र अप्रिलियाका विभिन्न मोडल खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

शोरुममा हालै नेपालमा सार्वजनिक गरिएको १७५ सीसीको अप्रिलिया एसआर १७५ लगायत भेस्पाका विभिन्न मोडल र नयाँ रङहरू उपलब्ध हुनेछन् । भेस्पाका नयाँ लाइल्याक र ओरो गोल्डेन रङमा समेत स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

डेल्टा अटोकर्पले देशभर शोरुम तथा आधिकारिक सर्भिस सेन्टरको संख्या बढाउँदै लगेको जनाएको छ ।

Share News