काठमाडौं । रूपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका–५ को भरवालिया गाउँका बासिन्दा वर्षौंदेखि आधारभूत पूर्वाधार र सेवाको अभावमा कष्टकर जीवन बिताउन बाध्य छन् ।
नदीमा पक्की पुल नहुँदा नजिकै रहेको बस्तीमा पुग्नसमेत घण्टौँ खर्चिनुपर्ने अवस्था छ । पाँच मिनेटमा पार गर्न सकिने नदी तर्न स्थानीयले ५० देखि ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता छ । गाडीमा जाँदासमेत डेढदेखि दुई घण्टा घुम्नुपर्ने अवस्था रहेको छ ।
नदीको वारि र पारि रहेका बस्तीका बासिन्दालाई आवतजावत गर्न मात्रै होइन, खेतीपाती गर्न, कृषि उपज ओसारपसार गर्न तथा दैनिक जीवनयापन गर्नसमेत निकै समस्या हुने गरेको छ । गाउँमा सडक, खानेपानी, विद्युत्, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सुविधाको सहज पहुँचसमेत नपुगेको स्थानीयको गुनासो छ ।
स्थानीय जमेरुन निशा, जेलिल देवान, नुरुद होदा मुसलमान र बेचन हरिजनले वर्षौंदेखि आफूहरूले दुःख भोग्दै आए पनि समस्या समाधानका लागि सम्बन्धित निकायले पर्याप्त चासो नदिएको बताए । उनीहरूका अनुसार गाउँमा न सिधा सडक छ, न सहज आवागमनको व्यवस्था । शिक्षा र स्वास्थ्य सेवाका लागि समेत सहज पहुँच नहुँदा स्थानीयले अनेक कठिनाइ झेल्नुपरेको छ ।
स्थानीयका अनुसार विसं २०३२ मा बाढी पसेपछि एउटा गाउँ खोला वारि र पारि छुट्टिएको हो । गाउँ विस्थापित हुँदा बस्तीलाई पुरानो स्थानबाट करिब एक किलोमिटर टाढा सार्नुपरेको थियो । त्यसपछि पनि प्राकृतिक विपत्तिको जोखिम र पूर्वाधार अभावले गाउँलेको जनजीवन सहज हुन सकेको छैन ।
विसं २०६० मा तत्कालीन वडा नम्बर ५ अन्तर्गतको मंगलपुर गाउँमा भएको आगलागीले पाँच जनाको मृत्यु भएको थियो भने ठूलो क्षति पुर्याएको स्थानीयले स्मरण गरेका छन् । आगलागीका बेला उद्धार र उपचारको पर्याप्त व्यवस्था नहुँदा पीडा भोग्नुपरेको तथा परिवारका सदस्यसमेत गुमाउनुपरेको उनीहरूको भनाइ छ । विपत्तिका बेला आवश्यक सहयोग नपाएको र त्यसपछि पनि आफूहरूको अवस्था बुझ्न तथा समस्या समाधान गर्न कोही नफर्किएको स्थानीयको गुनासो छ ।
‘वर्षौंदेखि दुःख भोगिरहेका छौँ । गाउँमा सिधा बाटो छैन, शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच छैन । नदीपारि जानुपर्दा लामो बाटो घुम्नुपर्छ । हाम्रो समस्या सुन्ने र समाधान गर्ने कोही भएन,’ खेतमा बदाम खन्दै गरेका स्थानीय राजेन्द्र गुप्ताले भने ।
तिनाउ–दानव नदीमा एउटा झोलुङ्गे पुल भए पनि त्यसबाट सवारीसाधन लैजान सकिने अवस्था छैन । त्यसैले नदीको अर्को किनारमा रहेका खेतबारीमा पुग्न किसानलाई कठिनाइ हुने गरेको छ । खेतमा बाली लगाउनेदेखि स्याहार्ने र उत्पादन भित्र्याउने बेलासम्म किसानले अतिरिक्त समय, श्रम र खर्च व्यहोर्नुपरेको छ । बीउबिजन, पानी तथा कृषि सामग्री ओसारपसार गर्नसमेत समस्या हुने गरेको उनीहरूको भनाइ छ ।
पक्की पुल बने ५० हजार मानिस लाभान्वित हुने दाबी
स्थानीय अगुवा वाजिद अली देवानले भरवालिया गाउँको आवागमन सहज बनाउन सडक निर्माणका लागि पहल गर्दै आएको बताए । उनका अनुसार नदीमा पक्की पुल निर्माण हुन सके भरवालियासहित बुद्ध जन्मस्थल लुम्बिनी आसपासका क्षेत्रका करिब ५० हजार मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।
‘एउटा पक्की पुल र सिधा सडक निर्माण हुन सके यहाँका नागरिकले भोग्दै आएको ठूलो समस्या समाधान हुन्छ । किसानलाई खेतबारीमा पुग्न, कृषि उपज बजारसम्म पुर्याउन र बिरामीलाई उपचारका लागि लैजान सहज हुन्छ,’ स्थानीय अगुवा देवानले भने ।
उनका अनुसार पुलको अभावले स्थानीयको समय र खर्च मात्रै बढाएको छैन, शिक्षा, स्वास्थ्य, कृषि र आर्थिक गतिविधिमा समेत असर पारेको छ । सहज सडक सञ्जाल नहुँदा गाउँको समग्र विकास प्रभावित भएको उनको भनाइ छ ।
यस वडामा करिब ६ हजार ५०० जनसङ्ख्या छ भने पालिकाभर ४३ हजार जनसङ्ख्या रहेको छ । उनले यहाँको वास्तविक अवस्थाबारे वर्तमान सरकार, पूर्वाधारमन्त्री सुनिल लम्सालसहित यस क्षेत्रका संघीय सांसद कन्हैया वनिया र तैफिक अहमदलाई समेत भेटेरै जानकारी गराइएको बताए । यो क्षेत्र रूपन्देही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्दछ ।
चुनावी आश्वासनमा सीमित छ यहाँको विकास
स्थानीयले चुनावका बेला विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता घरदैलोमा पुगेर विकासका आश्वासन दिने गरे पनि व्यवहारमा अपेक्षित परिवर्तन नआएको गुनासो गरेका छन् । स्थानीयका अनुसार राजनीतिक नेतृत्व विभिन्न पदमा पुगे पनि भरवालियाको सडक, पुल र आधारभूत सेवासम्बन्धी समस्या समाधान हुन सकेको छैन ।
मर्चवार क्षेत्रका विभिन्न बस्तीमा पूर्वाधार विकासको आवश्यकता रहेको उल्लेख गर्दै स्थानीयले भरवालियाको समस्यालाई प्राथमिकतामा राख्न माग गरेका छन् । खासगरी उनीहरूले तिनाउ–दानव नदीमा पक्की पुल निर्माण, सडकको स्तरोन्नति तथा शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । उनीहरूको मुख्य पेसा नै खेतीकिसानी र मजदुरी रहेको छ ।
स्थानीयका लागि पक्की पुल केवल नदी वारपार गर्ने संरचना मात्रै होइन, वर्षौंदेखि भोग्दै आएको सास्तीबाट मुक्ति पाउने आशा पनि हो । पुल निर्माण भए किसानलाई खेतीपाती गर्न, बालबालिकालाई विद्यालय जान, बिरामीलाई अस्पताल पुर्याउन र गाउँका बासिन्दालाई दैनिक कामकाज गर्न सहज हुने स्थानीय नन्दलाल हरिजनको भनाइ छ ।
वर्षौंदेखि विकासको प्रतीक्षामा रहेको भरवालियाका बासिन्दाले अब आश्वासनभन्दा कामको अपेक्षा गरेका छन् । आधारभूत सेवाको समेत सहज पहुँच नभएको यो गाउँमा सरोकारवालाको ध्यान समयमै जान जरुरी देखिन्छ ।