फाइल बोकेर सरकारी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : अध्यक्ष पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा सुशासन कायम गर्न सबै सरकारी सेवाहरू ‘कन्ट्याक्टलेस, पेपरलेस र फेसलेस’ बनाउन आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले सरकारी सेवाहरू डिजिटल प्रणालीमार्फत सञ्चालन भए मात्र सेवा प्रवाह प्रभावकारी हुनुका साथै सुशासन कायम गर्न सहज हुने बताएका हुन् ।

उनले उद्योग विभागका सबै सेवा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने पहल सकारात्मक रहेको बताए । विगतमा पनि उद्योग विभागले डिजिटल प्रणालीमार्फत सेवा दिने भनिए पनि सेवाग्राहीले फाइल बोकेर विभिन्न ठाउँमा धाउनुपर्ने अवस्था रहेको स्मरण गर्दै आगामी दिनमा त्यस्तो अवस्था दोहोरिन नहुनेमा विभाग गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गरी सरकारी निकायका प्रणालीहरूलाई आपसमा अन्तरसम्बन्धित बनाउनुपर्ने उनको भनाइ छ । विभिन्न निकायमा एउटै विवरण पटक–पटक प्रविष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गरी सबै प्रणालीलाई आपसमा जोड्नुपर्ने उनले बताए ।

‘गुड गभर्नेन्सको आधारभूत पक्ष भनेको कन्ट्याक्टलेस, पेपरलेस र फेसलेस पहल हो । सबै कुरा डिजिटल प्रणालीमा गए पनि फेरि प्रिन्ट गरेर फाइल बोकेर जानुपर्ने अवस्था भयो भने त्यसले अपेक्षित प्रभाव पार्दैन,’ अध्यक्ष पाण्डेले भने, ‘अब उद्योग विभाग पूर्ण रूपमा डिजिटल प्रणालीमा जाने कुरा खुशीको विषय हो । यसले कामको प्रभावकारिता बढाउनुका साथै समयको समेत बचत गर्छ ।’

डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गरी सरकारी प्रणालीहरूलाई अन्तरसम्बन्धित बनाउन सके व्यवसाय सञ्चालनको लागत घट्नुका साथै सरकारी सेवाको दक्षता र प्रभावकारिता बढ्ने उनले बताए ।

अध्यक्ष पाण्डेले डिजिटल प्रणालीको विकासले स्वदेशी तथा विदेशी लगानीकर्ता र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्नसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Share News