आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज संविधान दिवस मनाइँदै छ । २०७२ साल असोज ३ गते संविधान सभाबाट संघीयतासहितको नेपालको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

संविधान दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । काठमाडौंमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहने गरेको छ ।

संविधान दिवसका अवसरमा प्रदेश तथा स्थानीय सरकारले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् । यस्तै, गणतन्त्रवादी राजनीतिक दल, विभिन्न संघसंस्था तथा नागरिकस्तरबाट समेत छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी दिवस मनाइँदै आएको छ ।

दिवसको अवसरमा विभिन्न राजनीतिक दलका नेता तथा अन्य विशिष्ट व्यक्तिहरूले शुभकामना सन्देशसमेत जारी गरेका छन् ।

Share News