नाडा र यातायात व्यवस्था विभागबीच सवारीसाधन आयात, उत्पादन तथा जडानसम्बन्धी छलफल

  काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल र यातायात व्यवस्था विभागबीच छलफल भएको छ ।  नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलसँग बुधबार छलफल गरेको हो । सवारीसाधन आयात उत्पादन तथा जडानसम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा छलफल भएको हो । उक्त छलफलमा विशेषगरी सवारी आयात, उत्पादन र जडान, नेपालमा यातायात व्यवसायी महासंघको माग सम्बन्धमा विद्युतिय सवारी साधनहरुको वारेन्टी, ग्यारेन्टी, अथराइज्ड सर्भिस सेन्टर, चार्जिङ्ग स्टेसनको व्यवस्था गरेर मात्र आयात गर्न पाउने माँग, सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने, प्रयोग भएका ब्याट्रीको दीर्घकालीन व्यवस्थापन, डुप्लिकेट सर्टिफिकेसन, डकुमेन्टेसन, छाप र लोगो प्रयोग, मोटर क्षमता र सिट संख्यामा भएको विवाद, भन्सार महसुल निर्धारणको लागि आधारहरूको सिफारिस, ट्याक्सीमा प्रयोग हुने सवारी साधनहरू व्यक्तिगत सवारीभन्दा महँगो भएको ट्याक्सी व्यवसायीको गुनासो र आयात हुने सवारीमा जीपीएस अनिवार्य गर्ने लगायतका विषयहरूमा छलफल गरिएको थियो । सो छलफलमा नाडाका अध्यक्ष चौधरीले सो निर्देशिकाको विषयमा बुँदागत छलफल गरिनु पर्ने धारणा राखे । यसै क्रममा चौधरीले सो निर्देशिकाका सम्बन्धमा नाडामा विस्तृत छलफलगरी सुझाव पठाउने बताउँदै विभागले छलफलका लागि नाडालाई बोलाएकोमा आभार प्रकट गरे । सो बैठकमा उपस्थित हुनु भएका नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सो निर्देशिकामा रहेका केही बुँदाहरु नेपालको सन्दर्भमा व्यावहारिक बनाउनु पर्ने र कतिपय जटिल विषयहरुमा थप छलफलको आवश्यकता रहेको बताए । छलफलको अन्त्यमा विभागका महानिर्देशक पोखरेलले सवारीसाधन आयात उत्पादन तथा जडानका सम्बन्धमा नेपालमा कुनै स्पष्ट नीति नियम नभएको सन्दर्भमा यो निर्देशिका ल्याउन लागेको बताउँदै यसका लागि विभिन्न चरणमा छलफल गरिने जानकारी दिए । सोही छलफलको क्रममा उनले सरकारले व्यवसायीहरुका लागि विभिन्न व्यवधानहरु सिर्जना गर्ने गरेको आम बुझाइरहेको भए पनि अव सरकार व्यवसायीहरुको परिपूरकको रुपमा उभिने बताउँदै देशको आर्थिक विकासमा नीजिक्षेत्रको ठूलो भूमिका हुने बताए ।  विभागसँग मिलेर नाडाले सवारी साधनहरूका लागि टेष्टिङ फेसिलिटीको व्यवस्था गर्न सकिने भन्ने नाडाका अध्यक्ष चौधरीको प्रस्तावमा प्रतिक्रिया दिदै महानिर्देशक पोखरेलले मुख्यतः ३ वटा विषयमा नाडासंग सहकार्य गरेर अघि बढन सकिने बताउँदै सही समयमा सही छलफल भएको धारणा राखे ।  उक्त छलफलमा सो विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले नेपालमा सवारीसाधन आयात आयात हुने सम्बन्धी व्यवस्थाहरूका सम्बन्धमा बैठकलाई विस्तृत रुपमा जानकारी गराएका थिए ।  सो छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो ।

लाम्बोर्गिनीको सञ्चालन आम्दानी घट्यो, गाडी बिक्रीमा भने कीर्तिमान

काठमाडौं । इटालियन लक्जरी स्पोट्र्स कार निर्माता लाम्बोर्गिनीले बुधबार पहिलो छ महिनामा कीर्तिमानी गाडी बिक्री भए पनि सञ्चालकीय आम्दानी अलि घटेको जनाएको छ । जसको मुख्य कारण विनिमय दरमा आएको प्रतिकूल असर हो । कम्पनीका अनुसार जनवरीदेखि जुनसम्मको अवधिमा सञ्चालन आम्दानी ४३१ मिलियन युरो (४९७ मिलियन डलर) रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा भएको ४५८ मिलियन युरोको तुलनामा कम हो । यसमा दोस्रो त्रैमासिकमा देखिएको प्रतिकूल विनिमय दर प्रमुख कारण हो। । ‘वैश्विक आर्थिक र राजनीतिक अस्थिरताको बाबजुद पनि नतिजा ठोस छन्,’ लाम्बोर्गिनीका सीईओ स्टेफान विन्केलम्यानले भने । कम्पनीको कुल आम्दानी १.६२ अर्ब युरो पुगेको छ, जबकि ५ हजार ६८१ वटा गाडी बिक्री गरिएको थियो– यो पहिलो छ महिनामा अहिलेसम्मकै उच्च हो । लाम्बोर्गिनी जर्मन कम्पनी फक्सवागन समूहअन्तर्गत पर्छ । यद्यपि सञ्चालन नाफाको मार्जिन २८.३ प्रतिशतबाट घटेर २६.६ प्रतिशतमा झरेको छ । विन्केलम्यानका अनुसार सबै मोडेललाई हाइब्रिड बनाउने निर्णय सही साबित भएको छ । उनले भने, ‘हाम्रो हाइब्रिड रणनीतिलाई ग्राहकहरूले साथ दिएका छन् ।’ इटालीको उत्तरमा पर्ने बोलोनीयाको छेउमा रहेको लाम्बोर्गिनीले भने युरोपेली संघ (ईयू) र अमेरिकाबीच हालैको व्यापार सम्झौतामा कुनै टिप्पणी गरेको छैन, जसले अधिकांश युरोपेली वस्तुहरूमा अमेरिकाले १५ प्रतिशत आयात महसुल लगाउने निर्णय गरेको हो । पहिलो छ महिनामा कम्पनीको ३० प्रतिशत गाडी अमेरिका महादेशमा (१ हजार ७३२ गाडी) बिक्री भएको थियो । त्यस अवधिमा युरोप, मध्यपूर्व र अफ्रिकामा २ हजार ७०८ गाडी बिक्री भएको थियो जबकि एशिया प्यासिफिक क्षेत्रमा १ हजार २४१ गाडी बिक्री गरिएको थियो। यस वर्षको सुरुमा विन्केलम्यानले भनेका थिए कि अमेरिकी महसुलले लाम्बोर्गिनीको आम्दानीमा असर पर्नेछ, यद्यपि लक्जरी उत्पादन निर्माता कम्पनीहरूले त्यो अतिरिक्त लागत ग्राहकहरूमाथि सार्न सक्छन् । ब्याट्रीमा चीनमाथिको निर्भरता घटाउँदै टेस्ला, एलजीईएससँग ४.३ अर्ब डलरको सम्झौता  

लिपमोटरको नयाँ ईभी ‘बी १०’ सार्वजनिक, ६ सय किलोमिटरसम्मको रेन्ज दिने दावी

काठमाडौं । गोल्छा ग्रुपअन्तर्गतको सांग्रिला मोटर्सले आफ्नो विद्युतीय गाडी (ईभी) को पोर्टफोलियो विस्तार गर्दै नयाँ ‘बी १०’ एसयूभी सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको यो गाडी चीन बाहिर विश्व बजारमा पहिलो पटक नेपालबाट लन्च गरिएको हो । कार्यक्रममा बोल्दै सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले नेपालले लिपमोटरका नयाँ उत्पादनहरू विश्व बजारमा सबैभन्दा पहिले पाउने अवसर पाएकोमा खुशी व्यक्त गरे।  उनले भने, ‘यसअघि सी १० मोडल जस्तै बी १० को पनि चीनपछिको पहिलो अन्तर्राष्ट्रिय लन्च नेपालमा गर्न पाउँदा हामीले निकै भाग्यमानी महसुस गरेका छौं । यसले नेपाली बजारप्रति कम्पनीको विश्वास र प्राथमिकतालाई देखाउँछ ।’ लिपमोटर बी १० आफ्नो मूल्य श्रेणीमा उत्कृष्ट फिचरसहित आएको कम्पनीको दाबी छ । यसमा १६० किलोवाटको शक्तिशाली मोटर र ६७.२ किलोवाट–आवरको ब्याट्री प्याक जडान गरिएको छ ।  कम्पनीका अनुसार यसले एक पटकको फुल चार्जमा ६०० किलोमिटरसम्मको रेन्ज दिन्छ भने यसको डब्लूएलटीपी प्रमाणित रेन्ज ४६० देखि ४८० किलोमिटर रहेको छ । डिजाइनको हिसाबले यो गाडी सी १० भन्दा पनि बढी आकर्षक रहेको र यसमा पोर्शेका डिजाइनबाट प्रेरित केही अंशहरू देख्न सकिने गोल्छाले जानकारी दिए । यो गाडी विशेष गरी युरोपेली तथा विश्व बजारका लागि डिजाइन गरिएको हो र यसले युरोपेली सुरक्षा तथा गुणस्तर मापदण्ड पूरा गरेको पनि उनले बताए । गाडीको मूल्य नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिने बताइएको छ । सांग्रिला मोटर्सले सन् २०१७ मा पुजो ब्रान्डबाट नेपाली बजारमा प्रवेश गरेको थियो । त्यसपछि कम्पनीले सिट्रोन र २०२२ मा लिपमोटर ब्रान्डलाई नेपालमा भित्र्याएको हो ।  लिपमोटर विश्वको चौथो ठूलो अटोमोबाइल निर्माता ‘स्टेलान्टिस ग्रुप’ अन्तर्गतको ब्रान्ड हो, जसले जीप, फियाट, मसेराटी जस्ता १४ भन्दा बढी चर्चित ब्रान्डहरूको स्वामित्व राख्छ । नेपालमा लिपमोटरले एक वर्षभन्दा कम अवधिमा राम्रो बजार बनाउन सफल भएको छ । यसअघि लन्च गरिएको सी १० मोडेल २०० युनिटभन्दा बढी बिक्री भइसकेको छ । बी १० को आगमनले नेपाली ईभी बजारमा प्रतिस्पर्धा थप बढाउने विश्वास कम्पनीले लिएको छ ।