विकासन्युज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

काठमाडौं । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको करिब ८ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर दलित बस्तीका स्थानीय अझै खुला स्थानमा शौच गर्न बाध्य छन् । सरकारको खुला दिसामुक्त अभियान र सरसफाइ क्षेत्रमा गरिएको लगानीका बाबजुद धनुषाको सहिदनगर नगरपालिका-५ स्थित पचहर्वा मुसहर बस्तीका अधिकांश परिवार खुला स्थानमा शौच गर्न बाध्य छन् । सो बस्तीका उर्मिला सदाका लागि खुला स्थानमा शौच गर्नु दैनिक जीवनको बाध्यता बनेको छ । घरमा शौचालय नहुँदा उनी राति वा बिहान सबेरै अँध्यारोमा शौच गर्न खेततिर जान्छिन् । ‘खुला ठाउँमा शौच गर्दा लाज लाग्छ, कतिपय खेतधनीले गालीसमेत गर्छन्’, उनी भन्छिन्, ‘यो समस्या महिलाका लागि झन् जटिल बनेको छ ।’  एक सयभन्दा बढी घरधुरी रहेको उक्त बस्तीमा तीन घरमा मात्र शौचालय रहेको छ । बाँकी परिवारले वर्षौंदेखि खेतबारी, बाँसघारी र खोल्साका किनारामा दिसापिसाब गर्दै आएका छन् । उक्त वडा २०७५ सालमै खुला दिसामुक्त घोषणा गरिएको थियो । तर दलित समुदायको यो बस्ती भने सरसफाइ सुविधाको पहुँचबाट टाढै रहेको छ । स्थानीय शोभेन्द्र सदाका अनुसार बस्तीमा करिब ३७० जनाको बसोबास छ । वृद्धवृद्धा, महिला, पुरुष र बालबालिकासमेत खुला स्थानमै शौच गर्न बाध्य छन् । कतिपय परिवारसँग शौचालय निर्माणका लागि आवश्यक जग्गा छैन भने कतिपयले आर्थिक अभावका कारण निर्माण गर्न नसकेको स्थानीय परमदेवी सदाको भनाइ छ । केहीले भने सरकारी सहयोगको आशामा शौचालय निर्माण नगरेको उनी बताउँछिन् । परमदेवीका अनुसार महिला राति पुरुष सुतेपछि वा बिहान उज्यालो हुनुअघि खेततिर जान बाध्य छन् । ‘खुला ठाउँमा बस्दा सर्प तथा विषालु किराको डर हुन्छ, कसैले देख्ला कि भन्ने चिन्ता पनि उत्तिकै हुन्छ’, उनी भन्छिन्, ‘वर्षायाममा खेत डुबान हुँदा समस्या अझ गम्भीर बन्ने गर्छ ।’ उक्त बस्तीका अधिकांश परिवार सुकुमवासी छन् । उनीहरूसँग न पर्याप्त जग्गा छ, न शौचालय निर्माण गर्न आवश्यक आर्थिक स्रोत नै । बसोबास गरिरहेको सानो घरबाहेक अन्य जमिन नभएकाले ती बस्तीका स्थानीय अरुको खेतबारीमा निर्भर हुनुपरेको छ । यसले सरसफाइ मात्र होइन, मानव मर्यादा र सुरक्षासँग सम्बन्धित प्रश्न उठाएको स्थानीय रामदयाल सदाको भनाइ छ । रामदयालका अनुसार खुला दिसापिसाबका कारण बस्ती वरपरको वातावरण फोहर बन्दै गएको छ । ‘शौचालय अभावका कारण झाडापखाला, आउँ, टाइफाइडलगायत रोगको जोखिम बढेको छ’, उनी भन्छन्, ‘सरसफाइको कमीले बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने गरेका छन् ।’ हरवाचरवा अधिकार मञ्चका केन्द्रीय सचिव रामदयाल सदाका अनुसार सहिदनगर नगरपालिकामा मात्रै एक हजारभन्दा बढी परिवार शौचालयविहीन छन् । धनुषाको सबैला नगरपालिका, विदेह नगरपालिका, मिथिला विहारी नगरपालिका तथा क्षीरेश्वरनाथ नगरपालिकालगायत स्थानीय तहका विपन्न बस्तीमा अझै शौचालयको समस्या रहेको उनको भनाइ छ । नेपाललाई २०७५ सालमा खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको थियो । त्यसबेला दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बनेको दाबी गरिएको थियो । तर पचहर्वा मुसहर बस्तीको यथार्थले घोषणाको प्रभावकारितामाथि प्रश्न उठाएको छ । सरसफाइ अभियानका नाममा अर्बौं रुपैयाँ खर्च भए पनि विपन्न, दलित र सुकुमवासी समुदायसम्म आधारभूत सुविधा पुग्न नसक्नु चुनौतीका रूपमा देखिएको सहिदनगर नगरपालिकाका स्थानीय युवा कमलेश यादव बताउँछन् । विपन्न दलित समुदायको आधारभूत सरसफाइको अधिकार सुनिश्चित नभएसम्म खुला दिसामुक्त राष्ट्रको उपलब्धि पूर्ण रूपमा सार्थक हुन नसक्ने उनको भनाइ छ । रासस

आकाशे पानी कुर्नु परेन, सिक्टाको पानीले २२ हजार हेक्टरमा किसानलाई राहत

काठमाडौं । पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँ तीव्र बनेको छ । आयोजनाले नहर प्रणालीमार्फत पानी उपलब्ध गराएपछि किसानले आकासे पानीको प्रतीक्षा नगरी खेतमा धान रोप्न थालेका छन् । राप्तीसोनारी गाउँपालिका-३ नवलपुरकी मेलिना चौधरीले नहरबाट आएको पानीको सदुपयोग गर्दै सोमबारदेखि धान रोपाइँ सुरु गरेका छन् । उनले ४ कट्ठा खेतमा धान रोपिसकेकी छिन् भने भने बाँकी ९ कट्ठा खेतमा मंगलबार  रोपाइँ सक्ने तयारी रहेको बताए ।  जलजला महिला समूहका १३ रुपार्नेको सहयोगमा खेत रोपेकी चौधरीले प्रतिव्यक्ति प्रतिघण्टा १२० रुपैयाँका दरले ज्याला दिएर रोपाइँ गरेकी हुन् । उनले भनिन्, ‘सिक्टाले नहरमा पानी छोडेपछि आकाशबाट पानी नपरे पनि ढुक्क भएर रोपाइँ गर्न पाएका छौँ । नहरको पानीले खेत रोप्न धेरै सजिलो भएको छ ।’ मेलिनाको खेतमा रोपाइँ गर्न आएकी सोही गाउँकी मनसरा डाँगीले पनि सिक्टाको पानीका कारण खेतिपाती गर्न सहज बनेको बताइन् । उनले आफ्नो १४ कट्ठा खेतमा धान रोप्ने तयारी रहेको जानकारी दिँदै भनिन्, ‘पहिले पानीको चिन्ताले रोपाइँ कहिले गर्ने भन्ने अन्योल हुन्थ्यो । अहिले नहरमा पानी आएपछि समयमा खेती गर्न सकिने भएको छ । आज आफ्नै खेतमा पनि रोपाइँ सुरु गर्छु ।’ सिक्टा सिँचाइ आयोजनाले आइतबारदेखि राप्तीसोनारी गाउँपालिका-३ नवलपुर क्षेत्रमा पानी प्रवाह गरेपछि स्थानीय किसान रोपाइँमा जुटेका छन् । नवलपुरमा यस वर्षको पहिलो रोपाइँ स्थानीय किसान चन्द्रबहादुर थापाले गरेका थिए । उनले असारको पहिलो सातामै ५ कट्ठा १४ धुर खेतमा धान रोपाइँ सम्पन्न गरिसकेको बताए । थापाले भने, ‘सिक्टाको पानी उपलब्ध भएपछि खेत बाँझो रहने चिन्ता हटेको छ । अघिल्ला वर्षभन्दा अगाडि नै रोपाइँ गर्न पाएका छौँ । समयमै खेती गर्न सकिने भएकाले यस वर्ष उत्पादन पनि राम्रो हुने अपेक्षा गरेका छौँ ।’ किसानका अनुसार सिक्टा सिँचाइ आयोजनाको पानीले वर्षामाथिको निर्भरता घटाउँदै खेतिपातीलाई सहज बनाएको छ । नहर प्रणालीबाट नियमित पानी उपलब्ध हुन थालेपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँले गति लिएको छ । सिक्टा सिँचाइ आयोजनाले हालसम्म बाँके जिल्लाका करिब २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराएको जनाएको छ । आयोजनाअन्तर्गत निर्माणाधीन डुडुवा शाखा नहर सम्पन्न भएपछि सिँचाइ क्षेत्र विस्तार भई ३० हजारदेखि ३२ हजार हेक्टरसम्म पुग्ने अपेक्षा गरिएको छ । सिक्टा सिँचाइ आयोजनाका इन्जिनियर विकास विष्टले आयोजनाको मुख्य बाँध (हेडबर्क्स) बाट पूर्वी तथा पश्चिम मूल नहरमार्फत पानी सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार ३१७ मिटर लम्बाइको बाँधबाट पूर्वी र पश्चिम मूल नहरमा पानी वितरण गरिँदै आएको छ । पूर्वीतर्फ फत्तेपुरका विभिन्न शाखा तथा राजकुलोमा पानी प्रवाह भइरहेको छ भने पश्चिमतर्फ सिद्धनिया, अक्कलघरवा, गोहवा, पिडारी, पर्सेनिपुर र गुरुवागाउँ लगायत शाखामा सिँचाइका लागि पानी उपलब्ध गराइएको छ । इन्जिनियर विष्टले भने, ‘सिक्टा सिँचाइ आयोजनाले पानी उपलब्ध गराउनुपर्ने करिब ४३ हजार हेक्टर क्षेत्रमध्ये हाल २२ हजार हेक्टरमा किसानलाई सिँचाइका लागि पानी दिइरहेका छौँ । डुडुवा शाखाले सिँचाइ गर्नुपर्ने १६ हजार हेक्टर क्षेत्रका लागि नहर निर्माणको काम भइरहेको छ ।’ उनका अनुसार डुडुवा नहर प्रणालीको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण कार्यको पहिलो वर्ष पूरा भइसकेको र बाँकी दुई वर्षभित्र डुडुवा शाखा, खजुरा शाखा तथा मानपुर शाखासहितका संरचना निर्माण सम्पन्न गरिनेछ । इन्जिनियर विष्टले भने, ‘डुडुवा शाखा नहरको निर्माण सम्पन्न भएपछि १६ हजार हेक्टर क्षेत्रले सिँचाइ सुविधा पाउनेछ । यही गतिमा काम अघि बढे तीन वर्षभित्र बाँके जिल्लामा आयोजनाअन्तर्गत सिँचाइ गर्नुपर्ने ४३ हजार हेक्टर क्षेत्रफलमा पानी पु¥याउन सफल हुनेछौँ ।’ हाल आयोजनाले ४३ हजार ६७५ हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा विस्तार गर्ने लक्ष्य लिएको जानकारी दिँदै उनले डुडुवा शाखा सम्पन्न भएपछि कूल सिञ्चित क्षेत्र ३० देखि ३२ हजार हेक्टर पुग्ने बताए । इन्जिनियर विष्टका अनुसार प्रत्येक वर्ष असारको पहिलो वा दोस्रो सातादेखि किसानलाई ब्याड राख्न तथा रोपाइँका लागि आवश्यक पानी उपलब्ध गराइँदै आएको छ । असारको अन्तिमसम्म सिक्टा सिँचाइ आयोजनाले पानी उपलब्ध गराउन सक्ने अधिकांश क्षेत्रमा किसानको रोपाइँ कार्य सम्पन्न हुने उनले विश्वास गरे ।  यस वर्ष बाँकेमा पर्याप्त वर्षा नभए पनि सिक्टा सिँचाइ आयोजनाले शिक्षादहरबाट पानी सञ्चालन गरेपछि जिल्लाका विभिन्न क्षेत्रमा धान रोपाइँ सुरु भएको छ । आयोजनाका अनुसार कोहलपुर नगरपालिका वडा नं ६, १० र १५, जानकी गाउँपालिका वडा नं ३, ४ र ५, वैजनाथ गाउँपालिका वडा नं ५ र ७, डुडुवा गाउँपालिका वडा नं २ र ५ तथा खजुरा गाउँपालिका वडा नं ४, ५, ६, ७ र ८ मा रोपाइँ सुरु भइसकेको छ । त्यसैगरी, राप्तीसोनारी गाउँपालिका वडा नं २, ३, ४, ५, ६ र ७ तथा नरैनापुर गाउँपालिका वडा नम्बर ६ मा किसानले सिक्टा नहरको पानी प्रयोग गरी धान रोप्न थालेका छन् । सिद्धनिया, अक्कलघरवा, गोहवा, पिडारी, पर्सेनिपुर र गुरुवागाउँ शाखा नहरमार्फत पानी पुगेपछि ती क्षेत्रका किसान रोपाइँमा व्यस्त भएका छन् ।

डाक्टरलाई बिरामीको प्रश्न- क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

काठमाडौं । ‘डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?’, ‘क्यान्सर निको भएपछि फेरि दोहोरिने सम्भावना कति हुन्छ ?’, ‘उपचारपछि पहिलाजस्तै सामान्य जीवन बिताउन सकिन्छ ?’ यी जिज्ञासा क्यान्सरलाई पराजित गरी सामान्य जीवन बिताइरहेका तथा उपचाररत बिरामीहरूले भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा. उज्ज्वल चालिसेसमक्ष राखेका हुन् । सूर्यविनायक नगरपालिकाले नेपाल क्यान्सर सर्भाइभर सोसाइटीको समन्वयमा आयोजना गरेको क्यान्सरसम्बन्धी एकदिने सचेतना एवं उत्प्रेरणा कार्यक्रममा क्यान्सर सर्भाइभर, उपचाररत बिरामी तथा उनीहरूका परिवारका सदस्यहरूले आफ्ना अनुभव र जिज्ञासा विशेषज्ञसँग साटासाट गरेका थिए । कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका निर्देशकसमेत रहेका डा. चालिसेले क्यान्सर समयमै पहिचान गरी उपचार गरे निको हुने बताए । उनले रोग चौथो चरणमा पुगेपछि उपचार जटिल हुने भए पनि नियमित उपचार र चिकित्सकीय निगरानीमा रहे धेरै बिरामीले सामान्य जीवनमा फर्किन सक्ने बताए । उनले क्यान्सर निको भएपछि चिकित्सकको सल्लाहअनुसार गर्भधारण गर्न र स्वस्थ बच्चा जन्माउन सकिने स्पष्ट पार्दै रोग लागेपछि आत्तिनुभन्दा नियमित उपचार र फलोअपमा ध्यान दिनुपर्नेमा जोड दिए । गाउँगाउँसम्म क्यान्सरसम्बन्धी सचेतना विस्तार गर्न पनि उनले आग्रह गरे । सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले क्यान्सरलाई जितेर सामान्य जीवन बिताइरहेका व्यक्तिहरूको अनुभवले उपचाररत बिरामीमा आशा र आत्मविश्वास जगाउने बताइन् । यस्ता कार्यक्रमले सर्भाइभरबीच अनुभव आदानप्रदानका साथै परिवार, स्वास्थ्य संस्था, स्थानीय सरकार र समुदायबीच सहकार्यको वातावरण निर्माण गर्न सहयोग पुग्ने उनको भनाइ छ ।  नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले क्यान्सरलाई केवल शारीरिक रोगका रूपमा मात्र नभई मानसिक, सामाजिक र आर्थिक पक्षसँग जोडिएको समस्याका रूपमा हेर्नुपर्ने आवश्यकता औंल्याए । स्वास्थ्य शाखा प्रमुख वसन्त चौलागाईंका अनुसार सूर्यविनायक नगरपालिकाको अभिलेखअनुसार हाल करिब २४० जना क्यान्सरबाट प्रभावित व्यक्ति विभिन्न प्रकारका सहायता तथा सेवाबाट लाभान्वित हुँदै आएका छन् ।

विद्युत् महसुलमा ५० प्रतिशत छुट

काठमाडौं । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार सम्पन्न गाउँपालिकाको १९औँ गाउँ अधिवेशनमा अध्यक्ष मानबहादुर राईले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।  विद्युत् महसुलमा राहत दिने कार्यक्रमले न्यून तथा मध्यम आय भएका परिवारलाई प्रत्यक्ष लाभ पुग्ने गाउँपालिकाको अपेक्षा छ । गाउँपालिकाका सूचना अधिकारी रुद्र बेघाका अनुसार पालिका भित्र रहेका २ हजार ५०० भन्दा बढी घरधुरीमध्ये मासिक ५० युनिटसम्म विद्युत् खपत गर्ने परिवार उक्त कार्यक्रमबाट लाभान्वित हुनेछन् ।  ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताको हकमा भने यो सुविधा लागू नहुने उनले जानकारी दिए । अध्यक्ष राईले ‘एक घर एक करेसाबारी, प्राङ्गारिक तरकारी’ नारासहित कृषिमा आत्मनिर्भरता बढाउने, किसानलाई प्रोत्साहन गर्ने तथा स्थानीय उत्पादन वृद्धि गर्ने विभिन्न कार्यक्रमसमेत सार्वजनिक गरे । ‘स्वस्थ माटो, स्वस्थ उत्पादन’ स्वस्थ भान्सा, स्वस्थ जीवन कार्यक्रमलाई प्रभावकारी बनाउन ल्याब सेवालाई निरन्तरता, प्राङ्गारिक मल उत्पादन र प्रयोग गर्नेलाई प्रोत्साहन गर्नुका साथै पशुपालनमा अनुदानको व्यवस्था गर्ने पनि उनको भनाइ छ । यसैबीच, गाउँपालिकाले आगामी आवका लागि ५३ करोड ८ लाख २६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको गाउँसभा तथा अधिवेशनमा उपाध्यक्ष कृष्ण कुमारी कँडरियाले बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा बजेटमा विद्युत् महसुलमा अनुदान, कृषि उत्पादन वृद्धि, प्राङ्गारिक खेती प्रवर्द्धन तथा स्थानीय नागरिकको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

अस्ट्रियाविरुद्ध अर्जेन्टिनाको २ गोल, मेसीले बनाए नयाँ कीर्तिमान

काठमाडौं । अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को समूह ‘जे’ अन्तर्गत सोमबार राति भएको खेलमा अस्ट्रियालाई २–० ले हराएको छ । दुबै गोल कप्तान लियोनेल मेसीले गरेका हुन् । खेलको सुरुवाती ९ औँ मिनेटमा मेसीले पेनाल्टी सदुपयोग गर्न नसके पनि बाँकी समयमा उनले उत्कृष्ट पुनरागमन गरे ।  ३८ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो गाेल गरेसँगै  उनले जर्मनीका मिरोस्लाभ क्लोसको १६ गोलको कीर्तिमान पछि पार्दै १७ गोल पुर्याएका थिए । खेलको अन्तिम समय अर्थात् इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे । दुई गोल गरेसँगै मेसीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानलाई थप उचाइमा पु‍र्याएका छन् । उनले विश्वकपमा गरेको कुल गोल सङ्ख्या १८ पुगेको छ ।  डालसस्थित रंगशालामा उपस्थित समर्थकहरू यो ऐतिहासिक क्षणपछि उत्साहले झुमेका थिए ।  जारी विश्वकपमा मेसीले ५ गोल गरिसकेका छन् ।  यसअघि पहिलो खेलमा अल्जेरियालाई ३–० ले हराउँदा मेसीले ह्याट्रिक गरेका थिए । 

दुई समस्याग्रस्त सहकारीका ८२ जनाले फिर्ता पाए बचत

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमुना सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन् ।  सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । हालसम्म लालीगुराँस सहकारीको ३०८ जनाको बचत फिर्ता गरेको समितिले जनाएको छ ।  समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् । ५ लाख रुपैयाँभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र ५ लाख रुपैयाँभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये ५ लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ । समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा सञ्चालन भइरहेको छ ।

नेपाली बजारमा जीडब्लूएमको ओरा-०५ ईभी सार्वजनिक, मूल्य ४६ लाख ९९ हजारबाट सुरु

काठमाडौं । ग्रेट वाल मोटरको विद्युतीय गाडी ओरा-०५ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक भएको छ । सोमबार नेपालका लागि जीडब्लूएम गाडीको आधिकारिक विक्रेता भिजी इम्पेक्स प्रा.लिले एक कार्यक्रमका बीच ओरा-०५ गाडीलाई बजारमा ल्याएको हो ।  कम्पनीका अनुसार नेपाली सडक अनुकूल डिजाइन गरिएको यस ओरा-०५ मा सुरक्षा र क्षमतालाई उच्च प्राथमिकता दिइएको छ ।  गाडीमा आगो र पानीबाट पूर्ण सुरक्षित प्रमाणित भएको अत्याधुनिक ड्र्यागन आर्मर ब्याट्री प्रयोग गरिएको छ ।  जसले एक पटकको फुल चार्जमा ५२० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । नेपाली बाटोका लागि उपयुक्त २०० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यस एसयूभीमा सुरक्षाका लागि ७ वटा एयरब्याग र २० भन्दा बढी इन्टेलिजेन्ट ड्राइभर असिस्ट फिचरहरू समावेश रहेको कम्पनीले दाबी गरेको छ ।  यसको इन्टेरियरलाई विलासी बनाउन ३६० डिग्री क्यामेरा सिस्टम, सनरुफ र आकर्षक एम्बिएन्ट लाइट जस्ता लक्जरी सुविधाहरू राखिएका छन् ।  कम्पनीले नेपाली बजारमा यो गाडी दुईवटा भेरियन्टमा उपलब्ध रहेको जनाएको छ । जसमा मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार र हाई भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।  कार्यक्रममा भिडियो सन्देशमार्फत शुभकामना दिँदै जीडब्लूएम इन्टरनेशनलका अध्यक्ष एन्डीले ओरा-०५ आधुनिक र प्रिमियम जीवनशैली चाहने नेपाली ग्राहकहरूका लागि उत्कृष्ट विकल्प हुने विश्वास व्यक्त गरे ।  त्यस्तै, जीडब्लूएमका प्रबन्धक टोबीले नेपालको अटोमोबाइल बजारलाई ग्रिन ट्रान्सफर्मेसन (हरित रूपान्तरण) तर्फ लैजान कम्पनी प्रतिबद्ध रहेको बताए । उनले हावल, ट्याङ्क र ओरा जस्ता ब्रान्डले नेपाली ग्राहकको मन जितिरहेको दाबी गरे ।  भिजी इम्पेक्सका प्रबन्धक प्रतीक जालानले ओरा-०३ को सफलतापछि नयाँ मोडलले बजारमा नयाँ उचाइ लिने दाबी गरे । उनले कम्पनीले बिक्रीपछिको सेवामा विशेष जोड दिने प्रतिबद्धता जनाए ।  यो इलेक्ट्रिक एसयूभी अब देशभरका जीडब्लूएम सोरुमहरूमा बुकिङ र अवलोकनका लागि उपलब्ध भइसकेको कम्पनीले जनाएको छ।

भारतले अवरोध गरेपछि समाधान खोज्न सरकारले गठन गर्‍यो कार्यदल

काठमाडौं । सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्नका लागि कार्यदल गठन गरेको छ । चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।  उनका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका उपसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिव, भन्सार विभागका उप-महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार तथा पारवहन (भारत) शाखाका उपसचिव सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सदस्य सचिव हुन् ।  भारत सरकारको ‘टि बोर्ड अफ इण्डिया’ बाट केही समय अघि भारतमा आयात हुने चियाका सबै ‘कन्साइनमेन्ट’ को अनिवार्य गुणस्तर परीक्षण गर्ने प्रावधान, सो निर्देशनालय साथ संलग्न एसओपीमा रहेको प्रयोगशाला शुल्क र प्रयोगशाला परीक्षण प्रतिवेदन नआएसम्म सामान गोदाममा अनिवार्य भण्डारण गर्नुपर्ने लगायतका प्रावधान उल्लेख छ । उक्त प्रावधानले साना तथा मझौलास्तरका नेपाली चिया किसानहरू र निर्यातकर्ताहरूलाई भारततर्फ चिया निकासीमा कठिनाइ भएको र भन्सार विन्दुहरूमा लामो समयसम्म माल वाहक सवारीसाधन रोकिनुपर्ने हुँदा चियाको ताजापन र गुणस्तरमा ह्रास आउने र व्यापारको लागत बढ्दै गएको अवस्था छ ।