बाढीपीडितका लागि डब्ल्युएचओले औषधी र आपतकालीन टेन्ट पठाउँदै
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको समन्वयपछि डब्ल्युएचओले बाढी प्रभावित करिब एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ । प्रभावित क्षेत्रमा २४ वर्गमिटरका १५ वटा आपतकालीन टेन्टसमेत पठाउने तयारी गरिएको छ । बाढी प्रभावितको उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म बाढीबाट घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । आपतकालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन संघीय राजधानीका अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब तथा नेपाल स्काउटसँग समेत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतसँगै स्वास्थ्य सेवा र आवश्यक औषधिको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको मन्त्रालयको भनाइ छ ।
युवा संघ नेपाल बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि खटिँदै
काठमाडौं । नेकपा (एमाले) निकट युवा संगठन युवा संघ नेपालले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि टोली परिचालन गर्ने तयारी गरेको छ । युवा संघ नेपालका अध्यक्ष महाराज गुरुङको नेतृत्वमा प्रारम्भिक टोली प्रभावित क्षेत्रतर्फ जान लागेको हो । अध्यक्ष गुरुङका अनुसार पहिलो चरणमा प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी त्यहाँको वास्तविक अवस्था र आवश्यकताको पहिचान गरिनेछ । अनुगमनपछि प्रभावित क्षेत्रको आवश्यकता र अवस्थाका आधारमा थप टोली परिचालन गरी उद्धार तथा राहत कार्यमा खटाइने युवा संघले जनाएको छ । आवश्यकताअनुसार विभिन्न समूह बनाएर स्वयंसेवक परिचालन गर्ने तयारी गरिएको अध्यक्ष गुरुङले बताए । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन स्थानीय पार्टी नेतृत्व, जनप्रतिनिधि र सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको गुरुङले जानकारी दिए । उनका अनुसार विपद्बाट प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले युवा संघले स्वयंसेवक परिचालनदेखि राहत सामग्री व्यवस्थापनसम्मको तयारी गरिरहेको छ ।
बाढीले विभिन्न बैंकका ९ बढी शाखामा क्षति, कर्मचारी सम्पर्कमा आउँदै
काठमाडौं । रसुवामा बाढीपहिरोले ठूलो क्षति पुर्याएपछि बैंकिङ क्षेत्रमा समेत गम्भीर असर परेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताएका छन् । उनका अनुसार बाढीपहिरोका कारण बैंकिङ क्षेत्रमा कति क्षति पुगेको छ भन्ने यकिन विवरण अहिले नै भन्न सकिने अवस्था छैन । रसुवाको टिमुरेमा वाणिज्य बैंकका ९ वटा शाखा सञ्चालनमा रहेको र टिमुरेभन्दा तलका क्षेत्रमा समेत शाखा रहेकामा तीमध्ये अधिकांश बाढीले बगाएको सूचना आएको उनले बताए । ‘मानवीय क्षति नभए हुन्थ्यो भन्ने लागेको छ । कतिपय कर्मचारी साथीहरू सम्पर्कमा आउँदै हुनुहुन्छ भने केही सम्पर्कमा आउने प्रयासमा हुनुहुन्छ,’ अध्यक्ष कोइरालाले भने । बाढीका कारण प्रभावित क्षेत्रमा जान सक्ने अवस्था नरहेको भन्दै उनले बैंकका शाखामा रहेको नगदसमेत बाढीले बगाएको प्रारम्भिक सूचना आएको बताए । बैंकिङ क्षेत्रको क्षतिको विस्तृत विवरण संकलन भइरहेको र बुधबार साँझसम्म प्रारम्भिक रिपोर्ट आउन सक्ने अध्यक्ष कोइरालाले बताए ।
रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको मेडिकल टिम जाँदै
काठमाडौं । रसुवाको बाढी पीडितको क्षेत्रमा नेपाली सेनाको मेडिकल टीम जाने तयारी गरेको छ । नेपाली सेनाको प्रवक्ता राजाराम बस्नेतले बाढी प्रभावित क्षेत्रमा सेनाको मेडिकल टिम जाने तयारी भइरहेको जानकारी दिए । नेपाली सेनाले १२ जनाको उद्धार गरेको छ । नेपाली सेनाले हेलिकप्टरमार्फत स्याप्रुबेसीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ गरेर जम्मा १२ जना जनालाई उद्धार गरिसकेको छ । नेपाली सेनाको ४ र निजी कम्पनीका ८ गरी जम्मा १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशुलीस्थित नम्बर १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको सेनाले बताएको छ । बुधबार बिहान ९ बजे आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा असर गरिरहेको छ ।
बाढीले ठूलो क्षति गरेको छ, जतिसक्दो छिटो उद्धार गरौँ : मोहन आचार्य
काठमाडौं । रसुवाका सांसद एवं नेपाली कांग्रेसका नेता मोहन आचार्यले रसुवामा आएको बाढीले ठूलो क्षति पुर्याएको बताएका छन् । गत वर्षको तुलनामा यसपटकको बाढी अझ ठूलो र विनाशकारी रहेको उनले बताए । बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति भएको उनको भनाइ छ । बुधबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेपछि पत्रकारहरूसँग कुरा गर्दै सांसद आचार्यले बाढी प्रभावित नागरिकलाई जतिसक्दो छिटो उद्धार गर्न सरकारसँग आग्रह गरे । सडकमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारका लागि हेलिकप्टर प्रयोग गर्नुपर्ने उनले बताए । उनका अनुसार प्रभावित क्षेत्रमा नागरिक त्रसित छन् । धेरै परिवार आफ्ना आफन्तसँग सम्पर्कविहीन भएपछि चिन्तित बनेका छन् । टेलिफोन सम्पर्कसमेत अवरुद्ध भएकाले प्रभावित क्षेत्रको अवस्था बुझ्न कठिनाइ भइरहेको उनले बताए । ‘अहिले त्यहाँका आम नागरिक एकदमै त्रसित छन् । सोचेको र अनुमान गरेको भन्दा पनि धेरै ठूलो क्षति भएको छ । धेरै परिवारका सदस्य सम्पर्कविहीन भएपछि परिवारजन आत्तिनुभएको छ,’ उनले भने, ‘टेलिफोन कनेक्सन पनि छैन । अब त्यहाँ सडकबाट जान सकिने अवस्था छैन। त्यसैले हवाई माध्यमबाट गएर उद्धार गर्न र सक्दो सहयोग गर्नुपर्छ ।’ आचार्यले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनःस्थापनाको काम अघि बढाउनुपर्नेमा जोड दिए । उनका अनुसार तिब्बती क्षेत्रमा हिमताल विस्फोट भएपछि बाढी आएको हो । बाढीले रसुवाका टिमुरे, स्याफ्रुबेसी, मैलुङबेसी, त्रिशूली बजारलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । टेलिफोन सम्पर्क विच्छेद भएकाले बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्नसमेत कठिनाइ भइरहेको उनले जानकारी दिए ।
बाढी प्रभावित जिल्लामा ३ दिन एनसेलको डेटा र भ्वाइस कल निःशुल्क
काठमाडौं । रसुवामा बुधबार आएको विनाशकारी बाढीबाट प्रभावित जिल्लाका एनसेल ग्राहकले तीन दिनसम्म निःशुल्क डेटा र भ्वाइस कल सेवा पाउने भएका छन् । एनसेलले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आपत्कालीन समन्वयमा सहजता पु‍र्याउन डेटा, भ्वाइस र एसएमएस सेवामा छुट दिने जनाएको हो । कम्पनीका अनुसार प्रभावित जिल्लाका ग्राहकले तीन दिनसम्म डेटा र भ्वाइस कलका लागि कुनै शुल्क तिर्नुपर्ने छैन । त्यसैगरी, ग्राहकले १०० वटा एसएमएससमेत निःशुल्क पठाउन सक्नेछन् । बाढीका कारण प्रभावित नागरिकलाई आफन्त, सुरक्षाकर्मी तथा उद्धार टोलीसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराइएको एनसेलले जनाएको छ ।
रसुवामा ४१ जना प्रहरी सम्पर्कविहिन
काठमाडौं। रसुवामा ४१ जना प्रहरी सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका प्रवक्ता एवं डिआइजी अबिनारायण काफ्लेले तीन वटा ठाउँका ४१ जना प्रहरी सम्पर्कमा नरहेको बताए। उनका अनुसार स्याफ्रुबेँशी, रसुवागढी, मैलुङका प्रहरीहरू सम्पर्कमा नरहेको हो। सशस्त्र प्रहरी बलका पनि प्रहरी निरीक्षकसहित ९ जना सम्पर्कविहीन छन्। पृथ्वीराजमार्गको चितवन नारायणघाटसम्मको सडकमा सवारी आवतजावत गर्न पनि रोक लगाइएको छ। नदी वरिपरि पनि बस्ती खाली गर्नका लागि प्रहरी परिचालन गरी अनुरोध गरिएको उनले बताए। उद्धारका लागि पनि काम भइरहेको उनको भनाइ छ ।
रसुवा भन्सारका १४ कर्मचारी अझै सम्पर्कविहीन, खोजी र उद्धार जारी
काठमाडौं । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २६ जना सम्पर्कमा आएको अर्थ मन्त्रालयले जनाएको छ । स्थायी र करार/ज्यालादारी गरी कुल २६ जना कर्मचारी सम्पर्कमा आएका हुन् । अझै ११ जना स्थायी कर्मचारी र तीनजना करार तथा ज्यालादारी कर्मचारी गरी १४ जना सम्पर्कविहीन छन् । उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ । बाढीका कारण रसुवाको टिमुरे तथा रसुवागढी क्षेत्रमा ठूलो क्षति पुगेको छ । सम्पर्कविहीन कर्मचारीको अवस्थाबारे यकिन जानकारी लिन खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ । भन्सार कार्यालयका कर्मचारीको अवस्थाबारे थप विवरण संकलन तथा उद्धारका लागि सुरक्षा निकाय र सम्बन्धित निकायबीच समन्वय जारी रहेको बताइएको छ ।