विकासन्युज

निर्देशनबिनै एआईले सरकारी वेबसाइट ह्याक गरेपछि...

काठमाडौं । ओपनएआईले विकास गरेको एआई एजेन्टले बिना निर्देशन अस्ट्रेलियाली सरकारी वेबसाइटमा अनधिकृत पहुँच बनाएपछि एआईको बढ्दो स्वायत्त क्षमतामाथि गम्भीर प्रश्न उठेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजका अनुसार जुन १८ मा ओपनएआईको एआई एजेन्टले सर्भिसेस अस्ट्रेलियाले सञ्चालन गर्ने ‘मेडिकेयर स्ट्याटिस्टिक्स रिपोर्टिङ सर्भिस’ पोर्टलमा पहुँच बनाएको थियो । एआई एजेन्टले पोर्टलमा रहेका सार्वजनिक तथा गैरसार्वजनिक दुवै प्रकारका फाइलमा पहुँच बनाएको प्रधानमन्त्री अल्बानिजले बताएका छन् ।  यद्यपि व्यक्तिगत विवरणमा पहुँच पुगेको कुनै प्रमाण अहिलेसम्म नभेटिएको बताइएको छ । घटनाबारे फरेन्सिक अनुसन्धान जारी छ । उक्त पोर्टलमा मेडिकेयरसँग सम्बन्धित संवेदनशील नभएका तथ्यांक, खर्चसम्बन्धी विवरणलगायत सामग्री राखिएका छन् । घटनाप्रति अस्ट्रेलियाले ‘अत्यन्त गम्भीर चिन्ता’ व्यक्त गरेको छ । प्रधानमन्त्री अल्बानिजले ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानसँग समेत कुरा गरेर घटनाबारे चासो व्यक्त गरेका छन् ।  उनले घटनाबारे सरकारलाई जानकारी गराउन कम्पनीले गरेको ढिलाइको समेत आलोचना गरेका छन् । ओपनएआईले अस्ट्रेलियाली अधिकारीलाई सेप्टेम्बर १० मा मात्र घटनाबारे जानकारी गराएको थियो । अर्थात घटना भएको झन्डै तीन महिनापछि मात्रै कम्पनीले सरकारलाई जानकारी दिएको हो । ओपनएआईका अनुसार अस्ट्रेलियासम्बन्धी प्रश्न तथा तथ्यांकको उत्तर खोज्ने क्रममा आन्तरिक मूल्यांकन भइरहेका बेला उक्त गतिविधि भएको थियो । कम्पनीका प्रवक्ताले सीएनबीसीसँग भने, ‘त्यस क्रममा हाम्रा मोडलहरूले हामीले उद्देश्य नराखेका केही गतिविधि गरे ।’ कम्पनीले बिरामीका व्यक्तिगत अभिलेखमा पहुँच पुगेको कुनै प्रमाण नरहेको जनाएको छ । एआईले समग्र स्वास्थ्य तथ्यांक तथा आन्तरिक फाइलका नाममा भने पहुँच बनाएको बताइएको छ । ओपनएआईका अनुसार जुनमा भएको उक्त गतिविधिबारे कम्पनीलाई अगस्टमा मात्र थाहा भएको थियो । त्यसपछि के–कस्ता सामग्रीमा पहुँच पुगेको थियो भन्नेबारे अनुसन्धान गरेर अस्ट्रेलियाली सरकारलाई जानकारी दिइएको कम्पनीले जनाएको छ । यो ओपनएआईका एआई प्रणालीबाट अनपेक्षित रूपमा भएको पहिलो घटना भने होइन ।  यसअघि पनि कम्पनीका एआई प्रणालीले कुनै निर्देशनबिना युनिभर्सिटी अफ न्यु मेक्सिकोको डिजिटल पुस्तकालय तथा अमेरिकाको रोजगारी र शिक्षासम्बन्धी सार्वजनिक तथ्यांक उपलब्ध गराउने ‘डाटा यूएसए’ प्लेटफर्ममा प्रवेश गर्ने प्रयास गरेको न्युयोर्क टाइम्सले जनाएको थियो । जुलाईमा त ओपनएआईका मोडलहरूले इन्टरनेटबाट अलग राख्न बनाइएका सुरक्षा नियन्त्रण छल्दै कम्पनीको आन्तरिक अनुसन्धान पूर्वाधारका केही हिस्सामा पहुँच बनाएका थिए ।  साथै डेभलपर प्लेटफर्म हगिङ फेसका प्रणालीमा समेत पहुँच पुर्याएको बताइएको थियो । यी घटनाले मानिसको निर्देशनबिना आफै निर्णय गर्न र बाह्य प्रणालीसँग अन्तरक्रिया गर्न सक्ने एआई एजेन्टको विकाससँगै त्यसको सुरक्षा र नियन्त्रण चुनौती पनि बढ्दै गएको देखाएको छ ।

बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : राजेश उपाध्याय

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष राजेश उपाध्यायले बैंकिङ क्षेत्र अर्थतन्त्रको ‘मुटु’ भएको बताउँदै यसलाई अत्यन्तै संवेदनशील र होसियारीपूर्वक संरक्षण (ह्यान्डल विथ केयर) गर्न राज्य र सरोकारवाला निकायसँग आग्रह गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा अध्यक्ष उपाध्यायले देशमा व्याप्त आर्थिक मन्दी, लगानीको प्रतिकूल वातावरण, व्यवसायीहरूको खस्कँदो मनोबल र सरकारका निरन्तर नियन्त्रणमुखी निर्णयहरूका बीच वित्तीय प्रणालीमाथि अनावश्यक दबाब सिर्जना भइरहेको बताए । प्राकृतिक विपद् र बजार शिथिलताका कारण बैंकिङ क्षेत्र अप्ठ्यारो अवस्थामा पुगे पनि यो समस्या समाधान गर्न सकिने उनको भनाइ छ । मानव शरीरमा मुटुले रक्तसञ्चार गरेजस्तै बैंकिङ प्रणालीले अर्थतन्त्रमा पुँजीको प्रवाह (क्यास फ्लो) गराउने चर्चा गर्दै उनले मुटुमै समस्या आए सिंगो अर्थतन्त्रको शरीर नै अचेत हुने चेतावनी दिए । उनले भने, ‘एउटा मुटुले जसरी शरीरमा रक्तसञ्चार प्रणालीलाई सञ्चालन गर्छ, अर्थतन्त्रमा बैंकिङ क्षेत्रको भूमिका ठ्याक्कै त्यही हो । त्यसैले बैंकिङ क्षेत्रलाई अत्यन्तै संवेदनशील र सावधानीपूर्वक व्यवहार गरिनुपर्छ ।’ बैंकिङ प्रणाली भौतिक सम्पत्तिमा भन्दा पनि पूर्ण रूपमा निक्षेपकर्ताको ‘विश्वास’ (कन्फिडेन्स) मा आधारित भएर चल्ने विशिष्ट क्षेत्र भएको उनले स्मरण गराए । वित्तीय क्षेत्रको यही संवेदनशीलतालाई नजरअन्दाज गरेर बजारमा भ्रम छर्न नहुने उनको जोड थियो । उपाध्यायले भने, ‘आज हामीले जतिसुकै राम्रो भने पनि, जस्तोसुकै नम्बर एक बैंक भए पनि यदि निक्षेपकर्ताको विश्वास गुम्यो र बचत फिर्ता लिन थालियो भने त्यो बैंक भोलि नै रित्तिन्छ र ढल्छ । बैंकिङ क्षेत्र पूर्णतया विश्वासमा टिकेको क्षेत्र भएकाले यसलाई कमजोर बनाउने खेल कसैले पनि खेल्नु हुँदैन ।’ पछिल्लो समय कतिपय राजनीतिक दलका नेताहरूबाट आउने गैरजिम्मेवार टिप्पणी, केही व्यवसायीहरूका आधारहीन आक्षेप र सञ्चारमाध्यममा आउने नकारात्मक चर्चाप्रति उनले गम्भीर चिन्ता व्यक्त गरे । नियामक निकाय नेपाल राष्ट्र बैंकले गर्ने कारबाही, नियम परिवर्तन र कानुनी निर्णयहरू गर्दा वित्तीय क्षेत्रको संवेदनशीलतालाई विशेष ध्यान दिनुपर्ने उनको माग थियो । लगानीमैत्री वातावरणका लागि ‘त्रासमुक्त अवस्था’ (एब्सेन्स अफ फियर) अनिवार्य हुने बताउँदै अध्यक्ष उपाध्यायले भने, ‘कन्फिडेन्स भनेको अचम्मको चिज हो । व्यवसायी र लगानीकर्ता उत्साहित भए भने केही नभएको ठाउँमा पनि शून्यबाट नयाँ बजार सिर्जना हुन्छ । तर, विश्वास र उत्साह गुम्दा सबैथोक भए पनि केही हुँदैन ।’ कानुनको व्यावहारिक कार्यान्वयन, नीतिगत स्थिरता, लगानीको प्रतिफल सुनिश्चितता र काम गर्ने सहजताले मात्र लगानीकर्तामा आशा जगाउने उनले स्पष्ट पारे । निजी क्षेत्रमा बैंकहरू खुलेपछि नै नेपालमा आर्थिक रूपान्तरण सम्भव भएको स्मरण गर्दै उनले अहिलेको मन्दीलाई पार लगाउन पनि निजी क्षेत्र र बैंकहरूबीचको हातेमालो आवश्यक रहेको उल्लेख गरे । हाल ३० देखि ४० लाख नेपाली युवाहरूले विदेशबाट पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको भन्दै उनले उनीहरूको पसिनाको सम्मान गर्दै देशभित्रै लगानी र उत्पादन बढाउने नीति लिनुपर्ने खाँचो औँल्याए । कार्यक्रममा अध्यक्ष उपाध्यायले बैंकिङ क्षेत्रमा अहिले देखिएको समस्या ‘टर्मिनल इलनेस’ (उठ्नै नसक्ने असाध्य रोग) नभई ‘ज्वरो आएजस्तो’ मात्र भएको धारणा राखे । नेपाली अर्थतन्त्रमा कुनै संरचनात्मक क्षति नभएको दाबी गर्दै उनले सही नीतिगत मार्ग समातेर अघि बढेमा बैंकिङ प्रणाली छिट्टै पुरानै लयमा फर्किने विश्वास व्यक्त गरे । यसैगरी, वित्तीय क्षेत्रको तत्काल सुधारका लागि सिबिफिनले विभिन्न नीतिगत गाँठो फुकाउनुपर्ने माग अघि सारेको छ । राष्ट्र बैंक ऐनमा सञ्चालकहरूको योग्यता, उमेर हद र सामान्य कमजोरीमा हुने कारबाहीको दायरा व्यावहारिक र स्पष्ट बनाउनुपर्ने उपाध्यायले बताए । सानोतिनो त्रुटिमै अयोग्यताको डन्डा लाग्ने डरले वित्तीय क्षेत्रको नेतृत्वले आत्मविश्वासका साथ निर्णय लिन नसकेको उनको भनाइ थियो । त्यस्तै, अर्थतन्त्रको मन्दीका कारण कर्जा जोखिम बढेको अवस्थामा ५ प्रतिशतभन्दा माथिको कर्जा नोक्सानी व्यवस्था (लोन लस प्रोभिजनिङ) मा लाग्ने करको अतिरिक्त भार हटाउन उनले माग गरे । यस्तो करको अन्तिम भार बैंकलाई मात्र नभएर जनताकै पैसामा पर्ने भएकाले नीतिनिर्माताहरू गम्भीर हुनुपर्ने उनले बताए । बैंकहरूमा थुप्रिँदै गएको गैर–बैंकिङ तथा खराब सम्पत्ति (डिस्ट्रेस्ड एसेट) व्यवस्थापन गर्न घोषित ‘एसेट म्यानेजमेन्ट कम्पनी’ को स्थापना प्रक्रिया पुस मसान्तभित्रै टुंगोमा पुर्‍याउन उनले सरकारसँग आग्रह गरे । हालैको बाढीपहिरोले बैंकका ऋणीहरूको व्यवसाय र सम्पत्तिमा गम्भीर क्षति पुर्‍याएको भन्दै अध्यक्ष उपाध्यायले उनीहरूको कर्जा भुक्तानीमा ठूलो समस्या आउने बताए । यद्यपि, निक्षेपकर्ताको रकम शतप्रतिशत सुरक्षित रहेको आश्वस्त पार्दै उनले प्रभावित ऋणीहरूलाई राहत दिन राष्ट्र बैंक र बैंकहरू मिलेर कर्जा पुनर्संरचनामार्फत तत्काल निकास दिनुपर्ने धारणा राखे । नेपालको अर्थतन्त्रमा अथाह सम्भावना रहेको भन्दै अध्यक्ष उपाध्यायले नियन्त्रणमुखी सोच त्यागेर सबै मिलेर विश्वासको वातावरण बनाउन आग्रह गरे ।

बाढीपीडितका लागि उबरको ५० लाख सहयोग, ‘राइड फर नेपाल’ अभियान सुरु

काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड फर नेपाल’ अभियान सुरु गरेको छ । सेप्टेम्बर २१ देखि अक्टोबर २०, २०२६ सम्म सञ्चालन हुने अभियानमार्फत उबरले आफ्नो यात्रासेवालाई राष्ट्रिय विपद् राहत प्रयाससँग जोडेको हो । अभियानमा यात्रु र चालक दुवैलाई सहभागी हुन आह्वान गरिएको छ । अभियानअन्तर्गत उबरले बाढी प्रभावित समुदायको सहयोगका लागि नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उक्त रकम आपतकालीन राहत सामग्री, अस्थायी आश्रय तथा पुनर्स्थापनाका काममा प्रयोग गरिने जनाइएको छ । त्यस्तै, अभियान अवधिभर उबरको प्लेटफर्ममार्फत सम्पन्न हुने हरेक उबर बाइक यात्राबापत १० रुपैयाँ र हरेक उबर कार यात्राबापत २० रुपैयाँ उबरले आफ्नै तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ । यसरी अभियान अवधिमा जति धेरै यात्रा सम्पन्न हुन्छन्, बाढी प्रभावित समुदायका लागि उबरको तर्फबाट हुने सहयोग पनि त्यति नै बढ्दै जानेछ । अभियानमा सहभागी हुँदा यात्रुले तिर्ने भाडा र चालकले प्राप्त गर्ने आम्दानीमा भने कुनै परिवर्तन नहुने उबरले जनाएको छ । यात्रुले साविककै भाडा तिर्ने र चालकले पनि नियमित रूपमा प्राप्त गर्ने रकम नै पाउनेछन् । प्रत्येक योग्य सम्पन्न यात्राबापतको रकम उबरले अतिरिक्त रूपमा राहत कोषमा उपलब्ध गराउनेछ । नेपालका लागि उबरका रणनीतिक साझेदारका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन केसीले विपद्का बेला यात्रु र चालकको सक्रिय सहभागिता महत्वपूर्ण हुने बताए । उनले ‘राइड फर नेपाल’ अभियान विपद्का बेला सबैलाई एकजुट भएर सहयोग गर्ने अवसर भएको बताउँदै हरेक यात्रालाई बाढी प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणसँग जोड्ने उद्देश्य रहेको उल्लेख गरे। उबरकी नेपाल तथा दक्षिण एसियासम्बन्धी एक वरिष्ठ अधिकारीले पनि नेपालको राहत तथा पुनर्स्थापनाका लागि सामूहिक सहयोग आवश्यक रहेको बताइन् । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आफ्नो प्लेटफर्म र स्रोतमार्फत बाढी प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्य रहेको उनको भनाइ छ । उबरले सबै यात्रु तथा चालकलाई अभियानमा सहभागी भएर बाढी प्रभावित समुदायको राहत तथा पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेको छ ।

विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रयास नगर्न सचेत गराएका छन् । बिहीबार बसेको संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गर्दै मन्त्री पुनले प्रयोगशालाको प्राथमिक उद्देश्य अनुसन्धान र नवप्रवर्तन हुनुपर्नेमा जोड दिएका हुन् । मन्त्री पुनले हाल नेपालमा विश्वविद्यालय खोल्ने प्रतिस्पर्धा चलिरहेको तर राष्ट्रलाई आवश्यक पर्ने गुणस्तरीय पठनपाठनको अभाव खड्किएको औँल्याए । उनले विधि विज्ञान प्रयोगशालालाई आम्दानीको स्रोत वा डिग्री बाँड्ने थलो बनाउन नहुने भन्दै यस्तो कदमले संस्थाको मूल मर्म समाप्त हुने चिन्ता व्यक्त गरे । उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लगायतका निकायहरूले समेत अनुसन्धानमा केन्द्रित हुनुपर्नेमा पठनपाठन र डिग्री प्रदान गर्ने काममा लाग्नु त्रुटिपूर्ण रहेको बताए । पठनपाठनका लागि मुलुकभर पर्याप्त विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू रहेकाले प्रयोगशालाहरूलाई अनुसन्धानमा नै सीमित राख्नुपर्ने उनको भनाइ छ । मन्त्री पुनले भने, ‘नेपालमा अहिले धेरै विश्वविद्यालय खोल्ने दौड छ, तर गुणस्तरमा कसैको ध्यान छैन । विधि विज्ञान प्रयोगशालाजस्तो अति आवश्यक संस्थालाई शैक्षिक प्रतिष्ठानको रूप दिँदा भोलि यसलाई पूर्ण विश्वविद्यालय बनाउने दबाब सिर्जना हुन सक्छ, जुन संस्थागत हितमा छैन ।’ मन्त्री पुनले विधि विज्ञानजस्तो संवेदनशील क्षेत्रलाई आर्थिक लाभसँग जोडेर कमजोर बनाउन नहुने बताउँदै प्रयोगशालाले पठनपाठनको बाटो खोल्न सक्ने भए पनि स्वयंले विश्वविद्यालयकै स्वरूपमा पठनपाठन सञ्चालन गर्न नहुनेमा जोड दिए ।

तीन महानगरमा कांग्रेसको नेतृत्व चयन

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत ६ महानगरपालिकामध्ये तीन महानगरमा अधिवेशन सम्पन्न भएको छ ।  काठमाडौं, पोखरा र भरतपुर महानगरमा नेतृत्व चयन भइसकेको छ भने बाँकी तीन महानगरको अधिवेशन प्रक्रिया बिहीबार हुँदैछ । कांग्रेस निर्वाचन समितिका अनुसार काठमाडौं महानगरपालिकाको सभापतिमा सुशन वैद्य निर्विरोध निर्वाचित भएका छन् ।  पोखरा महानगरपालिकाको सभापतिमा सुरेन्द्रमान बिजुक्छे ६८७ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी सन्तोष पौडेलले ३१७ मत प्राप्त गरेका थिए । यस्तै, भरतपुर महानगरपालिकाको सभापतिमा बुद्धिकान्त न्यौपाने ६६० मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी ज्योतिप्रसाद पौडेलले ४१३ मत प्राप्त गरेका छन् । बाँकी महानगरमध्ये ललितपुरको अधिवेशन बिहीबार सुरु भएको छ । निर्वाचन समिति प्रमुख राजु कटुवालका अनुसार ललितपुरको निर्वाचन प्रक्रिया बिहीबार नै सम्पन्न गर्ने तयारी छ ।  ललितपुर महानगर सभापतिका लागि राजु महर्जन र गणेशभक्त श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । विराटनगर महानगरपालिकामा भने सबै वडाको अधिवेशन सम्पन्न नभएका कारण निर्धारित समयमा महानगर अधिवेशन हुन नसकेको स्थानीय कांग्रेस नेताहरूले बताएका छन् ।  निर्वाचन समिति प्रमुख कटुवालका अनुसार विराटनगरमा पनि बिहीबार महानगर अधिवेशन गर्ने तयारी गरिएको छ । वीरगञ्ज महानगरपालिकाको अधिवेशन शुक्रबार गर्ने तयारी छ । यससँगै कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत ६ महानगरमध्ये तीनमा नेतृत्व चयन भइसकेको छ भने बाँकी तीन महानगरको अधिवेशन सम्पन्न भएपछि महानगर तहको संगठनात्मक नेतृत्व चयन प्रक्रिया टुंगिनेछ ।

सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुन प्रतितोला ३ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १६५ रुपैयाँले सस्तो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ मा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ४ हजार ८१५ रुपैयाँ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन् ।

मुक्तिनाथ विकास बैंक र अटोवेजबीच सम्झौता, बुल मेसिन खरिदमा ८० प्रतिशत कर्जा पाइने

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालका लागि ‘बुल मेसिन’ निर्माण उपकरणको आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिद गर्ने ग्राहकलाई सहज कर्जा उपलब्ध गराउने उद्देश्यले व्यावसायिक सम्झौता भएको छ । असोज ८ गते भएको समझदारीपत्र (एमओयू) मा बैंकका गण्डकी प्रदेश प्रमुख बाबुराम ढकाल र अटोवेज प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार ग्राहकले खरिद गर्ने बुल मेसिनलाई नै धितो राखेर बैंकले डिलरको बिल वा इनभ्वाइस मूल्यको ५० प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ । यस्तै, ग्राहकले बैंकले स्वीकार गर्ने थप स्थिर सम्पत्ति धितो राखेमा बैंकको कर्जा मूल्यांकन र प्रचलित कर्जा नीतिअनुसार डिलरको इनभ्वाइस मूल्यको ८० प्रतिशतसम्म कर्जा न्यूनतम ब्याजदरमा उपलब्ध हुने बैंकले जनाएको छ । बैंकका अनुसार यस सहकार्यले निर्माण व्यवसायमा संलग्न ग्राहकलाई आवश्यक निर्माण उपकरण खरिद गर्न वित्तीय पहुँच विस्तार गर्नेछ । उत्पादनशील क्षेत्रमा लगानी बढाउन र निर्माण क्षेत्रलाई आवश्यक वित्तीय सहयोग उपलब्ध गराउने उद्देश्यले यो सहकार्य गरिएको बैंकको भनाइ छ । मुक्तिनाथ विकास बैंकले आवास, अटो, कृषि तथा साना, मझौला र लघु उद्यम (एसएमई) लगायतका विभिन्न कर्जा सुविधा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराउँदै आएको जनाएको छ ।

आँखुखोला जलविद्युत कम्पनीले अपर आँखुखोलामा ५ करोड लगानी गर्ने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले धादिङमा निर्माण हुन लागेको ४४ मेगावाट क्षमताको अपर आँखुखोला जलविद्युत आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आयोजनामा लगानी गर्ने निर्णय गरेको हो । कम्पनीले यसबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ।  नेप्सेलाई पठाएको सूचनाअनुसार धादिङ आँखुखोला हाइड्रो प्रालिले प्रवर्द्धन गर्न लागेको अपर आँखुखोला जलविद्युत आयोजना मा ५ करोड रुपैयाँ इक्विटी लगानी गर्ने निर्णय गरिएको हो । कम्पनीका अनुसार उक्त लगानी आयोजनाको प्रवर्द्धन तथा विकास प्रक्रियालाई अगाडि बढाउने उद्देश्यले गरिएको हो । आँखुखोला जलविद्युत कम्पनीले नेप्सेलाई पठाएको सूचनामा सञ्चालक समितिको निर्णयअनुसार लगानी प्रक्रिया अगाडि बढाइने जनाएको छ ।