३ वर्षको साधारण सभा एकैपटक, सेयरधनीलाई हकप्रद सेयर

काठमाडौं । थ्रीस्टार हाइड्रोपावरले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक बोलाएको छ ।

कम्पनीको सञ्चालक समितिको असोज २ गते बसेको बैठकले नवौँ, दशौँ र एघारौँ वार्षिक साधारण सभा असोज २७ गते बिहान १० बजे काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बोलाउने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ का लागि सञ्चालक समिति र लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

यस्तै, कम्पनीको ठेगाना परिवर्तन गर्ने, पुँजी संरचना परिवर्तन गर्ने, हकप्रद सेयर खरिदसम्बन्धी हक हस्तान्तरण गर्ने तथा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव सभामा पेस हुनेछ ।

कम्पनीले एक सेयर बराबर एक सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत सभामा पेस गर्नेछ । प्रस्तावित संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल, सुझाव वा निर्देशन प्राप्त भएमा त्यसको कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

सभाले एक महिलासहित तीन जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका सेयरधनीले साधारण सभामा सहभागी हुन सक्नेछन् ।

Share News