विकासन्युज

नयाँदिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री डा. एस जयशंकर बीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकर बीच भेटवार्ता छ । भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँदिल्लीमा भेटवार्ता भएको हो ।  भेटमा न्यानो, बलियो भरपर्दो सम्बन्धको आडमा द्विपक्षीय सहकार्य, उन्नयन र समुन्नतिको पहल विभित्र विषयमा छलफल भएको छ ।  नयाँदिल्लीस्थित नेपाली दूतावासकाअनुसार भेटमा मन्त्री डा. वाग्लेले रसुवामा भर्खरै गएको आकस्मिक बाढीपछिको उद्धार तथा राहत कार्यमा पुर्‍याएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गरे ।  भेटमा नेपाल-भारतबीचको दीर्घकालीन मित्रतालाई अझ प्रगाढ बनाउने तथा विशेष गरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने उपायहरूमाथि उनीहरुले छलफल गरे ।  यसअघि अर्थमन्त्री डा.वाग्लेले शुक्रबार भारतीय उच्च कूटनीतिज्ञसँग छलफल गरेको थियो । भ्रमणको पहिलो दिन उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेट गरेको थियो ।  सो क्रममा उनीहरू बीच द्विपक्षीय आर्थिक हित र सहकार्यका सन्दर्भमा छलफल भएको थियो ।

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

काठमाडौं । विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ ।  मन्त्रालयले शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा मन्त्रालयका पदाधिकारीसँगै शिक्षा क्षेत्रका विज्ञहरूलाई समेत समेटिएको मन्त्रालयले जनाएको छ । विद्यालय शिक्षा विधेयकको मस्यौदा सम्बन्धी प्राविधिक कामलाई शीघ्र अघि बढाउने उद्देश्यले कार्यदल गठन गरिएको मन्त्रालयको भनाइ छ । कार्यदलले विद्यालय शिक्षाका विभिन्न पक्षलाई समेटेर दीर्घकालीन सोचका आधारमा विधेयकको मस्यौदा तयार गर्नेछ । यसअघि तत्कालीन संसदमा पेस भएको विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भएको थियो । तर, विधेयकसम्बन्धी प्रक्रिया अघि बढ्न सकेको थिएन । मन्त्रालयले यस पटक साबिकको विधेयकको मस्यौदालाई समेत आधार बनाउँदै विद्यालय शिक्षाका बहु आयामिक पक्ष, वर्तमान आवश्यकता र दीर्घकालीन सुधारलाई समेट्ने गरी नयाँ मस्यौदा तयार गर्ने जनाएको छ । विधेयक तयारीका क्रममा सरोकारवालाको वास्तविक माग र आवश्यकता पहिचान गर्न मन्त्रालयले यसअघि नै सातै प्रदेशमा नीति संवाद सञ्चालन गरिसकेको छ । आगामी दिनमा अन्य सरोकारवालासँग समेत क्रमशः संवाद गरी सुझाव सङ्कलन गर्ने मन्त्रालयको तयारी छ ।

‘नेपाल–भारत आर्थिक साझेदारी नयाँ उचाइमा लैजानुपर्छ’

नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई समयानुकूल बनाउँदै नयाँ उचाइमा पु‍र्याउनुपर्नेमा जोड दिएका छन् । भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले दुई देशबीचको साझेदारीलाई थप प्रभावकारी बनाउन भौतिक, डिजिटल तथा ऊर्जा सञ्जालको विस्तार अपरिहार्य रहेको बताएका हुन् । नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा शुक्रबार आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई आर्थिक विकास र साझा समृद्धिको नयाँ चरणमा लैजानुपर्ने बताए । सो अवसरमा अर्थमन्त्री वाग्लेले नेपालले हालै बेहोरेको प्राकृतिक विपद् र त्यसबाट भएको जनधनको क्षतिबारे चर्चा गर्दै संकटको घडीमा भारत सरकार तथा भारतीय जनताले देखाएको तदारुकता र उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे । उनले विपद्पछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन नेपालले ‘बिल्ड ब्याक बेटर’ अवधारणालाई दृढतापूर्वक कार्यान्वयन गरिरहेको जानकारी दिए । जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य भए पनि त्यसको असर हिमाली तथा तटीय पारिस्थितिकीय प्रणालीले अत्यधिक भोग्नुपरेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मुद्दालाई नेपाल र भारतले मिलेर अघि बढाउनुपर्ने धारणा राखे । परम्परागत सहायता ढाँचाभन्दा माथि उठेर विकास वित्तका बदलिँदा आयाम, हरित वित्त तथा सहुलियतपूर्ण वित्तीय उपकरणको अधिकतम परिचालन गर्नुपर्नेमा पनि उनले जोड दिए । अर्थमन्त्री वाग्लेले विद्यमान नेपाल–भारत व्यापार सन्धिमा समयानुकूल सुधार गर्दै व्यापार घाटा न्यूनीकरण र गैरभन्सार अवरोध हटाउनुपर्ने आवश्यकता औंल्याए । नेपालमा लगानीको वातावरण सुधार गर्न नीतिगत तथा कानुनी सुधार गरिएको उल्लेख गर्दै उनले ऊर्जा, उत्पादनमूलक उद्योग र प्रविधि क्षेत्रमा भारतबाट प्रत्यक्ष वैदेशिक लगानी बढाउन भारतीय पक्षलाई आह्वान गरे । उनले वर्तमान सरकार नेपाली जनताको भारी जनादेशबाट बनेको स्मरण गराउँदै तीव्र विकास र आर्थिक रूपान्तरणको जनआकांक्षा पूरा गर्न सरकार पूर्ण रूपमा समर्पित रहेको बताए । ‘हाम्रो विकास आकांक्षा नीतिगत स्थायित्व र संस्थागत सुधारमा आधारित छ,’ उनले भने, ‘वर्तमान सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासन कायम गर्न दृढ छ । पारदर्शी र जवाफदेही शासन व्यवस्था नै आर्थिक समृद्धिको आधार हो ।’ गोलमेच संवादमा भारतका वरिष्ठ राजनीतिज्ञ, कूटनीतिज्ञ, रणनीतिकार तथा अर्थशास्त्रीहरूको सहभागिता थियो । कार्यक्रमको आयोजना स्थलसमेत रहेको आईआईसीका अध्यक्ष तथा नेपालका लागि पूर्व भारतीय राजदूत एवं पूर्व विदेश सचिव श्याम शरणले संवादमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष बनाउन नीतिगत तहमा हुने यस्ता गहन र खुला विमर्श फलदायी हुने धारणा राखे । कार्यक्रममा अर्थमन्त्री वाग्लेसहित पूर्व भारतीय विदेश सचिव तथा नेपालका लागि पूर्व राजदूत श्याम शरण, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एवं राज्यसभा सदस्य जयराम रमेश, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्व विदेश सचिव शिवशंकर मेनन, पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार तथा कूटनीतिज्ञ पंकज शरणलगायत सहभागी थिए । त्यसैगरी, प्रख्यात अर्थशास्त्री तथा जेएनयूका एमेरिटस प्रोफेसर एवं दिल्ली विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. दीपक नायर, इन्डिया ट्रेड प्रमोसन अर्गनाइजेसन (आईटीपीओ) का अध्यक्ष जावेद अशरफ, नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित राय, भारतीय जनता पार्टीको विदेश मामिला विभाग प्रमुख डा। विजय चौथाइवाले, दक्षिण एसियाली भूराजनीति तथा कनेक्टिभिटी अध्येता डा. कन्स्ट्यान्टिनो जेभियर, भारतीय विदेश मन्त्रालयका निर्देशक मनुस्मृति, द हिन्दूकी कूटनीतिक मामिला सम्पादक सुहासिनी हैदरसहित नेपाली प्रतिनिधिमण्डलको सहभागिता थियो । छलफलका क्रममा भारतीय पक्षका विज्ञ तथा कूटनीतिज्ञहरूले नेपालको लोकतान्त्रिक स्थायित्व, सुशासनप्रतिको प्रतिबद्धता र आर्थिक एजेन्डाको प्रशंसा गरेका थिए । सहभागीहरूले नेपाल र भारतको साझा समृद्धि सीमापार कनेक्टिभिटी, ऊर्जा साझेदारी तथा पारस्परिक विश्वासमा निर्भर रहने निष्कर्ष निकाल्दै द्विपक्षीय संयन्त्रलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए ।

बागमतीकी नवनियुक्त मन्त्री रमा आले मगरले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौं । बागमती प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद रमा आले मगर मन्त्रीमा नियुक्त भएकी छन् ।  आलेमगरलाई कृषि, पशुपंक्षी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।   मन्त्रीमा नियुक्त भएसँगै उनले आज पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।  नेकपाको मागअनुसार आलेमगरलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको हो ।  यसअघि सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भइसकेका छन् ।  एमालेका किरण थापा मगर नेतृत्वको वागमती प्रदेश सरकारमा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाबीच सत्तासाझेदारी रहेको छ ।  आले मगर यसअघि शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्रीसमेत बनेकी थिइन् ।

बाढी प्रभावितका लागि प्रभु बैंकले पहेंलो गुम्बालाई दियो बंक बेड

काठमाडौं । प्रभु बैंकले विपद्बाट प्रभावित परिवारलाई आश्रय दिइरहेको काठमाडौंस्थित पहेंलो गुम्बालाई ६ थान दुई तल्ले खाट (बंक बेड) हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गुम्बामा आश्रित प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै बंक बेड उपलब्ध गराएको हो ।  विपद्का कारण घरबारविहीन भएका परिवारका लागि आश्रयस्थलमा बंक बेड आवश्यक रहेको पहिचान भएपछि बैंकले उक्त सहयोग गरेको जनाएको छ । बैंकका अनुसार यस सहयोगबाट पहेंलो गुम्बामा राहत तथा आश्रय लिएर बसिरहेका प्रभावित परिवारलाई बसोबासमा थप सहजता पुग्ने अपेक्षा गरिएको छ । प्रभु बैंकले यसअघि पनि विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारलाई राहत पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको थियो ।  यस्तै, बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ समेत उक्त कोषमा जम्मा गरिएको बैंकले जनाएको छ । त्यसैगरी, बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग हस्तान्तरण गरेको थियो । बाढीबाट प्रभावित घाइतेलाई सहयोग पुग्ने उद्देश्यले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत देशका सातै प्रदेशमा देशव्यापी रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ ।

एक महिनामै निजी क्षेत्रमा २३ अर्ब ५८ करोड कर्जा प्रवाह

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा जाने कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा निजी क्षेत्रमा प्रवाहित कर्जा ०.४ प्रतिशत अर्थात् २३ अर्ब ५८ करोड रुपैयाँले बढेर ५८ खर्ब ८० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ०.१ प्रतिशत अर्थात् २ अर्ब ९३ करोड रुपैयाँले घटेको थियो । वार्षिक विन्दुगत आधारमा भने २०८३ साउन मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।  वाणिज्य बैंकको कर्जा बढ्यो, विकास बैंकको घट्यो २०८३ साउन मसान्तमा निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.३ प्रतिशत रहेको छ । व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा वाणिज्य बैंकहरूको निजी क्षेत्रतर्फको कर्जा ०.५ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा ०.१ प्रतिशतले बढेको छ । विकास बैंकहरूको कर्जा भने ०.३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।  घरजग्गा धितोमा ६३ प्रतिशत कर्जा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६३ प्रतिशत घरजग्गा धितो सुरक्षणमा रहेको छ । त्यस्तै, चालु सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा १५.३ प्रतिशत कर्जा रहेको छ । २०८२ साउन मसान्तमा घरजग्गा धितो सुरक्षणमा रहेको कर्जाको हिस्सा ६४.४ प्रतिशत र चालु सम्पत्तिको सुरक्षणमा रहेको कर्जाको हिस्सा १४.८ प्रतिशत थियो ।  कुन क्षेत्रमा कर्जा बढ्यो, कुनमा घट्यो? साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमध्ये खनिज क्षेत्रमा ३.७ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन तथा मर्मतमा ३ प्रतिशत र निर्माण क्षेत्रमा २.१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, सेवा उद्योग क्षेत्रमा १.८ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा १.२ प्रतिशत, यातायात उपकरण उत्पादन तथा मर्मतमा ०.८ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ०.३ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा ०.३ प्रतिशतले कर्जा बढेको छ । अर्कोतर्फ, वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा कर्जा ५.१ प्रतिशतले घटेको छ । कृषि क्षेत्रमा ०.९ प्रतिशत र उपभोग्य क्षेत्रमा ०.६ प्रतिशतले कर्जा घटेको राष्ट्र बैंकले जनाएको छ ।  आवधिक कर्जा बढ्दा विपन्न वर्गको कर्जा घट्यो समीक्षा अवधिमा आवधिक कर्जा १.५ प्रतिशतले बढेको छ । ट्रस्ट रिसिट (आयात) कर्जा १ प्रतिशत, रियल स्टेट कर्जा व्यक्तिगत आवासीय घर कर्जासमेत ०.७ प्रतिशत र हायर पर्चेज कर्जा ०.१ प्रतिशतले बढेको छ । यता विपन्न वर्ग कर्जा ७.३ प्रतिशत, अधिविकर्ष कर्जा २.६ प्रतिशत, क्यास क्रेडिट कर्जा १.१ प्रतिशत र माग तथा अन्य चालु पुँजी कर्जा ०.५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

साउनमा सरकारको खर्च ४१ अर्ब, राजस्व ९२ अर्ब उठ्यो

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपाल सरकारले ४१ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको छ । सो अवधिमा सरकारले ९२ अर्ब २३ करोड रुपैयाँ राजस्व परिचालन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार साउनमा सरकारको कुल खर्चमध्ये चालु खर्च २१ अर्ब ४० करोड रुपैयाँ रहेको छ । त्यस्तै, पुँजीगत खर्च १ अर्ब ३३ करोड र वित्तीय व्यवस्था खर्च १९ अर्ब १५ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन ९२ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । यसमध्ये कर राजस्वबाट ८५ अर्ब १९ करोड रुपैयाँ र गैरकर राजस्वबाट ७ अर्ब ३ करोड रुपैयाँ उठेको छ ।   सरकारले परिचालन गरेको कुल राजस्वमा अप्रत्यक्ष करको हिस्सा सबैभन्दा बढी ६८.१ प्रतिशत रहेको छ । प्रत्यक्ष करको हिस्सा २३.३ प्रतिशत, गैरकर राजस्वको ७.५ प्रतिशत र अन्य प्राप्तिको हिस्सा १ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुल राजस्वमा अप्रत्यक्ष कर र प्रत्यक्ष करको हिस्सा घटेको छ भने गैरकर राजस्व र अन्य प्राप्तिको हिस्सा बढेको छ ।   २०८३ साउन मसान्तमा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ६१ अर्ब ८१ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । यसमा प्रदेश तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत समावेश छ । २०८३ असार मसान्तमा यस्तो नगद मौज्दात २ खर्ब ७७ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो ।   समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च १ करोड ४० लाख रुपैयाँ रहेको छ । प्रदेश सरकारहरूले सो अवधिमा ६ अर्ब ५५ करोड रुपैयाँ स्रोत परिचालन गरेका छन् । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमध्ये संघीय सरकारबाट वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँटमार्फत ३ अर्ब ८३ करोड रुपैयाँ प्राप्त भएको छ । त्यस्तै, प्रदेश सरकारको आन्तरिक स्रोतबाट राजस्व तथा अन्य प्राप्तिबापत १ अर्ब ९५ करोड रुपैयाँ परिचालन भएको राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौँ जिल्ला अदालतबाट करिब ५ लाखसहित बिचौलिया पक्राउ

काठमाडौँ । काठमाडौँ जिल्ला अदालत परिसरबाट एक जना बिचौलिया पक्राउ परेका छन् । उनी ४ लाख ८० हजार रुपैयाँसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका ६ का अजय थापा रहेका छन्। उनले लागूऔषध मुद्दामा थुनामा रहेका बिमल घलेलाई छुटाइदिने भन्दै उक्त रकम लिएका थिए। बिमललाई थुनछेक बसहका लागि शुक्रबार इजसालसमक्ष पेश गरिएको थियो। उनलाई छुटाइदिने भन्दै रकम लिएको अवस्था थापा जिल्ला अदालतको परिसरबाट पक्राउ परेका हुन्। उनीसँगै पैसा लिएर आउने नुवाकोटको विदुर नगरपालिका ९ का हरिराम गिरी पनि पक्राउ परेका छन्।