जुट्न नपाउँदै फुटे, वरीयतामा मिलेन कुरा

छुट्टाछुट्टै पार्टी दर्ताको तयारी

काठमाडौं । राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको मुद्दालाई केन्द्रमा राखेर सहकार्य थालेका धवलशम्शेर राणा र दुर्गा प्रसाईंबीचको राजनीतिक सहयात्रा राम्रोसँग जुट्न नपाउँदै फुटेको छ । राणा पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी गरिरहँदा प्रसाईं भने छुट्टै राजनीतिक शक्ति निर्माण गर्ने गृहकार्यमा लागेका बुझिएको छ । 

राप्रपाको महामन्त्री पद छाडेर नयाँ राजनीतिक अभियानमा लागेका राणाले ‘जय नेपाल पार्टी’ नामको दल गठन गर्न लागेका हुन् । प्रस्तावित दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोग पुग्ने कार्यक्रम तय भएको राणा पक्षका नेताहरुले बताएका छन् । दलको प्रस्तावित चुनाव चिह्न त्रिभुज राख्ने तयारी भइरहेको नेताहरुले बताएका छन् । 

प्रारम्भिक चरणमा राणा र प्रसाईं दुवैलाई एउटै राजनीतिक दलमा समेट्ने सहमति बनेको थियो । त्यसअनुसार राणा अध्यक्ष र प्रसाईं सर्वोच्च नेता रहने समझदारी भएको थियो । तर, संगठनको नेतृत्व, वरियता र निर्णय गर्ने अधिकारका विषयमा विवाद बढेपछि सहकार्य टिक्न नसकेको बुझिएको छ । 

पार्टीभित्र आफ्नो वरीयता पहिलो हुनुपर्ने र महत्वपूर्ण कार्यकारी अधिकारसमेत आफूले पाउनुपर्ने प्रसाईंको मागपछि दुई पक्षबीच मतभेद चुलिएको बताइएको छ । राणा पक्षले उक्त प्रस्ताव स्वीकार नगरेपछि संयुक्त पार्टी निर्माणको योजना प्रभावित भएको हो । 

विवादकै बीच प्रसाईंले पछिल्लो समय दिएका सार्वजनिक अभिव्यक्तिले पनि दुई पक्षबीचको दूरी बढाएको बताइएको छ । प्रसाईंले एक अन्तर्वार्तामा राणाको राजनीतिक दृष्टिकोणप्रति प्रश्न उठाउँदै राजसंस्था पुनःस्थापनाका विषयमा उनीहरूको धारणा समान नरहेको संकेत गरेका थिए । 

प्रसाईं पक्षका नेताहरूले भने तत्काल दल दर्ता गर्नुभन्दा केही समय लिएर सहमति खोज्नुपर्ने धारणा राखेका थिए । तर, राणा पक्षले पूर्वनिर्धारित कार्यक्रमअनुसार नै दल दर्ता अघि बढाउने निर्णय गरेपछि दुई समूह छुट्टिने अवस्था आएको उनीहरूको भनाइ छ । 

राजसंस्था र हिन्दु राष्ट्रको एउटै एजेन्डामा नजिकिएका राणा र प्रसाईं अब फरक राजनीतिक संगठनमार्फत अघि बढ्ने अवस्थामा पुगेका छन् ।

Share News