विकासन्युज

पोल भाडा बक्यौता उठाउन प्राधिकरण सक्रिय

काठमाडौं । लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ । यसक्रममा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले नेपाल विद्युत् प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालयमार्फत पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया सुरु गरेको छ । वर्ल्डलिङ्कले आर्थिक वर्ष २०८२/८३ को स्वःघोषणाका आधारमा निर्धारण गरिएको पोल भाडा रकममध्ये कर कट्टीपश्चात् भुक्तानी प्रक्रिया अघि बढाएको हो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को हकमा संयुक्त रूपमा गरिएको पोल तथा डीबी बक्सको प्रमाणीकरणका आधारमा हिसाब मिलान गरी यसअघि भएको दोहोरो भुक्तानीसमेत समायोजन गर्दै बाँकी रकम भुक्तानी गरेको जनाएको छ । यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राज्यको पूर्वाधार उपयोग गर्ने सबै सेवा प्रदायकले कानुनअनुसार तिर्नुपर्ने शुल्क समयमै भुक्तानी गर्नु दायित्व भएको बताएका छन् । उनले वर्ल्डलिङ्कबाट सुरु भएको भुक्तानी प्रक्रियालाई सकारात्मक सुरुआत भएको उल्लेख गर्दै अन्य सेवा प्रदायकहरूले पनि कानुनबमोजिम आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे । मन्त्री श्रेष्ठले सरकार विधिको शासन र कानुनको निष्पक्ष कार्यान्वयनमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै कार्यान्वयनका क्रममा देखिने व्यावहारिक समस्याको समाधान कानुनको सीमाभित्र रहेर गरिने बताए । साथै, कानुन कार्यान्वयनलाई अनावश्यक रूपमा राजनीतिक रङ दिने वा भ्रम सिर्जना गर्ने प्रयासप्रति सचेत रहनुपर्ने उल्लेख गर्दै सबैका लागि समान रूपमा कानुन कार्यान्वयन हुने सरकारको नीति रहेको बताए ।

जागिर लगाइदिने भन्दै ५ लाख लिएको आरोपमा गाउँपालिका उपाध्यक्षविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) विरुद्ध पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उपाध्यक्षसँगै गाउँपालिकाका तत्कालीन एमआईएस अपरेटर सुरेश कँहारलाई पनि प्रतिवादी बनाइएको छ । आयोगका अनुसार गाउँपालिकामा जागिर लगाइदिने भन्दै घुस लिएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उपाध्यक्ष चौधरीको बैंक खातामा तत्कालीन एमआईएस अपरेटर सुरेश कँहारको खाताबाट पाँच लाख रुपैयाँ जम्मा भएको पुष्टि भएको थियो । उक्त रकम कार्यालय सहयोगीको नाममा चेक काटेर उपाध्यक्षको खातामा जम्मा गरिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ । अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७९/८० को ‘न्यायिक असमानताविरुद्ध उपाध्यक्ष कार्यक्रम’ सञ्चालनका लागि गाउँपालिकाबाट उपलब्ध गराइएको ६ लाख रुपैयाँ पेश्कीमध्ये पाँच लाख रुपैयाँ घुसस्वरूप उपाध्यक्षलाई दिइएको देखिएको आयोगको दाबी छ । कार्यक्रममा खर्च नगरी उक्त रकम घुसका रूपमा प्रयोग गरिएको अख्तियारको निष्कर्ष छ । अख्तियारले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो बराबरको जरिवाना, कैद सजाय तथा घुसस्वरूप लिइएको पाँच लाख रुपैयाँ जफत गर्न मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

२०६ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.६७ अंकले घटेर २६६७ बिन्दुमा झरेको छ ।  नेप्सेका अनुसार ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३३७ कम्पनीको ७५ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै कर्पोरेट डेभलपमेन्ट बैंकको १५ करोड, रिडि पावरको १० करोड र आँखु खोलाको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । एभरेष्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।    

जनकपुरमा पनि कर्फ्यू आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र कर्फ्यू आदेश जारी गरेको छ । प्रदर्शन चर्किएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । बिहीबार (आज) अपरान्ह साढे ३ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनका अनुसार उपमहानगरपालिकाका सबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिका क्षेत्रका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो । प्रशासनले कर्फ्यू अवधिभर अत्यावश्यक सेवाबाहेक कुनै पनि व्यक्ति, सवारीसाधन वा समूहलाई तोकिएको क्षेत्रमा आवतजावत नगर्न निर्देशन दिएको छ ।  सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जनाउँदै सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, संयमता अपनाउन तथा प्रशासनलाई सहयोग गर्न आग्रहसमेत गरिएको छ ।  यसअगाडि सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यू लगाइसकिएको छ । सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यू

शान्ति–सुरक्षा र सामाजिक सद्भावमा सुरक्षा परिषद्को विशेष जोड

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा बिहीबार (आज) राष्ट्रिय सुरक्षा परिषद्को ४३औं बैठक सम्पन्न भएको छ । बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा शान्ति–सुरक्षा कायम राख्न सबै सुरक्षा निकाय र सम्बन्धित सरोकारवालाबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । परिषद्का अनुसार बैठकमा देशको समग्र सुरक्षा अवस्था तथा साउन १० गते सुनसरीमा भएको घटनाबारे विस्तृत समीक्षा गरिएको थियो ।  राजनीतिक दल, स्थानीय सरोकारवाला तथा सुरक्षा निकायको संयुक्त प्रयासबाट उक्त क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको विषयमा परिषद्लाई ब्रिफिङ गरिएको थियो । बैठकपछि जारी विज्ञप्तिमा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित पक्षसँग प्रभावकारी समन्वय गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना सुदृढ बनाउने गरी कार्यसम्पादन गरिने उल्लेख गरिएको छ । त्यसैगरी, विपद्का घटनामा खोज, उद्धार तथा राहतका कार्यलाई समयमै प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायबीचको समन्वय अझ सुदृढ बनाउने निर्णय पनि बैठकले गरेको परिषद्ले जनाएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल सरकारका मुख्यसचिव गोविन्द कार्की, प्रधानसेनापति अशोक सिग्देल र रक्षा सचिव केदारनाथ शर्मा सहभागी थिए ।

सार्वजनिक बिदामा पनि राहदानी सेवा, विभागले खुलायो आवेदन फाराम

काठमाडौं । राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै आगामी सोमबारसम्म राहदानी आवेदन फाराम खुला राख्ने भएको छ । विभागले सार्वजनिक बिदा परेका शनिबार र आइतबारसमेत सेवा सञ्चालन गर्दै साउन १८ गतेसम्म आवेदन फाराम खुला रहने जनाएको छ । बिहीबार सूचना जारी गर्दै विभागले सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न बिदाका दिन पनि आवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको जनाएको हो । विभागका अनुसार वैदेशिक रोजगार विभागले दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिन पाउने म्याद थप गरेपछि राहदानी बनाउन चाहनेको संख्या बढेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै थप आवेदन फाराम खुला गरिएको विभागले जनाएको छ । विभागले आवेदन दिएका सेवाग्राहीलाई आफूले फाराममा उल्लेख गरेको मिति र समयमा अनिवार्य रूपमा उपस्थित भई राहदानी सेवा लिन पनि अनुरोध गरेको छ ।

नेपाली ई–कमर्स बजारमा सिल्क ग्रुपको ‘चाइना बजार’, आईपीओ ल्याउने योजना

काठमाडौं । सिल्क ग्रुपले व्यवसाय विविधीकरण रणनीतिअन्तर्गत ‘चाइना बजार’ नामक नयाँ ई–कमर्स प्लेटफर्म औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले एक विशेष कार्यक्रम आयोजना गरी ‘चाइना बजार’ ई–कमर्स प्लेटफर्म सञ्चालनमा ल्याएको जानकारी दिएको हो । ‘चाइना बजार’ले प्रारम्भिक चरणमा व्यवसायदेखि ग्राहक (बीटुसी) मोडलमार्फत सेवा सुरु गरेको सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले जानकारी दिए । उनले ‘चाइना बजार’सँगै कम्पनीले पहिलो अफलाइन रिटेल स्टोर पनि सञ्चालनमा ल्याएको बताए । उनका अनुसार ग्वार्खोस्थित टुलिप होटल परिसरभित्र सञ्चालनमा आएको उक्त स्टोरमा ग्राहकले सामान प्रत्यक्ष अवलोकन र अनुभव गर्न सक्नेछन् । कम्पनीले एक वर्षभित्र वीरगञ्ज र भैरहवामा थप दुई वटा ‘एक्सपेरियन्स स्टोर’ विस्तार गर्ने योजना बनाएको अध्यक्ष शेर्पाले जानकारी दिए । उनले आगामी दिनमा व्यवसायदेखि व्यवसाय (बीटुबी) सेवा पनि देशभर विस्तार गर्ने बताए । ‘चाइना बजार’मार्फत साना तथा मझौला व्यापारीहरूले समेत प्रत्यक्ष लाभ लिन सक्ने उनको भनाइ छ । कम्पनीले ई–कमर्स प्लेटफर्मलाई देशव्यापी व्यापारिक सञ्जालका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । ‘चाइना बजार’ले नेपाली उपभोक्ताको दैनिक किनमेल गर्ने शैलीमा परिवर्तन ल्याउने उनको भनाइ छ । सिल्क ग्रुपले आईपीओ जारी गर्ने तयारी गरेको जानकारी दिँदै अध्यक्ष शेर्पाले छिट्टै सर्वसाधारणका लागि आईपीओ जारी गर्ने घोषणा गरे । उनले भने, ‘सिल्क ग्रुपले व्यवसाय विविधीकरण गर्दै ई–कमर्स प्लेटफर्म ‘चाइना बजार’ सञ्चालनमा ल्याएको छ । सुरुमा ‘चाइना बजार’ले बीटुसी अर्थात् व्यवसायबाट ग्राहकलाई सेवा दिन्छ । ई–कमर्स प्लेटफर्म ‘चाइना बजार’सँगै हामीले ‘चाइना बजार’को एक्सपेरियन्स स्टोर पनि सञ्चालनमा ल्याएका छौँ । यो एक्सपेरियन्स स्टोर अर्थात् अफलाइन रिटेल स्टोर हो । यसले ग्राहकलाई सामान प्रत्यक्ष हेर्ने र अनुभव गर्ने अवसर दिन्छ । हामी यसलाई बिस्तारै देशभरका प्रमुख सहरमा विस्तार गर्दै जानेछौँ ।’ ‘चाइना बजार’मार्फत नेपाली उपभोक्ताले गुणस्तरीय सामान सरल, उचित र पारदर्शी मूल्यमा खरिद गर्न पाउनेछन् । उद्योगदेखि उपभोक्ताको दैलोसम्म पुग्दा बीचमा लाग्ने अतिरिक्त शुल्कको भार अब ग्राहकले बेहोर्नु नपर्ने कम्पनीले जनाएको छ । ‘चाइना बजार’ले चीनका उत्पादनकर्ताबाट प्रत्यक्ष सामान खरिद गर्ने, आफ्नै गोदाममा भण्डारण गर्ने र ग्राहकसम्म डेलिभरी गर्ने व्यवस्था गरेको जनाएको छ । यसबाट डेलिभरी समय कम हुने, लागत घट्ने र मूल्यमा पारदर्शिता कायम रहने कम्पनीको दाबी छ । ‘इन्जोय योर सपिङ’ भन्ने नारासहित सुरु गरिएको ‘चाइना बजार’मा प्रारम्भिक चरणमा इलेक्ट्रोनिक्स, फेसन, लाइफस्टाइलका सामग्री तथा स्वास्थ्य र सौन्दर्यसम्बन्धी सामग्री उपलब्ध हुनेछन् । कम्पनीका अनुसार ग्राहकले ईसेवा र खल्ती मार्फत भुक्तानी गर्न सक्नेछन् । 

सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यू

काठमाडौं । सिरहामा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।  जिल्ला प्रशासन कार्यालय, सिरहाले जिल्लाको सुरक्षा अवस्थाको विश्लेषण तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा कर्फ्यू आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको आदेशबाट दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि गोलबजार नगरपालिकाको (पूर्वतर्फ कसाह खोला, पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ सैनिक चोक र दक्षिणतर्फ राजेन्द्र प्रसाद राजकीय बहुमुखी क्याम्पस आसपासको क्षेत्र) मा पूर्ण रूपमा आवतजावत तथा भेला हुन रोक लगाइएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका- ३, कप्तानगञ्जमा भएको घटनाको विरोधमा मधेशका विभिन्न जिल्लामा प्रदर्शन हुन थालेको हो ।