काठमाडौं । कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनले सामुदायिक कुकुरको संरक्षण, स्वास्थ्य सुरक्षा र पशुप्रति मानवीय व्यवहार प्रवर्द्धन गर्ने उद्देश्यले ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु गरेको छ । काठमाडौं महानगरपालिका–१०, नयाँ बानेश्वरस्थित छक्कुबक्कु टोलबाट अभियानको शुभारम्भ गरिएको हो ।
कुकुर तिहारमा एक दिन फूलमाला लगाएर पूजा गर्ने परम्परालाई वर्षभरि नै माया, दया र जिम्मेवार व्यवहारमा रूपान्तरण गर्ने उद्देश्यले अभियान सुरु गरिएको फाउण्डेशनले जनाएको छ ।
तीनमहिने परीक्षण परियोजनाका रूपमा सञ्चालन हुने अभियानमा सामुदायिक कुकुरलाई पौष्टिक खाना खुवाउने, आवश्यक खोप लगाउने, नियमित स्वास्थ्य परीक्षण गर्ने तथा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम समेटिएका छन् ।
फाउण्डेशनका अनुसार अभियानको प्रारम्भिक चरणमा सामुदायिक कुकुरको वास्तविक संख्या, स्वास्थ्य अवस्था, व्यवस्थापन लागत र स्थानीय सहकार्यको प्रभावकारिताबारे अध्ययन गरिनेछ । यसबाट प्राप्त तथ्याङ्कका आधारमा आगामी दिनमा अभियानलाई थप व्यवस्थित र वैज्ञानिक बनाउने योजना छ ।
अभियानको शुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले सामुदायिक कुकुरको सम्मान र संरक्षणले समाजलाई समेत जिम्मेवार बनाउने बताइन् । उनले अभियानमार्फत गोल्याण फाउण्डेशनले पशुप्रतिको उच्च मानवीय भावना प्रस्तुत गरेको उल्लेख गरिन् ।
गोल्याण ग्रुप तथा गोल्याण फाउण्डेशनका अध्यक्ष अक्षय गोल्याणले कुकुरप्रतिको माया र सम्मान एक दिनमा मात्र सीमित हुन नहुने बताए । वर्षमा एक दिन कुकुरको पूजा गर्ने सांस्कृतिक परम्परालाई दैनिक व्यवहारमा उतार्न अभियान सुरु गरिएको उनको भनाइ छ ।
त्यस्तै, फाउण्डेशनकी प्रमुख कार्यकारी अधिकृत ज्योति गैह्रेले सडक तथा सार्वजनिक क्षेत्रमा आश्रित कुकुरको आधारभूत आवश्यकता पूरा गर्न र उनीहरूप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउन अभियानले सहयोग गर्ने बताइन् ।
उनले कुकुरप्रति माया गर्न नसक्ने वा डराउने नागरिकलाई समेत दुर्व्यवहार नगर्न, ढुंगा नहान्न र कुकुरलाई खाना खुवाउने स्वयंसेवकलाई अवरोध नगर्न आग्रह गरिन् ।
अभियानअन्तर्गत स्वयंसेवकले आफ्नो कार्यक्षेत्रभित्रका सामुदायिक कुकुरलाई दैनिक एक छाक भात र मासुसहितको पोषिलो खाना खुवाउनेछन् । भेटेरिनरी टोली तथा विशेषज्ञबाट नियमित स्वास्थ्य परीक्षण गरी आवश्यकताअनुसार उपचार र खोपको व्यवस्था गरिनेछ ।
फाउण्डेशनले वडा नम्बर १० भित्र रहेका सबै सामुदायिक कुकुरलाई रेबिज, डिस्टेम्पर र क्यानाइन कोरोना भाइरसविरुद्धको खोप लगाउने जिम्मेवारी लिएको छ । साथै जुका, लुतो र एलर्जीजस्ता समस्याको पहिचान गरी उपचारसमेत गरिने जनाएको छ ।
खोप लगाइएका कुकुरलाई पहिचानका लागि रिफ्लेक्टिभ कलरसमेत लगाइनेछ । यसले रातिको समयमा कुकुरलाई टाढैबाट देख्न सकिने भएकाले सडक दुर्घटनाको जोखिम घटाउने अपेक्षा गरिएको छ । साथै कुकुरको संख्या पहिचान, खाना वितरण र खोप व्यवस्थापनमा समेत सहज हुनेछ ।
अभियान सञ्चालनका लागि फाउण्डेशनले काठमाडौं महानगरपालिका र वडा नम्बर १० कार्यालयसँग समन्वय गरेको छ । अभियानमा फाउण्डेशनका स्वयंसेवक तथा साझेदारहरू परिचालित हुनेछन् ।
गोल्याण ग्रुप र गोल्याण फाउण्डेशनले सामाजिक कल्याण तथा सामुदायिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् । यसअघि रसुवाको भोटेकोशीमा आएको बाढीपछि नुवाकोटको बिदुरस्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा अस्थायी आश्रय केन्द्र सञ्चालन गरी विस्थापित परिवारलाई सहयोग गरेको थियो । त्यस्तै, जेनजी आन्दोलनका शहीद परिवारका बालबालिकाको शिक्षा र ज्येष्ठ सदस्यको स्वास्थ्य उपचारमा समेत सहयोग गर्दै आएको फाउण्डेशनले जनाएको छ ।