भारतीय कडाइले बन्द हुँदै चिया उद्योग
काठमाडौं । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ । संस्थाका अनुसार भारतीय बजारमा पुगेको ३ लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छ भने उद्योगमा ७ लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ । भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएसन अध्यक्ष डिल्ली श्रेष्ठले बताए । ‘किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया बनाएका छौँ, तर बजारमा बिक्री हुनसकेको छैन । भण्डारण गर्ने ठाउँसमेत भरिइसकेको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘किसानलाई भुक्तानी रोक्न मिल्दैन, त्यसैले उद्योग बन्द गर्नु बाहेक अर्को विकल्प रहेन ।’ भारतले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेको छ । यसअनुसार प्रत्येक गाडीको चिया छुट्टा छुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउन २० दिनभन्दा बढी लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता छ । ‘उत्पादन भएको चिया बजारमा पुर्याउने बाटो नै बन्दजस्तै भएको छ,’ उद्योगी गोपाल कट्टेलले भने, ‘भारतले विभिन्न प्राविधिक झन्झट सृजना गरेर नेपाली चिया रोकेपछि उद्योग सञ्चालन गर्न सक्ने अवस्था रहेन ।’ नेपाली चियाको निर्यात समस्या समाधान गर्न सङ्घीय सरकारले प्रभावकारी रुपमा पहल गर्नुपर्ने उनको भनाइ छ । ‘सरकारले समयमै कूटनीतिक पहल गरेर निर्यात सहजीकरण गर्न पहल गर्नुपर्छ,’ कट्टेलले भने, ‘अवरोध हटाउन पहल नभए अर्बौँ रुपैयाँको नेपाली चियाको बजार गुम्ने खतरा छ ।’ उद्योग बन्द हुँदा हजारौं किसान प्रभावित हुनेछन् । एसोसिएसनका अनुसार सूर्योदय नगरपालिकामा २ हजार ९९५ चिया किसान छन् । यहाँ ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा चिया खेती हुँदै आएको छ, जहाँबाट वार्षिक २ करोड किलो हरियो पत्ती उत्पादन हुन्छ । ‘उद्योग बन्द भयो भने आम्दानी नै रोकिन्छ, परिवार कसरी चलाउने ? हाम्रो त रोजीरोटी हराउँछ,’ किसान राजन भट्टराई भन्छन्, ‘उद्योग बन्द भएपछि हाम्रो हरियो पत्ती बिक्दैन । अब कसरी बाँच्ने भन्ने चिन्ता बढ्यो ।’ ६५ भन्दा बढी चिया उद्योग रहेको सूर्योदय नगरपालिकाले चिया बिक्रीका लागि भारतीय अवरोध खुला गर्न तत्काल उच्चस्तरीय कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयसँग माग गरेको छ । नगरले भारतको कोलकाता पुगेका नेपाली चियाका ‘कन्साइनमेन्ट’माथि भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै प्रवेश गरी प्रत्येक बोराको नमूना सङ्कलन र परीक्षण गर्न थालेको तथा आधा दर्जनभन्दा बढी ट्रकबाट नमूना सङ्कलन गरिएको एक साता व्यतीत भइसक्दा पनि प्रयोगशालाको प्रतिवेदन प्राप्त नभएर प्रतिवेदन बेगर बिक्री-वितरण पूर्ण रोक लगाइएको पाएको जनाएको छ । ‘झन्झटिलो प्रक्रियाका कारण गुणस्तरीय नेपाली चिया भारतीय गोदाममै थन्किएर गुणस्तर ह्रास हुने र बिग्रिने जोखिम छ,’ सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालले भने, ‘भारतीय अवरोध हटाउन नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छ ।’ राष्ट्रिय चिया तथा कफी विकास बोर्डका नवीन कोइरालाका अनुसार नेपालबाट बर्सेनि ७० लाख किलोभन्दा बढी अर्थोडक्स तयारी चिया निर्यात हुन्छ । जसको ९० प्रतिशतभन्दा बढी भारतीय बजारमा जाने गरेको छ । वार्षिक सवा ४ अर्ब रुपैयाँ बढीको तयारी चिया निर्यात हुने नेपालमा अर्थोडक्स चिया मूख्यतः इलाम, पाँचथर र धनकुटामा उत्पादन हुन्छ ।
काठमाडौंका १२८ स्थान डुबानको जोखिममा
काठमाडौं । यस वर्षको मनसुनमा काठमाडौं महानगरपालिले १२८ ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ । जसबाट करिब आठ हजार ३१५ परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ । जोखिम कम गर्नका लागि कामपाले मनसुनपूर्व तयारी र प्रतिकार्य योजनासमेत स्वीकृत गरेको छ । कामपा विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार बागमती, विष्णुमतीको दोभानबाट तल्लो भेगमा पर्ने वडा नं १४ सबैभन्दा बढी जोखिममा देखिन्छ । उनका अनुसार डुबानबाट कतै धेरै स्थान र कतै धेरै परिवार प्रभावित हुने देखिन्छ । नेपालले भने, ‘वडा १४ सँगै वडा नं १३, १५, २९, १०, १६, २६, ३२, १२ बढी जोखिममा देखिन्छन् । डुबान हुने ठाउँका आधारमा वडा नंं ३० मा २१ ठाउँ, वडा नं ४ र वडा नं ३२ मा १०/१० ठाउँमा डुबानको जोखिम देखिन्छन् ।’ उनका अनुसार वडा नंं १६ सबैभन्दा बढी प्रभावित हुने देखिन्छ । सामाखुशी, विष्णुमती र अन्य खहरे खोलाहरूले यस वडामा करिब एक हजार ६०० परिवार प्रभावित हुने अनुमान गरिएको विपद् व्यवस्थापन विभागका प्रमुख नेपालले जानकारी दिए । उनका अनुसार वडा नं २६ मा एक हजार २५५, वडा नं ३ मा ९५० र वडा नं ४ मा ९५५ परिवार प्रभावित हुनेछन् ।उक्त अनुमानका आधारमा निर्माण गरिएको पूर्वतयारी कार्ययोजनामा वडास्तरीय विपद् व्यवस्थापन समिति, जनप्रतिनिधि, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स, स्वास्थ्य सेवालगायत आकस्मिक सेवा लिनुपर्ने क्षेत्र र अधिकारीका टेलिफोन नम्बर तयारी अवस्थामा राखिएका कामपा विपद् व्यवस्थापन विभागले जनाएको छ । स्रोत र उपकरणहरुको विवरण उल्लेख गरिएको छ । जोखिम घटाउन, घटना भए उद्धार, राहत, व्यवस्थापन तथा पुनर्लाभका लागि कामपाका ११ वटा विभागलाई जिम्मेवारी कार्ययोजना तोकिएका विपद् व्यवस्थापन विभागका प्रमुख नेपालले जानकारी दिए । उनका अनुसार विपद्का समयमा प्रयोग गर्न सकिने ५१ वटा पार्क, २८ वटा खुला क्षेत्र र ८७ वटा विद्यालय पहिचान गरिएका छन् । यसअघिका वर्षहरूको अविरल वर्षाका कारण सहरी जीवनमा उत्पन्न भएको बाढी र डुबानजन्य जोखिम फेरि नदोहोरियोस् भन्नेमा सचेत भएर कामपाले जोखिम न्यूनीकरणका लागि नदी सरसफाइ, डुबान समाधान जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । कामपाकी कार्यवाहक प्रमुख एवं कामपा विपद् व्यवस्थापन समितिकी संयोजक सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले यसवर्ष जेठ १८ गतेदेखि असोज १४ गतेसम्म वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणलाई आधारमा कार्ययोजना स्वीकृत गरेको हो । उनले सम्भावित डुबानको जोखिम घटाउन पूर्वाधार, सरसफाइलगायत तयारी नियमित सञ्चालन गर्न, समन्वय र सहकार्यको प्रणाली कार्यान्वयन योग्य बनाउन, विपद्का समयमा ठेगाना प्रणालीका कारण अलमल नहुने अवस्था निर्माण गर्न विभागलाई निर्देशन दिएकी छन् ।
अमेरिका-इरान शान्ति सम्झौता २४ घण्टाभित्र सम्भव भएको पाकिस्तानको दाबी
काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानले मध्यपूर्व युद्ध अन्त्य गर्न ‘२४ घण्टाभित्र’ सम्झौता गर्न सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानले शनिबार (आज) जनाएको छ । यस क्षेत्र र विश्व अर्थतन्त्रलाई तहसनहस पारेको महिनौं लामो युद्धमा स्ट्रेट अफ हर्मुजमा नयाँ झडपका बाबजुद द्वन्द्वरत पक्ष र मध्यस्थकर्ताहरूले लामो समयदेखि प्रतिक्षा गरिएको सम्झौता अन्तिम चरणमा रहेको दाबी गरेका हुन् । अप्रिल ८ मा भएको युद्धविरामपछि शान्ति सम्झौताका लागि हप्तौँको वार्ता अहिलेसम्म सफल हुन सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयसम्म युद्धविराम लम्ब्याउन मात्र यो सम्झौता सहमतिको नजिक छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले शनिबार एक्समा लेखेका छन्, ‘पहिलेभन्दा धेरै बिषयमा सहमति जुटेको छ र स्थायी शान्तिका लागि सम्झौता गर्न हामी सफलता नजिक छौं ।’ ‘अर्को २४ घण्टाभित्र अन्तिम रूप दिने अपेक्षा गरिएको छ, पाकिस्तानले शान्ति सम्झौताको लागि तुरुन्तै इलेक्ट्रोनिक पत्रमा हस्ताक्षरको तयारी गरिरहेको छ र त्यसपछि अर्को हप्ता प्राविधिक स्तरको वार्ता हुनेछ ।’
धनुषामा राजगुठी जग्गा अतिक्रमण गर्नेहरूलाई गुठी संस्थानको अल्टिमेटम
काठमाडौं । गुठी संस्थानले धनुषा जिल्लाभित्र रहेका राजगुठीका मठ-मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा भएको अनधिकृत अतिक्रमण तत्काल हटाउन सार्वजनिक सूचना जारी गरेको छ । संस्थानका अनुसार धनुषाका विभिन्न स्थानमा रहेका धार्मिक तथा सार्वजनिक महत्त्वका यी जग्गाहरू केही व्यक्ति तथा संस्थाहरूले अनधिकृत रूपमा कब्जा गरी संरचनासमेत निर्माण गरेर भोगचलन गरिरहेको पाइएको छ । यस्तो अनधिकृत कार्यले सार्वजनिक तथा धार्मिक सम्पत्तिको संरक्षण र व्यवस्थापनमा गम्भीर चुनौती सिर्जना गरेको भन्दै संस्थानले सम्बन्धित सबैलाई तुरुन्तै अतिक्रमण हटाउन आग्रह गरेको छ । गुठी संस्थानले सूचनाको अवज्ञा गरी अनधिकृत संरचना वा कब्जा कायम राखिएमा प्रचलित कानूनबमोजिम कानूनी कारबाही अघि बढाउने चेतावनी समेत स्पष्ट रूपमा दिएको छ । साथै, राजगुठी अन्तर्गतका मठ-मन्दिर, पोखरी तथा जग्गाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै संस्थानले सार्वजनिक सम्पत्तिको रक्षाका लागि स्थानीयवासी, सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई सहयोग गर्न आह्वान गरेको छ ।
भारत-नेपाल सीमापार रेल परियोजनाबारे काठमाडौंमा उच्चस्तरीय बैठक
काठमाडौं । भाररत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति समीक्षा तथा रेल क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले काठमाडौंमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ । जेठ २८ र २९ गते काठमाडौंमा आयोजित बैठकमा भारत-नेपालबीचको १०औं परियोजना निर्देशक समिति (प्रोजेक्ट स्टेयरिङ कमिटी-पीएससी) र ८औं संयुक्त कार्यदल (ज्वाइन्ट वर्किङ ग्रुप-जेडब्ल्युजी) का बैठक सम्पन्न भएका हुन् । बैठकमा सञ्चालनमा रहेका भारत-नेपाल सीमापार रेल सम्पर्क परियोजनाको कार्यान्वयन अवस्था, निर्माण प्रगति तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो । यसका साथै रेल क्षेत्रको समग्र द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा दुवै पक्षबीच छलफल भएको थियो । दुवै देशका प्रतिनिधिमण्डलले सीमापार रेल सञ्जाल विस्तारले नेपाल-भारतबीचको व्यापार, आवागमन, पर्यटन तथा जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए । बैठकमा रेल पूर्वाधार विकास, प्राविधिक सहकार्य र भविष्यका सम्भावित परियोजनाबारे समेत विचार–विमर्श भएको जनाइएको छ । नेपाल र भारतबीच जयनगर-कुर्था-बिजलपुरा रेलमार्ग सञ्चालनमा आइसकेको छ भने थप सीमापार रेल सम्पर्क परियोजनाहरू कार्यान्वयनको विभिन्न चरणमा रहेका छन् । यस्ता परियोजनाले दुई देशबीचको भौतिक पूर्वाधार सञ्जाल विस्तारसँगै आर्थिक साझेदारीलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।
कांग्रेसले ६ लाख ८७ हजार क्रियाशील सदस्यको विवरण गर्यो अनुमोदन
काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनलाई लक्षित गरी सञ्चालन गरेको क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत पौने सात लाख सदस्यको विवरण डिजिटल प्रणालीमा प्रविष्टि गरेको छ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले डिजिटल प्रणालीमा प्रविष्ट भएका ६ लाख ८७ हजार ९३१ क्रियाशील सदस्यहरूको विवरणलाई अनुमोदन गर्दै यो अभियान सफल भएको निष्कर्ष निकालेको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार डिजिटल प्रणालीमा रहेका कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये जेठ २८ गते राति १२ बजेसम्म वडा तहमार्फत अद्यावधिक सम्पन्न भएका र डिजिटल प्रणालीमार्फत स्वयं फाराम भरी वडामा अनुमोदनको प्रक्रियामा रहेकाहरूको विवरण प्रविष्टि भइसकेको छ । यसरी प्रविष्ट भएकामध्ये ५ लाख ३८ हजार ६२२ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन् भने बाँकी १ लाख ४९ हजार ३०९ जनाको स्वयं अद्यावधिक फाराम वडा तहमार्फत प्रक्रियामै रहेको छ । डिजिटल प्रणालीमा अनलाइनमार्फत प्रविष्ट भएका यस्ता फारामहरू आगामी असार ५ गतेभित्र अनुमोदन गरिसक्न समितिले वडा तहहरूलाई कडा निर्देशन दिएको छ । तोकिएको समयसीमाभित्र वडा तहबाट अनुमोदन नभएमा विधानबमोजिम योग्यता पुगेका सदस्यहरूलाई केन्द्रले नै स्वतः अनुमोदन गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरिएको छ । यसैगरी, इन्टरनेटको पहुँच कम भएका उच्च हिमाली तथा विकट पहाडी क्षेत्रका केही पालिका, र अद्यावधिक कार्यमा ढिलाइ भएका बारा र खोटाङ जिल्लाका हकमा असार ७ गतेसम्मको समय थप गरिएको छ । विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि असार १० गतेसम्मको अवधि तोकिएको छ भने फाराम तथा अनलाइनमार्फत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने कार्यलाई आगामी असार २० गतेसम्म निरन्तरता दिइने कांग्रेसले जनाएको छ । यी हुन् सदस्यता व्यवस्थापन केन्द्रीय समितिले गरेका १४ निर्णय:
लागूऔषधसहित १३ जना पक्राउ
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशको विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । केन्द्रीय प्रहरी कार्यालयका अनुसार सिन्धुली र सुनसरीबाट तीन/तीन, रौतहटबाट दुई, मोरङ, नवलपरासी पूर्व, कैलाली, सिरहा र बाँकेबाट एक/एक जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट लागुऔषध गाँजा र खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन बरामद गरेको छ ।
एक दर्जन सुरुङमार्गका लागि ६७ करोड बजेट, सिद्धबाबालाई मात्रै ५० करोड
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा एक दर्जन सुरुङमार्गको सभ्भाव्यता अध्ययन र निर्माणका लागि ६७ करोड एक लाख बजेट विनियोजन गरेको छ । हालसालै सार्वजनिक गरेको आगामी आवको लागि वार्षिक विकास कार्यक्रमअन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आगामी आवका लागि निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ग्वार्को सातदोबाटो एकान्तकुना फ्लाइओभरका लागि १२ करोड ६६ लाख रुपैयाँ छुट्याएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी, सुरुङमार्ग विकास कार्यक्रमका लागि तीन करोड ७७ लाख ८० हजार रुपैयाँ बजेट छुट्याएको छ । मन्त्रालयले टोखा छहरे गुर्जु भन्ज्याङ सुरुङमार्गका लागि ११ लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसैगरी, विभिन्न प्रस्तावित सुरुङमार्गहरुको सम्भाव्यता अध्ययनका लागि एक लाख ९० हजार रुपैयाँ बजेट छुट्याएको छ । त्यसैगरी, सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङमार्ग अध्ययनका लागि पाँच लाख ६० हजार बजेट विनियोजन गरेको छ । दोलालघाट चर्नावती सुरुङमार्गका लागि १८ लाख ९० हजार विनियोजन गरेको छ । हात्तीसार बबई सुरुङमार्गका लागि सात लाख ५६ हजार रुपैयाँ छुट्याएको छ । खुर्कोट चियाबारी सुरुङमार्गको अध्ययनका लागि तीन लाख ९२ हजार रुपैयाँ विनियोजना गरेको छ । त्यसैगरी, शिवपुर भालुवङ्ग सुरुङमार्गका लागि तीन लाख ९२ हजार रुपैयाँ रकम छुट्याएको छ । रानीघाट भुरीगाउँ सुरुङमार्गका लागि तीन लाख ९२ हजार रुपैयाँ बजेट छुट्याएको छ ।