काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आइतबार बिहान आगलागी भएको छ । महेन्द्र शालिक नजिकै रहेको बारमा बिहान करिब ८ः५५ बजे आगलागी भएको हो ।
आगलागीको सूचना पाएलगत्तै दमकल र सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार आगो नियन्त्रणमा लिन दुईवटा दमकल परिचालन गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले घटनामा हालसम्म मानवीय क्षति भएको जानकारी प्राप्त नभएको बताए ।
आगलागी हुँदा बारमा कोही पनि नरहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । बार सञ्चालकलाई घटनास्थलमा बोलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन । आगलागीबाट भएको भौतिक क्षतिको विवरणसमेत आउन बाँकी छ । घटनाको कारण र क्षतिको यकिन विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।