विकासन्युज

सरकारले गर्‍यो सचिवहरूको सरुवा

काठमाडौं । सरकारले प्रशासनिक नेतृत्वमा हेरफेर गर्दै सचिवहरूको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायका सचिवहरूको जिम्मेवारी परिवर्तन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई भने राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीको जिम्मेवारी दिइएको छ ।  यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेकी सचिव राधिका अर्याललाई कर्णाली प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ । यसअघि बागमती प्रदेश सरकारको प्रमुख सचिव रहेका बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ । अधिकारी अनिवार्य अवकाश नजिक रहेकाले उनलाई अतिरिक्त समूहमा राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरीषद कार्यालय स्रोतले जनाएको छ । अधिकारीको सरुवासँगै बागमती प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारी तत्कालका लागि वरिष्ठ सहसचिव कमलप्रसाद भट्टराईलाई दिइएको छ ।  

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो आईएसओ प्रमाणित स्पा तथा वेल्नेश ब्रान्ड

काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रालिले गुणस्तर व्यवस्थापन प्रणाली (आईएसओ ९००१:२०१५) को अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले उक्त प्रमाणपत्र प्राप्तसँगै आफू नेपालको पहिलो तथा एकमात्र आईएसओ ९००१:२०१५ प्रमाणित स्पा तथा वेल्नेश ब्रान्ड बनेको जनाएको छ । कम्पनीका अनुसार युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) ले प्रदान गरेको उक्त प्रमाणपत्रले ट्रन्क्यूलिटी स्पाको सेवा, सञ्चालन प्रणाली, सरसफाइ मापदण्ड र ग्राहक सेवा व्यवस्थापनलाई अन्तर्राष्ट्रिय गुणस्तरअनुसार रहेको पुष्टि गरेको छ । यूआरएस युकेएएस र आईएएफबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रमाणीकरण निकाय हो । प्रमाणीकरणको दायरामा थेराप्युटिक मसाज, विभिन्न प्रकारका ब्युटी थेरापी, स्टिम, सौना, ज्याकुजी, जिम, स्विमिङ पुल तथा टेनिस सुविधासहितका सेवा समेटिएका छन् । कम्पनीले यी सबै सेवामा गुणस्तर व्यवस्थापन प्रणाली लागू गरिएको जनाएको  छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत भुवन फैजुले आईएसओ ९००१:२०१५ प्रमाणपत्र कम्पनीका लागि उपलब्धिमात्र नभई ग्राहकप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताए। उनका अनुसार ट्रन्क्यूलिटी स्पाको जुनसुकै शाखामा पुगे पनि ग्राहकले समान स्तरको सेवा, सरसफाइ र हेरचाह पाउने सुनिश्चितता गर्न कम्पनी प्रतिबद्ध छ । त्यस्तै, प्रमुख सञ्चालन अधिकृत रनिल फैजुले यो प्रमाणीकरण वर्षौंदेखि कम्पनीले विकास गर्दै आएको सेवा प्रणाली र सञ्चालन मापदण्डको अन्तर्राष्ट्रिय मान्यता भएको बताए । उनले सेवा गुणस्तर, सरसफाइ र निरन्तर सुधारप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने दिशामा कम्पनी अघि बढ्ने उल्लेख गरे । कम्पनीका अनुसार आईएसओ ९००१:२०१५ प्रमाणपत्रले ट्रन्क्यूलिटी स्पालाई नेपालको पहिलो तथा एकमात्र आईएसओ प्रमाणित स्पा तथा वेल्नेश ब्रान्डका रूपमा स्थापित गरेको छ । यसले ग्राहकलाई सुरक्षित, भरपर्दो र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको वेल्नेश सेवा उपलब्ध गराउने कम्पनीको लक्ष्यलाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ । 

सुनसरी घटनामा सरकारसँग आरेन राईको प्रश्न : प्रधानमन्त्री, गृहमन्त्री कहाँ छन् ?

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुनसरी घटनाबारे सरकारको धारणा र कदमबारे संसदमा स्पष्ट जवाफ माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुनसरीमा तनावपूर्ण अवस्था रहँदा प्रधानमन्त्री र गृहमन्त्री दुवै सदनमा अनुपस्थित रहेको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाए । 'न प्रधानमन्त्री हुनुहुन्छ, न गृहमन्त्री हुनुहुन्छ । यस्तो बेला सरकारले अग्रसरता लिनुपर्ने हो । तर सरकार आफैँ कालो कोठाभित्र लुकेर चियाएर हेरेजस्तो महसुस भइरहेको छ,' उनले भने । सांसद राईले बल प्रयोगबाट समस्या समाधान नहुने भन्दै संवाद र राजनीतिक पहलमार्फत परिस्थिति नियन्त्रणमा लिन सरकारलाई आग्रह गरे ।  

एनआईसी एशिया बैंकद्वारा नेपालपे कार्ड एक्वायरिङ सेवा सुरु

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई थप विस्तार गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मार्फत नेपालपे कार्ड एक्वायरिङ सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकले आफ्ना ग्राहकका लागि नेपालपे कार्ड स्वीकार गर्ने सेवा सुरु गरेको जनाएको छ । बैंकका अनुसार अब नेपालपे कार्डधनीले एनआईसी एशिया बैंकका एटीएम तथा पीओएस टर्मिनलमार्फत सहज रूपमा कारोबार गर्न सक्नेछन् । साथै, डिस्कभर नेटवर्कअन्तर्गतका रुपे लगायत अन्य अन्तर्राष्ट्रिय कार्डहरू पनि बैंकका एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । नेपालपे राष्ट्रिय पेमेन्ट स्विचअन्तर्गत सञ्चालनमा रहेको नेपालको राष्ट्रिय कार्ड स्किम हो । यो कार्ड नेपालभित्र राष्ट्रिय पेमेन्ट स्विचमार्फत तथा विदेशमा डिस्कभर नेटवर्कमार्फत प्रयोग गर्न सकिने व्यवस्था छ । यसले बैंक तथा वित्तीय संस्थाले जारी गर्ने नेपालपे कार्डको प्रयोगलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । हालसम्म नेपालपे कार्ड प्रणालीमा ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन् । तीमध्ये सात संस्थाले कार्ड जारी गरिसकेका छन् भने अन्य ११ संस्थाले एक्वायरिङ सेवा कार्यान्वयन गरिरहेका छन् । आगामी दिनमा यस प्रणालीमा आबद्ध संस्थाको संख्या थप विस्तार हुने अपेक्षा गरिएको छ । एनआईसी एशिया बैंकले पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ सेवाको विस्तारलाई प्राथमिकतामा राख्दै आफ्ना आन्तरिक प्रणाली तथा ग्राहक सेवामा प्रविधिमैत्री सुधार गर्दै आएको जनाएको छ । हाल बैंकले देशभर ३६० भन्दा बढी शाखा, विस्तारित काउन्टर, शाखारहित बैंकिङ सेवा तथा ६०० भन्दा बढी एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।

बाँकी रहेका करिब २८ लाख लाइसेन्स छपाई सम्पन्न

काठमाडौं । यातायात व्यवस्था विभागले विगत चार वर्षदेखि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले रोकिएका सबै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हरूको छपाई कार्य सम्पन्न गरेको छ । छपाई मेसिन, जनशक्ति व्यवस्थापन, सफ्टवेयर तथा स्रोतगत समस्याका कारण रोकिएका लाइसेन्सहरू विभाग र सुरक्षण मुद्रण केन्द्रबीच मंगलबार भएको सम्झौताअनुसार छपाई गरी वितरणको व्यवस्था मिलाइएको हो । विभागका अनुसार २०८३ असार मसान्तसम्म छपाई हुन बाँकी रहेका कूल २७ लाख ४७ हजार २५३ थान स्मार्ट कार्डहरू छपाई सम्पन्न गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूमा वितरणका लागि पठाइसकिएको छ । म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी भएका लाइसेन्सहरूको छपाई नगरिएको र नवीकरणपछि १० वर्ष अवधिको प्राप्त हुने भएकाले त्यस्ता वाहकहरूलाई आफूलाई पायक पर्ने यातायात कार्यालयमा गई नवीकरण गराउन विभागले अनुरोध गरेको छ । लामो समयसम्म लाइसेन्स छपाई तथा वितरणमा भएको ढिलाइमा धैर्यता देखाएको भन्दै विभागले सेवाग्राहीहरूप्रति कृतज्ञतासमेत व्यक्त गरेको छ । यसैगरी, आगामी दिनमा नयाँ लाइसेन्स प्राप्ति तथा नवीकरण प्रक्रियालाई सहज बनाउन राष्ट्रिय परिचयपत्र नम्बरबाट विवरण प्राप्त हुने र अनलाइनमार्फत नै राजस्व भुक्तानी गर्न सकिने गरी प्रणालीमा सुधार गरिएको विभागले जनाएको छ । साथै सवारी चालक अनुमतिपत्रमा भएका विवरणगत त्रुटि सच्याउने, छपाई तथा वितरणसम्बन्धी कार्य सम्बन्धित कार्यालयहरूबाटै तत्कालै हुने प्रबन्ध मिलाइएको छ । वैदेशिक रोजगारीमा जानेहरूका लागि द्रुत (फास्ट ट्र्याक) छपाई तथा कार्ड वितरणसम्बन्धी सेवाका लागि भने सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूमा सम्पर्क गर्न विभागले अनुरोध गरेको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार (आज) मध्यान्ह १२ बजे बैठक सुरु भएको हो । बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री बालेनसहित गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, मुख्यसचिव गोविन्दबहादुर कार्की, प्रधानसेनापति अशोक सिग्देल र रक्षा सचिव केदारनाथ शर्मा उपस्थित रहेका छन् ।

नर्सिङ तथा मिडवाइफ्री सेवा सुधारका लागि तत्काल नीति सुधार गर्न सरकारसँग माग

काठमाडौं । नर्सिङ तथा मिडवाइफ्री सेवाको सुदृढीकरण र नीतिगत सुधारको माग तत्काल कार्यान्वयन गर्न नर्सिङ तथा मिडवाइफ्री क्षेत्रमा कार्यरत जनशक्तिले सरकारसँग आग्रह गरेका छन् । नेपालको स्वास्थ्य प्रणालीको प्रमुख आधार नर्सिङ तथा मिडवाइफ्री सेवा भए पनि यस क्षेत्रमा कार्यरत जनशक्ति न्यून पारिश्रमिकमा काम गर्न बाध्य रहेको भन्दै अभियान्ताले आग्रह गरेका हुन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा लेखिएको छ, 'असुरक्षित रोजगारी, विभेदकारी कानुनी व्यवस्था, अपर्याप्त दरबन्दी, स्पष्ट मानव स्रोत नीतिको अभाव, सीमित नेतृत्व अवसर तथा व्यावसायिक सम्मानको कमीबाट प्रभावित छ ।’ ज्ञापनपत्रमा यी समस्याका कारण दक्ष नर्स तथा मिडवाइफ्री जनशक्ति विदेश पलायन हुने क्रम बढ्दै गएको र त्यसको प्रत्यक्ष असर नेपालको स्वास्थ्य सेवाको गुणस्तर, बिरामी सुरक्षा तथा समग्र स्वास्थ्य प्रणालीको प्रभावकारितामा परेको उल्लेख छ । संविधानले प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै उक्त अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सक्षम, पर्याप्त, सुरक्षित, सम्मानित तथा उत्तरदायी नर्सिङ तथा मिडवाइफ्री जनशक्ति अपरिहार्य रहेको जनाइएको छ । ज्ञापनपत्रमा गुणस्तरीय स्वास्थ्य सेवा चिकित्सकीय उपचारबाट मात्र सम्भव नहुने उल्लेख गर्दै बिरामी सुरक्षा, गुणस्तरीय सेवा, क्लिनिकल गभर्नेन्स तथा सुरक्षित मातृत्व सुनिश्चित गर्न नर्सिङ तथा मिडवाइफ्री सेवाको सुदृढीकरण आवश्यक रहेको उल्लेख छ । 

ड्रोन उडाएर होइन, प्रभावकारी शासनबाट शान्ति सुरक्षा कायम हुन्छ : खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको आरोप लगाएकी छन् । उनले प्रविधिको प्रयोग मात्रै सुरक्षा व्यवस्थापनको समाधान नभई प्रभावकारी शासन, कानुनको निष्पक्ष कार्यान्वयन र नागरिकमा विश्वास जगाउने राज्यको क्षमताबाट मात्रै दिगो शान्ति सुरक्षा सुनिश्चित हुने बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले पछिल्लो समय देशका विभिन्न स्थानमा बढ्दो आपराधिक गतिविधि र असुरक्षाको अनुभूति भइरहेका बेला सरकारले त्यसको प्रभावकारी समाधान दिन नसकेको टिप्पणी गरिन् । आकाशमा सेना र प्रहरीका ड्रोन उडाउनुले मात्रै सुरक्षा अवस्था सुधारिने भ्रम पाल्न नहुने उनको भनाइ थियो । 'ड्रोन उडाएर मात्रै शान्ति सुरक्षा कायम हुँदैन,' उनले भनिन्, 'राज्यसँग स्पष्ट सुरक्षा रणनीति, त्यसको प्रभावकारी कार्यान्वयन र नागरिकमा विश्वास जगाउने क्षमता हुनुपर्छ ।' उनले आधुनिक प्रविधि सुरक्षा व्यवस्थापनका लागि सहयोगी साधन भए पनि त्यसलाई प्रभावकारी नीति, सक्षम सुरक्षा संयन्त्र र सुशासनसँग जोड्न नसकिए अपेक्षित परिणाम हासिल गर्न नसकिने उल्लेख गरिन् । केवल निगरानीका लागि ड्रोन परिचालन गर्नु समस्याको दीर्घकालीन समाधान नभएको उनको धारणा थियो । प्रमुख सचेतक ओलीले सरकारको प्राथमिकता प्रविधि प्रदर्शनभन्दा पनि सुरक्षा निकायलाई सक्षम, जवाफदेही र परिणाममुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताइन् । उनले अपराध नियन्त्रण, कानुनको निष्पक्ष कार्यान्वयन र नागरिकले सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन् । उनले सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउँदै अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन सरकारलाई आग्रह गरिन् । साथै, शान्ति सुरक्षा कायम गर्न राज्यका सबै निकायबीच समन्वय, पारदर्शिता र उत्तरदायित्व अपरिहार्य रहेको उल्लेख गर्दै नागरिकको विश्वास जित्न सक्ने शासन प्रणाली नै दिगो सुरक्षा व्यवस्थाको आधार हुने बताइन् ।