काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपालमा एक करोड मात्रै नभई करोडौं पर्यटक भित्र्याउने लक्ष्यसहित योजना बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख अर्यालले नेपालको पर्यटन क्षेत्रलाई थप विस्तार गर्न महत्वाकांक्षी लक्ष्य निर्धारण गर्न सरकारलाई आग्रह गरेका हुन् ।
उनले पर्यटकको संख्या लाखमा सीमित गर्ने सोचबाट माथि उठेर करोडौं पर्यटक भित्र्याउने सपना देख्नुपर्ने बताए । ठूलो लक्ष्य लिएर अघि बढे मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने उनको भनाइ छ ।
‘लाख पर्यटक भित्र्याउने योजना मात्र होइन, करोडौं पर्यटक भित्र्याउने सपना देख्नुपर्छ । ठूलो सपना देखेमा मात्र हामीले लक्ष्य प्राप्त गर्न सक्छौं,’ उनले भने ।
सभामुख अर्यालले पर्यटन नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड रहेको उल्लेख गर्दै राष्ट्रको अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए ।
उनले पर्यटन क्षेत्रको विकासका लागि राज्यका कानुन तथा नीतिहरू पर्यटनमैत्री हुनुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
नाट्टाले नेपालको पर्यटनलाई विकेन्द्रीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको सभामुख अर्यालले बताए । नाट्टाको उपस्थिति सातै प्रदेशमा पुगिसकेको उल्लेख गर्दै उनले यसले नेपालको पर्यटनलाई स्थानीय तहदेखि विश्व बजारसम्म पुर्याउन सहयोग गरेको बताए ।
‘नाट्टाले पर्यटनलाई विकेन्द्रीकरण गरेको छ । सातै प्रदेशमा नाट्टा पुगेको छ । नाट्टाका कारण नेपालको पर्यटन स्थानीयदेखि विश्व बजारसम्म पुगेको छ,’ उनले भने ।