काठमाडौं । नेपालमा हालै आएको भोटेकोशी बाढीका क्रममा उद्धार कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएका दुई नेपाली ग्राहकलाई जेसीबी इन्डियाले सम्मान गरेको छ ।
जेसीबी इन्डियाले ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारीलाई भारतमा आयोजित ‘बाउमा कन्एक्सपो इन्डिया २०२६’ को जेसीबी प्याभिलियनमा सम्मान गरेको हो ।
उनीहरूलाई जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले व्यक्तिगत रूपमा सम्मान गर्दै उद्धार कार्यमा पुर्याएको योगदानको प्रशंसा गरे ।
राउत र अधिकारीले जेसीबी २२१ ट्र्याक्ड एक्साभेटरसहित अन्य मेसिन प्रयोग गरी त्रिशूली–३ए आयोजनास्थलमा धेरै दिन उद्धार कार्यमा खटिएका थिए ।
उनीहरूको प्रयासबाट बाढीका कारण आयोजनास्थलमा फसेका दुई जनालाई जीवितै उद्धार गर्न सम्भव भएको कम्पनीले जनाएको छ ।
सम्मान कार्यक्रममा जेसीबी इन्डियाका सीईओ शेट्टीले विपत्तिको समयमा राउत र अधिकारीले देखाएको साहसलाई प्रशंसा गर्दै यसलाई ‘नेपालमा देखिएको जस्तो विपत्तिमा समेत आशा जगाउने कथा’का रूपमा उल्लेख गरे । उनले यति ठूलो साहसिक कार्य गरे पनि दुवै जना अत्यन्तै सरल र विनम्र रहेको बताए ।
यसैबीच, नेपालमा बाढीपछि उद्धार, राहत तथा पुनर्निर्माणका लागि प्रयोग भइरहेका जेसीबी मेसिनलाई लक्षित गरी एमएडब्लू अर्थमुभर्सले विशेष निःशुल्क सर्भिस क्याम्प सञ्चालन गरिरहेको छ ।
जेसीबी वाओ सर्भिस गाडीमार्फत नुवाकोट र धादिङमा उद्धार, राहत तथा पुनःनिर्माणमा खटिएका मेसिनलाई सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।
जोखिमपूर्ण परिस्थितिमा उद्धार तथा पुनःनिर्माणमा खटिएका मेसिन अपरेटरहरूलाई कम्पनीले सुरक्षा किटसमेत वितरण गरेको छ ।
नेपाल पुनःस्थापना तथा पुनर्निर्माणको चरणमा अघि बढिरहेको अवस्थामा आफ्ना ग्राहक तथा अपरेटरलाई आवश्यक सहयोग उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको एमएडब्लू अर्थमुभर्सले जनाएको छ ।
एमएडब्लू अर्थमुभर्स नेपालमा जेसीबी निर्माण तथा अर्थमुभिङ उपकरणको आधिकारिक डिलर हो । हाल कम्पनीका ३० भन्दा बढी शाखा र २०० भन्दा बढी सर्भिस इन्जिनियरमार्फत देशभर १२ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाइएको छ ।
कम्पनीले नेपालमा २३ वर्षभन्दा बढी समयदेखि सेवा दिँदै आएको छ ।