विकासन्युज

सुरक्षा निकायसँग मिल्ने नाम र उद्देश्य भएका संस्था दर्ता नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सुरक्षा निकायको नाम, पोशाक, सङ्केत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो नाम र उद्देश्य भएका संस्था दर्ता नगर्न तथा यस्ता संस्थाको विधान तत्काल संशोधन गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयको स्थानीय प्रशासन शाखाले असोज ६ गते सचिवस्तरीय निर्णयका आधारमा सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै हालसम्म दर्ता भएका यस्ता संस्थाको विधान परिमार्जन भए–नभएको विवरण उपलब्ध गराउन पनि आग्रह गरेको हो । गृह मन्त्रालयले यसअघि जारी गरिएका परिपत्रको सन्दर्भ उल्लेख गर्दै नवीकरणका क्रममा सुरक्षा निकायसँग मिल्ने नाम, पोशाक, चिन्ह वा उद्देश्य रहेका संस्थाले विधान संशोधन गरेको भए त्यसको जानकारी पठाउन र संशोधन नगरेका संस्थालाई कानुनबमोजिम प्रक्रिया पूरा गरी यथाशीघ्र संशोधन गराउन निर्देशन दिएको छ । मन्त्रालयले सुरक्षा निकायसँग मिल्दोजुल्दो व्यवस्था राखेर दर्ता भएका संस्थाको विधान तत्काल प्रचलित कानुनअनुसार परिमार्जन गर्न र त्यसको जानकारी गृह मन्त्रालयलाई उपलब्ध गराउन पनि भनेको छ । साथै, अब उप्रान्त संस्था दर्ता गर्दा गृह मन्त्रालयबाट जारी भएका परिपत्रअनुसार सुरक्षा निकायसँग मिल्ने नाम, उद्देश्य वा पहिचान भएका कुनै पनि संस्था दर्ता नगर्न र नगराउन जिल्ला प्रशासन कार्यालयलाई स्पष्ट निर्देशन दिइएको छ ।

सानिमा मिडिल तमोरले ५.२६ प्रतिशत लाभांश दिने, असोज १९ गते बुक क्लोज

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले लाभांश प्रस्ताव गर्दै ११औँ वार्षिक साधारणसभा असोज ३० गते आयोजना गर्ने निर्णय गरेको हो । साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १९ गते एक दिन सेयरधनी दर्ता किताब (बुक क्लोज) बन्द गर्ने जनाएको छ । यसअनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भई आफ्नो नाममा सेयर कायम भएका सेयरधनी साधारणसभामा सहभागी हुन र प्रस्तावित नगद लाभांश प्राप्त गर्न योग्य हुनेछन् । कम्पनीले वितरणयोग्य सञ्चित खुद मुनाफाबाट करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने जनाएको छ । साधारणसभामा लाभांश अनुमोदनसहित आर्थिक वर्ष २०८२/८३ का वित्तीय विवरण पारित गर्ने लगायतका नियमित प्रस्तावहरू पनि पेश गरिने कम्पनीले नेप्सेलाई जानकारी दिएको छ ।

टर्कीमा इन्धनको मूल्यले तोड्यो रेकर्ड : अर्थतन्त्र र जनजीवनमा दबाब

काठमाडौं । विश्व बजारमा ऊर्जाको मूल्यमा भएको भारी वृद्धि र आपूर्ति शृङ्खलामा देखिएको अवरोधका कारण टर्कीमा इन्धनको मूल्यले हालै ऐतिहासिक रेकर्ड कायम गरेको छ । डिजेलको मूल्य पहिलो पटक प्रतिलिटर १०० टर्की लिरा (२.०५ अमेरिकी डलर) नाघेपछि यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सादेखि यातायात र समग्र अर्थतन्त्रमा पर्न थालेको छ । टर्कीको अर्थतन्त्रमा ऊर्जाको बढ्दो मूल्यले गम्भीर संकट निम्त्याएको छ । विशेषगरी तेल र प्राकृतिक ग्यासको ठूलो आयातकर्ता रहेको टर्कीका लागि यो मूल्यवृद्धि निकै चुनौतीपूर्ण बनेको छ । हर्मुज जलडमरुमा आपूर्ति अवरोधको चिन्ता र विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरमाथि पुग्दा टर्कीको आन्तरिक बजार प्रभावित भएको हो । देशको करिब आधा जनसंख्या न्यूनतम ज्याला (२८,०७५.५० लिरा) मा निर्भर रहेको अवस्थामा इन्धनको मूल्यवृद्धिले मध्यम र निम्न वर्गलाई सबैभन्दा बढी प्रताडित बनाएको छ । अवकाशप्राप्त आर्किटेक्ट युसुफ कोसेओग्लु भन्छन्, ‘पेन्सनले बाँच्न असम्भव भइसकेको छ, हामी बचतको भरमा बाँचिरहेका छौँ । इन्धनको मूल्यमा हुने एक लिराको वृद्धिले पनि खाद्य पदार्थदेखि ढुवानीसम्मको मूल्य अकासिन्छ ।’ यसको प्रभाव यातायात र दैनिक उपभोग्य वस्तुमा पनि स्पष्ट देखिएको छ । महँगीका कारण सवारीधनीहरू निजी साधन छोडेर सार्वजनिक यातायात वा कम्पनीका बस प्रयोग गर्न बाध्य भएका छन् । शिक्षक हिलाल ओनाटका अनुसार इन्धनको मूल्यले घरभाडा र अपार्टमेन्टको मर्मत शुल्कमा समेत वृद्धि गराउने निश्चित छ । टर्की सरकारले मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको भए पनि ऊर्जाको यो मूल्यवृद्धिले सो प्रक्रियालाई सुस्त बनाइदिएको छ । अर्थमन्त्री मेहमेत सिमसेकले बाह्य कारकले गर्दा मूल्यवृद्धि नियन्त्रणको गति अपेक्षा गरिएभन्दा सुस्त भएको स्वीकार गरेका छन् । ऊर्जा मन्त्री अल्परस्लान बायरकतारले रूस–युक्रेन द्वन्द्व र क्षेत्रीय तनावलाई ‘परफेक्ट स्टर्म’ भन्दै यसले मुलुकको अर्थतन्त्रमा बाह्य दबाब सिर्जना गरेको उल्लेख गरेका छन् ।

भारी वर्षाको सम्भावना: बिदामा पनि स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन निर्देशन

काठमाडौं । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबान लगायत विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको छ । मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अति भारी वर्षालाई मध्यनजर गर्दै प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पताललाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको हो । मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार सम्पर्कमा रहने र विपद्को अवस्था सिर्जना भए तत्काल परिचालन हुन सक्ने गरी पूर्वतयारी मिलाउन निर्देशन दिएको छ । प्रदेशअन्तर्गतका स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयलगायत सम्बन्धित निकायलाई स्थानीय तहसँग तत्काल समन्वय तथा सञ्चार कायम गरी स्वास्थ्य सेवा र विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ । साथै, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालनमा राखी सम्भावित विपद्को निरन्तर सूचना संकलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन गर्न निर्देशन दिइएको छ । स्वास्थ्य सेवा विभागलाई आकस्मिक तथा नियमित स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न भनिएको छ । साथै, स्वास्थ्य संस्थाको तयारी अवस्था र आकस्मिक प्रतिकार्यसम्बन्धी योजना असोज ८ गतेभित्र मन्त्रालयमा पेश गर्न निर्देशन दिइएको छ । सम्भावित जोखिमयुक्त जिल्लामा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि, जीवनजललगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्दात राख्न पनि विभागलाई भनिएको छ । द्रुत प्रतिकार्य टोलीलाई समेत तयारी अवस्थामा राख्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । त्यस्तै, प्रसूतिको सम्भावित मिति नजिक रहेका गर्भवती महिला तथा दीर्घरोगीलाई विपद्का कारण स्वास्थ्य सेवामा पहुँच प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार स्वास्थ्य संस्थाको नजिक वा सुरक्षित स्थानमा रहन अनुरोध गर्ने व्यवस्था मिलाउन भनिएको छ । नियमित सेवन गर्नुपर्ने औषधि आवश्यक मात्रामा साथमा राख्न पनि गर्भवती महिला तथा दीर्घरोगीलाई जानकारी गराउन मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई आकस्मिक स्वास्थ्य समस्या वा विपद्जन्य अवस्थाका कारण तत्काल स्वास्थ्य सेवा आवश्यक परेमा एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गरी उपचारको व्यवस्था मिलाउन सहजीकरण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । 

कर्जाको किस्ता तिर्न कोषको ताकेता, ०.२५ प्रतिशत ब्याज छुट दिने

काठमाडौं । कर्मचारी सञ्चय कोषले घर तथा जग्गा धितोमा आधारित विभिन्न सापटीको किस्ता नियमित नगरेका सञ्चयकर्तालाई असोज मसान्तभित्र बक्यौता किस्ता बुझाउन ताकेता गरेको छ । कोषले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासमा भुक्तानी गर्नुपर्ने किस्ता रकम असोज मसान्तभित्र बुझाउन आग्रह गरेको हो । विभिन्न मितिमा घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी तथा जग्गा खरिद सापटी लिएका ऋणी सञ्चयकर्ताले तोकिएको अवधिभित्र किस्ता भुक्तानी गर्नुपर्ने कोषले जनाएको छ । नियमित रूपमा त्रैमासिक किस्ता भुक्तानी गर्ने ऋणी सञ्चयकर्तालाई कोषले त्रैमासिक ब्याजमा ०.२५ प्रतिशत ब्याज छुट दिने व्यवस्था गरेको जनाएको छ । कर्जा किस्ता नियमित नगरेको अवस्थामा कर्मचारी सञ्चय कोष सञ्चयकर्ता कर्जा असुली विनियमावली, २०७१ बमोजिम असुली प्रक्रिया अघि बढाइने कोषले चेतावनी दिएको छ । कोषले किस्ता भुक्तानीका लागि विभिन्न माध्यमको व्यवस्था गरेको छ । केवाईसी अद्यावधिक गरेका सञ्चयकर्ताले कोषको विद्युतीय प्रणालीमार्फत रकम भुक्तानी गर्न सक्नेछन् । कनेक्ट आईपीएसमा लगइन गरी ‘सेमी–गभर्मेन्ट’ अन्तर्गत ‘संस्थान’ छनोट गरेर रकम भुक्तानी गर्न सकिनेछ । त्यस्तै, मोबाइलमा कोषको ईपीएफ एप डाउनलोड गरी त्यसमा रहेको ‘लोन पेमेन्ट’ विकल्पमार्फत पनि किस्ता बुझाउन सकिने कोषले जनाएको छ । सञ्चयकर्ताले आफ्नो बैंकको बैंकिङ एपमा रहेको भुक्तानी विकल्पमार्फत पेन्सन फन्डअन्तर्गत कर्मचारी सञ्चय कोष छनोट गरेर पनि रकम भुक्तानी गर्न सक्नेछन् । त्यस्तै, कोषको वेबसाइटमा रहेको व्यक्तिगत लगइनमार्फत ‘लोन पेमेन्ट’ विकल्प प्रयोग गरी किस्ता बुझाउन सकिनेछ । कोषले तोकेका बैंक खातामा रकम जम्मा गरी सोको भौचर इमेलमार्फत पठाएर पनि भुक्तानी प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गरिएको छ । कोषले अवकाश भइसकेका तथा केवाईसी अद्यावधिक नगरेका सञ्चयकर्तालाई समेत तोकिएको प्रक्रियामार्फत सापटीको किस्ता भुक्तानी गर्न आग्रह गरेको छ । 

नेपाल इन्स्योरेन्स ८०औँ वर्षमा प्रवेश, उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ८०औँ वर्षमा प्रवेश गरेको छ । नेपाल बैंक लिमिटेडको स्वामित्वमा वि.सं. २००४ सालमा नेपाल माल चलानी र बीमा कम्पनी लिमिटेडका रूपमा स्थापना भएको कम्पनीले निर्जीवन बीमा सेवा प्रदान गर्दै ७९ वर्ष पूरा गरेको हो । कम्पनीले वि.सं. २००६ सालमा उद्योग परिषदबाट इजाजत प्राप्त गरेको थियो । त्यसपछि वि.सं. २०१६ सालमा नाम परिवर्तन गरी नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेड बनाइएको थियो । वि.सं. २०४८ सालमा पुनः नाम परिवर्तन गरी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड कायम गरिएको थियो । कम्पनीले बीमा ऐन, २०७९, बीमा नियमावली, २०८१ तथा कम्पनी ऐन, २०६३ बमोजिम निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ । ८०औँ वर्ष प्रवेशको अवसरमा कम्पनीले आफ्नो स्थापनादेखि हालसम्म सहयोग गर्ने सेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारी, सर्भेयर, बीमा अभिकर्ता तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेको छ । कम्पनीले आगामी दिनमा पनि सबै सरोकारवालाबाट निरन्तर सहयोग र सद्भाव प्राप्त हुने विश्वास व्यक्त गरेको छ । हाल नेपाल इन्स्योरेन्समा २९८ कर्मचारी कार्यरत छन् । कम्पनीले देशभर ५४ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । कम्पनीले प्रचलित ऐन, कानुन तथा नियमनकारी निकायबाट जारी निर्देशनको पूर्ण पालना गर्दै आगामी दिनमा अझ प्रभावकारी र उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

गभर्नर पौडेलको हस्ताक्षर भएको १ हजारको नयाँ नोट बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ । बैंकले आज (असोज ८ गते) देखि १ हजार रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको जनाएको हो । नयाँ नोट साविककै आकारमा भए पनि यसको रङमा परिवर्तन गरिएको छ । नोटमा बैजनी रङ्गको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ । नयाँ नोटको सिरिज सन् २०२५ रहेको छ । राष्ट्र बैंकका अनुसार नयाँ नोटको अग्रभागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १ हजार तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश उल्लेख गरिएको छ । नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ । पानीछापको मुनि ‘१०००’ अङ्क पनि राखिएको छ । त्यस्तै, नोटको दायाँतर्फ निलो रङमा ‘१०००’ को केही अंश देखिने सुरक्षा विशेषता राखिएको छ, जसलाई प्रकाशतर्फ पारेर हेर्दा ‘१०००’ पूर्ण रूपमा देखिन्छ । दृष्टिविहीन व्यक्तिले स्पर्शमार्फत नोट पहिचान गर्न सहज होस् भनेर नोटको दायाँतर्फको तल्लो भागमा एक हजार अंक जनाउने रोमन अक्षर ‘एम’ राखिएको छ । सगरमाथा हिमालको बायाँतर्फ र पानीछापको दायाँतर्फ १०–१० वटा तेर्सा रेखा पनि राखिएका छन् । नोटको अग्रभागमा सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र भगवतीको चित्र राखिएको छ । उक्त चित्रलाई सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने गरी तयार गरिएको छ । त्यस्तै, नोटमा ३.५ मिलिमिटर चौडाइको सुरक्षा धागो राखिएको छ । सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने उक्त धागोमा ‘एनआरबी’ र ‘१०००’ अंक राखिएको छ । नयाँ नोटमा राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ । नोटको तल्लो खण्डमा सिरिज नम्बर ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ । नोटको पछाडिको भागमा चितवनस्थित सरकारी हात्तीसारमा जन्मिएका राम र लक्ष्मण नामका जुम्ल्याहा हात्तीको चित्र राखिएको छ । राष्ट्र बैंकका अनुसार ती हात्तीहरू देवकली नामक हात्तीबाट जन्मिएका हुन् । पछाडिको भागको बायाँतर्फ पनि ‘१०००’ को केही अंश देखिने सुरक्षा विशेषता राखिएको छ, जसलाई प्रकाशतर्फ पारेर हेर्दा ‘१०००’ पूर्ण रूपमा देखिन्छ । त्यस्तै, पानीछापको दायाँतर्फ नेपालका सातवटा प्रदेश जनाउने गरी सातवटा लालीगुराँसका चित्र राखिएका छन् । नोटको दायाँतर्फ ‘रुपिज वान थाउजेण्ड’ लेखिएको छ भने हनुमानढोकास्थित ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृति पनि समावेश गरिएको छ । नोटको तल्लो भागको बोर्डरमा सिरिज नम्बर ‘२०२५ ए.डी.’ उल्लेख गरिएको छ । यसअघि राष्ट्र बैंकले २०७७ साउन ७ गतेदेखि १ हजार रुपैयाँ दरको सिरिज २०१९ को बैंकनोट चलनचल्तीमा ल्याउने सूचना जारी गरेको थियो । उक्त नोटको संकेत नम्बर ज६८ ०००००१ देखि ट९९९९९९ सम्म रहने भनिए पनि ज६८ ०००००१ देखि ट९१ ४४०००० सम्मका नोट मात्रै चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।  त्यसपछि नयाँ सिरिजको १ हजार रुपैयाँ दरको बैंकनोटको संकेत नम्बर ९२०००००१ बाट सुरु गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ । राष्ट्र बैंकले बैंकनोट राष्ट्रको सम्पत्ति भएकाले यसको जतन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । 

प्रधानमन्त्री बालेन न्युयोर्कमा, बिहीबार सम्बोधन गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह न्युयोर्क पुगेका छन् । न्युयोर्कस्थित जेएफके अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री शाहलाई परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्रसचिव अमृतबहादुर राई तथा राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गरेका थिए । भ्रमण तालिका अनुसार प्रधानमन्त्री शाहले आजै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।  त्यसैगरी, उनी न्युयोर्कस्थित नेपाली नियोगद्वारा आयोजना गरिने स्वागत समारोहमा समेत सहभागी हुनेछन् ।प्रधानमन्त्री शाहले बिहीबार अपराह्न संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।