विकासन्युज

सोमबारका लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक, डलरको भाउ १५२.१६

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ५४ पैसा र बिक्रीदर १११ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ४७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७६ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३० पैसा र बिक्रीदर १० रुपैयाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७७ पैसा र बिक्रीदर २३ रुपैयाँ ८७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९ रुपैयाँ ४२ पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ०४ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९४ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३९५ रुपैयाँ २० पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

गण्डकी । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा अपाङ्गता भएका, मिर्गौलापीडित बिरामीका परिवारलगायत सात हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । जसमा अपाङ्गता भएकाका परिवार पाँच हजार ९ सय ४६, मिर्गौलापीडित बिरामीका परिवार ४ सय ३१ र द्वन्द्वपीडित ३ सय ८२ छन् । त्यसैगरी जनआन्दोलनका घाइते २८, सहिद तथा बेपत्ता परिवारका ६३ र कास्कीमा क्रियाशील २ सय ११ जना पत्रकारको स्वास्थ्य बीमा गरिएको स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश कार्यालयका संयोजक जीवलाल खरेलले जानकारी दिए । ‘प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा आर्थिक वर्ष २०८१–८२ मा सात हजार ६१ जनाको स्वास्थ्य बीमा भएको हो,’ उनले भने, ‘अपाङ्गता भएका नागरिकलगायतले निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाइरहनुभएको छ ।’ गण्डकी प्रदेशका एक लाख ६१ हजार ९ सय ३५ ज्येष्ठ नागरिक, दुई हजार ३ सय ११ एचआइभी सङ्क्रमितको परिवार, अतिअशक्त अपाङ्गता भएका पाँच हजार ६ सय ३० परिवार, कुष्ठरोग सङ्क्रमितका ९० परिवार, क्षयरोग सङ्क्रमितका ५७ परिवार र चार हजार ६ सय ४२ महिला स्वास्थ्य स्वयंसेविकाका परिवार स्वास्थ्य बीमामा आबद्ध छन् । प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७ सय ७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको संयोजक खरेलले बताए । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७.०१ प्रतिशत हो । गण्डकीमा १३ लाख ५६ हजार ६ सय ९८ जनाको स्वास्थ्य बीमा गरिएको हो । जनसङ्ख्याका आधारमा कुल बीमित ५५ प्रतिशत पुगेको जनाइएको छ । कुल बीमितमध्ये सेवा लिनेको सङ्ख्या सात लाख ३८ हजार २ सय ३२ अर्थात् ५४.०४ प्रतिशत रहेको छ । बीमा नवीकरण गर्ने परिवारको सङ्ख्या तीन लाख ३५ हजार ५ सय ५ रहेको छ । ७५ प्रतिशत परिवारले बीमा नवीकरण गरेको पाइएको छ । स्वास्थ्य बीमाका लागि प्रदेशभर ७ सय २५ जना दर्ता सहयोगी सक्रिय रहेको संयोजक खरेलले बताए । प्रदेशका ४७ स्थानीय तहमा स्वास्थ्य बीमासँग सूचीकृत भएका सेवा प्रदायक–अस्पतालहरू रहेका छन् । सरकारी ५६, निजी चार र सामुदायिक एक गरी ६१ वटा सेवा प्रदायक संस्थाहरू सूचीकृत छन् । सत्तरी वर्ष नाघेका ज्येष्ठ नागरिक, गम्भीर प्रकृतिका दीर्घरोगी, अतिअशक्त र गरिब परिचयपत्र पाएका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने गरिएको छ । पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार ५ सय रुपैयाँको बीमा गरेबापत एक लाख रुपैयाँसम्मको उपचार सेवा पाउँछन् । पाँच जनाभन्दा बढीको परिवार भएमा प्रतिसदस्य ७ सय रुपैयाँ थप्नुपर्ने प्रावधान छ । ठूलो परिवारले दुई लाख रुपैयाँसम्मको उपचार सेवा पाउने जनाइएको छ । बोर्डले तोकेका एक हजार २ सय ८८ प्रकारका औषधि, शल्यक्रियासहित जटिल रोगको उपचार पनि बीमाबाट हुने गरेको संयोजक खरेलले बताए । रासस

घोराही सिमेन्टको नोक्सानी घट्यो, आम्दानी साढे ३ अर्ब रुपैयाँ

काठमाडौं । घोराही सिमेन्ट इण्डिष्ट्रिले नोक्सानी घटाएको छ । सिमेन्ट कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नोक्सानी घटाउँदै १५ करोड ८६ लाख ६८ हजार रुपैयाँमा झारेको हो । जबिक गत वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५५ करोड ४३ लाख ६४ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो ।  चालु आवको चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ५५ करोड ११ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ५२ करोड ६५ लाख रुपैयाँ थियो ।  समीक्षा अवधिमा कम्पनीले २ करोड ७५ लाख रुपैयाँ अन्य आम्दानी, ३१ करोड ५५ लाख रुपैयाँ सञ्चालन नाफा र ९२ करोड ६४ लाख रुपैयाँ कुल नाफा गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३५ लाख रुपैयाँ अन्य आम्दानी, १ करोड ७३ लाख रुपैयाँ सञ्चालन नाफा र ७१ करोड ४४ लाख रुपैयाँ कुल नाफा गरेको थियो ।  साथै चालु आवको ९ महिनाको अवधिमा कम्पनीको कस्ट अफ सेल २ अर्ब ६२ करोड ४६ लाख रुपैयाँ र प्रशासनिक तथा बिक्री वितरण खर्च १३ करोड ८४ लाख रुपैयाँ गरेको छ ।  ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा ७९ करोड ३२ लाख रुपैयाँ र २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ रहेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी ३.१६ रुपैयाँ ऋणात्मक रहेको छ । चैतसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १६८.६९ रुपैयाँ रहेको छ । सिमेन्ट उद्योगको बजारमा माग भन्दा बढि उत्पादन भएकोले प्रतिस्पर्धात्मक स्थितिमा बिक्रीमा अपेक्षा लिए अनुसार वृद्धि नभएको तर गत अवधिको तुलनामा यो अवधिमा सुधार भएको देखिएको कम्पनीले जनाएको छ । निर्माणका लागि महत्वपूर्ण मानिने आगामी अवधि नै सुख्खायाम पनि भएकाले विद्युत कटौतीको सम्भावना बढ्दै गएकाले उद्योग सञ्चालनमा प्रत्यक्ष असर पार्न सक्ने कम्पनीले जनाएको छ । विद्युत आपूर्तिमा समस्या आएमा निरन्तर उत्पादनमा अवरोध हुने र त्यसले समग्र उत्पादन क्षमतामा असर पर्ने कम्पनीको भनाइ छ । साथै, पूर्वी एसियामा जारी द्वन्द्वका कारण कोइला र डिजेलजस्ता इन्धनको मूल्य बढ्दो क्रममा रहेकाले सिमेन्ट उत्पादन लागत महँगो बन्दै गएको छ । यद्यपि, बैंक ब्याजदरमा केही कटौती भए पनि लागतमा पर्ने दबाब कायमै रहेको छ । हालसम्म नगद प्रवाहमा ठूलो असर पार्ने खालका तत्कालीन जोखिम नदेखिए पनि दीर्घकालीन रूपमा लागत वृद्धि उद्योगको नाफामा असर पार्न सक्ने देखिन्छ । सिमेन्ट उत्पादनका लागि आवश्यक मुख्य कच्चा पदार्थ चुनढुंगा उत्खनन अनुमति प्रक्रियामा ढिलाइ हुनु अर्को समस्या रहेको, खपतको तुलनामा उत्पादन बढी हुँदा आम्दानीमा प्रत्यक्ष असर परेको कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार समग्रमा, ऊर्जा आपूर्ति, इन्धन मूल्य, कच्चा पदार्थ व्यवस्थापन र बजार मागबीचको असन्तुलनले सिमेन्ट उद्योगलाई दबाबमा राखेको छ । 

भारतीय बजारबाट फर्किँदै नेपाली ग्राहक, भन्सार कडाइले बढ्यो चहलपहल

काठमाडौं ।वर्षैभरी प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा यतिबेला भने चहलपहल बढ्न थालेको छ । नेपाल सरकारले सीमावर्ती भन्सार नाकामा कडाइ गरेसँगै स्थानीय बजारमा व्यापारिक सम्भावना देखिन थालेपछि यहाँका नेपाली व्यवसायीहरू खुसी भएका छन् । लामो समयदेखि भारतीय बजारमा निर्भर रहेका उपभोक्ता र व्यापारीहरू क्रमशः स्वदेशी बजारतर्फ फर्किन थालेपछि भद्रपुरको व्यापारमा सकारात्मक सङ्केत देखिएको छ । भारततर्फबाट नेपाल ल्याउँदा १ सय रूपैयाँभन्दा बढीका सामानमा भन्सार लाग्ने भएपछि नेपालतर्फबाट बजार चलायमान हुन थालेको स्थानीयहरू बताउँछन् । झापाको भद्रपुर आसपासका स्थानीयका लागि भारतको विहार राज्य अन्तर्गत पर्ने गलगलिया बजार प्रमुख किनमेल केन्द्रका रूपमा स्थापित थियो । दैनिक उपभोग्य सामग्रीदेखि लत्ताकपडा र अन्य सामान सस्तो मूल्यमा पाइने भएकाले नेपाली उपभोक्ताको आकर्षण त्यहीँ केन्द्रित हुने गरेको थियो । तर पछिल्लो समय भन्सार नाकामा कडाइ गरिएपछि त्यसको प्रत्यक्ष प्रभाव सीमावर्ती बजारको व्यापारिक गतिविधिमा परेको देखिन्छ । भद्रपुर-६ स्थित ‘रवि वस्त्रालय’का सञ्चालक रवि गुप्ताका अनुसार केही समयअघि सम्म व्यापार अत्यन्तै सुस्त अवस्थामा पुगेको थियो । ‘व्यापार छोडेर अन्य विकल्प खोज्नुपर्ने अवस्था आउँदै थियो,’ उनले भने, ‘तर पछिल्ला केही दिनको व्यापारले फेरि आशा जगाएको छ ।’ उनका अनुसार हालको व्यापार विगतको तुलनामा ३० देखि ४० प्रतिशतले वृद्धि भएको छ । यही अवस्था कायम रहिरहेमा व्यापार सतप्रतिशतसम्म बढ्नेमा उनी विश्वस्त देखिन्छन् । त्यस्तै, भद्रपुर-६ मै ‘राजेश स्टोर’का सञ्चालक शत्रु धन प्रसाद पनि पछिल्लो व्यापारिक अवस्थालाई आशाजनक मान्छन् । उनका अनुसार केही दिनको कारोबारले बजारमा सकारात्मक सङ्केत दिएको भए पनि यसको स्थायित्वबारे भने अझै अनिश्चितता रहेको छ । ‘यदि भन्सारमा कडाइ निरन्तर रह्यो भने व्यापार अझै बढ्न सक्छ,’ उनले भने । भद्रपुरका पुराना पत्रकार देवेन्द्र किशोर ढुङ्गानाले भद्रपुरको ऐतिहासिक व्यापारिक महत्वबारे स्मरण गर्दै विगतमा यो क्षेत्र निकै चर्चित रहेको बताउँछन् । ‘२०३४ सालसम्म भद्रपुरमै झापाको प्रमुख भन्सार कार्यालय थियो,’ उनले भने, ‘तर पछि त्यो काँकडभिट्टामा स्थानान्तरण भएपछि भद्रपुरको व्यापारिक चहलपहल क्रमशः घट्दै गयो ।’ उनका अनुसार अहिलेको भन्सार कडाइले तत्काल विगतको जस्तो रौनक फर्काउन नसके पनि व्यापारमा केही सकारात्मक प्रभाव भने अवश्य पार्नेछ । सीमा पारिको अवस्थाले पनि यस परिवर्तनलाई पुष्टि गर्छ । भारतको गलगलिया क्षेत्रमा किराना पसल सञ्चालन गर्दै आएका प्रदीप घोषका अनुसार नेपाली ग्राहक घटेपछि व्यापारमा ठूलो गिरावट आएको छ । ‘हाम्रो मुख्य ग्राहक नेपाली नै थिए, उनीहरू आउन छाडेपछि व्यापार ६० देखि ७० प्रतिशतले घटेको छ,’ उनले भने । यही अवस्था लामो समयसम्म रहिरहेमा अन्य विकल्प खोज्नुपर्ने बाध्यता आउन सक्ने उनको भनाइ छ । तर सबै व्यापारीको अनुभव भने समान छैन । गलगलियामै ‘सेवारो कपडा पसल’ सञ्चालन गर्दै आएका नेपाली मूलका व्यापारी नारायण लिम्बूले भने व्यापार पुनः सामान्य अवस्थामा फर्किन थालेको बताउँछन् । ‘केही दिन फरक परे पनि अहिले ग्राहक फेरि आउन थालेका छन्,’ उनले भने, ‘घरायसी प्रयोजनका लागि सानो परिमाणमा सामान ल्याउन दिइएकाले व्यापार पहिलेको जस्तै हुन थालेको छ ।’ त्यस्तै, गलगलियाबाट केही पर फुटवेयर व्यवसाय सञ्चालन गर्दै आएका राजन चौधरीले भने भारतीय ग्राहककै भरमा व्यापार टिकाइ राख्नुपरेको बताउँछन् । ‘नेपाली ग्राहकको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ,’ उनले भने, ‘यसले हाम्रो व्यापारमा ३० प्रतिशतभन्दा बढी कमी ल्याएको छ ।’ भन्सार कडाइको प्रभाव आवतजावतमा पनि देखिएको छ । भद्रपुर भन्सार कार्यालयका सूचना अधिकारी प्रेम बहादुर लामाका अनुसार सीमामा आवागमन घट्दा राजस्व सङ्कलनमा प्रत्यक्ष असर परेको छ । ‘मानिसहरूको आवागमन कम भएपछि भन्सारबाट हुने राजस्वमा पनि कमी आउँछ,’ उनले बताए । सुरक्षा निकायले पनि सीमामा निगरानी बढाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाका सशस्त्र प्रहरी नायब उपरीक्षक शङ्कर शाहका अनुसार घरायसी प्रयोजनका लागि ल्याइने सामानमा केही सहुलियत दिइए पनि स्क्रिनिङ गरेर मात्र भित्रिन दिइन्छ । ‘व्यापारिक र व्यक्तिगत प्रयोजन छुट्याएर आवश्यक भन्सार तिराएर मात्र सामान भित्रिन दिइएको छ,’ उनले भने । उनका अनुसार अवैध चोरी निकासी नियन्त्रणका लागि सशस्त्र प्रहरीले निरन्तर प्रयास गरिरहेको भए पनि भारतसँगको खुला सीमाका कारण पूर्ण नियन्त्रण चुनौतीपूर्ण रहेको छ । ‘लामो खुला सीमा भएकाले पूर्ण नियन्त्रण सजिलो छैन, तर नियन्त्रणका प्रयासहरू निरन्तर जारी छन्,’ उनले स्पष्ट पारे । भद्रपुर भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख १९ गतेसम्ममा १३ करोड ४३ लाख ७९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो नाकाबाट कपडा, हार्डवेयर, खाद्यान्न, विद्युतीय सामग्रीलगायत वस्तु आयात हुने गरेको छ । समग्रमा, भन्सार कडाइले सीमावर्ती व्यापारको ढाँचामा परिवर्तन ल्याएको देखिन्छ । एकातर्फ नेपाली बजारमा चहलपहल बढेको छ भने अर्कोतर्फ भारतीय बजारमा यसको प्रत्यक्ष असर परेको छ । यद्यपि, यो अवस्था दीर्घकालीन रूपमा कस्तो रहने भन्ने विषय अझै अनिश्चित छ । यदि सरकारले अपनाएको कडाइ निरन्तर र प्रभावकारी रूपमा कायम राख्न सकेमा भद्रपुरजस्ता पुराना बजारहरू पुनर्जीवित हुने सम्भावना देखिएको छ ।

सूर्यज्योति लाइफबाट एनआईसी एशिया बैंक बाहिरिने, १४.६४ करोडको सेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सबाट एनआईसी एशिया बैंक बाहिरिने भएको छ । बैंकले आफ्नो स्वामित्व रहेको सेयर बिक्री गरेर सूर्यज्योति लाइफबाट बाहिरिने निर्णय गरेको हो । कम्पनीमा बैंकको ८ लाख ८७ हजार ८२५ कित्ता संस्थापक सेयर स्वामित्व रहेको छ । उक्त सेयर प्रतिकित्ता १६५ रुपैयाँका दरले बिक्रीमा राखेको हो । सो मूल्यका आधारमा बैंकले १४ करोड ६४ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरुले वैशाख २८ गतेसम्म आवेदन दिनुपर्नेछ । न्यूनतम् ५ हजार कित्ता सेयरका लागि निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । खरिद गर्न इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धकसँगै बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर थापाथली, शाखा कार्यालयहरू विराटनगर, आदर्शनगर वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरबाट आवेदन दिन सक्नेछन् । 

सिद्धार्थ इक्विटी फण्ड-२ को इकाई आजदेखि खरिद गर्न सकिने, कति लगानी गर्न पाइन्छ ?

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आज वैशाख २१ गतेदेखि सामूहिक लगानी कोष ‘सिद्धार्थ इक्विटी फण्ड-२को इकाई निष्काशन तथा बिक्री खुला गरेको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त योजना १२ वर्षे बन्दमुखी प्रकृतिको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक सिद्धार्थ बैंक र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो । लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । उक्त फण्डमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पूर्ण बिक्री नभएमा आवेदन अवधि जेठ ४ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ । उक्त फण्डको निष्काशन तथा बिक्री प्रबन्धक पनि सिद्धार्थ क्यापिटल लिमिटेड नै रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त सी(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि बिक्री, ५ हजार कित्ता आवेदन दिन मिल्ने

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज वैशाख २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ५० हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा वैशाख २४ गते र ढिलोमा जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

व्यापार नभएपछि छोटी भन्सारहरू बन्द

काठमाडौं । झापाको मेची भन्सार कार्यालय मातहतका ६ वटा छोटी भन्सार कार्यालयमध्ये एउटा मात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणको लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु ५ वटा छोटी भन्सार बन्द अवस्थामा छ । मेची भन्सार कार्यालय अन्तर्गत गौरीगन्ज-२ मा आठमौजा छोटी भन्सार, मेचीनगर-२ मा गाडागल्ली छोटी भन्सार, मेचीनगर-४ मा बाहुनडाँगी छोटी भन्सार, मेचीनगर-५ मा नकलबन्दा छोटी भन्सार, मेचीनगर-७ मा सतिघट्टा छोटी भन्सार र गौरीगन्ज-१ मा महाभारा छोटी भन्सार स्थापना भएका थिए । हाल गौरीगन्ज-२ स्थित आठमौजाबाहेक अरु छोटी भन्सार कार्यालय बन्द रहेको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले बताए । ‘आठमौजा छोटी भन्सार चाहिँ सञ्चालनमा छ, तर खासै भन्सार कारोबार हुन सकेको छैन । अरु नाकाबाट खासै व्यापार नभएका कारण छोटी भन्सार नचलेका हुन्,’ उनले भने ।  आयात र निर्यात कारोबार हुनका लागि भन्सार कार्यालय मात्र भएर पुग्दैन । क्वारेन्टाइन लगायतका कार्यालय पनि आवश्यक पर्दछ । छोटी भन्सारमा अन्य कुनै पनि सुविधा र सेवा उपलब्ध छैन । पूर्वी प्रवेशद्वार काँकडभिट्टामा मेची भन्सार कार्यालय छ । जहाँ सुक्खा बन्दरगाह, अध्यागमन कार्यालय, क्वारेन्टाइन कार्यालय र प्रविधियुक्त जाँच कक्षहरू रहेका छन् । मेचीनगर-४ मा रहेको बाहुनडाँगी छोटी भन्सार विगत ८ वर्षदेखि बन्द रहेको स्थानीय वडाध्यक्ष अर्जुन कुमार कार्कीले बताए । ‘के-कस्तो सहयोग आवश्यक पर्छ, हामी जनस्तरबाट दिन तयार छौँ,’ छोटी भन्सार सञ्चालन गर्न आग्रह गर्दै वडाध्यक्ष कार्कीले भने, ‘वि.सं १९९० देखि चल्दै आएको नेपालकै पुरानोमध्येको सीमा बजार हो बाहुनडाँगी । ऐतिहासिक पृष्ठभूमि बोकेको यो भन्सारलाई बन्द गरिँदा हामीलाई दुःख लागेको छ ।’ राणाकाल र पञ्चायतकालमा समेत सीमा नाकाका रूपमा बाहुनडाँगीलाई मान्यता दिइएको स्मरण गर्दै उनले इलाम र झापाका मानिसहरू भारतको नक्सलबारी र कोलकातासम्म आवतजावत गर्ने यो पुरानो भन्सार भएको बताए । उक्त छोटी भन्सारको आफ्नै १३ धुर जग्गामा पुरानो भवनसमेत रहेको छ । हाल भवनको रेखदेख र रङरोगन वडा कार्यालयले गरिरहेको जनाएको छ । ८ वटामध्ये सञ्चालनमा रहेको आठमौजा छोटी भन्सार काँकडभिट्टाको मूल भन्सारबाट ७५ किलोमिटर पश्चिम दक्षिणमा रहेको छ । यहाँको भारततिर फत्तेपुर बजार रहेको छ । नकलबन्दा, सतिघट्टा, महाभारा र गाडागल्ली छोटी भन्सारको जीर्ण अवस्थाको आफ्नै भवन छ । तर, सीमापार भारतीय क्षेत्रमा ठूलो बजार छैन । सशस्त्र प्रहरीले यी सीमा नाकामा सुरक्षा दिँदै आएको छ ।