विकासन्युज

वैदेशिक रोजगारीमा जानेले ‘श्रम स्वीकृति’ साथमा नलगे अध्यागमनले फर्काउने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीले साथमा श्रम स्वीकृत नलगे अध्यागमन विभागले फर्काउने भएको छ ।  वैदेशिक रोजगारीमा जानेले अनुमति पत्रको आवेदन दिएको भन्दै सेवाग्राहीहरू अध्यागमन पुग्ने गरेका छन् । त्यसैले विभागले श्रम स्वीकृति नलगे फर्काउने भएको हो । श्रम स्वीकृति भइसकेको छ भन्दै श्रम स्वीकृतिका लागि अन्य व्यक्तिमार्फत निवेदन मात्र दिएको भन्दै अध्यागनले यस्तो कदम चालेको हो । श्रमिक भिसामा विदेश जाने नेपालीले वैदेशिक रोजगार विभागको श्रम स्वीकृति साथमा लिएर विमानस्थलको अध्यागमनले जानसमेत विभागले अनुरोध गरेको छ । श्रम स्वीकृतिको आवेदन दिएकालाई प्रस्थानको अनुमति नदिने अध्यागमन कार्यालयले जनाएको छ । 

लालीबजार महिलाले छोरीका लागि गाउँ, समाज र समुदायसँगै राज्यसँग गर्ने सङ्घर्षको कथा हो : अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय चरित्र बाच्ने अभिनेत्रीको रुपमा परिचित छिन् । ‘होस्टेल रिटन्स’ नामक चलचित्रमार्फत अभिनय यात्राको सुरुआत गरेकी अभिनेत्री खड्कालाई चर्चित गीत ‘कुटुमा कुटु’ ले आम दर्शकमाझ परिचित गरायो । उनलाई ‘कुटुमा कुटु गर्ल’ भनेर उपनाम समेत दिइयो । सुन्दरीका रूपमा मात्र नभई गम्भीर र चरित्रप्रधान भूमिकामा पनि स्थापित गर्न सफल अभिनेत्री खड्कालाई ‘बुलबुल’ को ट्याम्पो चालक र ‘चिसो मान्छे’ मा सुदूरपश्चिमको लवजसहितको सशक्त भूमिकाले मात्र बाच्ने अभिनेत्रीको रुपमा स्थापित गर्यो । यिनै अभिनेत्री खड्काले अभिनय गरेको चलचित्र ‘लालीबजार’ पछिल्लो समय चर्चामा छ । आजदेखि प्रदर्शन हुने उक्त चलचित्रमा अभिनेत्री खड्काले आमाको भूमिका निर्वाह गरेकी छन् । हिजो साँझ कलाकार, चलचित्र निर्माता र सञ्चारकर्मीहरुको उपस्थितिमा राजधानीमा यस चलचित्रको प्रिमियम–शो भएको थियो । उक्त चलचित्रमा अभिनेत्री खड्काले वादी समुदायको महिलाको भूमिका निर्वाह गरेकी छन् । उक्त चलचित्रको सार्वजनिक पहिलो पोस्टरमै अभिनेत्री खड्काको चर्चा भएको थियो । गर्भवती महिला ढोकामा शृङ्गार गरेर उभिरहेको पोस्टरमार्फत अभिनेत्री खड्काले चर्चा बटुलेकी थिइन् । प्रस्तुत छ, उनै अभिनेत्री खड्कासँग उनको कला यात्राका बारेमा गरेको कुराकानीको सम्पादित अंश : अभिनयप्रतिको लगाव कसरी भयो ? सायद टेलिभिजन हुनसक्छ । म सानी छँदा टेलिभिजनमा धेरै शृङ्खला आउथ्यो, हामी सबै परिवार बसेर टिभी हेथ्र्यों । त्यतिबेलादेखि हामी टेलिभिजनमा देखिएजस्तै अभिनय गर्ने गथ्र्यौं । त्यसैले मलाई कलाकारितामा आकर्षित गरेको हुनसक्छ । चलचित्रमार्फत अभिनय यात्रा कसरी सुरुआत भयो ? म अध्ययन नै गरिरहेकी थिएँ । सोही क्रममा म सौन्दर्य प्रतियोगिता ‘मिस टिन’ मा सहभागी भएँ । त्यसपछि म ‘मोडलिङ’ गर्दै थिएँ, केही ‘म्युजिक भिडिओ’ मा समेत अभिनय गरेँ । तर, त्यो विस्तारै भइरहेको थियो । सोही क्रममा निर्माता सुनिल रावलले मलाई चलचित्रमा अभिनय गर्न प्रस्ताव गर्नुभयो । मैले अभिनय गर्ने मनसाय बनाएको थिइन्, तर एक पटक भेटेर कुरा गर्ने भन्ने भयो । भेटघाटका क्रममा चलचित्रको कार्यशाला भइरहेको थियो । त्यो माहोलले मलाई चलचित्रमा अभिनय गर्न प्रेरित गर्यो तर त्यो अर्कै चलचित्रको लागि थियो, पछि मेरो सहकार्य सोही समूहसँग ‘होस्टल रिटन्स’मार्फत भयो । ‘कुटुमा कुटु’ गीतमा कसरी नृत्य गर्ने अवसर जुर्यो ? मैले विस्तारै अभिनय यात्रा प्रारम्भ गरेकी थिएँ । मेरो विवाह निर्देशक निश्चल बस्नेतसँग भइसकेको थियो । ‘कुटुमा कुटु’ गीत रहेको चलचित्र ‘दुई रुपैयाँ’ मा मेरो श्रीमान् निश्चल पनि निर्माण र अभिनयमा सहभागी हुनुहुन्थ्यो । उक्त समयमा एउटा गीतमा अतिथि भूमिका गर्नुपर्ने भएकाले मलाई नै प्रस्ताव गरिएको थियो । त्यो समयमा विस्तारै लोक गीतसङ्गीत चलचित्रमा प्रयोग हुन् थालेको थियो । चलचित्रको दृश्य सकिएपछि हामीले इटहरीमा उक्त गीतको छायाङ्कन गरेका थियौँ । केही पारिवारिक कारणले पनि उक्त गीतको छायाङ्कनको समयमा धेरै कठिनाइ भएको थियो । तर, त्यो गीतले मलाई बृहत् रुपमा चिनाउन मद्दत गर्यो । चलचित्र ‘बुलबुल’ ले तपाइँको अभिनय क्षमतालाई प्रस्ट्यायो, त्यो चलचित्र गर्ने निर्णय कसरी लिनुभयो ? मलाई मेरो श्रीमान् बस्नेतमार्फत नै ‘बुलबुल’ को प्रस्ताव आएको थियो किनकि त्यो चलचित्रका लेखक तथा निर्देशक मेरो श्रीमान्सँग चलचित्रसम्बन्धी अध्यन गर्नुभएको थियो । मलाई त्यो पटकथा पढ्नेले तिमीलाई सुहाउँदैन होला की भन्ने गर्थे । त्यही कारण नै मैले त्यो चलचित्र गरे । त्यस अगाडि मैले गरेका कामको आधारमा मैले यो सक्छु, यो सक्दिन वा यो मात्र गर्नुपर्छ भन्ने मानसिकता बनाउनु सही होइन । त्यसलाई मैले एउटा ‘च्यालेञ्ज’ को रुपमा लिएँ । म भन्दा त्यो पात्र भिन्न थियो । त्यसकारण पनि मैले यसलाई निर्वाह गर्न मेहनत गरेँ । ‘बुलबुल’ को पात्रले तपाइँलाई के दियो ? म बिहान टेम्पो चलाउन सिकेर दिउँसो चलचित्रको कार्यशालामा सहभागी पात्रलाई तयार गरेकी हुँ । त्यो पात्रले मलाई भिन्न जीवन र जीवनशैलीसँग परिचित गरायो । त्यो मेरा लागि नयाँ अनुभूति थियो । तपाइँले अभिनय गर्नुभएको ‘चिसो मान्छे’ पनि पोस्टरकै कारण चर्चामा आएको थियो । त्यो पात्र निर्माण कसरी भएको थियो नि ? ‘बुलबुल’ चलचित्रपछि मलाई निकै चर्चामा ल्याएको पात्रलाई मैले ‘चिसो मान्छे’ चलचित्रमा निर्वाह गरेकी थिएँ । त्यो चलचित्रका लागि मैले सुदूरपश्चिममा बोल्ने भाषा नै सिकेकी थिएँ । म अहिले त्यताको भेगको मान्छे भेट्दा यो ठाउँको हुनहुन्छ भनेर म चिन्न सक्छु । त्यो पात्रले पनि मलाई भिन्न छाप छाडेको छ । यसलाई मैले मनदेखि नै ‘इञ्जोय’ गरेकी थिएँ । त्यो पात्रले मलाई केही सिकाएको छ ।  चलचित्र निर्मात्री बन्न के कुराले प्रेरित गर्यो ? मलाई चलचित्र बनाउँछु भन्ने लागेको थिएन् । म निर्मात्रीभन्दा पनि निर्देशनमा सोच बनाएकी थिएँ । म तत्कालै नभई भविष्यमा निर्देशन गर्छु भन्ने सोच बनाएकी थिएँ तर मलाई एउटा पटकथा आयो, त्यो केवल अभिनयको लागि थियो । त्यतिबेला त्यसको नाम ‘बेहुली फ्रम मेघौली’ थिएन तर मलाई पटकथाले तान्यो । मैले पटकथा पढेको देखेर मेरो श्रीमान्ले पनि चासो लिनुभयो । त्यसपछि हामीले नै चलचित्र निर्माणमा सघाउने प्रस्ताव राखेका थियौँ । कहिलेकाहीँ निर्देशक र पटकथा राम्रो हुँदा हुँदै पनि सही तरिकाले बजारसम्म पुग्दैन । त्यसैले हामी निर्माणमा जोडिएका हौँ । एउटा राम्रो कथालाई सही तरिकाले दर्शकसम्म पुर्याएको आभाष भएको छ ।  अभिनय गर्न थालेको एक दशकपछि ‘लालीबजार’ का लागि ‘अडिसन’ नै दिनुभयो, किन नि ? मैले पहिलो चलचित्रको लागि पनि ‘अडिसन’ दिएको थिइन् । कार्यशालामै कुरा भएर चलचित्रमा अभिनय गरेकी थिएँ तर मलाई कहिले पनि ‘अडिसन’ हो वा ‘लुक टेस्ट’ गर्नु हुँदैन भन्ने लागेन । किनकि जो आफ्नो काममा गम्भीर छ, उसले यस्ता जाँच गरेर नै चलचित्र निर्माण सुरु गर्छ । मलाई ‘लालीबजार’ को नामले नै आकर्षित गरेको थियो । चलचित्रको निर्माण घोषणा हुँदा म आबद्ध थिइन । यसको विषयवस्तु नौलो भएकाले नै मैले पनि ‘लुक टेस्ट’ गरेर मेरो पात्रलाई बुझ्न खोजेकी थिएँ । पहिलो सार्वजनिक पोस्टरले नै पाएको चर्चाले हामीलाई झनै गम्भीर भएर काम गर्नुपर्छ भन्ने दायित्व बोध गरायो ।  हामी छायाङ्कनस्थलमा पुगेर वादी समुदायका महिलालाई भेटेर, अनुसन्धान गरेर चलचित्रलाई तयार गरेका छौँ । अहिले आफूलाई चाहिने जानकारी डिजिटल माध्यममार्फत लिने प्रचलन छ, तर हामीले वादी समुदायसँग जोडिएका डिजिटल सूचना निकै कम पायौँ । हामी समुदायकै महिलासँग पुगेर बुझ्दा केही रहेका जानकारी पनि भ्रामक रहेको आभाष भयो । सम्भवतः यो चलचित्र आगामी पुस्ताका लागि एउटा ‘डिजिटल दस्ताबेज’ पनि हुनेछ ।  ‘लालीबजार’ कस्तो खालको चलचित्र हो ? चलचित्रमा आमा र छोरीको कथा देखाइएको छ तर आमा वादी समुदायकी महिला हुन्छिन् । यो एउटी महिलाले आफ्नो छोरीका लागि गाउँ, समाज र समुदायसँगै राज्यसँग गर्ने सङ्घर्षको कथा हो । यसले वादी समुदायमा रहेकी महिलाको बाध्यता, विवशता र सङ्घर्षलाई चित्रण गरेको छ । यो गम्भीर विषयमा बनेको छ तर यसले समुदायलाई चोट पुर्याउने नभई गर्व गर्ने कथा देखाउने छ भन्नेमा विश्वस्त छु ।  तपाइँको भूमिका कस्तो छ चलचित्रमा ? चलचित्रमा मेरो पात्रको नाम ‘मधुवाला’ हुन्छ । यसलाई मैले बर्दियामै रहनुभएका वादी समुदायको महिलासँग कुराकानी गरेर तयार गरेकी हुँ । साथै, हाम्रो निर्देशक यम थापा त्यहाँकै हुनुहुन्छ, जसले उक्त समुदायलाई बाल्यकालदेखि नै देख्दै र बुझ्दै आउनुभएको छ । निर्देशक थापाको बुझाइ र हाम्रो अनुसन्धानलाई मिश्रण गरेर पात्र तयार गरेका छौँ । मधुवालाले आफ्नो आफ्नो परिवारको जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष नै चलचित्रको कथा हो । अहिले दर्शकले सार्वजनिक श्रव्यदृश्य सामग्रीमार्फत गरिरहनुभएको अनुमानभन्दा चलचित्र भिन्न छ ।  तपाइँका लागि ‘लालीबजार’ कतिको महत्वपूर्ण छ ? मैले धेरै वर्षपछिसम्म सम्झिने चलचित्र हो, ‘लालीबजार’ किनकि यसमा मैले वादी समुदायको महिलाको भूमिका निर्वाह गरेकी छु । हाम्रो पहिलो सार्वजनिक पोस्टर नै चर्चामा आएको थियो, जहाँ एउटी गर्भवती महिला शृङ्गार गरेर ढोकामा उभिएकी थिइन् । पेटमा रहेको बच्चाका लागि उनले आफूलाई आराम दिन सकेकी छैनन् । त्यहीँबाट यो एउटी आमाको कथा हो भन्ने प्रस्ट भएको थियो । मेरो अभिनय यात्रामा ‘बुलबुल’ र ‘चिसो मान्छे’पछि मलाई चिनाउने चलचित्र ‘लालीबजार’ बन्नेमा विश्वस्त छु । मेरो चर्चा हुँदा यी तीन चलचित्रको चर्चा पनि धेरै वर्षसम्म हुनेछ । रासस  

उपसभामुखसँग रिसाए हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया र त्यसमा आफ्नै पार्टीबाट निर्वाचित उपसभामुख रुवीकुमारीको संलग्नताप्रति आपत्ति जनाएका छन् । शुक्रबार (आज) एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले सरकारले संसद्लाई छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराउनु र वरिष्ठतालाई मिचेर चौथो नम्बरका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गर्नु ‘गलत र आपत्तिजनक’ भएको ठहर गरेका हुन् । वरिष्ठताको क्रममा चौथो स्थानमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गर्ने सरकारको कदमलाई साम्पाङले ‘ठूलो गल्ती’ को संज्ञा दिएका छन् । सहकारी ठगी प्रकरण, भदौ २३–२४ को जेनजी आन्दोलन जस्ता विषयमा आफ्नो पक्षमा निर्णय गराउन राजनीतिक र कानुनी स्वार्थ राखेर यो नियुक्ति गरिएको विज्ञप्तिमा उल्लेख छ । श्रम संस्कृति पार्टीकै तर्फबाट उपसभामुख बनेकी वीकुमारीले वरिष्ठता मिचेर गरिएको उक्त निर्णयमा हस्ताक्षर गर्नुलाई साम्पाङले ‘खेदपूर्ण’ भनेका छन् । नियुक्ति प्रक्रियाको बैठकमा एमसीसी र एसपीपी जस्ता विवादित विषयहरू ल्याएर दबाब र प्रभाव सिर्जना गरिएको दाबी समेत गरिएको छ । साम्पाङले सुशासन र विधिको शासनको आश्वासन दिएर सत्तामा पुगेको दलले नै विधि मिचेको भन्दै यस्तो प्रवृत्तिको सदासर्वदा विरोध गर्ने पनि बताएका छन् ।  प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा सिफारिस भएका छन् । संवैधानिक नियुक्तिबारे छलफल गर्न बिहीबार  बोलाइएको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको हो ।  प्रधानन्यायाधीशका न्याय परिषद्ले सिफारिस गरेका ६ जनामा उनी चौथो वरीयतामा थिए । चौथो वरीयतामा भएका व्यक्तिलाई प्रधानन्यायाधीश सिफारिस गरेकाे भन्दै अहिले सरकारकाे आलाेचना भइरहेकाे छ ।

‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हान्ताभाइरस प्रकोप अझ फैलिन सक्ने जोखिम रहेको चेतावनी दिएको छ, यद्यपि समयमै कडा स्वास्थ्य सावधानी अपनाइएमा यो प्रकोप सीमित स्तरमै नियन्त्रण गर्न सकिने अपेक्षा गरिएको छ । हालसम्म यस प्रकोपका कारण तीन जनाको मृत्यु भइसकेको छ भने पाँच वटा पुष्टि भएका र तीन वटा शंकास्पद सङ्क्रमणका केसहरू देखिएका छन् ।  सङ्क्रमित तथा शंकास्पद बिरामीहरूलाई बेलायत, जर्मनी, नेदरल्यान्ड्स, स्विट्जरल्याण्ड र दक्षिण अफ्रिकामा उपचार वा आइसोलेसनमा राखिएको छ । यो सङ्क्रमण एमभी होन्डियस नामक क्रुज जहाजसँग जोडिएको छ, जसले अर्जेन्टिनाको उसुआइआबाट यात्रा सुरु गरी क्यानरी टापुहरूतर्फ समुद्री यात्रा गरिरहेको थियो । यात्राका क्रममा केही यात्रुहरूमा अचानक गम्भीर लक्षण देखिन थालेपछि स्वास्थ्य अधिकारीहरूले जहाजमा फैलिएको संक्रमणबारे अनुसन्धान सुरु गरेका हुन् । प्रारम्भिक अनुसन्धानअनुसार एक यात्रु अर्जेन्टिनामा जहाज चढ्नु अघि नै संक्रमित भएको हुन सक्ने र पछि जहाजमा अन्य यात्रुहरूमा संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससका अनुसार हान्ताभाइरसको इन्क्युबेशन अवधि छ हप्तासम्म हुन सक्ने भएकाले आगामी दिन वा हप्ताहरूमा थप सङ्क्रमणका केसहरू देखिन सक्ने सम्भावना रहन्छ । उनले यस रोगको विकासक्रमलाई नजिकबाट निगरानी गरिँदैछ र अन्तर्राष्ट्रिय समन्वय आवश्यक रहेको बताए । डब्ल्यूएचओका आपतकालीन प्रतिक्रिया निर्देशक अब्दी रहमान महमुदले यदि सबै देशहरूले समयमै परीक्षण, सङ्क्रमित व्यक्तिहरूको पहिचान, सम्पर्क ट्रेसिङ र आइसोलेसन जस्ता सार्वजनिक स्वास्थ्य उपायहरू प्रभावकारी रूपमा लागू गरे भने यो प्रकोप ठूलो स्तरमा फैलिन नदिई नियन्त्रण गर्न सकिने बताए । उनका अनुसार अहिलेको अवस्था ‘सीमित तर सतर्क रहनुपर्ने’ प्रकृतिको छ । यसबीच अर्जेन्टिनाका स्वास्थ्य अधिकारीहरूले सङ्क्रमणको स्रोत पत्ता लगाउन उसुआइआ क्षेत्रमा मुसा परीक्षण गर्ने तयारी गरेका छन्, किनकि हान्ताभाइरस सामान्यतया संक्रमित मुसाको सम्पर्कबाट फैलिने गर्छ । जहाजमा यात्रा गरेका सबै यात्रु र चालक दलको विस्तृत सम्पर्क ट्रेसिङ पनि भइरहेको छ । जहाज सञ्चालक कम्पनी ओशनवाइड एक्सपेडिसनका अनुसार हाल जहाजमा कुनै पनि लक्षण देखिएका यात्रु छैनन् र जहाज आफ्नो गन्तव्य स्पेनको टेनेरिफतर्फ अघि बढिरहेको छ, जहाँ आइतबार पुग्ने तालिका छ । यात्रुहरूलाई विभिन्न देशमा पठाइएपछि स्थानीय स्वास्थ्य निकायहरूले उनीहरूको स्वास्थ्य निगरानी गरिरहेका छन् । डब्ल्यूएचओले यो प्रकोपलाई नियन्त्रणमा राख्न अन्तर्राष्ट्रिय सहयोग, समयमै परीक्षण र कडा आइसोलेसन उपायहरू अत्यन्त आवश्यक छन्, अन्यथा संक्रमण थप देशहरूमा फैलिन सक्ने जोखिम रहने जनाएको छ । रासस    

युद्ध जोखिम बढ्दै : तेल मूल्य उकालो, सेयर बजार ओरालो

काठमाडौं । अमेरिका र इरानबीच हर्मुज जलडमरूमध्य क्षेत्रमा भएको नयाँ सैन्य झडपपछि विश्व बजारमा ठूलो असर परेको छ । शुक्रबार तेलको मूल्य तीव्र रूपमा बढेको छ भने विश्वका प्रमुख सेयर बजारहरू घटेका छन् । यस घटनाले युद्ध अन्त्य गर्ने सम्भावित सम्झौता र महत्त्वपूर्ण समुद्री मार्ग पुनः खोल्ने आशामा धक्का पुगेको छ । पछिल्ला केही हप्तादेखि बजारमा युद्ध चाँडै अन्त्य हुने र कच्चा तेल आपूर्ति सामान्य हुने अपेक्षामा सकारात्मक माहोल थियो, जसले गर्दा तेलको मूल्य पनि केही घटेको थियो । तर बिहीबार अमेरिका र इरानबीच पुनः तनाव चुलिएपछि स्थिति फेरिएको हो । अमेरिकी सेनाले तीन अमेरिकी युद्धपोतमाथि आक्रमण भएको प्रतिक्रियास्वरूप इरानी सैन्य लक्ष्यहरूमा हवाई हमला गरेको बताइएको छ । यो घटनाले एक महिनादेखि कायम रहेको युद्धविराम कमजोर बनाएको छ । इरानको सेनाले भने अमेरिका स्वयंले युद्धविराम उल्लङ्घन गर्दै तेल ट्याङ्कर र अर्को जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ । यसले दुवै देशबीचको तनाव झनै बढाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै भने,'यदि उनीहरूले सम्झौता छिट्टै गरेनन् भने हामी अझ कडा र धेरै हिंसात्मक रूपमा जवाफ दिनेछौं ।' तर पछि उनले वासिङ्टनमा बोल्दै युद्धविराम अझै कायम रहेको दाबी गरे । उनका अनुसार, 'हो, युद्धविराम छ । उनीहरूले आज हामीलाई उक्साए, हामीले कडा जवाफ दियौं ।' यो झडप त्यतिबेला भयो जब ट्रम्प प्रशासनले युद्ध अन्त्य गर्ने सम्झौता नजिक पुगिएको सङ्केत दिएको थियो र हर्मुज जलडमरूमध्य पुनः खोल्ने सम्भावना छलफलमा थियो । यो समुद्री मार्गबाट विश्वको करिब पाँच भागको एक हिस्सा तेल र ग्यास आपूर्ति हुन्छ । यस्तै, अमेरिकी प्रशासनले ‘प्रोजेक्ट फ्रीडम’ नामक कार्यक्रम पुनः सुरु गर्नेबारे विचार गरिरहेको समाचार पनि आएको छ, जसको उद्देश्य वाणिज्य जहाजहरूलाई सुरक्षित मार्ग दिने हो । तर यसले इरानसँग थप तनाव बढाएको छ । तनाव बढेसँगै कच्चा तेलको मूल्य १ प्रतिशतभन्दा बढी बढेको छ । पछिल्ला तीन दिनमा भने तेलको मूल्य करिब १० प्रतिशत घटेको थियो ।  एशियाली बजारमा पनि गिरावट देखिएको छ । दक्षिण कोरियाको शेयर बजार १ प्रतिशतभन्दा बढी घटेको छ भने टोकियो, हङकङ, सिड्नी, साङ्घाई, सिंगापुर, वेलिङ्टन, ताइपेई, मनिला र जाकार्ता जस्ता प्रमुख बजारहरू पनि ओरालो लागेका छन् । यसै क्रममा अमेरिकी वाल स्ट्रिटमा पनि गिरावट आएको छ । एस एन्ड पी ५०० र नास्डाक सूचकाङ्क रेकर्ड उच्चबाट तल झरेका छन् । विश्लेषकहरूका अनुसार लामो समयको तीव्र वृद्धि पछि यस्तो गिरावट अस्वाभाविक होइन ।  बजार विश्लेषक क्रिस वेस्टनका अनुसार, 'यो द्वन्द्व समाधानतर्फको बाटो सीधा हुँदैन भन्ने कुरा फेरि स्पष्ट भएको छ । लगानीकर्ताहरूले परिस्थिति फेरि मूल्यांकन गर्न थालेका छन् ।' यसैबीच, ब्रिटिस मुद्रा पाउन्ड पनि अमेरिकी डलरको तुलनामा कमजोर भएको छ । युकेमा भइरहेका स्थानीय चुनावका कारण पनि लगानीकर्तामा अनिश्चितता बढेको छ । जापानमा भने सरकारले हालै यन (जापानी मुद्रा) स्थिर गर्न करिब ६४ अर्ब अमेरिकी डलर बराबरको हस्तक्षेप गरेको समाचार आएको छ । यन केही समयका लागि कमजोर भएर फेरि केही सुधार देखिएको छ । अर्कोतर्फ, लगानीकर्ताहरू अब अमेरिका रोजगारी सम्बन्धी नयाँ तथ्याङ्कको प्रतिक्षामा छन्, जसले युद्ध र बढ्दो मूल्य वृद्धिको असर अर्थतन्त्रमा कस्तो परेको छ भन्ने सङ्केत दिने अपेक्षा गरिएको छ । रासस  

छहारी र ओमकार ब्रान्डको तेल उत्पादक विजय श्रेष्ठ पक्राउ

काठमाडौं । सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठ छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादक कम्पनी ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक हुन् । सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखि प्याकेजिङ गरी बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी अनुसन्धानका क्रममा तोकिएको मापदण्डभन्दा कम तौल भएको फेला परेपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ओमकार आयल इन्डस्ट्रिज ललितपुरको गोदावरी नगरपालिका वडा नं. ५ लेलेमाबाट सञ्चालक श्रेष्ठसँगै ९०५ कार्टुन तेलसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।

‘नेपाली सर्भेयर विस्थापित हुने खतरा छ’

नेपाल बीमा प्राधिकरणले ‘बीमा सर्भेयरसम्बन्धी निर्देशन, २०८२’ मार्फत विदेशी सर्भेयरलाई ८० प्रतिशतसम्म वैदेशिक लगानी गर्न पाउने व्यवस्था गरेपछि स्वदेशी सर्भेयरहरूले विरोध जनाएका छन । यसले नेपाली सर्भेयर विस्थापित हुने भन्दै उनीहरूले पुनर्विचारको माग गरेका छन् । यसै सन्दर्भ र सर्भेयर व्यवसायका चुनौतीबारे बीमा सर्भेयर संघका अध्यक्ष ऋषि कोइरालासँग विकासन्युजका लागि बबिता तामाङले  कुराकानी गरेकी छन् ।  बीमा सर्भेयर संस्थामा विदेशी लगानीको सीमा ८० प्रतिशत पुर्याउने प्राधिकरणको नयाँ व्यवस्थाले नेपाली सर्भेयर वा संस्थाहरूमा कस्तो प्रभाव पार्ला ? प्राधिकरणले हालै जारी गरेको सर्भेयरसम्बन्धी निर्देशिकाका धेरै बुँदामा हाम्रो असहमति छ । विशेषगरी विदेशी सर्भेयरलाई नेपालमा लाइसेन्स प्रदान गर्ने तथा कम्पनी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । त्यति मात्र होइन, नेपालमा दर्ता भएका विदेशी सर्भेयर संस्थालाई ८० प्रतिशतसम्म लगानी गर्न दिने प्रावधानसमेत राखिएको छ, जुन विश्वमै विरलै पाइने व्यवस्था जस्तो लागेको छ । हामी नेपाली सर्भेयरलाई प्रवर्द्धन गर्दै उनीहरूसँग सहकार्य गर्नु उपयुक्त मान्छौं । विदेशी सर्भेयरसँग आवश्यक सहकार्य गरेर अघि बढ्नुलाई पनि सकारात्मक रूपमा लिन सकिन्छ । तर विदेशी सर्भेयरलाई लाइसेन्स दिएर संस्था खोल्न लगाउने र ८० प्रतिशतसम्म लगानी गर्न दिने व्यवस्था भने नेपाली सर्भेयरलाई विस्थापित गर्ने प्रयासजस्तो देखिएको छ । यसप्रति हाम्रो गम्भीर आपत्ति छ । नेपालमा पछिल्लो समय बीमा बजार विस्तार हुँदै गएको छ । बीमा कम्पनीहरूले नागरिकलाई बीमाप्रति सचेत र आकर्षित बनाउन विभिन्न अभियान सञ्चालन गरिरहेका छन् । यस्तो अवस्थामा नियामक निकायले पनि त्यसलाई थप प्रोत्साहन गर्ने नीति लिनु आवश्यक हुन्छ । हिजोको तुलनामा आज नेपाली सर्भेयरहरू धेरै सक्षम बन्दै गएका छन् । विगतमा सीमित ज्ञान र अनुभवका आधारमा काम गरेका सर्भेयरहरूले अहिले आफ्नो दक्षता र विज्ञता प्रमाणित गर्न सक्ने अवस्थामा पुगेका छन् । यस्तो बेला नेपाली सर्भेयरलाई थप तालिम, क्षमता अभिवृद्धि र प्रवद्र्धन गर्नुपर्नेमा स्पष्ट मापदण्डबिनै विदेशी सर्भेयरलाई कहीँ काम गरेको आधारमा ८० प्रतिशत लगानी गर्न दिनु उचित होइन । यदि विदेशी सर्भेयरले नेपालमा बढी प्राथामिकता पाउने हो भने यहाँ वर्षौं काम गरेका सर्भेयरको रोजीरोटी खोसिन सक्छ । समस्या त्यहाँ छ । अहिलको निर्देशिकाले हामीलाई दुखित तुल्याएको छ । सर्भेयरसम्बन्धी निर्देशिकाका कुन-कुन बुँदामा असहमति हाे ? निर्देशिकामा सर्भेयर फीको बारमा स्पष्ट खुलाइएको छैन । हामीले वर्षौंदेखि उठाउँदै आएको विषय भनेको सर्भेयरले काम गरिसकेपछि त्यहीअनुसारको पारिश्रमिक पाउनुपर्छ भन्ने हो । २०औं वर्ष भइसक्यो, सर्भेयर फी बढ्न सकेको छैन । निर्देशिकाले सर्भेयरको पारिश्रमिक सर्भेयरले प्रतिवेदन बुझाएको ३५ दिनभित्र निजको बैंक खातामा जम्मा गर्नुपर्ने भनिएको छ । तर हामीले महिनौंसम्म पारिश्रमिक पाउँदैनौं । पारिश्रमिक पाउन वर्षौं लाग्छ।  घटना घटिसकेपछि सेटल नहुञ्जेलसम्म हामीले सर्भेयर फी पाउँदैनौँ । सेटल हुन समय लाग्छ । बीमित र बीमकको भुक्तानी सेटल भइसकेपछि मात्रै हामीले पारिश्रामिक पाउँछौं । प्राधिकरणले बीमा सर्भेयर गर्न चाहने व्यक्ति वा संस्थालाई सर्भेयरको लाइसेन्स लिन पाउने व्यवस्था गरेको छ । तर बजारमा नयाँ सर्भेयर पाइरहेका छैनन् । किनभने उनीहरूले तालिम लिएका छन् तर परीक्षा दिन पाइरहेका छैनन् । सर्भेयर पेशालाई जोगाउने दायित्व उनीहरूको पनि हो । एउटा पुस्ता गइसकेपछि अर्को पुस्ता आउनुपर्‍यो भन्ने हाम्रो धारणा हो । प्राधिकरणले सर्भेयर पेशा गर्न लाइसेन्स लिनेदेखि तालिम, परीक्षा लिनुपर्ने व्यवस्था निर्देशिकामार्फत गरेका छ । नियमालीले बीमाा सर्भेयर भई काम गर्न ३६ घण्टाको आधारभूत तालिम लिनुपर्ने भनिएको छ । त्यस्तै, नवीकरण गर्दा पनि १५ घण्टाको तालिम लिनुपर्ने व्यवस्था छ । तर निर्देशिकामा तालिम कोसँग कसरी लिने भन्ने स्पष्ट खुलाइएको छैन । यो विषयमा सर्भेयर संघले प्राधिकरणसँग वार्ता गरेर त्यसलाई चाँडै समाधान निकाल्छौं । निर्देशिकामा सर्भेयरले पालना गर्नुपर्ने काम, कर्तव्य र दायित्वबारे विभिन्न व्यवस्था गरिएको छ । ती विषयमा हामी सचेत छौं र आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध पनि छौं । तर सर्भेयर कार्य प्राविधिक प्रकृतिको क्षेत्र भएकाले मूल्यांकनका क्रममा दायित्व निर्धारणमा केही फरक पर्न सक्छ । यस्तो प्राविधिक विषयलाई आधार बनाएर सिधै जेल सजायसम्मको व्यवस्था गर्नु उपयुक्त हुँदैन भन्ने हाम्रो माग हो । हामीले कुनै फौजदारी अपराध वा कसैको हत्या गरेका होइनौं । कामको क्रममा कमजोरी वा त्रुटि भए दण्डित हुनु स्वाभाविक हो र साँच्चिकै दोषी ठहरिए कारबाही हुनुपर्छ भन्नेमा हामी सहमत छौं । तर काम गरेको आधारमै जेल जानुपर्ने मानसिकता राखियो भने भविष्यमा यस्तो क्षेत्रमा काम गर्न मानिस नै नबस्ने अवस्था सिर्जना हुन सक्छ । नेपालमा विदेशी सर्भेयरहरूको उपस्थिति कति छ, कुन-कुन क्षेत्रमा बढी छ ? हालसम्म नेपालमा विदेशी सर्भेयरको उपस्थिति धेरै देखिएको छैन । पुनर्बीमा वा बाहिरबाट विशेषज्ञता आवश्यक परेको अवस्थामा मात्रै विदेशी सर्भेयर नेपाल आउने गरेका छन् । विशेषगरी ठूलो भूकम्प, बाढी जस्ता विपद्का समयमा नेपाली सर्भेयरको क्षमता र संख्या अपुग हुँदा विदेशी सर्भेयरको सहभागिता बढी देखिने गरेको छ । नेपालमा अहिले कति विदेशी सर्भेयर कार्यरत छन् भन्ने यकिन तथ्यांक भने हामीसँग छैन । तर मैले देखेसम्म केही विदेशी सर्भेयर संयुक्त लगानी (जोइन्ट भेञ्चर) मार्फत काम गरिरहेका छन् । विशेषगरी बाह्य लगानी वा अन्तर्राष्ट्रिय फन्डिङ भएका ठूला परियोजना तथा विदेशमै बीमा गरिएका परियोजनासँग सम्बन्धित काममा विदेशी सर्भेयर नेपाल आउने गरेका हुन् । नेपालमा विदेशी सर्भेयर आवश्यक छ ?  नेपालमा पर्याप्त सर्भेयर छन् । सबैले एकदमै प्रष्ट रूपमा काम गरिरहेका छन् । हामीले कयौं विपत्तिहरू खेपिसकेका छौं, अनुभव पनि भइसकेको छ । धेरै सर्भेयरले ठूला प्रोजेक्टहरू ह्यान्डल गरिसक्नुभएको छ । नेपाली सर्भेयरले विदेशमा समेत गएर काम गरिरहेको अवस्थामा विदेशी सर्भेयर आवश्यक छ जस्तो मलाई लाग्दैन । तर, उहाँहरू आउनै हुँदैन भन्ने होइन । उहाँहरूबाट पनि हामीले धेरै कुरा सिक्न सक्छौं । तर, यहाँका सर्भेयरलाई विस्थापित नै गरेर विदेशी सर्भेयर आउनुपर्छ भन्ने मान्यता होइन । उहाँहरूको सीप, ज्ञान, क्षमता ट्रान्सपर गर्नुपर्छ भन्ने भनाइ हो । कतिपय अवस्थामा विदेशी सर्भेयर आउनुपर्ने हुन सक्छ । तर विदेशी सर्भेयरलाई नै बढी प्राथमिकता दिन थालियो भने भोलि हामीलाई अप्ठ्यारो पर्दैन भन्न सकिन्न । विदेशी सर्भेयरलाई बढी विश्वास गर्ने प्रवृत्ति किन देखिन्छ ? नेपाली सर्भेयरहरूमाथि विश्वास नभएको होइन, छ । अहिले पनि बजारमा धेरै नेपाली सर्भेयरले काम गरिरहनुभएको छ । नेपाली सर्भेयरहरूमाथि गरेको विश्वासले नै आज उहाँहरू टिकिरहनुभएको छ । तैपनि नेपाली सर्भेयरभन्दा विदेशी सर्भेयरलाई बढी विश्वास गर्ने प्रवृत्ति नभएको होइन । हामीलाई अझ बढी विश्वास हुनपर्ने हो किनभने हामी यहीँको स्थानीय भएकाले धेरै कुरा थाहा हुन्छ । यहाँको कन्सट्रक्सन, भौगोलिक अवस्था, वातावाराण, सामाजिक अवस्थालाई हामीले नजिकैबाट नियालिरहेका हुन्छौं । विदेशी र स्थानीय सर्भेयरबीच असमान व्यवहार वा विभेद छ ? पारिश्रमिको विभेद छ । हामीले एउटै बनाउन खोजिरहेका छौं । तर विदेशी सर्भेयरको छुट्टै हुन्छ । उनीहरुको छुट्टै रिइन्स्योरेन्स र बीमा कम्पनीहरूले तोकिदिएको मापदण्डमा काम गर्नुहुन्छ । हामी पनि बाहिर गयौं भने त्योअनुसारको पेमेन्ट हुन्छ । कुरा पेमेन्टको मात्रै नभएर विदेशी सर्भेयर यहाँ छिरेर नेपाली सर्भेयर विस्थापित हुन्छ कि भन्ने हाम्रो चिन्ता हो । उहाँहरू एउटा कामले आउनुभयो, काम सकाएर जानुभयो, भने ठीक छ । तर, हामीलाई नै विस्थापित हुनेगरी आयो भने फरक हुन जान्छ । सर्भेयर क्षेत्रमा देखिएका मुख्य समस्या वा चुनौतीहरू के-के छन् ? नेपालमा हाल ५ सय देखि एक हजारको हाराहारीमा सक्रिय सर्भेयर छन् । लाइसेन्स लिने सर्भेयर भने धेरै छन् । सबै सर्भेयरले काम पाइरहेका छैनन् । त्यसलाई कसरी समाधान गर्ने भन्ने मुख्य चुनौती छ । हुन त निर्देशिकाले सर्भे गर्न पाउने सीमा तोकिदिएको छ । निर्देशिकाअनुसार कुनै व्यक्तिगत सर्भेयरले बढीमा ५ वटा र संस्थागत सर्भेयरले बढीमा १० वटासम्म काम गर्न पाउने भन्ने व्यवस्था छ । तर यो व्यवस्थाअनुसार चलेको छैन । यहाँ कसैको काम भ्याइनभ्याई कोही खाली हात बसेको अवस्था छ । हामीले सबैले काम पाउनुपर्यो भनिरहेका छौं । सर्भेयरको लाइसेन्स दिएर मात्रै हुँदैन, काम पनि दिनुपर्छ भन्नेमा लागिरेहका छौं । अहिले सर्भेयरको लाइसेन्स नवीकरण गर्नलाई पनि तालिम लिनुपर्ने भनेर आएको छ । तर यसको मोडल तयार भएको छैन, कसरी जाने भनेर यो हाम्रो लागि चुनौती नै छ । पहिले लाइसेन्स लिइसकेपछि जुनसुकै क्षेत्रको क्षति मूल्यांकन गर्न पाउने व्यवस्था थियो । अहिले प्राधिकरणले कामको आधामा पोर्टफिलियो छनोट गरी एउटै मात्र क्षेत्रमा काम गर्न निर्देशन दिएको छ । यो व्यवस्थाले पुराना सर्भेयरलाई समस्या भएको छ । पुरानो सर्भेयर जसले सबै क्षेत्रमा काम गर्दै आइरहेको छ अहिले आएर एउटा मात्रै क्षेत्रमा जाउ भन्नुभन्दा त्यसलाई व्यवस्थित बनाउनुपर्छ । यो व्यवस्था नयाँ सर्भेयरलाई ठीक छ । अर्को चुनौती सर्भेयर काम गर्न पनि ठेकेदारी पेशाजस्तो भएको छ । हामी व्यवसायिक र मापदण्डअनुसार सर्भेयर बन्छौं । तर मान्छेहरूले ब्यागग्राउण्डमा बसेर ठेक्का जस्तो लिएर काम गरिरहेका छन् । उदाहरणको रूपमा १० प्रतिशत सर्भेयरलाई सेयर दिएर ९० प्रतिशत अरू नै कम्पनीको मान्छेले काम गरिरहेका छन्, ती सर्भेयर होइनन् । यसले थप चुनौती थपिएको छ । सर्भेयर क्षेत्र सुधारका लागि के-कस्ता नीतिगत सुधार आवश्यक छन् ? सम्पूर्ण सर्भेयरहरूको हकहितको लागि भनेर स्थापना भएको संस्था सर्भेयर संघले यो क्षेत्रको सुधारको लागि पहल गरिरहेका छौं । संस्थामा नयाँ छु ।  नेतृत्व लिएको १ महिना मात्रै भयो । हामीले सदस्यहरूलाई तालिमको व्यवस्था गर्ने योजना बनाएका छौं । सर्भेयरलाई तालिमप्राप्त बनाएर बजारमा ल्याउने हाम्रो योजना छ । ​​​​एकैचोटी हुँदैन, अब थालनी गछौं । त्यस्तै, सबै सर्भेयरलाई काम पाउनेगरी सम्बन्धित निकायसँग समन्वय गछौं । सर्भेयर शुल्कलाई कसरी बढाउन सकिन्छ त्यो विषयमा पनि हाम्रो ध्यान छ । हामी त्यसमै लागिरहेका छौं । समन्वय गर्ने भनेको बीमा प्राधिकरण त्यसपछि बीमक संघ, बीमा कम्पनीहरू र ग्राहकहरूसँग हो । हाम्रो छलफल हुने नै छ । उहाँहरूको सहयोगबिना हामी अगाडि बढ्न सक्दैनौं ।

सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबारको तुलनामा स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँ र चाँदी १२० रुपैयाँले बढेको हो ।       नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २७५ रुपैयाँ कायम भएको छ । हिजो बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातु पाँच हजार १५५ रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो  ।      अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।