विकासन्युज

सेयर बजारमा ४ अर्ब २७ करोडको कारोबार

काठमाडौं । शुक्रबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३७ अंकले घटेर २६४३ बिन्दुमा झरेको छ ।  नेप्सेका अनुसार १०१ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । शुक्रबार ३४४ कम्पनीको ९७ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एग्रिकल्चरल बोन्डको भएको छ । एग्रिकल्चरलको ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै खानीखोला हाइड्रोको १७ करोड, लिर्बटी इनर्जीको १६ करोड र न्यादी गुप्रको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्टसको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

चीनको सामान घुमाउरा बाटोबाट अमेरिका, ४० देशमाथि ह्वाइट हाउसको आरोप

काठमाडौं । ह्वाइट हाउसले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा भारतसहित ४० भन्दा बढी देशले चीनलाई अमेरिकी ट्यारिफबाट जोगिन सहयोग गरेको दाबी गरिएको छ ।  चीनले आफ्ना सामान कम आयात शुल्क लाग्ने देश हुँदै अमेरिका पठाएर उच्च अमेरिकी ट्यारिफबाट बच्ने प्रयास गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा क्यानडा, भारत, मेक्सिको, जापान र दक्षिण कोरियासहित विभिन्न देशको नाम उल्लेख गरिएको छ । ह्वाइट हाउसका अनुसार यी देशमार्फत चीनले अर्बौँ डलर बराबरको अमेरिकी ट्यारिफबाट बच्ने प्रयास गरेको थियो । अमेरिकाका व्यापार सल्लाहकार पिटर नाभारोले यस्तो व्यवस्थाका कारण ‘अमेरिकी रोजगारी र अर्बौं डलरको राजस्वमा क्षति पुगेको’ बताएका छन् । यता वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले बीबीसीको प्रश्नको जवाफ दिँदै अमेरिकी आरोपप्रति प्रतिक्रिया जनाएका छन् । उनले ‘व्यापार युद्धमा कसैको पनि जित हुँदैन’ भनेका छन् । उनले अमेरिकाले लगाएको ट्यारिफसम्बन्धी उपाय तथा चिनियाँ कम्पनीलाई लक्षित गर्न सरकारी शक्तिको प्रयोग गरिएको भन्दै विरोध गरेका छन् । चिनियाँ प्रवक्ताले तेस्रो मुलुक हुँदै सामान पठाउने प्रक्रियालाई लिएर कुनै पनि एकपक्षीय कारबाही वा सम्झौताले तेस्रो देशको हितमा क्षति पु‍र्याउन नहुने बताएका छन् । बीबीसीले प्रतिवेदनमा उल्लेख गरिएका भारत, क्यानडा, मेक्सिको, जापान, दक्षिण कोरिया लगायतका देशका दूतावाससँग पनि यस विषयमा प्रतिक्रिया मागेको जनाएको छ । अमेरिका र चीनबीच ट्यारिफ तथा प्रतिबन्धलाई लिएर तनाव बढिरहेका बेला यो प्रतिवेदन सार्वजनिक भएको हो । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वासिङ्टनमा भेटवार्ता हुने तयारीसमेत भइरहेको छ । ह्वाइट हाउसले सरकारी तथा निजी क्षेत्रका अनुमानलाई उद्धृत गर्दै करिब ३० अर्बदेखि ३०० अर्ब डलरसम्मका सामान उच्च ट्यारिफ लाग्ने देशबाट कम ट्यारिफ भएका देश हुँदै अमेरिका पुगेको दाबी गरेको छ ।

नेपाल इन्स्योरेन्सको नाफा पौने १३ करोड, कुल बीमाशुल्क सवा २ अर्ब नाघ्यो

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।  वित्तीय विवरणअनुसार कम्पनीको नाफा घटेको छ । यस समीक्षा अवधिमा कम्पनीले १२ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस समीक्षा अवधिमा कम्पनीको नाफा घटेको हो ।  समीक्षा अवधिमा कम्पनीले २ अर्ब १६ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८३ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क १७ दशमलव ८७ प्रतिशतले बढेको हो ।  समीक्षा वर्षमा कम्पनीले १ अर्ब १२ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क १८ दशमलव १४ बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९५ करोड ५ लाख २० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले पुनर्बीमामार्फत १ अर्ब ४ करोड २० लाख रुपैयाँ खर्चिएको छ । गत आवको सोही अवधिमा कम्पनीले पुनर्बीमामार्फत ८८ करोड ६३ लाख रुपैयाँ खर्चिएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस समीक्षा अवधिमा बढी रकम खर्चिएको हो ।  समीक्षा अवधिमा कम्पनीको विशेष जगेडामा १ अर्ब ५७ करोड ९९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड ८५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५ करोड ७३ लाख रुपैयाँ र अन्य इक्विटीमा १२ करोड १३ लाख रुपैयाँ रहेको छ ।  अघिल्लो वर्ष विशेष जगेडामा १ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड २१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड २९ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।  २ अर्ब ५४ करोड रुपैयाँ सेयर पुँजी भएको कम्पनीको ईपीएस ५ रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ८५ पैसा रहेको छ ।

मीन विश्वकर्माले देउवालाई 'सभापति भनेनन्', 'नेता'मात्रै भने

काठमाडौं । नेपाली कांग्रेसको इतरपक्षले तीन दिने राष्ट्रिय भेला सुरु भएको छ । कार्यक्रमको प्रमुख अतिथि कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा रहेका छन् ।  काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु भएको भेलामा इतर पक्षका शीर्ष नेताहरू सहभागी भएका छन् । देउवासँगै भेलाको संयोजक डा. शशांक कोइराला, पूर्वउपसभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, एनपी साउँद, डा. प्रकाशशरण महत उपस्थित भएका छन् । कार्यक्रमको सञ्चालन राष्ट्रिय भेला प्रचारप्रसार समितिका संयोजक मीनबहादुर विश्वकर्माले गरिरहेका छन् । देउवा कार्यक्रम स्थलमा सहभागी हुँदै गर्दा विश्वकर्माले उनलाई पार्टीका सभापति तथा निवर्तमान सभापति नभनेर नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री भनेर आसन ग्रहण गराएका छन् ।  कार्यक्रमा स्वागत मन्तव्य राख्दै वागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले भने उनलाई पार्टीको संयोकजभ नेर सम्बोधन गरेका थिए । 

आईजीआई प्रुडेन्सियलले आर्जन गर्‍यो ४ अर्ब ३८ करोड बीमाशुल्क

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको खुद नाफामा झन्डै शतप्रतिशत गिरावट आउँदा अन्य सूचक भने बढेको देखिएको छ ।   कम्पनीको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ४० लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३६ करोड ४९ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस समीक्षा अवधिमा कम्पनीको नाफा ९८ दशमलव ८९ प्रतिशतले घटेको हो । समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।  अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ११ दशमलव २२ प्रतिशतले बढेको हो । समीक्षा वर्षमा कम्पनीले १ अर्ब ४५ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३६ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ६ दशमलव ६७ प्रतिशतले बढेको हो ।  समीक्षा अवधिमा कम्पनीले पुनर्बीमामार्फत २ अर्ब ९३ करोड ४३ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब ५८ करोड २४ लाख रुपैयाँ खर्चिएको थियो । कम्पनीको विशेष जगेडामा १ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ७७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ करोड ८४ लाख रुपैयाँ र अन्य इक्विटीमा ४२ करोड ४८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष विशेष जगेडामा १ अर्ब ८४ करोड ८३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ५८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १५ करोड ४४ लाख रुपैयाँ र अन्य इक्विटीमा ५७ करोड ७६ लाख रुपैयाँ रहेको थियो । ३ अर्ब २ करोड रुपैयाँ सेयर पुँजी रहेको कम्पनीको ईपीएस ०.१३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ५३ पैसा रहेको छ ।

चक्र मल्ल बन्दैछन् सुदूरपश्चिमको अर्थमन्त्री

काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले सहभागी हुने भएपछि आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी कसले पाउने भन्ने टुंगो लागेको छ । एमाले संसदीय दलले प्रमुख सचेतक चक्र मल्ललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा पठाउने निर्णय गरेको छ । एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको हो । थापालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने गरी दलले सिफारिस गरेको छ । त्यस्तै, सांसद दमन भण्डारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमध्ये एउटा मन्त्रालयको जिम्मेवारी दिने गरी सिफारिस गर्ने निर्णय भएको छ । यस विषयमा नेकपासँग छलफल गरेर अन्तिम टुंगो लगाइने एमालेले जनाएको छ । एमालेले जानकी ऐरलाई राज्यमन्त्रीका रूपमा सरकारमा पठाउने निर्णय पनि गरेको छ ।  एमालेका मन्त्रीहरूले मुख्यमन्त्रीसहित आजै पद तथा गोपनीयताको शपथ लिने तयारी छ । एमालेको सरकार प्रवेशसँगै सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् ।  सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । भट्टले शुक्रवार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढीमा पुगेर मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए । उनलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए ।  को हुन् अर्थमन्त्री बन्दै गरेका मल्ल ? डोटी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित चक्र मल्लको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । डोटीको आदर्श गाउँपालिका-३, झुँडामा २०३७ सालमा जन्मिएका मल्ल किशोर अवस्थामै संगठित राजनीतिमा सक्रिय बनेका थिए ।  २०४९ सालमा सीताराम माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहँदा उनले एमाले निकट अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यका रूपमा राजनीतिक गतिविधिमा सहभागिता जनाएका थिए । त्यसपछि विद्यार्थी संगठनभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै उनी विद्यालयस्तरीय कमिटीको अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको यात्रामा पुगे ।  विद्यार्थी राजनीतिमा सक्रिय मल्ल २०५७ सालमा डोटी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा निर्वाचित भएका थिए । अंग्रेजी विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका उनले विद्यार्थी आन्दोलनपछि शिक्षण पेशालाई पनि निरन्तरता दिए । वि.सं २०६१ सालदेखि डोटी क्याम्पसमा अध्यापन सुरु गरेका मल्लले शिक्षा र राजनीति दुवै क्षेत्रमा समानान्तर रूपमा सक्रियता देखाए । पार्टी राजनीतिमा उनको भूमिका २०६४ सालपछि थप विस्तार भयो । सो वर्ष नेकपा एमालेको जिल्ला कमिटी सदस्य बनेका उनी २०६६ सालमा जिल्ला उपाध्यक्ष र २०६९ सालमा जिल्ला अध्यक्षमा निर्वाचित भए । जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दा उनी तत्कालीन ७५ जिल्ला कमिटी अध्यक्षमध्ये सबैभन्दा कम उमेरका नेता मानिन्थे ।  विद्यार्थी आन्दोलन, शिक्षण पेशा र संगठन निर्माणको लामो अनुभव बोकेका मल्ल अहिले सुदूरपश्चिम प्रदेशको राजनीतिमा प्रभावशाली नेताका रूपमा परिचित छन् ।   

सानिमा जिआइसीको खुद बीमाशुल्क ८३ करोड नाघ्यो

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको नाफामा उल्लेख्य गिरावट आएको छ भने बीमाशुल्क आर्जनमा वृद्धि भएको छ । कम्पनीले समीक्षा अवधिमा १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३३ करोड ६७ लाख रुपैयाँ थियो । यससँगै अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा करिब ६१ प्रतिशतले घटेको छ । २ अर्ब २५ करोड रुपैयाँ शेयर पुँजी रहेको कम्पनीको समीक्षा अवधिमा विशेष जगेडामा ८१ करोड ४५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, महाविपत्ति कोषमा ५ करोड २४ लाख, रिटेन्ड अर्निङमा ९ करोड ८७ लाख र अन्य इक्विटीमा १० करोड २७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको विशेष जगेडा ७४ करोड ९५ लाख, महाविपत्ति कोष ४ करोड ५९ लाख, रिटेन्ड अर्निङ १७ करोड २७ लाख र अन्य इक्विटी १४ करोड २७ लाख रुपैयाँ रहेको थियो । यता, कम्पनीको कुल बीमाशुल्क आर्जनमा भने वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो बीमाशुल्क २ अर्ब ५३ करोड १५ लाख रुपैयाँ थियो । यस आधारमा कुल बीमाशुल्क आर्जन ७.८२ प्रतिशतले बढेको हो । त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीले ८३ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ७६ करोड ४२ लाख रुपैयाँ थियो । यस आधारमा खुद बीमाशुल्क आर्जन ९ प्रतिशतले बढेको हो । कम्पनीले समीक्षा अवधिमा पुनर्बीमाका लागि १ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पुनर्बीमामार्फत १ अर्ब ७६ करोड ७२ लाख रुपैयाँ खर्च गरेको थियो । यता, कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ७६ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ

काठमाडौं । कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन (आईपीओ) गर्ने तयारी थालेको छ । यसका लागि कम्पनीले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाताका रूपमा नियुक्त गरेको छ । कम्पनीले पूँजी संरचना सुदृढीकरण, वित्तीय तथा व्यावसायिक अवस्थाको अध्ययन र भविष्यमा आईपीओ निष्काशनको तयारीलाई व्यवस्थित बनाउन नेपाल लाइफ क्यापिटलसँग ‘कर्पोरेट एडभाइजरी सर्भिसेस’ सम्बन्धी सम्झौता गरेको हो । शुक्रबार साउन २९ गते भरतपुर–४, चितवनस्थित एग्री केयर नेपालको कार्यालयमा आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा एग्री केयर नेपालका अध्यक्ष रबिन अधिकारी र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् । कम्पनीले संस्थागत विकास तथा पूँजी बजारमा प्रवेशको तयारीलाई थप व्यवस्थित गर्दै आगामी दिनमा सर्वसाधारणलाई समेत आफ्नो विकास यात्रामा सहभागी गराउने लक्ष्य लिएको जनाएको छ । सन् २००४ मा स्थापना भएको एग्री केयर नेपालले प्लान्ट न्युट्रिसन, ट्रेस एलिमेन्ट्स तथा गुणस्तरीय कृषि सामग्रीबाट व्यवसाय सुरु गरेको थियो । सन् २००९ मा बायो–टेक्नोलोजी युनिट सञ्चालनमा ल्याएसँगै कम्पनीले जैविक विषादी तथा लाभदायी सूक्ष्मजीवमा आधारित उत्पादनतर्फ पनि विस्तार गरेको जनाएको छ । कम्पनीले हाल क्रप प्रोटेक्सन, प्लान्ट न्युट्रिसन, फर्टिलाइजर्स, सोल कन्डिसनर्स तथा बायो–इनपुट्समार्फत किसानलाई सेवा दिँदै आएको छ । विज्ञानमा आधारित कृषि समाधानमार्फत किसानको उत्पादकत्व तथा बालीको गुणस्तर बढाउने, माटोको दीर्घकालीन स्वास्थ्य कायम गर्ने र दिगो कृषि अभ्यासलाई प्राथमिकता दिँदै आएको कम्पनीले जनाएको छ । किसानलाई आवश्यक जानकारी तथा सहयोग उपलब्ध गराउन विभिन्न तालिम तथा ‘किसान कल सेन्टर’ जस्ता पहलसमेत सञ्चालन गर्दै आएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटलले एग्री केयर नेपाललाई संस्थागत परामर्श सेवाअन्तर्गत आईपीओ कन्सल्टेसन तथा क्यापिटल रिस्ट्रक्चरिङसम्बन्धी सेवा प्रदान गर्नेछ । सम्झौताअनुसार क्यापिटलले कम्पनीको वित्तीय तथा कानुनी अवस्थाको अध्ययन तथा मूल्यांकन, पूँजी संरचना र सम्भावित आईपीओको आकार निर्धारण, आवश्यक संरचनागत सुधार तथा नियामकीय प्रक्रियामा समन्वयलगायतका सेवा उपलब्ध गराउनेछ ।