विकासन्युज

सामुदायिक वनमा ३९ लाख हिनामिना, पूर्व पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहमा आर्थिक अनियमितता भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वन उपभोक्ता समूहमा भएको लाखौं रुपैयाँ हिनामिना प्रकरणमा समूहका पूर्व पदाधिकारी तथा लेखापरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७२/७३ देखि २०७८/७९ सम्म झाडी सफाइ, अग्नि रेखा निर्माण, खरघाँस रोपण, वृक्षारोपण, वनहेरालुको तलब, भैँसी तथा बाख्रा पालन, डढेलो नियन्त्रण र मौरीघारलगायत शीर्षकमा नक्कली बिल तथा भरपाई तयार गरी वनको आम्दानी हिनामिना गरिएको आरोपमा सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । अख्तियारका अनुसार काठ बिक्रीबाट प्राप्त आम्दानीलाई काम नै नभएका शीर्षकमा खर्च भएको देखाई झुट्टा विवरण तयार पारिएको थियो । अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्म विभिन्न अवधिमा गरी कुल ३९ लाख १२ हजार ५६० रुपैयाँ ८४ पैसा हिनामिना भएको निष्कर्ष निकालिएको छ । आयोगले तत्कालीन अध्यक्ष, सचिव र कोषाध्यक्षलाई विभिन्न आर्थिक वर्षमा भएको हिनामिनाअनुसार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कैद, जरिवाना र बिगो असुलउपरको मागदाबी गरेको छ । यस्तै, लेखापरीक्षण प्रतिवेदनमार्फत अनियमिततालाई वैधता दिएको आरोपमा दुई जना रजिष्टर्ड लेखापरीक्षकविरुद्ध पनि सोही ऐनको दफा १९(१) बमोजिम मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

जीवन बीमा कम्पनीको नयाँ व्यापार चम्कियो, एक वर्षमा ४९ अर्बमाथि संकलन

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरूको नयाँ व्यापारमा उत्साहजनक प्रगति देखिएको छ ।  नेपाल बीमा प्राधिकरणले सोमबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले एक वर्षमा ४९ अर्ब ४० करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क (नयाँ व्यापार) संकलन गरेका छन् । अघिल्लो आव २०८१/८२ मा कम्पनीहरूले ४० अर्ब १७ करोड ६० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो आवको तुलनामा बीमा कम्पनीहरूको नयाँ व्यापार २२.९७ प्रतिशतले बढेको छ । १ वर्षको अवधिमा सबैभन्दा धेरै नयाँ व्यापार भित्र्याउनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले एक वर्षमा १३ अर्ब ७ करोड ९२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २४.६२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले १० अर्ब ४९ करोड ५१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो । दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले एक वर्षको अवधिमा ६ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ५ अर्ब ८४ करोड ९३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको नयाँ व्यापार १८.७३ प्रतिशतले बढेको छ । तेस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले एक वर्षमा ३ अर्ब ७४ करोड ५५ लाख रुपैयाँ संकलन गरेको छ । कम्पनीले अघिल्लो आवमा ३ अर्ब ६ करोड ९१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको नयाँ व्यापार २२.०४ प्रतिशतले बढेको छ । त्यसैगरी, १ वर्षमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल) ले ३ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब १० करोड ७७ लाख रुपैयाँ, हिमालयन लाइफले २ अर्ब ९३ करोड २६ लाख रुपैयाँ, आइएमई लाइफले २ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ, एसियन लाइफले २ अर्ब ७१ करोड ० लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले २ अर्ब २७ करोड ३८ लाख रुपैयाँ नयाँ बीमा शुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा एलआईसी नेपालको नयाँ व्यापार १६.४३ प्रतिशत, सिटिजन लाइफको ४२.२७ प्रतिशत, हिमालयन लाइफको ४.६० प्रतिशत, आइएमई लाइफको ६४.९८ प्रतिशत, एसियन लाइफको २६.५२ प्रतिशत, सानिमा रिलायन्स लाइफको १९.८६ प्रतिशत र रिलायबल नेपाल लाइफको ३८.७४ प्रतिशत नयाँ व्यापार बढेको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफले २ अर्ब १५ करोड २० लाख रुपैयाँ, मेट लाइफले १ अर्ब ६४ करोड ११ लाख रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ३७ करोड ६ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ७९ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा प्रभु महालक्ष्मी लाइफको  नयाँ व्यापार ३४.६१ प्रतिशत, मेट लाइफको १३.१७ प्रतिशत र सन नेपाल लाइफको १७.७४ प्रतिशतले बढेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको भने नयाँ व्यापार २६.२६ प्रतिशतले घटेको छ ।

अनसनरत नर्सका प्रतिनिधिसँग मन्त्रालयमा वार्ता सुरु

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको छ ।  सरकारले नर्सहरूको सेवासुविधावारे पटक पटक सहमति जनाए पनि कार्यान्वयन हुन नसकेको भन्दै नर्स रानाभाट अनसन बसेपछि मन्त्रालयले वार्ता सुरु गरेको हो ।  अनशनको पाँचौं दिन मन्त्रालयमा भएको वार्तामा रानाभाटको तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी छन् भने मन्त्रालयको तर्फबाट स्वास्थ्य सचिव डा. विकास देवकोटा, अतिरिक्त सचिव डा. संगीता मिश्र, मन्त्रीका प्रमुख सल्लाहकार डा. मनोहर प्रधान तथा कानुन शाखाका प्रतिनिधिहरू सहभागी भएका छन् ।  रानाभाटले लामो समयदेखि उठाउँदै आएका मागहरूबारे सहमतिमार्फत समाधान खोज्ने विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।  जारी बैठकमा दुवै पक्षबीच सहमति जुटाउने प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत नेत्रहीन महिला संघ नेपालका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । कम्पनीले रोटरी क्लब अफ हिमालयन गल्फर्ससँगको सहकार्यमा साउन १७ गते आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक अध्ययन सामग्री हस्तान्तरण गरेको हो । शिक्षा तथा सामाजिक उत्थानमा योगदान पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा कम्पनीकी नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्यको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा नेत्रहीन महिला संघ नेपालका विद्यार्थीहरू प्रत्यक्ष सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले शिक्षा समाज रूपान्तरणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको बताइन् । आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरिन् । कार्यक्रममा रोटरी क्लब अफ हिमालयन गल्फर्सका पदाधिकारी, नेत्रहीन महिला संघ नेपालका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । अध्ययन सामग्री प्राप्त गरेका विद्यार्थीहरूले सहयोगप्रति आभार व्यक्त गर्दै यसले आफ्नो अध्ययनलाई थप सहज र प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा समुदायको समग्र विकासलाई प्राथमिकतामा राख्दै विगतदेखि नै विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रशासक बन्न पाँच सहकर्मीबीच प्रतिस्पर्धा

काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रशासक बन्नका लागि पाँच जना प्रतिस्पर्धी देखिएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार कोषको प्रशासक बन्नका लागि पाँच जना सहर्मीहरु प्रतिस्पर्धामा देखिएका हुन् ।  मन्त्रालयले जीवन कुमार कट्वाल (झापा), दामोदर प्रसाद सुवेदी (महोत्तरी), भरतराज वस्ती (झापा), विजय कुमार श्रेष्ठ (मोरङ) र सागर कुमार सिंह (काठमाडौं)को नाम सर्टलिष्टमा राखेको छ ।  सर्टलिष्टमा परेका कट्वाल वर्तमान निमित्त प्रशासक हुन् । जितेन्द्र धितालले राजीनामा दिएपछि उनी निमित्त बनेका थिए । अहिले उनी पनि प्रशासक बन्ने प्रतिस्पर्धामा छन् ।  यस्तै, दामोदर प्रसाद सुवेदी पनि कोषको प्रशासक बन्ने दौडमा छन् । उनी हाल कोषको मुख्य प्रबन्धकको रुपमा कार्यरत छन् भने अर्का प्रतिस्पर्धी भरतराज वस्ती पनि कोषको कामु सहप्रशासकको जिम्मेवारीमा छन् । यस्तै, विजय कुमार श्रेष्ठ पनि कामु सहप्रशासनको भूमिकामा छन् भने सागर कुमार सिंह पनि मुख्य प्रबन्धकको जिम्मेवारीमा छन् ।  छनोट समितिले छनोट भएका ५ जना उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति पनि तय गरेको छ । 

जापानले बनायो मानिस बस्न मिल्ने फ्रिज

काठमाडौं । यदि तपाईंले कहिल्यै गर्मीयामको अत्यधिक तापमा फ्रिज खोलेर टाउकोभित्र राख्दै ‘यसैभित्र पस्न पाए कस्तो हुन्थ्यो’ भन्ने सोच्नुभएको छ भने जापानले त्यो कल्पनालाई वास्तविक उपकरणमा परिणत गरेको छ । जापानको एक कम्पनीले ‘ह्युमन रेफ्रिजेरेटर’ नामको एकल व्यक्तिका लागि बनाइएको विशेष कुलिङ बुथ सार्वजनिक गरेको छ ।  यसको उद्देश्य केही मिनेटमै शरीरको तापक्रम घटाएर गर्मीका कारण हुने स्वास्थ्य समस्याबाट बचाउनु हो । ‘डो हिएमोन बक्स’ नाम दिइएको यो डिजाइनको बुथ जापानी रेफ्रिजेरेसन तथा भेन्डिङ मेसिन निर्माता एसडीआरएसले विकास गरेको हो भने यसको बिक्री औद्योगिक उपकरण आपूर्तिकर्ता ट्रक्सो नाकायामाले गरिरहेको छ ।  बाहिरबाट हेर्दा यो सिसाको ढोका भएको सानो धातुको क्याबिन जस्तो देखिन्छ । तर यसमा खाना राखिँदैन, मानिसलाई चिसो बनाउन विशेष रूपमा डिजाइन गरिएको हो । कम्पनीले सार्वजनिक गरेको भिडियोअनुसार यसमा पारदर्शी सिसाको ढोका र भित्र बस्ने सिट हुन्छ । प्रयोगकर्ताले बुथभित्र प्रवेश गरी सिटमा बस्ने, ढोका बन्द गर्ने र त्यसपछि चिसो हावाले शरीरलाई चिस्याउने काम गर्छ । बुथभित्रको तापक्रम करिब १५ डिग्री सेल्सियस कायम राखिन्छ भने ५ डिग्री सेल्सियस तापक्रमको चिसो हावा सिधै टाउको, घाँटी, काँध र ढाडतर्फ फालिन्छ ।  कम्पनीका अनुसार करिब ५ मिनेटमै प्रयोगकर्ताले शरीर निकै चिसो भएको महसुस गर्न थाल्छन् । १० मिनेटसम्म प्रयोग गर्दा शरीरको तापक्रम घट्न मद्दत पुग्ने र गर्मीका कारण हुने थकान तथा असहजताका लक्षण कम हुने दाबी गरिएको छ । यसमा तीनवटा कुलिङ मोड छन् । साथै अत्यधिक चिसो हुन नदिन २० मिनेटपछि यो स्वतः बन्द हुने व्यवस्था गरिएको छ। कम्पनीका अनुसार ‘डो हिएमोन बक्स’ लामो समयसम्म बाहिर वा अत्यधिक गर्मी भएको स्थानमा काम गर्ने व्यक्तिहरूलाई लक्षित गरी बनाइएको हो ।  यसमा निर्माण मजदुर, कारखाना कर्मचारी, गोदाममा काम गर्ने श्रमिक तथा खुला स्थानमा आयोजना हुने कार्यक्रमका कर्मचारी समावेश छन् । यो बुथ स्थायी रूपमा जडान गर्नुपर्ने आवश्यकता पर्दैन । घरभित्र वा बाहिर दुवै ठाउँमा प्रयोग गर्न सकिन्छ । साथै यसमा पाङ्ग्रा भएकाले आवश्यक स्थानमा सजिलै सार्न पनि सकिन्छ । कम्पनीका अनुसार यो कुलिङ बुथले सामान्य स्पट एयर कन्डिसनर (एसी) को तुलनामा करिब आधा मात्र बिजुली खपत गर्छ । त्यसैले अत्यधिक गर्मीबाट छिटो राहत दिने ऊर्जामैत्री विकल्पका रूपमा यसलाई प्रस्तुत गरिएको छ । यसको अवधारणा लोकप्रिय जापानी कार्टुन पात्र डोरेमोनको जादुई खल्तीबाट निस्किएको उपकरणजस्तै लागे पनि यो घरेलु प्रयोगका लागि बनाइएको होइन । ‘डो हिएमोन बक्स’ मुख्य रूपमा व्यवसायिक प्रतिष्ठान, कारखाना, गोदाम र निर्माणस्थलका लागि लक्षित गरिएको हो । अत्याधुनिक प्रविधि भएकाले यो फ्रिजको मूल्य पनि सस्तो छैन । स्ट्यान्डर्ड ‘डो हिएमोन बक्स’को मूल्य १५ लाख जापानी येन (करिब साढे १४ लाख रुपैयाँ) तोकिएको छ ।

पढ्दापढ्दै अन्तर्राष्ट्रिय कम्पनीमा काम गर्दै इस्लिङ्टनका २९ विद्यार्थी

काठमाडौं । इस्लिङ्टन कलेजले विद्यार्थीलाई पढाइसँगै विभिन्न परियोजनामा काम गर्ने अवसर प्रदान गर्दै आएको छ ।  हाल कलेजमा अध्ययनरत २९ जना विद्यार्थीले पढाइसँगै अमेरिका, अस्ट्रेलिया र बेलायतका विभिन्न कम्पनीका परियोजनामा काम गरिरहेको कलेजले जनाएको छ ।  कलेजले उनीहरूलाई आफ्नो पहिलो एआई–नेटिभ ट्यालेन्ट समूहका रूपमा प्रस्तुत गरेको जनाएको छ । कलेजका अनुसार २९ जना विद्यार्थीलाई विशेष तालिम प्रदान गरी साझेदार संस्था ग्लोबल टिम्स एआईमार्फत अमेरिका, अस्ट्रेलिया र बेलायतका विभिन्न परियोजनामा आबद्ध गरिएको हो ।  विद्यार्थीहरूको क्षमता साझेदार संस्था पेक्सस टेकले पनि सकारात्मक रूपमा मूल्यांकन गरेको कलेजले जनाएको छ । कलेजले विद्यार्थीलाई अध्ययनकै क्रममा उद्योगसँगको सहकार्य, अन्तर्राष्ट्रियस्तरको तालिम तथा व्यावहारिक सिकाइमार्फत विश्वव्यापी कार्य वातावरणमा काम गर्ने अवसर दिँदै आएको छ  ।  सोही अवसरअन्तर्गत हाल २९ जना विद्यार्थी नेपालमै बसेर अन्तर्राष्ट्रिय कम्पनीका परियोजनामा काम गरिरहेका छन् । इस्लिङ्टनले विद्यार्थीलाई वास्तविक परियोजना, उद्योगमैत्री प्रयोगशाला, व्यावहारिक अभ्यास तथा कार्यअनुभवमार्फत रोजगारी बजारका लागि तयार पार्दै आएको छ भने अध्ययन पूरा नहुँदै विद्यार्थीले अन्तर्राष्ट्रिय कम्पनीसँग काम गर्ने अवसर प्रदान गरिरहेको छ । कलेजका अध्यक्ष सुलभ बुढाथोकी विद्यार्थीले अध्ययन र करिअरलाई सँगसँगै अघि बढाइरहेको बताउँछन् । ‘हाम्रा विद्यार्थीले डिग्री पूरा गर्ने कि काम सुरु गर्ने भन्ने दुविधामा बस्नुपरेको छैन,’ उनी भन्छन्, ‘हाम्रा विद्यार्थी अध्ययनसँगै अन्तर्राष्ट्रिय कम्पनीका परियोजनामा काम गरिरहेका छन् ।’ पेक्सस टेकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रशान्त केसीले इस्लिङ्टन कलेजका विद्यार्थी प्राविधिक रूपमा सक्षम रहेको र एआई–आधारित कार्य वातावरणमा सुरुदेखि नै काम गर्न सक्ने क्षमता रहेको बताए ।

पहिरोले रोकियो मुग्लिन–नारायणगढ सडक, गाईघाटमा डोजर परिचालन

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत चितवनको गाईघाट नजिकै सोमबार पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ । सडक डिभिजन भरतपुरका अनुसार पहिरो खसेलगत्तै सडक खुलाउने कार्यका लागि आवश्यक उपकरण घटनास्थलमा परिचालन गरिएको छ । डिभिजनले पहिरो हटाउन करिब १ देखि २ घण्टा लाग्ने अनुमान गरिएको जनाएको छ । त्यस अवधिसम्म उक्त सडक खण्डमा सवारीसाधन एकतर्फी सञ्चालन हुने भएकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन र आवश्यक संयमता अपनाउन आग्रह गरिएको छ । सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन पहिरो पन्छाउने कार्य तीव्र रूपमा भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।