एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ

काठमाडौं । कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन (आईपीओ) गर्ने तयारी थालेको छ । यसका लागि कम्पनीले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाताका रूपमा नियुक्त गरेको छ ।

कम्पनीले पूँजी संरचना सुदृढीकरण, वित्तीय तथा व्यावसायिक अवस्थाको अध्ययन र भविष्यमा आईपीओ निष्काशनको तयारीलाई व्यवस्थित बनाउन नेपाल लाइफ क्यापिटलसँग ‘कर्पोरेट एडभाइजरी सर्भिसेस’ सम्बन्धी सम्झौता गरेको हो ।

शुक्रबार साउन २९ गते भरतपुर–४, चितवनस्थित एग्री केयर नेपालको कार्यालयमा आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा एग्री केयर नेपालका अध्यक्ष रबिन अधिकारी र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।

कम्पनीले संस्थागत विकास तथा पूँजी बजारमा प्रवेशको तयारीलाई थप व्यवस्थित गर्दै आगामी दिनमा सर्वसाधारणलाई समेत आफ्नो विकास यात्रामा सहभागी गराउने लक्ष्य लिएको जनाएको छ ।

सन् २००४ मा स्थापना भएको एग्री केयर नेपालले प्लान्ट न्युट्रिसन, ट्रेस एलिमेन्ट्स तथा गुणस्तरीय कृषि सामग्रीबाट व्यवसाय सुरु गरेको थियो । सन् २००९ मा बायो–टेक्नोलोजी युनिट सञ्चालनमा ल्याएसँगै कम्पनीले जैविक विषादी तथा लाभदायी सूक्ष्मजीवमा आधारित उत्पादनतर्फ पनि विस्तार गरेको जनाएको छ ।

कम्पनीले हाल क्रप प्रोटेक्सन, प्लान्ट न्युट्रिसन, फर्टिलाइजर्स, सोल कन्डिसनर्स तथा बायो–इनपुट्समार्फत किसानलाई सेवा दिँदै आएको छ ।

विज्ञानमा आधारित कृषि समाधानमार्फत किसानको उत्पादकत्व तथा बालीको गुणस्तर बढाउने, माटोको दीर्घकालीन स्वास्थ्य कायम गर्ने र दिगो कृषि अभ्यासलाई प्राथमिकता दिँदै आएको कम्पनीले जनाएको छ । किसानलाई आवश्यक जानकारी तथा सहयोग उपलब्ध गराउन विभिन्न तालिम तथा ‘किसान कल सेन्टर’ जस्ता पहलसमेत सञ्चालन गर्दै आएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटलले एग्री केयर नेपाललाई संस्थागत परामर्श सेवाअन्तर्गत आईपीओ कन्सल्टेसन तथा क्यापिटल रिस्ट्रक्चरिङसम्बन्धी सेवा प्रदान गर्नेछ ।

सम्झौताअनुसार क्यापिटलले कम्पनीको वित्तीय तथा कानुनी अवस्थाको अध्ययन तथा मूल्यांकन, पूँजी संरचना र सम्भावित आईपीओको आकार निर्धारण, आवश्यक संरचनागत सुधार तथा नियामकीय प्रक्रियामा समन्वयलगायतका सेवा उपलब्ध गराउनेछ ।

Share News