विकासन्युज

ऋण तिर्नै ठीक्क : साढे ११ खर्ब खर्च हुँदा विकासको हिस्सा भने निम्छरो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना सकिन लाग्दा सरकारले ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ ।  सरकारी खर्च आम्दानीको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवका लागि ल्याइएको १९ खर्ब ६४ अर्ब बजेट मध्येबाट सरकार ५८.७५ प्रतिशत बजेट खर्च गरेको हो । कुल बजेटमध्ये सरकारले चालु शीर्षकमा ११ खर्ब ८० अर्ब रुपैयाँ छुट्टाइएको बजेटबाट ८ खर्ब ९ अर्ब रुपैयाँ बजेट खर्च भएको छ । यो खर्च उक्त शीर्षकमा विनियोजित बजेटको ६८.०४ प्रतिशत हो ।  कार्यालयका अनुसार विनियोजित बजेटमध्ये सबैभन्दा बढी चालुतर्फको शीर्षकमा बजेट खर्च भएको छ । चालु खर्च भनेको सरकारको दैनिक सञ्चालन र नियमित कार्यहरूका लागि गरिने खर्च हो । यो खर्चले नयाँ सम्पत्ति सिर्जना गर्दैन वा दीर्घकालीन प्रतिफल दिँदैन । सामान्यतया यो कुल बजेटको ५८–६२ प्रतिशत सम्म पुग्ने गर्छ ।  त्यस्तै, सरकारले पुँजीगत शीर्षकमा चालु वर्षका लागि ४ खर्ब ७ अर्ब विनियोजन गरेकोमा १ खर्ब ९ अर्ब रुपैँया खर्च गरेको छ । यो खर्च उक्त शीर्षकमा छुटाइएको बजेटको २६.८७ प्रतिशत हो ।  पुँजीगततर्फ सरकारले धेरै खर्च गर्न सकेको छैन । पुँजीगत खर्च सडक, पुल, विद्यालय भवन, अस्पताल, सिँचाइ, जलविद्युत जस्ता दीर्घकालीन पूर्वाधार निर्माणमा खर्च हुन्छ । यस्तो शीर्षकमा बजेट खर्च हुन सकेको छैन ।  खासगरी मध्यपूर्वमा देखिएको तनावले निर्माण व्यवसायीले बिटुमीन इन्धनको अभाव झेलिररहेका छन् । जसको असर पुँजीगत खर्चमा देखिएको छ ।  यस्तै, वित्तीय व्यवस्थातर्फ सरकारले ३ खर्ब ७५ अर्ब रुपैँया बजेट छुट्टाएकोमा २ खर्ब ४० अर्ब खर्च भइसकेको छ । यो खर्च उक्त शीर्षकमा विनियोजित बजेटको ६४.१६ प्रतिशत हो ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सार्वजनिक ऋण व्यवस्थापनका लागि सरकारले यस वर्षका लागि छुट्टाएको बजेट पनि ठूलो मात्रामा भएको छ । यो शीर्षकमा छुट्टाइएको बजेट सरकारले पहिले लिएका ऋणको सावाँ र ब्याज तिर्ने गरेको छ ।  सरकारको आम्दानी समेत उत्साहजनक देखिँदैन । सरकारले १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा ९ खर्ब ७० अर्ब संकलन गरेको छ । –न्युज एजेन्सी नेपाल

सगरमाथा आरोहणको क्रममा एक जनाको मृत्यु

काठमाडौं । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आइतबार (आज) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ ।  कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेकी आरोही घिमिरे आज बिहान करिब ४ः०० बजेतिर अचानक बिरामी भएका थिए  । तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा उनको बाटोमै निधन भएको हो ।  ट्रेक नेपाल कम्पनीमार्फत आरोहणमा सहभागी घिमिरेको शव हेलिकोप्टरमार्फत लुक्ला हेलिप्याड ल्याइएको र परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि सगरमाथाको चुचुरो चुमिससकेका घिमिरे पछिल्लो समय आरोही ‘गाइड’को रूपमा समेत कार्यरत थिए । 

दार्चुलामा भूकम्प

काठमाडौं । दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (आइतबार) बिहान ११ः५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ ।  भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो ।

फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड

काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै आएको फ्लाइ नेपा ट्राभल एन्ड टुर्सले प्रतिष्ठित ‘विङ्स अण्डर फोर्टी’ अवार्ड अन्तर्गत ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ सम्मान प्राप्त गरेको छ । कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक विनोद अधिकार को नेतृत्वमा नेपालको पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रस्तुत गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो ।  काठमाडौंस्थित होटल लो मुस्ताङमा आयोजित विशेष कार्यक्रममा अवार्ड वितरण गरिएको थियो । कार्यक्रमको आयोजना ग्लोबल एक्रिडेसन काउन्सिलले गरेको थियो भने सहआयोजकका रूपमा यात्रा म्यागजिन थियो । कार्यक्रममा पर्यटन, आतिथ्यता तथा ट्राभल क्षेत्रमा योगदान पु¥याएका ४० वर्षमुनिका युवा उद्यमीहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो। फ्लाई नेपाले आधुनिक डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय प्रवद्र्धन उपकरण र सिर्जनात्मक अभियानमार्फत नेपाललाई विश्व पर्यटन बजारमा प्रभावकारी रूपमा चिनाउन सफल भएको भन्दै कम्पनीलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।  करिब एक दशकअघि स्थापना भएको फ्लाई नेपा ट्राभल्स एण्ड टुर्सले नेपाल भ्रमण, सांस्कृतिक कार्यक्रम, अन्तर्राष्ट्रिय कन्सर्ट तथा पर्यटन प्रवद्र्धनात्मक गतिविधिमार्फत नेपाललाई विश्वसामु चिनाउँदै आएको छ । विशेषगरी अमेरिका र क्यानडामा आफ्नो उपस्थिति विस्तार गरिसकेको कम्पनीले सन् २०२६ मा दुबईमा समेत कार्यालय स्थापना गर्दै आफ्नो अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गरेको जनाएको छ । अवार्ड ग्रहणपछि प्रबन्ध निर्देशक विनोद अधिकारीले युवा उद्यमशीलता र पर्यटन क्षेत्रको नवप्रवद्र्धनलाई सम्मान गरिएकोमा आयोजकप्रति आभार व्यक्त गरे । उनले नेपालको पर्यटनलाई विश्व बजारमा अझ सशक्त रूपमा स्थापित गर्ने लक्ष्यसहित आगामी दिनमा थप प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।  आधुनिक प्रविधि, अन्तर्राष्ट्रिय पहुँच र नयाँ सोचमार्फत काम गर्दै आएको फ्लाई नेपा ट्राभल्स एण्ड टुर्स नेपाली पर्यटन उद्योगको उदीयमान तथा प्रेरणादायी ब्रान्डका रूपमा स्थापित हुँदै गएको कम्पनीको दाबी छ ।   

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा २६ करोड १४ लाख रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को ९ महिना (तेस्रो त्रैमास) सम्ममा हिमालयन लाइफले २६ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवको यही अवधिसम्ममा ४७ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ४४.६६ प्रतिशतले घटेको छ ।  चैत्रसम्ममा कम्पनीले १३ अर्ब २६ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो यही अवधिसम्म कम्पनीले १२ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क ६.१८ प्रतिशतले बढेको छ । कम्पनीले चालु वर्षको चैतसम्म १२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६.१८ प्रतिशतले बढेको छ ।  त्यस्तै चैत्रसम्ममा कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ६६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९९ करोड ६३ लाख रुपैयाँ र अन्य इक्विटी १ अर्ब ४२ करोड १८ लाख रूपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ४६ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७० करोड २९ लाख रुपैयाँ रहेको थियो भने अन्य इक्विटी पनि १४ करोड ४३ लाख रुपैयाँले ऋणात्मक थियो ।  शेयरपुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३.८१ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस ६.८९ रुपैयाँ थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १००.४५ रुपैयाँ रहेको छ ।   

बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

काठमाडौं । पूर्व-पश्चिम सडकखण्डअन्तर्गत जिल्लाको मिथिला नगरपालिका-०९ फुटबल ग्राउण्ड नजिक आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बसमा ३३ यात्रु रहेकामा चालकसहित १७ जना घाइते भएका हुन् । घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ ।

सम्पत्ति शुद्धीकरणको दायरामा बैंकिङ, इन्साइडर ट्रेडिङ र तस्करी

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन संशोधन गर्दै बैंकिङ, बीमा, इन्साइडर ट्रेडिङ तथा भन्सारसम्बन्धी तस्करीलाई समेत सम्बद्ध कसुरको दायरामा समेटेको छ । सरकारले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १३ संशोधन गर्दै यस्ता गतिविधिलाई अभियोगअन्तर्गत राख्ने व्यवस्था गरेको हो ।  संशोधित व्यवस्थाअनुसार तस्करी (भन्सार, अन्तःशुल्क तथा करसम्बन्धी), प्रत्यक्ष वा अप्रत्यक्ष कर छली, धितोपत्र वा कमोडिटिज बजारमा प्रतिकूल प्रभाव पार्ने गतिविधि (मार्केट म्यानिपुलेसन), भित्री कारोबार (इन्साइडर ट्रेडिङ), मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमय, विनिमेय अधिकारपत्र तथा बीमासम्बन्धी कसुरसँग जोडिएको सम्पत्ति शुद्धीकरणको सूचना भए विभागमा उजुरी दिन सकिनेछ ।  यसअघि सम्बद्ध कसुरसँग प्रत्यक्ष सम्बन्ध नदेखिएको सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा पनि विभागमा उजुरी दिन सकिने व्यवस्था थियो। संशोधनपछि भने कसुरका क्षेत्रहरू स्पष्ट रूपमा तोकिएका छन् ।  यस्तै, ऐनको दफा २२ पनि संशोधन गरिएको छ। अब ‘सरकारी वकिल कार्यालयमा’ भन्ने व्यवस्थाको सट्टा विभागको हकमा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको सरकारी वकिल कार्यालयमा, तथा अन्यका हकमा सम्बन्धित सरकारी वकिल कार्यालयमा मुद्दा दायर हुने व्यवस्था गरिएको छ ।  संशोधित व्यवस्थाअनुसार विभागको अनुसन्धानबाट मुद्दा चलाउनुपर्ने देखिएमा सरकारी वकिलले विशेष अदालतमा मुद्दा दायर गर्न सक्नेछन् ।  त्यस्तै, विभागले अनुसन्धानका क्रममा आफ्नो क्षेत्राधिकारभित्र पर्ने सम्बद्ध कसुरमा मुद्दा चलाउनुपर्ने अवस्था देखिएमा सोही कसुरसमेत समावेश गरी अभियोजनको राय पेश गर्न सक्ने व्यवस्था ऐनमा गरिएको छ ।  यसअघि ऐनको दफा २९(१) मा उजुरीको अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा सम्बद्ध कसुर वा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमध्ये कुनै एक वा दुवैमा मुद्दा चलाउन बाधा नपर्ने व्यवस्था थियो । 

कतारी जहाजलाई इरानले दिएको ग्रिन सिग्नल र विश्वको नजर

काठमाडौं । होर्मुज जलडमरूमध्य वरिपरि शनिबार तुलनात्मक रूपमा शान्त अवस्था देखिएको छ । केही दिनयता छिटफुट तनाव र झडप भइरहे पनि अमेरिका इरानबाट युद्ध अन्त्य गर्ने र शान्ति वार्ता सुरु गर्नेसम्बन्धी आफ्नो पछिल्लो प्रस्तावको जवाफको प्रतीक्षामा रहेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोलेले शुक्रबार वासिङ्टनले केही घण्टाभित्रै इरानको प्रतिक्रिया आउने अपेक्षा गरेको बताएका थिए । तर त्यसको एक दिन बितिसक्दा पनि तेहरानबाट कुनै संकेत देखिएको छैन । उक्त प्रस्तावअनुसार इरानको आणविक कार्यक्रमलगायत विवादास्पद विषयमा वार्ता अघि बढाउनुअघि औपचारिक रूपमा युद्ध अन्त्य गरिनेछ । रुबियोले शनिबार मियामीमा कतारका प्रधानमन्त्री मोहमद बिन अब्दुलरहमन अल थानीसँग भेटवार्ता गरेका थिए । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटका अनुसार उनीहरूले ‘मध्यपूर्वभरि खतरालाई रोक्न तथा स्थायित्व र सुरक्षालाई प्रवर्द्धन गर्न सहकार्य जारी राख्ने’ विषयमा छलफल गरेका थिए । उक्त वक्तव्यमा इरानको नाम भने स्पष्ट रूपमा उल्लेख गरिएको थिएन । समाचार संस्था एक्सियोसका अनुसार अमेरिकी दूत स्टिभ विटकफ पनि उक्त भेटमा सहभागी थिए । यो जानकारी विषयमा जानकार दुई स्रोतलाई उद्धृत गर्दै दिइएको हो । एलएसईजी शिपिङ डाटाअनुसार कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको एक ट्यांकर शनिबार पाकिस्तानतर्फ जाँदै होर्मुज जलडमरूमध्यतर्फ अघि बढिरहेको थियो । स्रोतहरूका अनुसार कतार र पाकिस्तानप्रति विश्वास निर्माण गर्न इरानले उक्त यात्रालाई स्वीकृति दिएको हो । यी दुवै देश युद्धमा मध्यस्थकर्ताको भूमिकामा छन् । यदि यो यात्रा सफल भयो भने युद्ध सुरु भएयता होर्मुज जलडमरूमध्य पार गर्ने यो पहिलो कतारी एलएनजी जहाज हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी साता चीन भ्रमणमा जाने तयारीमा रहेकाले युद्ध अन्त्य गर्न दबाब बढ्दै गएको छ । यो युद्धले ऊर्जा बजारमा अस्थिरता ल्याएको छ भने विश्व अर्थतन्त्रमा समेत जोखिम बढाएको छ । हालैका दिनमा युद्धविराम सुरु भएयता जलडमरूमध्य आसपास सबैभन्दा ठूला झडप भएका छन् । शुक्रबार संयुक्त अरब इमिरेट्समाथि पुनः आक्रमण भएको थियो । युद्धविरामको परीक्षा फेब्रुअरी २८ मा अमेरिका–इजरायलले इरानभरि हवाई आक्रमण गरेपछि सुरु भएको युद्धयता तेहरानले जलडमरूमध्यबाट गैर-इरानी जहाजहरूको आवागमन ठूलो मात्रामा अवरुद्ध गरेको छ । युद्धअघि विश्वको कुल तेल आपूर्तिको पाँचौं हिस्सा यही साँघुरो समुद्री मार्गबाट हुँदै आएको थियो । इरानको अर्ध(सरकारी समाचार संस्था फार्सका अनुसार शुक्रबार जलडमरूमध्यमा इरानी सेना र अमेरिकी जहाजबीच छिटफुट झडप भएको थियो । पछि तस्निम समाचार संस्थाले एक इरानी सैन्य स्रोतलाई उद्धृत गर्दै स्थिति शान्त भएको जनाएको थियो, तर थप झडप हुन सक्ने चेतावनी पनि दिएको थियो । अमेरिकी सेनाले भने इरानी बन्दरगाह प्रवेश गर्न खोजेका इरानसँग सम्बन्धित दुई जहाजलाई निशाना बनाएको जनाएको छ । अमेरिकी लडाकु विमानले ती जहाजको धुवाँ निस्कने भागमा प्रहार गरेपछि जहाजहरू फर्किन बाध्य भएका थिए । अमेरिकाले गत महिना इरानी जहाजमाथि नाकाबन्दी लगाएको थियो । तर सीआईएको एक मूल्यांकनअनुसार इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दीबाट इरानलाई गम्भीर आर्थिक दबाब महसुस हुन अझै करिब चार महिना लाग्न सक्छ । यसले तेहरानमाथि ट्रम्प प्रशासनको प्रभाव कति बलियो छ भन्नेबारे प्रश्न उठाएको छ । यो युद्ध अमेरिकी मतदाता र अमेरिकी सहयोगी राष्ट्रहरूबीच लोकप्रिय छैन । एक वरिष्ठ गुप्तचर अधिकारीले वासिङ्टन पोस्टले पहिलोपटक सार्वजनिक गरेको सीआईए विश्लेषणसम्बन्धी ‘दाबीहरू’ गलत भएको बताएका छन् । झडप केवल समुद्री क्षेत्रमा सीमित रहेन । संयुक्त अरब इमिरेट्सले शुक्रबार इरानबाट प्रहार गरिएका दुईवटा ब्यालेस्टिक मिसाइल र तीनवटा ड्रोनलाई आफ्नो वायु प्रतिरक्षा प्रणालीले निष्क्रिय बनाएको जनाएको छ । घटनामा तीन जना मध्यम घाइते भएका थिए । इरानले अमेरिकी सैन्य अड्डा रहेका यूएई तथा अन्य खाडी मुलुकहरूलाई बारम्बार निशाना बनाउँदै आएको छ ।  ट्रम्पले जलडमरूमध्यमा जहाजलाई सुरक्षा दिने ‘प्रोजेक्ट फ्रिडम’ घोषणा गरेपछि इरानले यस साता आक्रमण बढाएको थियो । ट्रम्पले भने ४८ घण्टापछि उक्त योजना रोकिएको बताएका थिए । ट्रम्पले बिहीबार अप्रिल ७ मा घोषणा गरिएको युद्धविराम झडपका बाबजुद कायम रहेको बताएका थिए । तर इरानले अमेरिका स्वयंले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। इरानका विदेशमन्त्री अब्बास अराघ्चीले शुक्रबार भने, ‘हरेक पटक कूटनीतिक समाधानको सम्भावना आउँदा अमेरिका लापरवाह सैन्य साहसिकतामा उत्रिन्छ ।’ कूटनीति र प्रतिबन्ध दुवैमा अमेरिकी जोड यो संघर्षमा अमेरिकाले अन्तर्राष्ट्रिय समर्थन खासै पाउन सकेको छैन । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँगको भेटपछि रुबियोले इटाली तथा अन्य सहयोगी राष्ट्रहरूले जलडमरूमध्य पुनः खोल्ने अमेरिकी प्रयासलाई किन साथ नदिएको भनेर प्रश्न उठाए । उनले इरानलाई अन्तर्राष्ट्रिय समुद्री मार्ग नियन्त्रण गर्न दिइए खतरनाक नजिर बस्ने चेतावनी दिए । स्टकहोममा बोल्दै जर्मन चान्सलर फ्रेडरिक मर्जले युरोपेली देशहरूको उद्देश्य इरानलाई आणविक हतियार प्राप्त गर्न नदिनु रहेको बताए । साथै उनले वासिङ्टनसँग मतभेद कम गर्न प्रयास भइरहेको जानकारी दिए । बेलायतले फ्रान्ससँग मिलेर जलडमरूमध्यको अवस्था सामान्य भएपछि सुरक्षित जहाज आवागमन सुनिश्चित गर्ने प्रस्तावमा काम गरिरहेको छ । शनिबार बेलायतले यस्तो बहुराष्ट्रिय अभियानको तयारीस्वरूप मध्यपूर्वमा एक युद्धपोत पठाउने घोषणा गरेको छ। कूटनीतिक प्रयास जारी राख्दै अमेरिकाले इरानमाथि थप दबाब सिर्जना गर्न प्रतिबन्ध पनि कडा बनाएको छ । ट्रम्प चीन भ्रमणमा गई राष्ट्रपति सी जिनपिङसँग भेट्नुअघि अमेरिकी अर्थ मन्त्रालयले शुक्रबार १० व्यक्ति तथा कम्पनीमाथि प्रतिबन्ध घोषणा गरेको छ । तीमध्ये केही चीन र हङकङका कम्पनीहरू पनि छन् । उनीहरूले इरानको सेनालाई तेहरानका शाहेद ड्रोन निर्माणमा प्रयोग हुने हतियार तथा कच्चा पदार्थ जुटाउन सहयोग गरेको आरोप लगाइएको छ । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)