विकासन्युज

निरन्तर वर्षा भएसँगै महानगरका जोखिमयुक्त स्थान र विद्यालयहरूमा निगरानी

काठमाडौं । नियमित रूपमा पानी पर्न थालेपछि काठमाडौं महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरूमा निगरानी बढाएको छ ।  सम्भावित बाढी र डुबानबाट बालबालिकालाई जोगाउन, डुबानका कारण भौतिक सम्पत्तिमा हुन सक्ने क्षति कम गराउन निगरानी बढाइएको हो । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली थप विकसित हुँदै गएपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ ।  अहिले सामान्य पानी परिरहेको भए पनि यो भारी वर्षाका रूपमा विकसित हुन सक्ने देखिएकोले जोखिमयुक्त स्थान र विद्यालयमा निगरानी बढाइएको महानगरले जनाएको छ । जोखिमपूर्ण क्षेत्रमा रहेका विद्यालयको अवस्थासमेत मूल्यांकन गरी आवश्यक परे विद्यालय सञ्चालन तथा पठनपाठन स्थगन गर्ने अधिकार र जिम्मेवारी शिक्षा विभागलाई दिइएको छ । मौसमजन्य विपद्को पूर्वतयारी र प्रतिकार्य योजनाका लागि बुधबार महानगर विपद् व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकले सम्भावित बाढी, डुबान, पहिरो तथा जलजन्य जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य प्रणाली सक्रिय बनाउने, सुरक्षा निकाय, रेडक्रसलगायत निकायसँग समन्वय बढाउने निर्णय गरेको छ । बैठकले भारी वर्षाबाट महानगर क्षेत्रभित्र हुन सक्ने जोखिम न्यूनीकरणका लागि महानगरका सबै संयन्त्र, विभाग, निकाय र वडा कार्यालयलाई पूवतयारी तथा प्रतिकार्यका काम सक्रिय रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ । जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त मौसमसम्बन्धी सूचनाका आधारमा यस्तो निर्णय गरिएको हो । सम्भावित जोखिमलाई ध्यानमा राखी महानगरवासीलाई सुरक्षित र सचेत रहन आग्रह गर्दै महानगरका सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत नियमित सूचना र सचेतनामूलक सन्देश प्रवाह गरिने भएको छ  । साथै वडास्तरीय विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाई जोखिमयुक्त स्थान पहिचान, प्रतिकार्य तथा सूचना र समन्वयको व्यवस्था मिलाइनेछ । नदी किनारका क्षेत्रमा माइकिङ गर्ने, पानी निकास हुने स्थानमा निगरानी बढाउने तथा ढल, मंगल र क्याचपिट सफाइलाई तीव्रता दिने निर्णयमा उल्लेख छ । यसका लागि नगर प्रहरी बल, वातावरण व्यवस्थापन विभाग र विपद् व्यवस्थापन विभागलाई जिम्मेवारी तोकिएको छ । यो प्रणालीले वर्षाका समयमा पानीको निकास अवरुद्ध भई सडक तथा बस्तीमा डुबान हुन सक्ने जोखिम घटाउने अपेक्षा गरिएको छ । त्यस्तै, सम्भावित विपद्का समयमा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन एम्बुलेन्स तयारी अवस्थामा राख्ने, स्वास्थ्यकर्मीलाई बिदा वा काजमा नखटाउने तथा स्वास्थ्य स्वयंसेविकामार्फत समुदाय स्तरमा नागरिक सचेतना बढाउने व्यवस्था गरिएको छ । विपद् प्रतिकार्यका लागि ¥याफ्टिङ बोर्ड, त्रिपाल, सवारीसाधनलगायत आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ । २ जना नगर प्रहरी उद्धार टोलीलाई तैनाथ गरिएको छ । सम्भावित जोखिमका समयमा नेपाल सरकारका कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा अन्य संघसंस्थासँग समन्वय र सहकार्य गर्ने व्यवस्था मिलाइएको छ । यसैबीच, काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रालाई समेत ध्यानमा राखी सम्बन्धित क्षेत्रमा सरसफाइ र पानी निकासको व्यवस्थाको विशेष निगरानी गरिने भएको छ । वर्षाका कारण जात्राका कार्यक्रम तथा सहभागीलाई असहज अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले वातावरण व्यवस्थापन र विपद् व्यवस्थापनसम्बन्धी संयन्त्रलाई सक्रिय बनाइएको छ । जोखिमपूर्ण स्थानबाट नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा राख्नुपर्ने अवस्था आए विद्यालय तथा मानव सेवा आश्रमका स्थानलाई ‘होल्डिङ सेन्टर’का रूपमा प्रयोग गर्न आवश्यक तयारी गरिएको छ । महानगरपालिकाले विपदमा परेका महानगरवासीलाई राहत उपलब्ध गराउन छुट्टै संयन्त्रसमेत गठन गरेको छ । विपद् व्यवस्थापन कोषबाट न्यायोचित रूपमा राहत सिफारिस गर्न विपद् व्यवस्थापन विषयगत समितिका संयोजकको अध्यक्षतामा सम्बन्धित वडाका वडाध्यक्ष वा तोकिएका वडा सदस्य, नगर प्रहरीका अधिकृतस्तरका कर्मचारी, सहरी योजना आयोगका विपद् विज्ञ तथा विपद् व्यवस्थापन विभागका प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ । सो संयन्त्रले विपद्को अवस्था र क्षतिको प्रकृति हेरी राहत उपलब्ध गराउन नगरस्तरीय विपद् व्यवस्थापन समितिसमक्ष सिफारिस गर्नेछ । यस व्यवस्थाले विपदमा परेका नागरिकलाई तत्काल र आवश्यकताका आधारमा राहत सिफारिस गर्ने संस्थागत आधार तयार गरेको छ । भारी वर्षा, डुबान र नदी तथा खोलामा पानीको सतह बढ्ने सम्भावनाका बिच महानगरपालिकाले जोखिमयुक्त क्षेत्रको पहिचान, पूर्व सूचना, उद्धार सामग्रीको तयारी, जनशक्ति परिचालन, सुरक्षित स्थानको व्यवस्थापन र राहत सिफारिससम्मका कामलाई एकीकृत रूपमा अघि बढाएको हो । मौसममा हुने परिवर्तनसँगै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन र जल तथा मौसम विज्ञान विभाग, जिल्ला प्रशासन कार्यालय र महानगरबाट जारी हुने आधिकारिक सूचना तथा पूर्व सूचनामा ध्यान दिन आग्रह गरिएको छ । 

सिनर्जी पावरको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड (एसपीडीएल) को १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेका अनुसार कम्पनीको १२ लाख ९ हजार ८६२.५० कित्ता बोनस सेयर बिहीबार सूचीकृत गरिएको हो । अब सूचीकृत भएको बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

स्वास्थ्य बीमा बोर्डबाट अस्पतालहरूलाई ९७ करोडभन्दा बढी दाबी रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ को असार महिनाको सेवा दाबीबापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई ९७ करोड ७३ लाख २९ हजार ७ सय ७८ रुपैयाँ भुक्तानी गरेको छ । बोर्डको असोज ६ गतेको निर्णयअनुसार स्वीकृत बजेटबाट उक्त रकम असोज ७ गते सम्बन्धित अस्पताल तथा स्वास्थ्य संस्थाहरूको बैंक खातामा पठाइएको हो । बोर्डका अनुसार देशभरका ३६८ सेवा प्रदायक स्वास्थ्य संस्थाले असार महिनाको दाबीबापतको रकम प्राप्त गरेका छन् । बोर्डका अनुसार आर्थिक वर्ष २०८३/८४ मा अघिल्लो आर्थिक वर्षको भुक्तानी दिन बाँकी दाबी रकम १४ अर्ब ५१ करोड ५ लाख ९२ हजार १ सय ३४ रुपैयाँ अनुमान गरिएको थियो । दाबी रुजु गर्दा भने ११ अर्ब ५३ करोड १५ लाख ९२ हजार ६० रुपैयाँ ३९ पैसा मात्र भुक्तानीयोग्य रकम स्वीकृत भएको छ । हालसम्म कोष तथा लेखा नियन्त्रक कार्यालयबाट ११ अर्ब ९२ करोड २ लाख ७९ हजार ६ सय रुपैयाँ निकासा भएको बोर्डले जनाएको छ । यसमध्ये यसअघि ९ अर्ब २३ करोड ८५ लाख ४२ हजार ४ सय ३७ रुपैयाँ २२ पैसा भुक्तानी भइसकेको थियो । आर्थिक वर्ष २०८२/८३ को माघदेखि असारसम्मको ६ महिनामा ६७ लाख ९६ हजार ७ सय ४२ वटा दाबी परेको थियो । ती दाबीमा रहेको ८६ करोड ४६ लाख ८३ हजार २ सय ६१ रुपैयाँ ५९ पैसा सहभुक्तानी रकमबाहेक १० अर्ब ७० करोड ६४ लाख २४ हजार ४ सय ७४ रुपैयाँ ७७ पैसा भुक्तानीयोग्य रहेको बोर्डले जनाएको छ । रुजुका क्रममा ४५ करोड ८४ लाख ४ हजार १ सय ८३ रुपैयाँ ३८ पैसा अस्वीकृत गरी कट्टा गरिएको थियो । असार महिनामा सूचना प्रविधि शाखाबाट पेश भएको स्वीकृत दाबी रकम ९९ करोड ९८ लाख ५४ हजार २ सय ६३ रुपैयाँ ६७ पैसा थियो । यसमध्ये पेस्की बाँकी रहेका ११ संस्थाको ३० हजार ३ सय ९१ रुपैयाँ २० पैसा, खाता नम्बर नभएका पाँच संस्थाको २ लाख ४९ हजार ९१ रुपैयाँ ११ पैसा तथा बोर्डको निर्णयअनुसार रोक्का गरिएका दुई संस्थाको २२ लाख ९९ हजार ४ सय ९७ रुपैयाँ ७ पैसा कट्टा तथा रोक्का गरिएको थियो । यसपछि असार महिनाको कुल स्वीकृत रकम ९९ करोड ७२ लाख ७५ हजार २ सय ८४ रुपैयाँ २९ पैसा कायम भएको थियो । बोर्डको २०८१ चैत १९ गतेको निर्णयअनुसार स्वीकृत दाबी भुक्तानी रकमको २ प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गर्नुपर्ने भएकाले असार महिनाको रकमबाट १ करोड ९९ लाख ४५ हजार ५ सय ५ रुपैयाँ ६८ पैसा कट्टा गरिएको थियो । २ प्रतिशत रकम कट्टा गरेपछि बाँकी ९७ करोड ७३ लाख २९ हजार ७ सय ७८ रुपैयाँ ६० पैसा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा पठाइएको बोर्डका उपसचिव (लेखा) पुष्पप्रसाद गुरागाईंले जानकारी दिएका छन् ।

राष्ट्रपतिबाट पार्टी राजनीतिमा फर्किँदै भण्डारी, एमालेले वरिष्ठ नेता बनाउने

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको वरिष्ठ नेता बनाउने प्रस्ताव अघि बढाइएको छ ।  एमालेको केन्द्रीय सचिवालयले भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गर्दै उक्त प्रस्ताव केन्द्रीय कमिटीमा अनुमोदनका लागि पेस गर्ने निर्णय गरेको हो । सचिवालयको निर्णयसँगै भण्डारीको सक्रिय पार्टी राजनीतिमा पुनरागमनको औपचारिक प्रक्रिया अघि बढेको छ । अब केन्द्रीय कमिटीले सचिवालयको प्रस्ताव अनुमोदन गरेसँगै उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिने बाटो खुल्नेछ । एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पार्टीको सांगठनिक संरचना, नेतृत्व व्यवस्थापन र आगामी राजनीतिक कार्यदिशाबारे छलफल भइरहेका बेला भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव अघि सारिएको हो । भण्डारी एमालेकी पूर्वउपाध्यक्ष हुन् । उनी २०७२ सालमा पहिलोपटक र २०७४ सालमा दोस्रोपटक राष्ट्रपति निर्वाचित भएकी थिइन् ।  सचिवालयको प्रस्ताव केन्द्रीय कमिटीबाट अनुमोदन भएमा भण्डारी एमालेको औपचारिक नेतृत्व संरचनामा वरिष्ठ नेताका रूपमा पुनः प्रवेश गर्नेछिन् ।

भारतले खानेतेल सस्तो बनाउँदा नेपाली उद्योगीलाई टाउको दुखाइ

काठमाडौं । भारत सरकारले खानेतेलको आयातमा लाग्ने भन्सार शुल्क घटाएपछि त्यहाँका उपभोक्ताले सस्तो खानेतेल पाउने सम्भावना बढेको छ । तर, भारतको यो निर्णयले नेपालका लागि भने अवसरसँगै नयाँ चुनौती थपिदिएको छ ।  भारतले पाम, सोयाबिन र सूर्यमुखीलगायत कच्चा तथा प्रशोधित खानेतेलमा भन्सार शुल्क घटाएपछि त्यहाँ आयात लागत कम हुनेछ । जसको प्रभावस्वरूप भारतीय बजारमा खानेतेलको मूल्य घटेमा नेपालमा भारतबाट आउने तेलसँग नेपाली उत्पादनले थप कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था बन्न सक्छ । भारतले कच्चा सोयाबिन तेल र कच्चा पाम तेलको आधारभूत भन्सार शुल्क आधा घटाएर ५ प्रतिशतमा झारेको छ । प्रशोधित सोयाबिन र पाम तेलमा लाग्ने शुल्क ३२.५ प्रतिशतबाट २७.५ प्रतिशत कायम गरिएको छ ।  त्यस्तै, कच्चा सूर्यमुखी तेलको आयातमा लाग्दै आएको १० प्रतिशत शुल्क पूर्ण रूपमा हटाइएको छ भने प्रशोधित सूर्यमुखी तेलको शुल्क ३२.५ प्रतिशतबाट घटाएर २२.५ प्रतिशतमा झारिएको छ ।  सेप्टेम्बर २४ देखि लागू भएको यो कटौतीले भारतमा खानेतेलको आयात लागत घटाउने अपेक्षा गरिएको छ । भारतको बजारमा खानेतेल सस्तो हुँदा त्यसको असर नेपालमा पनि पर्ने देखिन्छ । नेपाल र भारतबीचको खुला सीमा तथा नजिकको व्यापारिक सम्बन्धका कारण भारतीय बजारमा मूल्य घट्दा नेपाली बजारमा पनि मूल्य घटाउने दबाब बढ्न सक्छ ।  उपभोक्ताका लागि यो सकारात्मक पक्ष भए पनि नेपालका खानेतेल उद्योगका लागि भने चुनौतीपूर्ण बन्न सक्छ ।  भारतीय उत्पादन तुलनात्मक रूपमा सस्तो हुँदा नेपाली उद्योगले आफ्नो उत्पादन लागत, बजार मूल्य र प्रतिस्पर्धात्मक क्षमता जोगाउन थप दबाब सामना गर्नुपर्ने हुन्छ । नेपालको खानेतेल उद्योगका लागि अर्को चुनौती भारतीय भन्सार नीतिमा आएको परिवर्तनले सिर्जना गर्ने मूल्य अन्तर हो ।  भारतले कच्चा तेलको आयातमै शुल्क घटाएपछि त्यहाँका उद्योगले तुलनात्मक रूपमा कम लागतमा कच्चा पदार्थ ल्याएर प्रशोधन गर्न सक्छन् ।  यस्तो अवस्थामा नेपालमा रहेका उद्योगले भारतीय उत्पादनसँग मूल्यमा प्रतिस्पर्धा गर्न कठिनाइ भोग्न सक्छन् । नेपालका उद्योगले उत्पादन निरन्तरता दिन लागत घटाउनुपर्ने दबाब बढ्ने र बजार हिस्सा जोगाउन मूल्यमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउन सक्छ । यसअघि सन् २०२५ को सुरुवातमै भारतले कच्चा खानेतेलमा लाग्ने भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो ।  अहिले फेरि कच्चा तथा प्रशोधित तेलमा शुल्क कटौती गरिएको छ । भारत विश्वकै ठूला खानेतेल आयातकर्तामध्ये एक भएकाले उसको भन्सार नीतिले अन्तर्राष्ट्रिय बजारदेखि क्षेत्रीय बजारसम्म प्रभाव पार्न सक्छ ।  अन्तर्राष्ट्रिय तेलको मूल्य, ढुवानी लागत र विनिमय दरसँगै भारतको यस्तो नीतिगत परिवर्तनले नेपालमा पनि खानेतेलको मूल्य र उद्योगको प्रतिस्पर्धात्मक वातावरण प्रभावित पार्न सक्ने देखिन्छ ।

सेयर बजारमा ५ अर्ब ४४ करोडको कारोबार

काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.७७ अंकले बढेर २६२९ बिन्दुमा पुगेको छ ।   नेप्सेका अनुसार १७६ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बिहीबार ३५६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै शिवम् सिमेन्टको भएको छ । शिवम् सिमेन्टको ३५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै हिमालयन डिस्टिलरीको ३५ करोड, सानिमा मिडल तमोरको २४ करोड, रिलाइन्स स्पिीनिङको २२ करोड र सोनापुर मिनरल्सको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज नेपाल ल्युबको सेयर मूल्य १२.४७ प्रतिशतले बढेको छ । 

हिमालय एयरलाइन्सले हाङझाउ उडान सुरु गर्दै, सातामा दुई उडान

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं र चीनको हाङझाउबीच ऐतिहासिक सिधा उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ ।  आगामी बुधबार (असोज १४ गते) देखि हिमालय एयरलाइन्सले नयाँ रुटमा उडान गर्न लागेको हो। उक्त उडान कम्पनीका लागि कोसेढुङ्गा रहेको हिमालय एयरलाइन्सले जनाएको छ । हिमालय एअरलाइन्स्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाङझाउ स्थित हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थल (एचजीएच)बीच साप्ताहिक दुई सिधा उडान सेवा आरम्भ गर्न लागेको हो । यो नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको दृष्टिकोणबाट एक महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि रहने कम्पनीको दावी छ । नेपालको पर्यटन तथा स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय यात्रालाई सहज तुल्याउन समर्पित हिमालय एअरलाइन्स्ले निर्बाध र सुविधाजनक यात्रा विकल्पहरू उपलब्ध गराउन आफ्नो सञ्जाल बिस्तारलाई जारी राखेको छ ।  काठमाडौं–हाङझाउ–काठमाडौं उडानले नेपाललाई विश्वसँग जोड्ने, सांस्कृतिक आदानप्रदानलाई सहज बनाउने र दुवै गन्तव्यको पर्यटन वृद्धिमा सहयोग गर्ने हाम्रो प्रतिबद्धतालाई जोड दिनेछ । प्रारम्भिक योजनाअनुसार ऐतिहासिक काठमाडौं–हाङझाउ उडान (एच ९ २२५) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार आगामी बुधबार साँझ सवा ५ बजे उडान गरी बिहीबार (असोज १५) को बिहान चीनको स्थानीय समयअनुसार १ बजेर ५ मिनेट जाँदा हाङझाउ स्थित हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।  त्यसैगरी, हाङझाउ–काठमाडौं उडानले हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलबाट असोज १५ गते (अक्टोबर १) मा स्थानीय समयअनुसार ०२ः०५ मा प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समयअनुसार ०६ः२० मा काठमाडौं अवतरण गर्नेछ ।  हिमालय एअरलाइन्स्का उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले नयाँ सेवाले यात्रुहरूको पहुँचमा वृद्धि गर्दै नेपाल र चीनबीचको लामो समयदेखिको सम्बन्धलाई अझै मजबुत बनाउने विश्वास व्यक्त गरे । हिमालय एयरलाइन्स् नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो ।  हिमालय एयरलाइन्ससँग हाल ४ वटा विमानहरू छन्, जसमध्ये तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् ।  हिमालय एयरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एसियाका प्रमुख राष्ट्रहरूसंयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।  एयरलाइन्सले साउथ एशियन ट्राभल अवार्ड्स २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एसियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्सका रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो ।  विमान मर्मत र इन्जिनियरिङ् सेवाहरूमा पुर्‍याएको उच्च व्यवस्थापन र क्षमताप्रति कम्पनीले उक्त प्रमाणीकरण प्राप्त गरेको हो । 

घिरौँलामा भेटियो विषादी, विसर्जन गर्न निर्देशन

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएको घिरौँला मानव उपभोगका लागि अयोग्य भेटिएको छ ।  विषादी अवशेष द्रुत विश्लेषण गर्दा घिरौँलामा तोकिएको सीमाभन्दा अत्यधिक विषादी भेटिएपछि नमुना तत्काल विसर्जन गर्न निर्देशन दिइएको हो । केन्द्रीय कृषि प्रयोगशाला, हरिहरभवनअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, कालीमाटीले २०८३ असोज ८ गते बजारमा ल्याइएका तरकारी तथा फलफूलका १० वटा नमुना परीक्षण गरेको थियो । परीक्षणका क्रममा स्टल नं १ का व्यापारी कृष्णबहादुर धितालले बेच्न राखेको धादिङको गजुरी गाउँपालिकामा उत्पादित घिरौँलामा अर्गानोफोस्फेट समूहको कीटनाशक विषादीको रोकावट दर ५० दशमलव ०७४४ प्रतिशत भेटिएको प्रयोगशालाले जनाएको छ ।  प्रयोगशालाको मापदण्डअनुसार विषादीको रोकावट दर ४५ प्रतिशतभन्दा बढी भएमा त्यस्तो तरकारी तथा फलफूल मानव उपभोगका लागि अयोग्य मानिन्छ । सोही आधारमा प्रयोगशालाले घिरौँलाको नमुना तत्काल विसर्जन गर्न केन्द्रीय कृषि प्रयोगशाला र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई पत्राचार गरेको छ । यसपटक परीक्षण गरिएका अन्य ९ वटा नमुनामा भने विषादीको मात्रा उपभोगयोग्य सीमाभित्र भेटिएको छ। गोलभेंडा, काँक्रो, बन्दागोभी, कन्ये च्याउ, काउली, बोडी, भान्टा र घिउसिमीमा ३५ प्रतिशतभन्दा कम रोकावट देखिएको प्रयोगशालाले जनाएको छ। विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर पुनः परीक्षण वा पर्खनुपर्ने र ४५ प्रतिशतभन्दा बढी भए तत्काल विसर्जन गर्नुपर्ने मापदण्ड लागू गर्दै आएको छ । यो द्रुत परीक्षण कार्वामेट र अर्गानोफोस्फेट समूहका कीटनाशक विषादीका लागि मात्र लागू हुने प्रयोगशालाले जनाएको छ ।