अवसरै अवसरको उत्सव बन्दै नाइमा मोबिलिटी एक्स्पो, नयाँ सवारीमा आकर्षक छुट
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स् एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले बहुप्रतीक्षित ‘नाइमा मोबिलिटी एक्स्पो’ अवसरै अवसरको उत्सव हुने जनाएको छ । एक्स्पोमा ५० वटा ब्रान्डले सहभागिता जनाउने भएका छन् भने सहभागी ब्राण्डहरुले आकर्षक योजनाहरु सार्वजनिक गर्ने भएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नाइमाले प्रदर्शनीमा ८० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरेको छ । नाइमा मोबिलिटी एक्स्पो २०२५ श्रावण २१ देखि २५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन लागेको हो । पहिलोपटक हुन लागेको प्रदर्शनीमा पेट्रोल (आईसी), विद्युतीय सवारीसाधान (ईभी) र हाइब्रिड गाडीहरू समावेश हुनेछन्, जसले अवलोकनकर्तालाई नयाँ प्रविधिबारे जानकारी लिन एकै ठाउँमा अवसर प्रदान गर्ने विश्वास नाइमाको छ । नाइमा मोबिलिटी एक्स्पोका संयोजक शिरिष मुरारकाका अनुसार ५० वटा विभिन्न ब्रान्डले आफ्ना नयाँ उत्पादन र प्रविधिहरू प्रदर्शन गर्नेछन् । उनले अटोमोबाइल क्षेत्रले नेपालको अर्थतन्त्र र रोजगारीमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए । उनका अनुसार यस क्षेत्रले प्रत्यक्ष रूपमा २५ देखि ३० हजारभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ । ‘अटो सेक्टरको अर्थतन्त्रमा योगदान सानो छैन र यो प्रदर्शनीले रोजगारी सिर्जनामा कसरी टेवा पुर्याइरहेको छ भन्ने पनि देखाउँछ,’ संयोजक मुरारकाले भने । प्रर्दशनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मसियल गाडीहरु सार्वजनिक हुने जानकारी दिए । उनका अनुसार प्रदर्शनीका मुख्य प्रायोजकमा एभ्रेष्ट बैंक र नेशनल इन्श्योरेन्स प्रमूख प्रायोजक रहेको प्रर्दशनीमा टिकेटिङ्ग पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राईड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वर्ल्ड लिङ्ग, हस्पिट्यालिटी पार्टनरमा सोल्टि होटल, मेडिकल पार्टनरमा फ्रन्टलाईन हस्पिटल, टेलिकम पार्टनरमा एन्सेल, र म्यानेज्मेण्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् । प्रर्दशनीका आगन्तुकहरुलाई प्रायोजक कम्पनीहरुले पनि विशेष प्रावधानको व्यवस्था गरेको छ । राईड पार्टनर पठाओले प्रर्दशनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राईडहरुमा ३० प्रतिशत सम्मको छुट दिँदै छ भने मेडिकल पार्टनर फ्रन्टलाईन हस्पिटलले प्रर्दशनी स्थलमा चौबिसै घण्टा एम्बुलेन्स व्यवस्थापन सहित आकस्मिक तथा सामान्य चिकित्सासेवा प्रदान गर्ने भएको छ । यस्तै प्रदर्शनी अवलोकनका लागि सामान्य टिकट शुल्क २०० रुपैयाँ र विद्यार्थीहरूका लागि १०० रुपैयाँ तोकिएको छ । टिकटहरू खल्ती, ईसेवा जस्ता डिजिटल वालेटमार्फत खरिद गर्न सकिने संयोजक मुरारकाले जानकारी दिए । उनका अनुसार प्रदर्शनी स्थलबाटै पनि टिकट खरिदको व्यवस्था मिलाइएको छ । प्रदर्शनीको पाँचाैं दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने गरी प्यानल डिस्कसन पनि हुने संयोजक मुरारकाले जानकारी दिए । युवा तथा कन्टेन्ट क्रियटरहरूलाई लक्षित गर्दै नाइमाले ‘मोबिलिटी सेक्टर’ र ‘एक्स्पो’ सँग सम्बन्धित भिडियो कन्टेन्ट कम्पिटिशन पनि आयोजना गरेको छ । प्रदर्शनीमा अवलोकनकर्ताको सहजताका लागि विशेष व्यवस्था गरिएको छ । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अन्य सहयोग चाहिने व्यक्तिहरूका लागि स्वयंसेवकहरूको टोली परिचालन गरिनेछ । साथै विद्युतीय सवारी प्रयोगकर्ताको सुविधाका लागि ईभी चार्जिङ स्टेसनको पनि व्यवस्था रहनेछ । एक्स्पो नेपाली अटोमोबाइल उद्योगका लागि एक महत्त्वपूर्ण प्लेटफर्म रहेको र यसले उपभोक्ता, बिक्रेता र उत्पादकहरूलाई एकै छानामुनि ल्याउने विश्वास नाइमाको छ । आयोजकले यस पटकको प्रदर्शनी प्रविधि, रोजगारी र उपभोक्तामैत्री सुविधामा केन्द्रित रहेको दाबी गरेको छ । नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले मिडिया तथा साझेदारहरूलाई धन्यवाद दिँदै ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्नेमा विश्वास व्यक्त गरिन्। उनले प्रदर्शनीलाई ‘चुनौती नभई अवसरै अवसर’को उत्सवको रूपमा गर्न लागेको बताइन् । उनले ३५ वटा नयाँ मोडेलका सवारीसाधन सार्वजनिक हुने जानकारी दिइन् । कम्पनीहरूले ग्राहकका लागि आकर्षक छुटको तयारी पनि गरिएको बताएका छन् । प्रदर्शनी केवल सवारी बेच्ने थलो मात्र नभई एक सिकाइ मञ्च पनि हुने उनको दाबी छ । ‘यो एक्स्पो बेच्नलाई मात्रै होइन,’ उनले भनिन्, ‘हामीले ‘लर्निङ सेसन’ पनि राखेका छौं, जहाँ बाहिरका विज्ञहरूबाट ज्ञान लिन सकिन्छ । यो एक अन्तरक्रियात्मक प्लेटफर्म हुनेछ ।’ प्रदर्शनीको पहिलो दिन अनिल केशरी शाहले २ बजे देखि ५ बजेसम्म मोबिलिटी हिजो, आज, र भोलि’ विषयमा सत्र सञ्चालन गर्नेछन् भने अरू दिनको सत्रमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, र भारतको इन्स्टिच्युट अफ रोड ट्राफिक एजुकेशन जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूका दक्ष तथा विज्ञ व्यक्तित्वहरुको उपस्थिति रहनेछ । मोबिलिटी एक्स्पोमा बिक्री भएका टिकटहरुको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरूलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोशिपहरू प्रदान गरिने जनाइएको छ । आयोजकले प्रदर्शनीलाई लक्षित गरी १ लाख रुपैयाँको पुरस्कार राशीसहितको भिडियो कन्टेन्ट कम्पिटिशनको पनि घोषणा गरेको छ । सहभागीहरूले श्रावण २१ गते (अगस्ट ६) बेलुका ७ बजेसम्म आफ्नो भिडियो पोस्ट गर्न सक्नेछन् । सबैभन्दा बढी भ्युज पाउने भिडियोले नगद १ लाख रुपैयाँ पुरस्कार जित्नेछ । साथै अन्य १० उत्कृष्ट भिडियोलाई १०/१० हजार रूपैयाँका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई ईभी सञ्चालन सम्बन्धी तालिम
काठमाडौं । भीजी मोटर्सले विद्युतीय सवारी साधन (ईभी) को दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रशिक्षकहरुको प्रशिक्षण (ट्रेनिङ अफ ट्रेनर्स–टीओटी) सम्पन्न गरेको छ । पहिलो चरणमा कम्पनीले साउन १० गते शनिबार काभ्रेको बनेपामा रहेको संयुक्त ड्राइभिङ ट्रायल सेन्टरमा ड्राइभिङ सेन्टरका प्रशिक्षकहरूलाई तालिम दिएको हो । उक्त कार्यक्रममा सातै प्रदेशबाट आमन्त्रित ४५ जना अनुभवी चालक प्रशिक्षकहरू सहभागी रहेको कम्पनीले जनाएको छ । तालिम भीजी मोटर्सको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको हो । यसको मुख्य उद्देश्य विद्यालय तथा सार्वजनिक सवारी चालकहरुलाई दीर्घकालीन रूपमा सुरक्षित, सचेत र जिम्मेवार तरिकाले विद्युतीय गाडी चलाउने बनाउनु रहेको छ । तालिमका सहभागीलाई ईभीको प्रविधि र यसलाई चलाउने शैलीबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइएको भीजी मोटर्सले जनाएको छ । उनीहरुलाई ईभीको सुरक्षित सञ्चालन, शैक्षिक संस्थाका र सार्वजनिक सवारी साधनको सुरक्षामा आवश्यक सावधानी तथा व्यावहारिक सीपसम्बन्धी प्रशिक्षण दिइएको थियो । उक्त तालिममा ईभीको तत्काल उत्पन्न हुने गति र आकस्मिक तीव्र गति नियन्त्रण, उकालो-ओरालोमा रिजेनेरेटिभ ब्रेकिङको प्रयोग, साइलेन्ट अपरेसनका कारण देखिने जोखिम र सजगताका उपाय, स्टेरिङ र ब्रेकिङको संवेदनशीलता सम्हाल्ने व्यावहारिक अभ्यास लगायत ज्ञान दिइएको छ । यस्तै, ड्यासबोर्डका संकेतहरू - एसओसी, पावर मोटर, टर्टल मोड आदि बुझ्ने तरिका पनि सिकाइएको छ । उक्त् तालिम देश विदेशमा अध्ययन र अनुभव प्राप्त प्रशिक्षकद्वारा दिइएको थियो । तालिमका सम्बन्धमा यस तालिमका मुख्य प्रशिक्षक एवं भीजी मोटर्सका अनुसन्धान तथा विकास विभाग प्रमुख सम्राट गौतम भन्छन्, ‘हामी ईभी बेच्ने मात्र होइन, यसको सुरक्षित प्रयोग सुनिश्चित गर्ने अभियानको पनि नेतृत्व गर्न चाहन्छौं । यी प्रशिक्षकहरूमार्फत अब विद्यालय र सार्वजनिक गाडीका चालकहरूलाई देशैभर प्रशिक्षित गर्न सकिनेछ ।’ गौतमले फिनल्यान्डबाट मेकाट्रोनिक्स इन्जिनियरिङ विषयमा विशेषज्ञता हासिल गरेका छन् । उक्त कार्यक्रममा भिजि मोटर्सका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले यो पहिलो चरणको तालिम रहेको र भविष्यमा दोस्रो चरणको तालिम पनि आयोजना गरिने बताए । उनले भने, ‘हामी यो सीपलाई ड्राइभिङ इन्स्टिच्युटमार्फत अन्तिम प्रयोगकर्तासम्म पुर्याउन चाहन्छौं, ताकि व्यावसायिक सवारीको सुरक्षित प्रयोग सुनिश्चित होस् । यस्तो सवारी सही ढंगले नचलाइएमा चालक, यात्रु र तिनका परिवारलाई समेत जोखिममा पार्न सक्छ ।’ भिजि मोटर्सले नेपाली बजारमा विद्युतीय माइक्रोबस एसआरएम र जोयलङका गाडीहरू बिक्री गर्दै आएको छ, जुन सार्वजनिक रुट तथा विद्यालयहरूमा धेरै प्रयोग हुने गरेका छन् । वातावरण अनुकूलता, भन्सार र अन्य करमा सहुलियतका साथै सञ्चालन खर्च धरै कम लाग्ने भएकाले ईभीको प्रयोग बढ्दो छ । तर, ईभी प्रविधिसँग तालमेल गर्न नसक्दा दुर्घटनाको जोखिम पनि बढिरहेको छ । ईभी प्रविधि आफैंले दुर्घटना नगराए पनि यो प्रविधिलाई राम्ररी नबुझ्दा दुर्घटनाको सम्भावना धेरै हुने भएकाले तालिम जरुरी हुने कम्पनीको भनाइ छ ।
हेनरी भोल्ट्सको ‘मोडेल सी प्रो’ विद्युतीय गाडी नाइमा अटो शोमा सार्वजनिक हुँदै
काठमाडौं । नेपालको विद्युतीय सवारीसाधन (ईभी) बजारमा नयाँ क्रान्ति ल्याउने तयारीमा रहेको हेन्री भोल्ट्स ब्रान्डले आफ्नो नयाँ र उच्च प्रविधियुक्त सिटी ईभी ‘मोडेल सी प्रो’ को सार्वजनिक घोषणा गरेको छ । सन् २०२२ देखि नेपालमा हेन्री भोल्ट्स इलेक्ट्रिक भेहिकल्सको एकमात्र आधिकारिक आयातकर्ता तथा वितरक एस क्युब इन्टरप्राइजेज प्रालिले यो नयाँ मोडेलको शुभारम्भ नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा गर्नेछ । मोडेल एचको सफलतापछि ल्याइएको मोडेल सी प्रो ३०० किमी लामो रेञ्ज, ३० किलोवाट डीसी फास्ट चार्जिङ र २५ किलोवाट हावर्स लिथियम ब्याट्री जस्ता अत्याधुनिक फिचरहरूसहित बजारमा प्रवेश गर्न लागेको हो । यसले अब ४० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमता राख्दछ । यसमा ३५ किलोवाट मोटर, ११० एनएम टर्क र हिल होल्ड असिस्ट जस्ता विशेषताहरू छन् । काठमाडौंको साँघुरा गल्ली र ट्राफिकलाई ध्यानमा राखेर यसको ३.३ मिटर लम्बाइ र ४.८५ मिटर टर्निङ रेडियस राखिएको छ। यस मोडेलमा लेमन ग्रीन, चेरी रेड, रुबी ब्ल्याक, र कोकोनट ह्वाइट जस्ता आकर्षक रंग विकल्प, ९ इन्च टचस्क्रिन, ७ इन्च इन्स्ट्रुमेन्ट डिस्प्ले, र स्मार्ट सेफ्टी फिचरहरू जस्तै एबीएस,ईबीडी, आईएसओ‌ फिक्स र रिभर्स क्यामेरा उपलब्ध छन् । ‍धेरै अपग्रेड र फिचरका बाबजुद पनि कम्पनीले यसको प्रारम्भिक मूल्य २३ लाख रुपैयाँभन्दा कम हुने बताएको छ । हेनरी भोल्ट्सको विशेषता रहेको डोरस्टेप सर्भिसिङ यो मोडेलमा पनि उपलब्ध हुने एस क्युब इन्टरप्राइजेजले जनाएको छ ।