३ वर्षको साधारण सभा एकैपटक, सेयरधनीलाई हकप्रद सेयर
काठमाडौं । थ्रीस्टार हाइड्रोपावरले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक बोलाएको छ । कम्पनीको सञ्चालक समितिको असोज २ गते बसेको बैठकले नवौँ, दशौँ र एघारौँ वार्षिक साधारण सभा असोज २७ गते बिहान १० बजे काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बोलाउने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ का लागि सञ्चालक समिति र लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । यस्तै, कम्पनीको ठेगाना परिवर्तन गर्ने, पुँजी संरचना परिवर्तन गर्ने, हकप्रद सेयर खरिदसम्बन्धी हक हस्तान्तरण गर्ने तथा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव सभामा पेस हुनेछ । कम्पनीले एक सेयर बराबर एक सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत सभामा पेस गर्नेछ । प्रस्तावित संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल, सुझाव वा निर्देशन प्राप्त भएमा त्यसको कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । सभाले एक महिलासहित तीन जना सञ्चालकको निर्वाचन गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका सेयरधनीले साधारण सभामा सहभागी हुन सक्नेछन् ।
लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले असोज २८ गते डाक्यो साधारण सभा
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज २ गते बसेको बैठकले असोज २८ गते बिहान ११ बजे कास्कीको पोखरास्थित होटल पोखरा ग्रान्डमा २८औँ वार्षिक साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १२ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँको ३ प्रतिशतका दरले ३६ करोड २५ लाख ८६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ३ प्रतिशतका दरले ३६ करोड २५ लाख ८६ हजार रुपैयाँ नगद गरी कुल ६ प्रतिशत अर्थात् ७२ करोड ५१ लाख ७२ हजार रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनीहरू माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे सेक्युरिटिजको वित्तीय विवरणसहित बैंकको एकीकृत वित्तीय विवरण पारित गर्नेछ । सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको नियुक्तिका शर्त र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ । अग्राधिकार सेयरधनीलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर पुँजी ३ अर्ब रुपैयाँको ८.२५ प्रतिशतका दरले सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असारसम्म समानुपातिक रूपमा हुन आउने ७ करोड ४५ लाख ८९ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले स्वतन्त्र सञ्चालक पदमा चार वर्षका लागि अर्जुनकुमार गौतमलाई नियुक्त गरिएको निर्णय अनुमोदन गर्नेछ । यस्तै, संस्थापक समूहका सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना र सर्वसाधारण समूहका सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको बाँकी कार्यकालका लागि निर्वाचन गर्नेछ । बोनस सेयर वितरणपछि कायम हुने बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्रका सम्बन्धित दफा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । साथै, सञ्चालक समितिको बैठकसम्बन्धी बैंकको नियमावलीमा आवश्यक संशोधन गर्ने तथा सञ्चालकहरूको पारिश्रमिक, भत्ता र सुविधासम्बन्धी नियममा रहेका विद्यमान व्यवस्था हटाउने प्रस्तावसमेत सभामा पेस गरिनेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले उक्त दिनभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
आज संविधान दिवस मनाइँदै
काठमाडौं । आज संविधान दिवस मनाइँदै छ । २०७२ साल असोज ३ गते संविधान सभाबाट संघीयतासहितको नेपालको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ । संविधान दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । काठमाडौंमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहने गरेको छ । संविधान दिवसका अवसरमा प्रदेश तथा स्थानीय सरकारले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् । यस्तै, गणतन्त्रवादी राजनीतिक दल, विभिन्न संघसंस्था तथा नागरिकस्तरबाट समेत छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी दिवस मनाइँदै आएको छ । दिवसको अवसरमा विभिन्न राजनीतिक दलका नेता तथा अन्य विशिष्ट व्यक्तिहरूले शुभकामना सन्देशसमेत जारी गरेका छन् ।
एन्फाका कोषाध्यक्ष जोशी र लेखापाल पाण्डे पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र लेखापाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ । कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सन्जिव पाण्डेलाई सीआईबीले नियन्त्रणमा लिएको हो । एन्फामा आर्थिक अनियमितता गरेको आरोपमा सीआईबीले अनुसन्धान थालेको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले बताए । शुक्रबार दिउँसो एन्फा कार्यालय सातदोबाटोमा गएर सीआईबीले कागजात, कम्प्युटर र मोबाइल पनि बरामद गरेको प्रवक्ता जबराले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवै जनालाई सीआईबीको कार्यालय लाजिम्पाट लगिएको छ । सोधपुछ भइरहेको र आवश्यक परे हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने सीआईबीको तयारी छ ।
बाढी पीडितका लागि होटल पौवाको ११ लाख सहयोग
काठमाडौं । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ । होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले भोटेकोशी बाढीपछिको विपद्को समयमा राहत र पुनस्र्थापनाका लागि होटल पौवाले राहत कोषमा सहयोग गरेकोमा आभार व्यक्त गरे । उनले विपद् बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्रबाट हुने सहयोग महत्वपूर्ण हुने बताए । होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले सबै पौवाका सञ्चालक, व्यवस्थापक र कर्मचारीहरूले समेत आफ्नो तर्फबाट रकम संकलन गरी विपद्मा परेको देशलाई सहयोग गरेको बताए । ‘रकम ठूलो नभए पनि अहिले देश महाविपत्तिको अवस्थाबाट गुज्रिरहेका बेला हाम्रो सानो सहयोगले पनि प्रभावित नागरिकका लागि केही राहत पुग्ने विश्वास गरेका छौँ,’ ज्ञवालीले भने । होटल पौवाले व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो कार्यक्षेत्रको महत्वपूर्ण हिस्सा मान्दै आएको जनाएको छ । विपद्, सामाजिक सेवा तथा समुदायसँग सम्बन्धित विभिन्न गतिविधिमा पौवाले यसअघि पनि सहयोग गर्दै आएको छ । चेक हस्तान्तरण कार्यक्रममा होटल पौवाका सञ्चालक समितिका सबै सदस्यहरूको उपस्थिति रहेको थियो ।
प्रहरी र सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । प्रहरी र नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वी नवलपरासी, देवचुली नगरपालिका-७ घर भई हाल काठमाडौं, बूढानीलकण्ठ बस्ने ३८ वर्षीय मोहन केसी भन्ने राज श्रेष्ठ रहेका छन् । उनलाई शुक्रबार पक्राउ गरिएको हो । श्रेष्ठविरुद्ध प्रहरी र आर्मीमा जागिर लगाइदिन्छु भन्दै २७ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ । इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपश्चात् उनी फरार रहेका थिए ।
भोटेकोशी बाढी उद्धारमा खटिएका दुई नेपालीलाई जेसीबी इन्डियाले गर्यो सम्मान
काठमाडौं । नेपालमा हालै आएको भोटेकोशी बाढीका क्रममा उद्धार कार्यमा महत्त्वपूर्ण योगदान पु‍र्याएका दुई नेपाली ग्राहकलाई जेसीबी इन्डियाले सम्मान गरेको छ । जेसीबी इन्डियाले ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारीलाई भारतमा आयोजित ‘बाउमा कन्एक्सपो इन्डिया २०२६’ को जेसीबी प्याभिलियनमा सम्मान गरेको हो । उनीहरूलाई जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले व्यक्तिगत रूपमा सम्मान गर्दै उद्धार कार्यमा पु‍र्याएको योगदानको प्रशंसा गरे । राउत र अधिकारीले जेसीबी २२१ ट्र्याक्ड एक्साभेटरसहित अन्य मेसिन प्रयोग गरी त्रिशूली–३ए आयोजनास्थलमा धेरै दिन उद्धार कार्यमा खटिएका थिए । उनीहरूको प्रयासबाट बाढीका कारण आयोजनास्थलमा फसेका दुई जनालाई जीवितै उद्धार गर्न सम्भव भएको कम्पनीले जनाएको छ । सम्मान कार्यक्रममा जेसीबी इन्डियाका सीईओ शेट्टीले विपत्तिको समयमा राउत र अधिकारीले देखाएको साहसलाई प्रशंसा गर्दै यसलाई ‘नेपालमा देखिएको जस्तो विपत्तिमा समेत आशा जगाउने कथा’का रूपमा उल्लेख गरे । उनले यति ठूलो साहसिक कार्य गरे पनि दुवै जना अत्यन्तै सरल र विनम्र रहेको बताए । यसैबीच, नेपालमा बाढीपछि उद्धार, राहत तथा पुनर्निर्माणका लागि प्रयोग भइरहेका जेसीबी मेसिनलाई लक्षित गरी एमएडब्लू अर्थमुभर्सले विशेष निःशुल्क सर्भिस क्याम्प सञ्चालन गरिरहेको छ । जेसीबी वाओ सर्भिस गाडीमार्फत नुवाकोट र धादिङमा उद्धार, राहत तथा पुनःनिर्माणमा खटिएका मेसिनलाई सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ । जोखिमपूर्ण परिस्थितिमा उद्धार तथा पुनःनिर्माणमा खटिएका मेसिन अपरेटरहरूलाई कम्पनीले सुरक्षा किटसमेत वितरण गरेको छ । नेपाल पुनःस्थापना तथा पुनर्निर्माणको चरणमा अघि बढिरहेको अवस्थामा आफ्ना ग्राहक तथा अपरेटरलाई आवश्यक सहयोग उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको एमएडब्लू अर्थमुभर्सले जनाएको छ । एमएडब्लू अर्थमुभर्स नेपालमा जेसीबी निर्माण तथा अर्थमुभिङ उपकरणको आधिकारिक डिलर हो । हाल कम्पनीका ३० भन्दा बढी शाखा र २०० भन्दा बढी सर्भिस इन्जिनियरमार्फत देशभर १२ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाइएको छ । कम्पनीले नेपालमा २३ वर्षभन्दा बढी समयदेखि सेवा दिँदै आएको छ ।
बालबालिकाको संरक्षणका लागि परिषद् र एमआईटी ग्रुप फाउन्डेसनबीच समझदारी
काठमाडौं । भोटेकोशी र त्रिशूली बाढीबाट आमाबाबु गुमाएका, बेपत्ता भएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य सुरक्षित गर्न राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेको अध्यक्षतामा रहेको एमआईटी ग्रुप फाउन्डेसन कम्पनी बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको परिषद् र कम्पनीबीच भएको समझदारीले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकाको पारिवारिक हेरचाह, शिक्षा र दीर्घकालीन संरक्षणमा सहयोग पुर्याउने लक्ष्य राखेको छ । समझदारीपत्रमा परिषद्का सदस्य–सचिव दुर्गा प्रसाद चालिसे र कम्पनीका अध्यक्ष शेष घलेले हस्ताक्षर गरेका छन् । सहयोगका लागि आमाबाबु दुवै वा एक जना गुमाएका वा बेपत्ता भएका तथा आर्थिक र सामाजिक रूपमा जोखिममा रहेका १८ वर्षमुनिका बालबालिकालाई प्राथमिकतामा राखिएको छ । बालबालिकालाई सुरक्षित पारिवारिक वातावरणमा हुर्कन सहयोग गरिनेछ । परिवार तथा नातेदारमार्फत हुने हेरचाहलाई प्राथमिकता दिइनेछ भने संस्थागत हेरचाहलाई अन्तिम विकल्पका रूपमा लिइनेछ । प्रत्येक बालबालिकाको आवश्यकता मूल्याङ्कन गरी व्यक्तिगत बाल शिक्षा तथा कल्याण योजना तयार गरिनेछ । सोही योजनाका आधारमा शिक्षा, शैक्षिक सामग्री, स्वास्थ्य तथा बीमा, पोषण, जीवनयापन, यातायात र मनोसामाजिक सहयोग उपलब्ध गराइनेछ । स्वीकृत योजनाअनुसार बालबालिकाको कक्षा १२ सम्मको अध्ययनलाई निरन्तरता दिन आवश्यक सहयोग गरिने समझदारीमा उल्लेख छ । परियोजना अवधिभर कम्पनीबाट उपलब्ध हुने बजेटको अधिकतम सीमा ५७ करोड ८५ लाख रुपैयाँ तोकिएको छ । उक्त रकम स्वतः प्रदान गरिने निश्चित अनुदान नभई प्रमाणित आवश्यकता र स्वीकृत व्यक्तिगत योजनाका आधारमा निर्धारण तथा विनियोजन गरिनेछ । सरकारी छात्रवृत्ति तथा अन्य सहयोगलाई समेत ध्यानमा राखी सहयोग दोहोरो नपर्ने व्यवस्था मिलाइनेछ ।लाभग्राहीको पहिचान र प्रमाणीकरण स्थानीय तहको सहजीकरणमा परिषद्मार्फत हुनेछ । परिषद्ले समन्वय, सहजीकरण र बाल संरक्षणसम्बन्धी भूमिका निर्वाह गर्नेछ भने एमआईटी ग्रुप फाउन्डेसन कम्पनीले वित्तीय तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ । दुवै पक्षले बालबालिकाको शैक्षिक प्रगति, स्वास्थ्य, संरक्षण र सहयोगको उपयोगबारे नियमित अनुगमन तथा समीक्षा गर्नेछन् । समझदारी हस्ताक्षर भएको मितिदेखि बढीमा १८ वर्षसम्म कायम रहनेछ र दुवै पक्षको सहमतिमा आवश्यकताअनुसार नवीकरण गर्न सकिनेछ । सहकार्यमा बालबालिकाको सर्वोत्तम हित, सम्मान, सुरक्षा, गोपनीयता तथा सहयोगको पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिइएको छ ।