झापामा जंगली च्याउ खाँदा ११ जना बिरामी
झापा । जंगली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जंगली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन् । जंगलीबाट ल्याइएको च्याउ पकाएर खाएपछि परिवार सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित आठ जना बालबालिका बिरामी परेका हुन् । बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा प्रारम्भिक उपचारपछि नौ जनालाई दमकस्थित बाल अस्पतालमा थप उपचारका लागि पठाइएको खड्काले बताए । उनका अनुसार बिरामीमध्ये दुई जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य छ। यसैबीच, प्रहरीले जङ्गली च्याउ सेवन गर्दा विषाक्त हुने र स्वास्थ्य समस्याको जोखिम रहने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ ।
बागमती स्वीट्सले पायो ‘क्लिनचिट’
काठमाडौँ । त्रिपुरेश्वरस्थित बागमती स्वीट्सले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट ‘क्लिनचिट’ पाएको छ । कृषि तथा पशुपङ्छी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका संयुक्त टोलिको स्थलगत अनुगमन तथा निरीक्षणमा बाग्मती स्वीट्सको खाद्य स्वच्छताको अवस्था सन्तोषजनक पाइएको र उत्पादन तथा बिक्रीवितरण गर्न लगाइएको रोक्का फुकुवा गरिएको बिभागद्वारा जारी पत्रमा उल्लेख गरिएको छ । बाग्मती स्वीट्सले हालै आन्तरिक संरचना सुधार, कर्मचारी व्यवस्थापन तथा उत्पादन प्रक्रिया थप ब्यबस्था गरेको जनाएको छ । त्यस्तै कारखानाको पेस्ट कन्ट्रोल लगायत सरसफाइमा विशेष ध्यान दिँदै सो कमका लागि मात्रै अपरेसन अवधीमा तीन जना कर्मचारी खटाएको उल्लेख गरेको छ । बाहिरी प्रदूषण नियन्त्रण गर्नका लागि अन्न भण्डारण गर्ने र भान्सालगायतको ठाउँमा कर्मचारीले बाहिरबाट लगाएर आएको जुत्ता–चप्पल लैजान निषेध गरिएको बागमतीले जनाएको छ । “कर्मचारीहरूले भित्र प्रयोगका लागि छुट्टै जुत्ता–चप्पल प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । साथै जुत्ता राख्नको लागि छुट्टै ठाउँको व्यवस्था गरिएको छ । यससँगै उत्पादन क्षेत्र, स्टोर र अन्य स्थानहरूमा रहेका फोहोर हटाएर सबै ठाउँमा रंगरोगन (पेन्टिङ) गरिएको छ”, बागमती स्वीट्सले भनेको छ । साथै तयार भएका सामानहरू राख्ने ‘सेफ’मा धुलो तथा अन्य प्रदूषण नहोस् भनेर जाली लगाइएको छ । साथै, भेन्टिलेसनका लागि पनि ठाउँ छुट्याएर भित्ता तथा सिलिङमा पनि मर्मत गरी सफा बनाइएको छ । बाग्मती स्वीट्सले कच्चा पदार्थको गुणस्तर सुनिश्चित गर्न छुट्टै कर्मचारी खटाएको छ । जसले कच्चा पदार्थको जाँच, स्टक व्यवस्थापन तथा म्याद सकिन लागेका र बिग्रेका सामग्री फिर्ता गर्ने काम गर्दछ । खराब वा सरकारको मापदण्डभन्दा तल्लो स्तरका सामग्री तुरुन्त फिर्ता गरिने व्यवस्था गरिएको छ । कर्मचारीहरूका लागि एप्रोन, टोपी, ग्लोभ्सलगायत अनिवार्य सुरक्षात्मक पोशाक प्रयोग गर्ने नियम लागू गरिएको जनाइएको छ । यसका साथै, कारखानामा नियमित रूपमा ‘पेस्ट कन्ट्रोल’ पनि गरिँदै आइएको उल्लेख गर्दै बागमती स्वट्सिले प्रत्येक दुई सातामा एकपटक विषादी नियन्त्रण टोली आउने व्यवस्था गरिएको जनाएको छ ।
५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्नेको लाइसेन्स ६ महिना निलम्बन हुने
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको पटक-पटक उल्लंघन गर्ने चालकहरूमाथि कारबाही प्रक्रियालाई थप कडा बनाएको छ । कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेश सुवेदीले ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) ६ महिनाका लागि निलम्बन गर्न सुरु गरिएको जानकारी दिए । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ६० मा भएको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्दै प्रहरीले यो कदम चालेको हो । उक्त दफामा ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स ६ महिनासम्म निलम्बन गर्न सकिने व्यवस्था छ । प्रवक्ता सुवेदीले सार्वजनिक सवारीसाधन र एम्बुलेन्स जस्ता संवेदनशील सवारी चलाउने चालकहरूले लागुऔषध (लापसे) वा मादक पदार्थ (मापसे) सेवन गरेको भेटिएमा त्यसलाई झन् गम्भीर रूपमा लिई कारबाहीको दायरामा ल्याइएको बताए । ‘परम्परागत शैलीभन्दा अगाडि बढेर रचनात्मक र प्रविधिमैत्री ढंगले कानुन कार्यान्वयनमा लागेका छौं,’ उनले विकासन्युजसँग भने, ‘पटक-पटक उल्लंघन गर्दा पनि सजग नहुने चालकलाई सचेत गराउन निलम्बन प्रक्रिया अनिवार्य देखिएको हो ।’ यसैगरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एसएसपी नवराज अधिकारीले पटक-पटक कारबाहीमा पर्ने चालकको लाइसेन्स नै निलम्बन गरिने चेतावनी दिए । ‘पटक-पटक कारबाहीमा परिराख्ने चालकको लाइसेन्स अब निलम्बन हुन्छ । हामीले यो प्रक्रिया अघि बढाइसकेका छौं,’ अधिकारीले भने । प्रहरीले विगत ३ हप्तादेखि नै यातायात व्यवस्था विभागलाई पत्राचार गरी यो प्रक्रिया सुरु गरिसकेको छ । हालसम्म ३१ जनाको लाइसेन्स निलम्बन भइसकेको र अन्य चालकहरूको पनि अभिलेख (रेकर्ड) कडाइका साथ जाँच भइरहेको छ । लाइसेन्स निलम्बन भएको अवधिमा सम्बन्धित चालकले सवारीसाधन चलाउन पाउने छैनन् । यदि निलम्बनको अवस्थामा सवारी चलाएको भेटिएमा कानुनअनुसार थप कारबाही हुने समेत प्रहरीले जनाएको छ । हाल यो अभियान उपत्यकामा विशेष रूपमा केन्द्रित भए तापनि उपत्यका बाहिर पनि यस्तो कारबाही प्रक्रिया चलिरहेको सुवेदीले जानकारी दिए । ट्राफिक नियम उल्लंघन गर्ने सभामुखको सवारीदेखि अगुवा पछुवा गाडीसम्म कारबाहीमा पर्न थालेका छन् ।प्रवक्ता सुवेदीका अनुसार विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष ट्राफिक चेकिङ अभियानका क्रममा ३ लाख ७३ हजार ५६२ चालकलाई कारबाही गरिएको छ । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने २३ हजार ४८, रातोबत्तीको नियम उल्लङ्घन गर्ने २८ हजार ३०८, तीव्र गतिमा सवारी चलाउने २३ हजार ७७२, लेनक्रस गर्ने २३ हजार ९८४, सवारीको स्वरुप परिवर्तन गर्ने एक हजार ४५०, भाडा बढी असुल्ने ८९०, लागु पदार्थ सेवन (लापसे) १२४, यान्त्रिक अवस्था ठिक नभएका सवारी दुई हजार ८३१, मोड्न निषेध उल्लङ्घन गर्ने ३७ हजार ४७२, हर्न निषेधमा छ हजार २५७, डबल चालक ३५०, सवारीचालक अनुमतिपत्रबिना सवारी चलाउने १० हजार ४८९ चालकलाई कारबाही गरिएको प्रवक्ता सुवेदीले बताए । उनका अनुसार अन्य कारबाहीमा २ लाख, १४ हजार ५८७ परेका छन् । कार्यालयका अनुसार गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ४ हजार ६३१ वटा सवारी दुर्घटना भएका छन् । यी दुर्घटनाहरूमा परेर १७४ जनाले ज्यान गुमाएका छन् भने ठुलो संख्यामा नागरिकहरू घाइते भएका छन् । दुर्घटनामा १८६ जना गम्भीर घाइते भएका छन् भने ४ हजार ९२७ जनाले सामान्य चोटपटक भोगेका छन् । मृत्यु हुने १७४ जनामध्ये १६ वर्षमुनिका ७ जना १६ देखि ३५ वर्षसम्मका ८६ जना तथा ३६ वर्षभन्दा माथिका ८१ जना रहेका छन् ।
यो साताभित्रै एसईईको नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यो साताभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यो साताभित्रै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको हो । विकासन्युजसँग कुरा गर्दै परीक्षा उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीले नतिजा सार्वजनिक गर्ने तयारी भए पनि आज वा भोलि नै नभई यो साताभित्र सार्वजनिक हुनसक्ने जानकारी दिए । ‘हाल बोर्डले नतिजमा कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको छ । नतिजा सार्वजनिकको तयारीमा हामी लागिरहेका छौं, सबै काम सकेर बोर्ड बैठक बस्छ त्यसपछि बल्ल नतिजा सार्वजनिक हुन्छ, ज्ञवालीले भने । गत चैत १९ देखि २९ सम्म सञ्चालन भएको यस वर्षको एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् । बोर्डका अनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने छ । यसरी हेर्न सकिनेछ नतिजा :
६५ वर्षीय वृद्ध दक्षिणढोकाबाट बेपत्ता, खोजी गरिदिन परिवारको अपिल
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ निवासी ६५ वर्षीय वृद्ध उमेश सिंह विगत केही दिनदेखि सम्पर्कविहीन भएका छन् । वैशाख १४ गते बेलुका ४ बजे काठमाडौंको दक्षिणढोका क्षेत्रबाट उनी हराएको परिवारले जनाएको छ । ५ फिट‍ उचाइ भएका सिंहले हराएको दिन खैरो रङको टिसर्ट र कालो पाइन्ट लगाएका थिए । मानसिक अवस्था ठीक नभएका सिंह सम्पर्कविहीन भएपछि उनका छोरा सुजन सिंहले बुवाको खोजीका लागि प्रहरी वृत्त बौद्धमा लिखित निवेदन दिएका छन् । हालसम्म आफन्त र सम्भावित स्थानहरूमा खोजी गर्दा पनि कुनै पत्तो नलागेपछि परिवारले सहयोगका लागि सार्वजनिक अपिल गरेको हो । सिंहलाई कतै फेला पारे वा देखे नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न परिवारले अनुरोधसमेत गरेको छ।
वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ
काठमाडौं । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले यहाँका चार वटा क्यासिनोमा प्रवेश गरी जुवातास खेलिरहेको विशेष सूचनाको आधारमा शनिबार पाँच भारतीय नागरिक र एक जना नेपाली नागरिकलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा पाँच जना भारतको विहार राज्यका गणेश कुमार, सन्दीप कुमार, सुरज प्रसाद, अल्लाह यादव, ओमप्रकाश यादव र वीरगञ्ज महानगरपालिका-३२ का जमुदिन मियाँ अन्सारी रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको संयुक्त टोलीले किङ्स क्यासिनो, फर्चुन सिटि गेमिङ क्लब र क्यासिनो माजोङबाट उनीहरू नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए । पक्राउ परेकाहरूका साथबाट केही रकम र दुई वटा मोबाइलसमेत बरामद गरिएको छ ।
आवास बीमाप्रति आकर्षण बढ्दो
जानकी । गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी उत्तमसिंह पञ्जावीको घर भत्कियो । वर्षौँ दुःख गरेर बनाएको घर क्षतिग्रस्त भएपछि उनको परिवारलाई निकै तनाव भएको थियो । ‘त्यो रात सम्झिँदा अझै डर लाग्छ । निरन्तरको पानीले घरको केही भाग भत्कियो । परिवारका सबै सदस्यले भागेर ज्यान जोगायौँ,’ पञ्जावीले विगत सम्झिँदै भनिन्, ‘सबैभन्दा ठूलो चिन्ता साना बालबालिकाको थियो । त्यसमाथि फेरि घर बनाउन आर्थिक जोहो कसरी गर्ने भन्ने चिन्ता थियो । धेरै दिनसम्म निद्रा लाग्दैनथ्यो ।’ आर्थिक अवस्था कमजोर भएका कारण तत्काल घर मर्मत गर्ने सम्भावना पनि थिएन, तर नेपालगञ्ज उपमहानगरपालिकाले लागू गरेको आवास बिमा कार्यक्रम उनका लागि वरदान भयो । राष्ट्रिय बिमा कम्पनीमार्फत गरिएको बिमाअन्तर्गत रु दुई लाख ३२ हजार ९०० दाबी भुक्तानी पाएपछि पञ्जावीको घर फेरि ठडिएको छ । नगरप्रमुख प्रशान्त विष्टले पहिलो लाभग्राहीका रूपमा चेक हस्तान्तरण गर्दा आफू भावुक बनेको क्षण सम्झिँदै उनले भनिन्, ‘पहिले घरको बिमा किन गरिरहनुप¥यो र भन्ने लागेको थियो, घर भत्किएपछि पो थाहा पाइयो बिमाको महत्त्व । हाल त्यही बिमाका कारण ओत लाग्ने अवस्था बनेको छ । आवास बिमा कार्यक्रम विपद्को समयमा गरिब तथा न्यून आय भएका परिवारका लागि त ठूलो सहारा हुँदो रहेछ ।’ नेपालगञ्ज उपमहानगरपालिकाले विपद्जन्य जोखिम न्यूनीकरणका लागि वडा नं ३ र ७ मा आवास बिमा कार्यक्रम लागू गरेको छ । जोखिमयुक्त परिवारलाई लक्षित गर्दै सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत हालसम्म एक सय ८४ परिवारमा यसमा आबद्ध भएका छन् । नगरप्रमुख विष्टले विपद् आएपछि राहत वितरण गर्नुभन्दा विपद् आउनुअघि नै सुरक्षाको आधार तयार गर्ने उद्देश्यसहित आवास बिमा कार्यक्रम लागू गरिएकामा हाल प्रभावकारी बन्दै गएको बताए । “विपद् कहिले आउँछ भन्ने निश्चित हुँदैन, तर त्यसको असर कम गर्न पूर्वतयारी गर्न सकिन्छ । सोही सोचअनुसार सुरु गरिएको बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ”, उनले भने । नगरप्रमुख विष्टले दुई वडाबाट सुरु गरिएको कार्यक्रम हाल वडा नं ८ र ११ मा पनि विस्तार गरिएको र आगामी दिनमा सबै वडाका जोखिमयुक्त परिवारलाई यसमा समेट्ने योजना रहेको जानकारी दिऐ । नेपालगञ्जले सुरु गरेको यस्तो कार्यक्रमबाट प्रभावित हुँदै नरैनापुर गाउँपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले यसै आर्थिक वर्षदेखि कार्यान्वयन गर्ने तयारी गरेका छन् । विपद् सम्पर्क व्यक्ति दिपेन्द्र श्रेष्ठले आवास बिमा कार्यक्रमले समुदायमा विपद्बारे सचेतना बढाउनुका साथै क्षतिपछि पुनःस्थापनामा सघाउ पुगेको बताए । “पहिला नागरिकले बिमा भनेपछि झन्झट मान्थे, हाल लाभ पाउन थालेपछि समुदायमा विश्वास बढ्दै गएको छ”, उनले भने,“यसबाट प्रभावित हुँदै अन्य स्थानीय तहले पनि कार्यक्रम लागू गर्ने तयारी गरेका छन् । यो राम्रो पक्ष हो ।” यहाँ बिमाको प्रिमियम रकम उपमहानगरपालिकाले ब्यहोर्ने गरेको छ भने क्षतिको अवस्थाअनुसार बिमितलाई रु १५ लाखसम्म रदिने व्यवस्था गरिएको छ ।स्थानीयवासीका अनुसार पछिल्ला वर्षमा अविरल वर्षा, डुबान र हावाहुरीका घटना बढ्दै गएका छन् । यसबाट कमजोर संरचना बनाएर बस्ने परिवार बढी प्रभावित हुने गरेका छन् । यस्तो अवस्थामा आवास बिमा कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यसका लागि यहाँ कार्यान्वयनमा रहेको विपद् पूर्वतयारी तथा व्यवस्थापनमा सुपर कार्यक्रमले प्राविधिक सहकार्य गरिरहेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपीलगायत विभिन्न संस्थाको साझेदारीमा सञ्चालित उक्त कार्यक्रमले नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गर्दै विपद् जोखिम न्यूनीकरणका गतिविधि सञ्चालन गरिरहेको छ ।
चोरी भएका ७३ मोटरसाइकल सवारी धनीलाई बुझाइयो
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ७३ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीले फिर्ता पाएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतवार एक कार्यक्रम गरी खोजतलासपछि फेला परेका मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले वैशाख महिनामा चोरी भएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको बताए । उनका अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै ८ वटा मोटरसाइकल समेत सम्बन्धित धनीलाई हस्तान्तरण गरिसकिएको जानकारी दिए । कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजी गर्दा केही वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा पारी फिर्ता गरिएको बताए । उनले भने, ‘वैशाख महिनामा हामीले ८ वटा बाइकहरू पहिले नै सवारी धनीको जिम्मा लगाइसकेका छौं भने बाँकी चोरी गरी अपराधिक कार्यमा प्रयोग भएका ६५ वटा बाइकहरू पनि सवारी धनीलाई जिम्मा लगाएका छौं । बाइकमा जीपीएस जडान गर्यौं, सही ठाउँमा पार्किङ गर्यौं भने चोरी हुन सक्दैन । बाइकका अन्य लकिङ सिस्टमलाई पनि ध्यान दिनुभयो भने चोरी हुँदैन ।’