रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार साँझ बस्दैछ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा साँझ ६ बजेका लागि बोलाइएको बैठक महाधिवेशनको तयारी, संगठन पुनर्संरचना तथा अनुशासनसम्बन्धी विषयमा केन्द्रित रहने भएको छ । पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ६ वटा मुख्य कार्यसूची तय गरिएको जानकारी दिएका छन् । उनका अनुसार बैठकले सबैभन्दा महत्वपूर्ण रूपमा पार्टीको पहिलो महाधिवेशनअन्तर्गत विस्तृत कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । केही दिनअघि सम्पन्न केन्द्रीय समिति बैठकले महाधिवेशनसम्बन्धी कार्यविधि पारित गरेसँगै रास्वपा अब औपचारिक रूपमा महाधिवेशन केन्द्रित गतिविधिमा प्रवेश गर्न लागेको हो । रास्वपाले आफ्नो पहिलो महाधिवेशन आगामी भदौभित्र सम्पन्न गर्ने निर्णय यसअघि नै गरिसकेको छ । २०७९ साल असार ७ गते स्थापना भएको पार्टीले महाधिवेशन गर्ने मिति पटक–पटक तय गरे पनि विभिन्न कारणले स्थगित हुँदै आएको थियो । पछिल्लो समय पार्टीभित्र संगठन विस्तार, नेतृत्व व्यवस्थापन र आन्तरिक संरचना सुदृढीकरणको आवश्यकता बढ्दै गएपछि महाधिवेशनलाई निर्णायक मोडका रूपमा हेरिएको छ । आजको सचिवालय बैठकमा पार्टीका विभिन्न तहगत समितिहरूको भेला, वडा–पालिका–जिल्लादेखि प्रदेश तहसम्मका अधिवेशनहरूको विशेष कार्यतालिकाबारे पनि छलफल हुने बताइएको छ । रास्वपाले संगठनलाई थप व्यवस्थित बनाउन नयाँ संरचनात्मक मोडालिटीमा जाने तयारी गरेको नेताहरूले बताएका छन् । त्यस्तै बैठकले पार्टीका आयोग तथा विभागका पदाधिकारी मनोनयनसम्बन्धी निर्णय पनि गर्न सक्ने सम्भावना रहेको छ । संगठनभित्र लामो समयदेखि रिक्त रहेका केही विभाग तथा जिम्मेवारीलाई पूर्णता दिने तयारी गरिएको बुझिएको छ । यसैबीच रास्वपाले केही जिल्ला समिति विघटन गर्ने विषयमा पनि छलफल गर्ने भएको छ । पार्टी नेतृत्वले अपेक्षाअनुसार काम गर्न नसकेका, निष्क्रिय रहेका वा आन्तरिक विवादमा फसेका जिल्लाका संरचनालाई पुनर्गठन गर्ने तयारी गरेको स्रोतले जनाएको छ । बैठकमा अनुशासनसम्बन्धी विषय पनि प्रमुख एजेन्डाका रूपमा रहनेछ । पछिल्लो समय पार्टीका केही सांसद तथा नेताहरूको सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जाल गतिविधिलाई लिएर नेतृत्वभित्र असन्तुष्टि बढेको छ । सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गर्ने, पार्टीको आधिकारिक धारणा विपरीत अभिव्यक्ति दिने तथा आन्तरिक विषय सार्वजनिक गर्ने प्रवृत्ति बढेको भन्दै नेतृत्वले त्यसप्रति कडाइ गर्ने संकेत दिएको छ । रास्वपाका नेताहरूका अनुसार बैठकले अनुशासन उल्लंघनका घटनाबारे समीक्षा गर्दै आवश्यक परे कारबाही प्रक्रिया अघि बढाउने सम्भावनासमेत रहेको छ । पार्टीभित्र आन्तरिक एकता र सन्देश व्यवस्थापनलाई सुदृढ बनाउन नेतृत्व थप सचेत देखिएको छ । यस्तै सचिवालय बैठकले अब बस्ने केन्द्रीय समिति बैठकको मिति तय गर्नेछ भने समसामयिक राजनीतिक विषय, संगठन विस्तार र पार्टी रणनीतिसम्बन्धी विविध प्रस्तावमाथि पनि छलफल गरी निर्णय गर्ने कार्यसूची रहेको प्रवक्ता झाले बताएका छन् ।
स्ट्रेट अफ हर्मुजमा अमेरिकी र इजरायली जहाजमाथि प्रतिबन्ध लगाइने
काठमाडौं । इरानले स्ट्रेट अफ हर्मुजमा विदेशी जहाज आवागमनका लागि नयाँ विधेयकको मस्यौदा तयार पारेको छ । मसौदामा तेहरानले इजरायल र संयुक्त राज्य अमेरिकाका जहाजहरूको प्रवेशमा प्रतिबन्ध लगाउने र अन्य विदेशी जहाजहरूमा कर लगाउने प्रस्ताव गरेको छ । तेहरानले यसलाई आफ्नो सार्वभौमिकता र समुद्री सुरक्षालाई बलियो बनाउने कदमको रूपमा वर्णन गरेको छ । इरानी संसदको राष्ट्रिय सुरक्षा र विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले तेहरानमा आयोजित एक समारोहमा भने, ‘विधायिका पुनः सुरु भएपछि यसलाई ‘निवारक कानून’ को रूपमा पारित गरिनेछ ।’ उनले भने,‘विधेयक तयार छ र विदेश मन्त्रालय र बन्दरगाह र समुद्री सङ्गठनसहित देशका सम्बन्धित अधिकारीहरूसँग श्रृंखलावद्धरूपमा बैठकहरू गरी छलफल गरिएको छ ।’ अजिजीले यसअघि बिहीबार भनेका थिए, ‘इरानले हर्मुजको जलमार्गमा सँधै सुरक्षित र स्वतन्त्र आवागमन सुनिश्चित गर्न प्रयास गरेको छ। अमेरिकी सेनाको उपस्थिति र इजरायली आक्रमण खाडी र स्ट्रेट अफ होर्मुजमा असुरक्षा र अस्थिरताको मुख्य जड भएको छ ।’ यो विधेयकको उद्देश्य इरानको सार्वभौमिकतालाई बलियो बनाउनु हो । उनले भनेका छन्, ‘इरानी संसदको यो विधेयक ‘स्ट्रेट अफ हर्मुज’मा इरानको सार्वभौमिकतालाई बलियो बनाउने उद्देश्यका साथ ल्याइएको हो । इरान सधैं यस महत्त्वपूर्ण जलमार्गमा सुरक्षित र स्वतन्त्र आवागमनको पक्षमा रहेको छ ।’ अमेरिकी सेनाको उपस्थिति र इजरायलको गतिविधिलाई यस क्षेत्रमा अस्थिरताको मुख्य कारण भएको उनले बताए । उनले भने, ‘विदेश मन्त्रालय र बन्दरगाह सङ्गठनजस्ता सम्बन्धित निकायसँग व्यापक छलफल गरेर विधेयकलाई अन्तिम रूप दिइएको छ ।’ इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युज एजेन्सीका अनुसार शुक्रबार स्ट्रेट अफ हर्मुजमा इरानी सेना र अमेरिकी पानीजहाजबीच छिटपुट झडप भएको थियो ।
यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका-४ स्थित पूर्व-पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना७ख ५८२० नम्बरको यात्रुवाहक बस बस आज साँझ करिब ७ः०० बजे अनियन्त्रित भई सडकको दाँहिने किनारातर्फ पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले बताए । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि चिसापानी अस्पताल बर्दघाट पठाइएको छ । बसमा ३१ जना यात्रु सवार रहेकामा अन्य यात्रु सकुशल रहेको प्रहरी नायब उपरीक्षक पन्तले जानकारी दिए । दुर्घटनामा घाइते भएका अधिकांश यात्रुको हातखुट्टा, टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेमध्ये केहीको अवस्था मध्यम र अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा कास्की, नवलपरासी, कैलाली, तनहुँलगायत विभिन्न जिल्लाका यात्रु घाइते भएका छन् । एक जना विदेशी नागरिक पनि सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक पन्तले बताए ।
सरकारले सोमबारदेखि कार्यालयहरूमा सरसफाइ अभियान सञ्चालन गर्दै
काठमाडौं । आगामी सोमबारदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन हुने भएको छ । सरकारले सोमबारदेखि जेठ १ सम्म संघ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो । त्यसका लागि सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गनिर्देशन २०८३ समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत सुवर्ण बज्राचार्यले जानकारी दिए । सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्र्न र सरसफाइसम्बन्धी आचारण विकास गर्न सरसफाइ सप्ताह सञ्चालन गर्न थालिएको उनले जानकारी दिए । सप्ताह सञ्चालन गर्न सबै संघ, प्रदेश र स्थानीय तहलाई पत्राचार गरिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सोमबार बिहान ८ः३० बजे वीर अस्पतालबाट सरसफाइ सप्ताहको शुभारम्भ गरिने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । सोही समयमा देशैभरिका सबै अस्पतालमा पनि सरसफाई सप्ताह शुभारम्भ हुने र सप्ताहभरि दैनिक रूपमा सरसफाइमा सहभागी हुन आग्रह गरिएको उनले बताए । सरसफाइ सप्ताह सञ्चालनका लागि बनाइएको मार्गदर्शनमा तोकिएका सूचक अनिवार्य पूरा गर्नुपर्ने छ । कार्यालय सरसफाइ मापन, शौचालय तथा स्वच्छता मापन, शैक्षिक संस्था र सार्वजनिकस्थलको सरसफाइ, क्यान्टिन तथा भान्साघर स्वच्छता, फोहर व्यवस्थापन मापन, सेवाग्राही अनुभव मापन, संस्थागत दिगोपन मापन सूचक कायम गरिएकाले तिनको पालना गर्न आग्रह गरिएको छ ।
उपत्यकामा जथाभावी हर्न बजाउने २ सय चालक कारबाहीमा
काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत शनिबार (आज) जथाभावी हर्न बजाउने २०० भन्दाबढी सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । उपत्यकाका विभिन्न मुख्य सडक, व्यस्त चोक तथा सवारी चाप बढी हुने क्षेत्रमा ट्राफिक प्रहरीले विशेष निगरानी सञ्चालन गर्दै ट्राफिक नियम उल्लङ्घन गर्ने तथा अनावश्यक रूपमा हर्न बजाउने चालकलाई नियन्त्रणमा लिइ कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । उनले अभियानका क्रममा चालकलाई ट्राफिक नियमको पालना, सुरक्षित यात्राको महत्त्व तथा ‘नो हर्न’सम्बन्धी जनचेतना समेत प्रदान गरिएको जानकारी दिए। हाल उपत्यका सञ्चालित उक्त विशेष अभियानलाई आगामी दिनमा पनि अझ प्रभावकारी बनाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताए । उनका अनुसार काठमाडौं उपत्यकाका विभिन्न संवेदनशील क्षेत्र, विद्यालय आसपास, अस्पताल क्षेत्र तथा भीडभाड हुने सडकमा विशेष निगरानी बढाइएको छ ।
सरकारले ल्यायो बजेटबारे सुझाव माग्न ‘डिजिटल पोर्टल’
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमबारे ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ । सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रम र जेठ १५ मा ल्याउने बजेटमा आमनागरिकका सुझावको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न डिजिटल प्लेटफर्मको सुरुआत गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ । यस पोर्टलका माध्यमबाट देशविदेशमा रहेका नेपाली नागरिक, विषय विज्ञ र नीति–निर्माताले बजेट निर्माण तथा विकासका प्राथमिकताबारे सिधै रायसुझाव दिनसक्ने छ । यो पोर्टलले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने प्रधानमन्त्रीको सचिवालयको दाबी छ । नागरिकले मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत यो पोर्टल प्रयोग गरेर आफ्ना सुझाव सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्याउन सकिनेछ ।
बाँकेका सुकुमबासी बस्ती खाली गरिँदै
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन सुरु गरिएको छ । नगरप्रमुख पूर्णप्रसाद आचार्यले सुकुमबासीका नाममा जग्गा अतिक्रमण गरी बसोबास गरेकालाई हटाउन सुरु गरिएको जानकारी दिए । हालसम्म नगरपालिकाको सम्पर्कमा ६० परिवार वास्तविक भूमिहीन सुकुमबासी आएको र उनीहरूको व्यवस्थापनका लागि होल्डिङ सेन्टरमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको उनले जानकारी दिए । नगरप्रमुख आचार्यका अनुसार वडा नं ११ स्थित कोहलपुर नगर विकास समितिको कोहलपुर ३ (ख) अन्तर्गत करिब ३६ बिघा क्षेत्रफल (क्रिकेट मैदान आसपास) जग्गा अतिक्रमण गरी सात साय ५१ परिवार घरटहरा बनाएर बसिरहेका छन् । तीमध्ये अव्यवस्थित बासोबासी ४ सय १६, भूमिहीन दलित एक सय ७२ र भूमिहीन सुकुमबासी एक सय ६३ जना रहेको उनले बताए । ‘बस्ती विकास तथा बसोबासका क्रममा केही व्यक्ति तथा विचौलियाको संलग्नतामा नक्कली कागजात तयार गर्ने, जग्गा किनबेच गराउने तथा आर्थिक लाभ लिने गतिविधि भएको भनेर उजुरी पनि आएका छन् । सो सम्बन्धमा सम्बन्धित निकायबाट अनुसन्धान जारी छ’ , उनले भने । यसैबीच, नगर क्षेत्रका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी वर्षौंदेखि बसोबास गर्दै आएका वास्तविक सुकुमवासी तथा भूमिहीन दलितको पहिचान गर्न सुरु गरिएको छ । नगरपालिकाले एउटा अभिलेख व्यवस्थापन समिति गठन गरेर घरधुरीको अवस्था, बसोबास अवधि, आर्थिक अवस्था, अन्यत्र जग्गाजमिन भए नभएकोलगायत विषय अध्ययन गरिरहेको छ । त्यहाँ बसिरहेका परिवारको तथ्याङ्क सङ्कलन तथा कागजात प्रमाणीकरणको काम अघि बढाएको समितिका संयोजक सुनिता सुनारले जानकारी दिए । केही व्यक्तिले आफूलाई भूमिहीन दाबी गरे पनि अन्यत्र घरजग्गा रहेको तथ्य भेटिए त्यस्ता व्यक्तिलाई सूचीबाट हटाइने उनले बताए । ‘गत वर्ष उक्त स्थानका ७ सय ५१ जना भूमिहीन सुकुमवासी र भूमिहीन दलितले फाराम भरे पनि पहिचान गर्दा भूमिहीन दलित एक सय ५३ जना र भूमिहीन सुकुमवासी एक सय ४१ जना रहेका छन्’ , संयोजक सुनारले भने ।
लागुऔषधसहित १७ जना पक्राउ
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बर्दियाबाट ४, सुनसरी र झापाबाट ३/३, काठमाडौं र ललितपुरबाट २/२ तथा कञ्चनपुर, तनहुँ र बाँकेबाट १/१ जनालाई पक्राउ गरिएको हो । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उनीहरूका साथबाट खैरो हेरोइन, चरेस तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने औषधि ट्रामाडोल र डाइक्लोमाइन बरामद गरेको छ ।