राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउन्टर सेवा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सिंहदरबार प्लाजास्थित कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउन्टर सेवा सञ्चालनमा आएको छ ।

बैंकले गत भदौ २२ गते सोमबारदेखि नियमित कार्यालय समयभन्दा थप एक घण्टा सन्ध्याकालीन काउन्टर सेवा सञ्चालनमा ल्याएको हो । उक्त काउन्टरबाट चेक भुक्तानी, नगद जम्मा लगायत सीमित बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार ग्राहकले बेलुका ५ बजेदेखि ६ बजेसम्म सन्ध्याकालीन काउन्टरबाट बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट नियमित कार्यालय समयमा कारोबार गर्न नसकेका ग्राहकलाई अत्यावश्यक बैंकिङ कारोबार गर्न सहज हुने बैंकको अपेक्षा छ ।

वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेटेर ३१६ शाखा कार्यालय र ३३८ एटीएम टर्मिनल मार्फत सेवा दिँदै आएको छ ।

बैंकका अनुसार ४८ लाखभन्दा बढी ग्राहकलाई निक्षेप, कर्जाका साथै एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

Share News